गृहमन्त्री ओमप्रकाश अर्यालले नियुक्ति भएकै दिन मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले काजकिरिया खर्च दिने घोषणा गरेका थिए तर त्यो त परको कुरा, सरकारी निकायका मान्छे भेट्नसम्म नआएको परिवारजनको गुनासो
काठमाडौँ — जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ काजकिरिया खर्च तत्कालै दिने घोषणा सरकारले गरे पनि आफूहरूले नपाएको पीडितहरूले गुनासो गरेका छन् । सरकारबाट राहत नपाउँदा ऋण काढेर काजकिरिया गर्नुपरेको परिवारजनले बताएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नियुक्त भएकै दिन ३० भदौमा तत्काल एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने घोषणा गरेका थिए । त्यति बेला २३ र २४ भदौमा ज्यान गुमाएकाको परिवारलाई काजकिरिया खर्च दिने भनिएको थियो । गृहमन्त्रीस्तरीय निर्णयपछि बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १० लाख राहत तथा ५ लाख थप खर्च गरी १५ लाख दिने निर्णय गरेको थियो ।
२३ भदौको आन्दोलनमा काठमाडौंको बानेश्वरमा गोली लागेर ज्यान गुमाएका ४२ वर्षीय दिलनारायण तामाङको काजकिरिया स्वयम्भूस्थित नेपाल बौद्ध धर्म संघमा भइरहेको छ । तामाङ संस्कारअनुसार काजकिरिया २१ दिनसम्म गर्नुपर्छ । ‘हामी मजदुरी गरेर जीविका चलाउनेसँग पैसा हुँदैन । सरकारले दिन्छ भन्ने आस मात्रै छ, कहिले दिन्छ, थाहा छैन, अहिले आफन्त र साथीभाइसँग सापट गरेर पूजा गरिरहेका छौं,’ दिलनारायणकी श्रीमती मायाले भनिन् ।
काभ्रेको तेमाल गाउँपालिका–७ का दिलनारायण दैनिक मजदुरी गरी घर चलाउँथे । उनको ज्यान गएपछि परिवारको सम्पूर्ण अभिभारा मायाको काँधमा छ । उनका दुई छोरा छन् । यसअघि घरको सबै जिम्मेवारी दिलनारायण एक्लैले लिएका थिए ।
मायाका अनुसार घेवा (शुद्धाइँ) को दिन सबैभन्दा बढी खर्च हुन्छ । ‘घेवाको दिन १४/१५ जना लामा गुरु राखेर पूजा गर्नुपर्छ । त्यसमा पैसा धेरै लाग्छ । आफन्त, इष्टमित्र, चेलीबेटी, साथीभाइ सबैलाई बोलाएर खुवाउनुपर्छ,’ मायाले भनिन्, ‘सबै काम सक्ने गरी खर्च जुटाउनै मुस्किल छ ।’ दिलनारायणका आफन्त मिलन मोक्तान सरकारले घोषणा गरेको एक लाख रुपैयाँले अन्तिम संस्कार गर्ने खर्च नपुगे पनि केही राहत हुने बताए ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याखुटारका २५ वर्षीय योगेन्द्र न्यौपाने (रोशन) को परिवारले आइतबार किरिया सकेको छ । काठमाडौंमा बसेर लोक सेवा तयारी गरिरहेका योगेन्द्रको २३ भदौमा गोली लागेर मृत्यु भएको थियो । मृतकका बाबु उमेशले छोराको किरिया सक्दासम्म सरकारका कोही प्रतिनिधि पनि सम्पर्कमा नआउँदा दुःख लागेको बताए । ‘मन्त्री बनाउने खेलमै सरकार अलमलिएको जस्तो देखियो, हाम्रो छोराको सहादत खेर जाने हो कि भन्ने पीर छ । हामीले पैसा मागेका छैनौं,’ उनले भने, ‘मेरो छोरा जस्ता धेरैले परिवर्तनका लागि रगत बगाएका छन्, उनीहरूको सपना पूरा होस् ।’
सिन्धुलीकै तीनपाटन गाउँपालिका–६ भलायोडाँडाका १९ वर्षीय दीपेश सुनुवारले पनि आन्दोलनमा ज्यान गुमाएका थिए । आमा भीमकुमारीले खोजतलासका क्रममा आफ्नो छोराको शव फेला पारेकी थिइन् । विपन्न परिवारकी उनले सरकारबाट अहिलेसम्म केही प्राप्त गरेकी छैनन् । ‘हामीले आफ्नो संस्कारअनुसार काम सक्यौं, राज्यले केही सोधखोज गरेको छैन,’ भीमकुमारीले भनिन्, ‘हाम्रो छोराले पैसाका लागि रगत बगाएको त होइन तर फेरि सरकार बनाउने खेलमा सबै बिर्सिंदै गए ।’ सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले माथिल्लो निकायबाट कुनै परिपत्र नभएकाले मृतकका परिवारलाई कुनै किसिमको सहयोग दिन नसकेको बताए ।
२३ भदौमै गोली लागेर मृत्यु भएका सिन्धुपाल्चोकका २१ वर्षीय योगबहादुर श्रेष्ठकी हजुरआमा सिर्जना श्रेष्ठले काजकिरिया खर्च मात्र नभई अन्य मागको पनि सुनुवाइ प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई आग्रह गरिन् । ‘मृतक कतिपय घरमूली पनि थिए । उनीहरूको परिवारले थप पीडा भोग्न नपरोस्, सरकारले मृतकका परिवारको समस्या बुझिदिनुपर्यो,’ उनले भनिन् ।
प्रहरीको गोली लागेर मृत्यु भएका सुनसरी इटहरीका मोहन सरदारको परिवारले राज्यका तर्फबाट कुनै पनि सहयोग नपाएको गुनासो गरेको छ । ‘अहिलेसम्म सरकारी पक्षबाट आर्थिक सहयोग त परको कुरा भयो, परिवारमा यस्तो बज्रपात भएका बेला राज्यका कुनै निकाय अहिलेसम्म समवेदना दिन पनि आएनन्,’ मोहनका दाजु गवनलाल सरदारले भने ।
इटहरी–१४ मा पर्ने सुकुम्बासी बस्तीका ४० वर्षीय मोहनलाई ज्यालामजदुरी गरेर फर्कने क्रममा २३ भदौमा प्रहरीको गोली लागेको थियो । सरदार परिवारलाई विभिन्न व्यक्तिगत सहयोग भने उठेको छ । परिवारमा राहत होस् भनेर अमेरिकाको कोलोराडोमा बस्दै आएका झापा शिवसताक्षीका नारायण अधिकारी र उनकी श्रीमती सिर्जना अधिकारीले १ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम मृतककी श्रीमती मञ्जुलाई अधिकारीका दाजु गंगाबहादुर अधिकारीले सोमबार घरमै पुगेर हस्तान्तरण गरेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सरकारले उपलब्ध गराउने भनेको राहत रकम अहिलेसम्म नआएकाले पीडित परिवारलाई हस्तान्तरण गर्न नपाएको बताउँछन् ।
आन्दोलनमै ज्यान गुमाएका सिन्धुपाल्चोक बाह्रबिसे–६ गातीका २२ वर्षीय श्रीकृष्ण (योगबहादुर) श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका २१ वर्षीय उमेश महतका परिवार काठमाडौंमा दाहसंस्कार गरेर गाउँ फर्किएका छन् । ‘सरकार आफैंले तत्काल दिने भनेको रकम पनि प्राप्त भएको छैन । देशका लागि भाइ जस्ता धेरैले ज्यान दिएका छन् । यसलाई सरकारले गम्भीरतापूर्वक लेओस्, परिवारलाई हेरोस्,’ उमेशकी दिदी सुमित्राले भनिन् । केही दिनअघि चौतारा साँगाचोकगढी इर्खुका वडाध्यक्षले १० हजार रुपैयाँ र श्रद्धाञ्जली पत्र दिएबाहेक अन्य कसैबाट केही नपाएको उनले बताइन् ।
शोकमग्न दुवै परिवारमा आफ्नाले दिएको बलिदान खेर जाने चिन्ता छ । उमेशका बुबाआमाले काठमाडौंमा सानोतिनो पसल चलाएका छन् । यता श्रेष्ठको परिवार कृषिमा निर्भर छ । भूकम्पपछि बल्ल तंग्रिएका दुवै परिवारमा शोकमाथि ठूलो चोट परेको श्रीकृष्णका आफन्त मुकुन्द श्रेष्ठले बताए । ‘भ्रष्टाचारमुक्त देश माग्दा दुवैले गोली खाए । यसले सिंगो परिवार मर्माहत त भएको छ तर बलिदानी खेर जाला भन्ने चिन्ता छ,’ उनले भने । श्रीकृष्ण माल्टा र उमेश दुबई जाने तयारीमा थिए । बाह्रबिसेका युवाले मृतक श्रीकृष्णको सालिक निर्माण गर्ने अभियान चलाएका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ जफतीका विमलबाबु भट्टको १३ दिने मृत्यु संस्कार सकिएको छ । खेतीकिसानीबाट घर धानिरहेको भट्ट परिवारले गाउँलेबाट सरसापट गरेर किरिया सकेको हो । २३ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर विमलको मृत्यु भएको थियो । ३० भदौमा गोरखा ल्याएर दरौदी घाटमा उनको दाहसंस्कार गरिएको थियो ।
छोराको मृत्युको खबर पाएदेखि नै बाबु रामकृष्ण र आमा सीताका आँखा ओभाएका छैनन् । दसैंमा घर आउने भन्दै ५ भदौमा काठमाडौं गएका विमल पोर्चुगल जाने भिसाको पर्खाइमा थिए । १३ दिनको काम सक्दासम्म गाउँपालिका अध्यक्षबाहेक सरकारका तर्फबाट कोही सम्पर्कमा नआएको विमलका दाइ अनिल बताउँछन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सहादत प्राप्त गरेकाहरूको नामावली आफूहरूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए । ‘आधिकारिक रूपमा मन्त्रालयबाट नामावली आएको छैन,’ उनले भने, ‘मन्त्रालयबाट कार्यविधि आएपछि घरमै पुगेर रकम उपलब्ध गराउँछौं ।’ आन्दोलनका क्रममा गोरखा बारपाक सुलिकोट–५ का विमल भट्ट, पालुङटार–३ का अनिश पराजुली (रमेश) र गण्डकी–४ का अर्जुन भट्टको मृत्यु भएको थियो ।
झापाको बिर्तामोडमा २४ भदौमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा–११ का ज्ञानेन्द्र (गोपाल) सेढाईंको काजकिरियाका लागि ८२ वर्षीय बुबा र ७८ वर्षीया आमा दुवै कोरामा बसे । सोमबार काजकिरिया त सकियो तर राज्यले दिने भनेको किरिया खर्च नै परिवारसम्म आइपुगेको छैन ।
‘जिल्ला प्रशासनबाट फोन गरेर परिवारको विवरण त सोधेको थियो, अरू केही पनि भनेन,’ गोपालकी माइली दिदी तुलसाले भनिन्, ‘आफन्तबाट ऋण लिएर काजकिरिया सक्यौं । अब कसरी तिर्ने भन्ने चिन्ता छ ।’ छरछिमेकले सक्दो सहयोग गरे पनि सरकारबाट अहिलेसम्म सहयोग नपाएको उनले सुनाइन् ।
बिर्तामोडमै २४ भदौमा प्रहरीको गोली लागेर ज्यान गुमाएका झापा अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशीको अन्तिम संस्कारको कर्म सकिने दिन बुधबार हो । बिहीबार उनको दाहसंस्कारमा सहभागी मलामी चोखिने दिन हो । उनको मृत्युपछिको कर्म सकिन लागे पनि सहिद परिवारको सोधीखोजीका लागि राज्यका कुनै पनि निकाय राजवंशी परिवारको आँगनमा पुगेको छैन ।
‘अहिलेसम्म त ऋणधन गरेर काम गर्यौं । अब बुधबार र बिहीबार झन् धेरै खर्च हुन्छ । कहाँबाट जुटाउने भन्ने चिन्ता छ,’ दिनेशका दाजु गोवर्द्धन भन्छन्, ‘सरकारले काजकिरिया खर्च दिने सुनेका थियौं तर कहिलेसम्म पाइन्छ, केही खबर छैन ।’ उनका अनुसार छरछिमेक तथा विभिन्न सामाजिक संघसंस्थाबाट सहयोग आए पनि राज्यले दिने भनेको रकमबारे केही खबर आएको छैन ।
‘बिहान १० बजेतिर एक हूल साथी आएर आन्दोलनमा जाऔं भने । नजानुस्, घरमै काम गरौं भन्दा पनि मान्नुभएन । साथीहरू लिन नआएको भए सायद मेरो श्रीमान्लाई केही हुने थिएन,’ पाँचथर हिलिहाङ–२ की सीता पौडेल भण्डारीले भनिन् । उनका पति कमल भण्डारीको २४ भदौमा झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो ।
३१ वर्षीय कमल पहिले ३ वर्ष कतारमा र त्यसपछि साउदीमा ५ वर्ष गरी जम्मा ८ वर्ष श्रम गरेर गत वैशाखमा घर फिरेका थिए । विदेशबाट फर्केपछि उनी श्रीमती र छोरालाई साथ लिएर झापाको बिर्तामोड–१० विराटपोखरामा घर बनाउँदै थिए । विदेशको कमाइ खर्चेर किनेको घडेरीमा घर बनाउने व्यवस्थाका कारण आफूहरूलाई भेट्नसमेत नआएको बुबा गणेशप्रसाद भण्डारीले बताए ।
उनको शव २८ भदौमा अमरपुर ल्याएर लिम्बुनी पुलमा दाहसंस्कार गरेपश्चात् काका शान्तिराम भण्डारी, आमा खगमाया र श्रीमती सीताले काजकिरिया गरेका छन् । ५७ वर्षका बाबु गणेश बिरामी छन् भने आमा कान सुन्दिनन् । ३ महिनाको गर्भवती रहेकी उनकी पत्नी सीताले केही निल्न सकेकी छैनन् । साथमा ५ वर्षीय छोरा छन् । उनले बेलाबेलै बाबा कहाँ जानुभयो ? कति बेला आउने भनेर सोध्दा झनै विक्षिप्त हुन्छिन् । त्यो बेला भण्डारी परिवारको सबै सदस्यका गला पटक–पटक अवरुद्ध हुन्छन् ।
‘दाजुको निधनपश्चात् न उनलाई आन्दोलनमा लिएर जाने कोही साथी सम्पर्कमा आएका छन् न आन्दोलनको नेतृत्व गर्ने कसैले भेटघाट, संवाद र फोन नै गरेका छन् । यति मात्रै नभएर हालखबर बुझ्न प्रशासन, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्तादेखि वडाध्यक्ष कोही पनि आइपुगेका छैनन्,’ बहिनी मायाले थपिन् ।
कमलको परिवारका बुबाआमा, श्रीमती, छोरा, भाइ र बहिनी गरी ६ जना सदस्य छन् । ज्यान गुमाएको २ सातासम्म भण्डारी परिवारले कमललाई सहिद घोषणा गरेको र राहत घोषणा गरेको समेत थाहा छैन । कमलको काजकिरिया पाँचथरको हिलिहाङ–३ सिंहापुरस्थित घरमा गरिएको छ ।
मृतक प्रहरीका परिवारले सापट लिएर अन्तिम संस्कार गरे
सिन्धुली घर भएका प्रहरी सहायक निरीक्षक मिलन रायका आफन्तले आर्थिक र पारिवारिक कारणले गाउँ लगेर अन्तिम संस्कार गर्न सकेनन् । परिवारले सापटी लिएर काजकिरिया सकेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–८ का मिलन डेढ वर्षकै उमेरमा टुहुरा भएका थिए । ब्लड क्यान्सरले बुबाको मृत्यु भएपछि विक्षिप्त भएकी आमाले पनि केही महिनामै ज्यान गुमाइएकी थिइन् । मिलन काकाको हेरचाहमा हुर्किएका थिए । ४ महिना अघि मात्र श्रीमती मंगला श्रेष्ठलाई ऋण खोजेर उनले जापान पठाएका थिए । उनको परिवारले अहिले पनि महिनाको ४० हजार रुपैयाँ किस्ता तिर्नु परिरहेको छ ।
मिलनका काका केशवका अनुसार काठमाडौंको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा प्रहरी कल्याण कोषबाट ४० हजार रुपैयाँ प्राप्त भएको थियो । ‘अरू केही सहयोग पाएका छैनौं । ५० हजार रुपैयाँ आर्यघाटमै खर्च भयो,’ उनले भने, ‘धार्मिक विधिअनुसार काजकिरिया गर्दा साढे दुई लाख रुपैयाँ खर्च भयो । गाउँघरमा सरसापट मागेर चलायौं ।’ प्रहरी वृत्त महाराजगन्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत ३० वर्षीय मिलनलाई २४ भदौमा सादा पोसाकमै रहेका बेला प्रदर्शनकारीले डीएसपी भन्दै कुटेर हत्या गरेका थिए ।
प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको परिवारको कथा पनि उस्तै छ । उनको शव पनि आर्थिक समस्याका कारण अन्त्येष्टि गर्न गाउँ लगिएन । पशुपति आर्यघाटमा प्रहरी कल्याण कोषबाट दिएको ४० हजारबाहेक अन्य सहयोग यो परिवारले पनि पाएको छैन ।
दार्चुला लेकम गाउँपालिका–३ गुमाखोली घर भएका उत्तमको भाइको ७ महिनाअघि मात्र भीरबाट खसेर मृत्यु भएको थियो । दुई सन्तानकी आमा अहिले गाउँमा एक्ली भएकी छन् । उत्तमका बुबाको मधुमेहका कारण पहिले नै मृत्यु भएको थियो । उत्तमकै जागिरले उनको घर चल्दै आएको थियो ।
अन्तिम संस्कारको खर्च उनका काकाहरूको सहयोगमा गरिएको आमाले सुनाइन् । उनका अनुसार गाउँमा रासन किनेकोदेखि अन्य घर खर्चसम्मको पैसा तिर्न बाँकी छ । ३० वर्षीय उत्तम ९ वर्षदेखि प्रहरी सेवामा थिए ।
प्रहरी प्रभाग कोटेश्वरमा सेवामा रहेकै समयमा मृत्यु भएका ३१ वर्षीय प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारले पनि सरसापट गरेर अन्तिम संस्कार सकेको छ । ‘गुरुङ समुदायको संस्कारअनुसार गर्नुपर्ने काम अझै छ,’ अमृतको श्रीमती शान्ति गुरुङले भनिन्, ‘अहिलेसम्म १ लाख रुपैयाँ खर्च भएको छ । छिमेकीसँग सापट लिएर संस्कार गरेका हौं ।’
कास्की रूपा गाउँपालिका–५ का अमृत परिवारको एक्लो छोरा हुन् । अमृतकी आमाको ९ महिनाअघि मात्र ब्रेनह्यामरेजबाट मृत्यु भएको थियो । त्यो समयको ऋण पनि गुरुङ परिवारमा छ । अमृतका २२ महिनाको छोरोसहित घरमा बाजे, बुबा, श्रीमती छन् । उनी १५ असोज २०७० मा प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी प्रधान कार्यालयले आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टी गरेर मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ तर वितरण बाँकी छ ।
मृतकका आफन्तले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ऋण गरेर काजकिरिया गर्नु परिरहेको गुनासो गरेका थिए । जेन–जी आन्दोलनका मृतक तथा पीडित परिवार संघर्ष समितिका संयोजक कमल सुवेदीले किरिया खर्च अन्त्येष्टिको भोलिपल्ट पाउनुपर्ने भए पनि हालसम्म नदिइएको गुनासो गरे । ‘गाउँमा सहिद परिवार ऋण लिएर काजकिरिया गर्न बाध्य छन् । समुदायअनुसार मलामीलाई ७, १३, २१ र ४५ दिनमा चोख्याउनु र खुवाउनुपर्छ,’ उनले भने, ‘तामाङ समुदायको त प्रत्येक पटक ५–६ जना लामा राखेर पूजा गर्नुपर्छ ।’
गृह मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले किरिया खर्चलगायत रकम दिन हकवाला यकिन गरी मन्त्रालयमा सूची पठाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिए ।
-ज्योती श्रेष्ठ (काभ्रे), राजकुमार कार्की (सिन्धुली), अर्जुन सुवेदी (सुनसरी), अनिश तिवारी (सिन्धुपाल्चोक), हरिराम उप्रेती (गोरखा), लक्ष्मी गौतम (पाँचथर), नवराज सुवेदी (झापा), विवेक पोख्रेल र प्रशान्त माली (काठमाडौं)
