रूपक बाल्टीभरि खाना बोकेर उनीहरूकहाँ पुग्थे । बोलाउँथे । उनीहरू पनि रमाउँदै झुम्मिन्थे । कुकुर मात्रै होइन काग, गिद्धहरूको भोको पेट त भरिन्थ्यो तर रूपकको पेट भने खाली हुन्थ्यो ।
What you should know
काठमाडौँ — ‘मलाई धेरै बाँच्ने इच्छा छैन । आफ्नो लागि त मरिसकेको छु । यिनीहरूको लागि बाँच्नुछ । जति बाँच्छु यिनीहरूकै दु:खमा रोएर, खुसीमा हाँसेर बाँच्न चाहन्छु,’ मनभरि सहरका कुकुरहरुप्रति साँचेको गहिरो प्रेम रुपक दर्शन सँगाल्थे । नामजस्तै उनको जीवन पनि मानिसका लागि दर्शनजस्तो थियो ।
सडकका भोका कुकुरदेखि काग र चिलजस्ता पक्षीहरूलाई खाना खुवाउँदा खुवाउँदै उनले भएका सारा सम्पत्ति रित्याएका थिए । आफू रित्तिएर पनि बेवारिस पशुपन्छीको भोक मेट्दै हिँड्ने रूपकलाई मंगलबार पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरियो ।
उनलाई आफू छिट्टै जाँदै छु भन्ने कुरा केही वर्षअघिदेखि नै थाहा थियो ।
एचाइभी एड्स र दुवै मिर्गौला फेल । साथै अरु विभिन्न रोगबाट ग्रसित थिए उनी । पछिल्ला दिनहरूमा पशु अधिकारकर्मी इरफान खानलाई आफ्ना दुई प्रिय कुकुर देखाउँदै रुपक भन्ने गर्थे, ‘कति बाँच्छु थाहा छैन । म मरेपछि च्यान्टु र पुन्टुलाई श्रद्धान्जली दिने बेला अगाडि राख्नु है ।’
रुपकको बिदाइपछि ३ वर्षको च्यान्टु र १४ वर्षको पुन्टु शोकमा छन् । अहिले उनीहरू सेल्टरमा राखिएका छन् । ‘च्यान्टुको हालत अलि खराब छ । किनकि च्यान्टुले रुपक दाइको हातबाट मात्र खाना खान्थ्यो । दाइ नभएपछि खानै बन्द गरेको छ । अहिले ऊ डिप्रेस छ,’ इरफान भन्छन् ।
आर्यघाटमा रुपकको अनुहार देखाउँदा पुन्टु निकै डराइरहेको थियो । अरुबेला रुपक परैबाट आएको थाहा पाएपछि पुन्टु खुसीले पुच्छर हल्लाउँथ्यो । रमाउँथ्यो । खेल्थ्यो । ‘त्यो दिन ऊ झस्किरह्यो । दाइको नजिक जान मानेन । सायद मेरो मालिक छैन भन्ने थाहा पायो उसले,’ इरफान भन्छन् ।
इरफानले रुपकलाई भेट्दा उनीसँग दुई कुकर थिए । एउटा ११ वर्षको पुन्टु र १२ वर्षको च्यान्टु । अचानक च्यान्टुको किड्नी फेल भयो । रुपकले इरफानलाई रुँदै सुनाए । इरफानले च्यान्टुलाई हस्पिटल लगे । बचाउन गरिएको सारा प्रयास असफल भयो । च्यान्टुले रुपककै काँखमा अन्तिम श्वास फेर्यो । ‘त्यसपछि दाइ धेरै समय ट्रमामा जानुभयो,’ इरफान सम्झन्छन् ।
एकदिन रुपकले २ महिनाको कुकुर बाटोमा बेवारिस अवस्थामा भेटे । घर लगे । ऊ बिमार थियो । इरफानलाई उपचारका लागि आग्रह गरे । उपचारपछि ऊ तंग्रियो । रुपकले उसको नाम पनि च्यान्टु राखे ।
च्यान्टु र पुन्टुलाई त उनी आफूसँगै सुताउँथे । जीवनभर अविवाहित रहेका रुपकका निम्ति उनीहरू सन्तानजतिकै प्राण प्यारा थिए । च्यान्टु र पुन्टु मात्र होइन, वसन्तपुर, सोह्रखुट्टे, डल्लु, बानेश्वरलगायत सहरका थुप्रै कुकुर रुपकको पर्खाइमा हुन्थे । रुपक हिँड्दैहिँड्दै बाल्टीभरि खाना बोकेर उनीहरूकहाँ पुग्थे । बोलाउँथे । उनीहरू रमाउँदै झुम्मिन्थे । उनीहरूको भोको पेट त भरिन्थ्यो । तर उनीहरूलाई खुवाउने रुपकको पेट भने खाली हुन्थ्यो ।
कुनै समय थियो रुपकसँग न बास थियो न गाँस । भोक सहनु कति कष्टकर हुन्छ उनले भोगेका थिए । ‘कति पटक अरुले फालेको जुठो खाना पनि टिपेर खाएको छु,’ ६ वर्षअघि उनले दिएका विभिन्न अन्तर्वार्ताहरूमा भनेका थिए, ‘त्यसैले खान नपाएकाहरूको पीडा देख्दा म आफैं व्याकुल हुन्छु ।’
उनले आफ्ना कथाहरू कहीँ कतै सुनाएका थिए । सानोमा उनलाई फुपूले पालिन् । फुपू बितेपछि काठमाडौंमै रहेको आफ्नो घर पुगे । बा आमाका आफूसहित ८ सन्तान । ‘एक्लैले फुपूको माया पाएको थिएँ । घर पुगेपछि माया बाँडियो । अब घर छाडे,’ करिब २ दशकअघिका कथा उनले सुनाएका थिए । घर बेलाबेलामा जान्थे । विशेषगरी बाको जन्मदिनमा केक लिएर पुग्थे । केक काटेपछि बा खुसी हुन्थे । एकपटक घरमा दाइसँग झगडा पर्यो । ‘घरमा नआऊ भनेर दाइले गाली गरे । अनि म गइनँ । बा जन्मदिनमा मलाई केक ल्याउँछ भनेर पर्खेर बसिरहेका रहेछन्,’ उनले सुनाएका थिए, ‘बा बित्नुभयो । म धेरै रोएँ ।’
रुपक जीवनमा जति रोए, आफ्नो लागि कम र कुकुरको लागि धेरै रोए । उनी ०७२ सालअघिसम्म पत्रिका बेचेर पैसा कमाउँथे । कमाएको पैसाले भोका कुकुरहरूलाई खाना खुवाउँथे । जब ०७२ मा भूकम्प गयो, उनले पत्रिका बेच्न बन्द गरे । अनि फुटपाथमा एयरफोन र सिडीहरू बेच्न सुरु गरे । त्यतिबेला नगरप्रहरीले दु:ख समेत दिए । ‘कुकुरहरूलाई देखाएर तैँले पेट भरिस्,’ एक प्रहरीले भने । यो आरोप रुपकका निम्ति असह्य थियो । रुँदै भने, ‘बरु म पसल राख्दिनँ । तर मलाई यस्तो भनेर पीडा नदिनुस् ।’ कुकुरलाई खाना खुवाएको देख्नेहरूमध्ये कतिलाई चित्त बुझ्दैन थियो । एकजनाले त गाली गर्दै भने, ‘कुकरलाई मासु नखुवाऊ । मान्छे टोक्न थाल्यो ।’ त्यस्तो बेलामा उनी प्रतिवाद गर्न खोज्थे ।
१५ वर्षअघि उनी दसैंका बेला कोठामा बसिरहेका थिए । बाहिर झमझम पानी परिरहेको थियो । एउटी महिलाले बच्चा जन्माइरहेको कुकुरलाई बोरामा घिसारेर सडकमा फालिदिएको दृश्य देखे । आमा कुकुर र भर्खरै जमिन टेकेका कुकुर पानीमा रुझिरहेको देख्दा मनले थाम्न सकेन । उनले उद्धार गरे । उद्धार गरिसक्दासम्म ६ वटा जन्मिसकेका थिए । कोही रोग त कोही दुर्घटनाले गर्दा ४ वटा मरे । एउटा चाहिँ गाडी दुर्घटनामा मर्यो । यसरी उद्धार गरेर बचाएका र बचाउन नसककेका धेरै कुकुरका स्मृति उनी शुभचिन्तकहरूलाई सुनाइबस्थे । गुमाएकाहरूलाई सम्झिँदा उनलाई ऐँठन हुन्थ्यो ।
उनी एक्लो थिए । पशुहरूप्रतिको गहिरो प्रेम देखेर उनलाई प्रेम गर्नेहरू पनि बढ्न थाले । त्यही क्रममा कलाकार रविन्द्र सिंह बानियाँसँग भेट भएको थियो उनको । ‘उहाँलाई मैले चिनेको ४ वर्षजस्तो भयो । म हरेक महिना उहाँलाई कुकुरलाई खाना खुवाउन सहयोग गर्थेँ । महिनामा २८/ ३० हजारजसो बिल तिरिदिन्थेँ,’ बानियाँ सम्झन्छन् ।
रुपकको अन्तिम बिदाइमा पनि रविन्द्र आर्यघाटमै थिए । उनले फेसबुकमा लेखेका थिए, ‘आज उहाँकै अन्तिम इच्छाअनुसार उनको भावनात्मक सन्तानबाट दागबत्ती दिएको कुकुर र मान्छेको २०औं हजार वर्षदेखिको साथको जिउँदो प्रमाणको साक्षी बनियो ।’ 
इरफानले भने रुपकलाई ७ वर्षअघि भेटेका थिए । त्यतिबेला रुपक बालाजुतिर कुकुरहरूलाई खाना खुवाइरहेका थिए । ‘त्यतिबेला म जनावरको सेवामा थिइनँ । उहाँलाई देखेपछि मलाई पनि प्रेरणा जाग्यो । उहाँलाई थोरै रकम सहयोग गरेँ,’ उनी सम्झिन्छन्, ‘त्यसको दुई वर्षपछि म पनि जनावरकै सेवामा लागेँ ।’
रुपकलाई सहयोग गर्ने समूहहरू थिए । कोही खानाका लागि पैसा दिन्थे । कोही उनको बस्ने बन्दोबस्त मिलाइदिन्थे । अचानक एक दिन इरफानले रुपकको स्वास्थ्यमा समस्या भएको खबर पाए । इरफानहरूले रुपकलाई वीर हस्पिटल लगे । ‘फोक्सोमा पानी भरिएको थियो । किड्नी पनि फेल हुने अवस्थामा थियो । मुटु पनि ड्यामेज भइसकेको थियो । लिभर बिग्रिसकेको, एड्स पनि थियो,’ इरफान सम्झन्छन् ।
२ दिनमा २ लाख ६२ हजार फन्ड संकलन गरेर इरफानहरूले रुपकको उपचार गरे । त्यतिबेला रुपकका दुई कुकुरलाई इरफान, छरछिमेकी लगायत कुकुरप्रेमीहरूले हेरचाह गरे । रुपकको जैसीदेवलस्थित अस्तव्यस्त कोठालाई इरफानले नै सफा गरे ।
रुपकको लागि इरफानले उठाएर बाँकी रकम जति दिएका थिए, ती सबै कुकुरकै खानामा खर्च गरेछन् । हस्पिटलमा भर्ना भएको बेलामा पनि रुपक अचानक बेडबाट हराउँथे । फोन गर्दा जवाफ आउँथ्यो, ‘भाइ म कुकुरलाई भेट्न आएको छु ।’
रुपक पछिल्ला दिनहरूमा भन्ने गर्थे, ‘म उहिल्यै मरिसक्थेँ । यिनीहरूका कारणले मात्र बाँचिरहेको छु ।’ जसोतसो बाँचिरहेका रुपकले अन्तत: आफूलाई बसाए । अब रुपकको न्यानो काख खोजिरहने च्यान्टु र पुन्टुलाई निकै समयसम्म उदासीले छोप्नेछ । सधैं पर्खिरहने सहरका कुकुरहरुलाई उनको अनुपस्थितिले बिझाउनेछ । रुपकलाई नजिकबाट चिन्ने पशुप्रेमहरूलाई पनि एउटा कोमल हृदयको अभाव खड्किरहेछ । जो केवल कुकुरका लागि हाँस्थे । कुकुरका लागि रुन्थे । यतिबेला भने सारा पशुप्रेमीहरू रुपकका लागि रोइरहेका छन् ।
