विराटनगरमा आधा दर्जनभन्दा बढी पुस्तकालय छन् । पुस्तकालयमा सबै थोक छ । नभएका पाठक मात्रै हुन् ।
What you should know
विराटनगर — पहिला– पहिला विराटनगरका गल्ली र चोकमा पुस्तकालयको चर्चा सुनिन्थ्यो । जसरी अहिले चिया पसलमा राजनीतिक गफगाफ चल्छ । त्यसैगरी सहरभर नयाँ किताब र पुस्तकालयबारे कुराकानी हुन्थ्यो । बहस–विमर्श हुन्थ्यो ।
सहरकै पुरानो र ऐतिहासिक आदर्श पुस्तकालयमा किताब पल्टाउँदै बस्ने विद्यार्थी, आदर्श पुस्तकालयमा बहस गर्ने युवा, देवकोटा पुस्तकालयमा कविता रसास्वादन गर्ने पाठकहरू यी सबले विराटनगरलाई बौद्धिक र सांस्कृतिक सहरको पहिचान दिलाएका थिए । तर, अहिले समय बदलिएको । पुस्तकालयमा किताब त छन्, तर पाठक खोज्नु भने हराएको सियो खोज्नु जस्तो कठिन काम बनेको छ ।
कतिपय पुस्तकालयका ढोकामा ताल्चा झुन्डिएका छन् । पुस्तकहरू धुलोले ढाकेका छन्, धमिराले किताब खान थालेका छन् । पूर्वका धेरै सहर पुस्तकालयविहीन छन् । तर, विराटनगरमा आधा दर्जनभन्दा बढी पुस्तकालय छन् । सबै थोक छ । नभएका पाठक मात्रै हुन् ।
अहिले विष्णुमाया पुस्तकालय, गुराँस पुस्तकालय, आदर्श पुस्तकालय, देवकोटा पुस्तकालय, विराट राजवंशी सांस्कृतिक पुस्तकालय लगायत केही सामुदायिक पुस्तकालय अहिले पनि निरन्तर सञ्चालित छन् । तर, प्रायः पुस्तकालयको अवस्था नाजुक छ । ‘पहिला पाठकहरूको यस्तो भीड लाग्थ्यो कि बस्ने ठाउँ हुँदैनथ्यो’, २००३ सालमै स्थापित आदर्श पुस्तकालयका व्यवस्थापक राजेन्द्र रायले भने, ‘अहिले त प्रायः सुनसानै हुन्छ ।’
रायका अनुसार पुस्तकालयमा दिनभर विद्यार्थीको भीड हुन्थ्यो । सदस्यता कार्ड बनाएर किताब घर लगेर पढ्ने चलन पनि थियो । ‘अहिले त महिनौंसम्म नयाँ सदस्य थपिँदैन । किताब पल्टाउने हातहरू घट्दै गएका छन्,’ रायको दुखेसो छ ।
वि.सं. २००३ मा स्थापना भएको आदर्श पुस्तकालय कुनै बेला विराटनगरको शान मात्रै हैन, बौद्धिक विलासको केन्द्र थियो । तर अहिले यसको जीर्ण भवन हेर्दा लाग्छ, इतिहास र स्मृतिको भारी बोकेको यो पुस्तकालय अस्तित्व संकटमा छ ।
भट्टा चोकको विष्णुमाया पुस्तकालयले डिजिटल प्रणाली भित्र्याउँदै ई–लाइब्रेरीमार्फत आधुनिक पाठकलाई तान्ने प्रयास गरिरहेको छ । तर पनि पाठकको अभावै छ । व्यवस्थापक दिपेन नेउपाने भन्छन्, ‘हामीले डिजिटल क्याटलग र ई–बुक सेवा सुरु गरेका छौं, तर पुस्तकालय आउनुभन्दा युवाहरू मोबाइलमै पढ्न रुचाउँछन् । आधुनिक सुविधा हुँदा पनि पाठक घटिरहेका छन् ।’
किन घट्दै गयो किताब पढ्ने बानी ?
एमफिलको परीक्षामा ‘टप’ गरेका एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कान्तिपुर टिभीसँगको एक संवादमा भनेका छन्, ‘म दैनिक तीन घण्टा पढ्छु ।’ कोर्सको होस् या बाहिरी दैनिक पुस्तक पढ्दा ज्ञानको दायरा फराकिलो बन्छ ।
तर धेरैजसो सर्वसाधारणहरू किताब पढ्दै पढ्दैनन् । एक अध्ययनका अनुसार मोबाइल, इन्टरनेट, ई–बुक, युट्युब र अनलाइन नोट्सले विद्यार्थीलाई पुस्तकालयभन्दा टाढा धकेलिदिएको छ । ‘अब विद्यार्थी पुस्तक पल्टाएर होइन, स्क्रिन स्क्रोल गरेर ज्ञान खोज्छन्,’ विराटनगरका बौद्धिक अगुवा कृष्ण पोखरेलले भने, ‘पुस्तकालय गएर पुस्तक पल्टाउने युग समाप्तिको संघारमा छ ।’
धेरै पुस्तकालयमा दसकौँ पुराना किताब मात्रै छन् । नयाँ पुस्तालाई आकर्षित गर्ने अद्यावधिक साहित्य, अनुसन्धान वा करिअर–उन्मुख सामग्री अभावमा छन् । जसका कारण पनि युवा जमात पुस्तकालय जान त्यही जाँगर चलाउँदैनन् ।
पुस्तकालय पुनर्जीवित गर्ने योजना कागजमै सीमित छन् । पुस्तकालयको संरचना जीर्ण, फर्निचर पुरानो, पुस्तकहरू बिग्रिएका छन् । तर, महानगरले न त बजेट दिन्छ, न त व्यवस्थित नीतिगत योजना नै अघि सार्छ । विद्यालयमा पाठ्यपुस्तकमा सीमित घोकन्ते शिक्षाले विद्यार्थीमा ‘किताबसँग खेल्ने’ बानीको विकास गर्न सकेको छैन ।
पुस्तकालय बचाउने बाटो
विराटनगरका पुस्तकालयहरूलाई पुनर्जीवित गर्न स्थानीय समुदाय, नगरपालिका र प्रदेश सरकारको सामूहिक पहलको खाँचो देखिएको छ ।
डिजिटल पुस्तकालयको विस्तारः ई–बुक, अनलाइन जर्नल र इन्टरनेट पहुँचलाई सहज बनाउन आवश्यक रहेको विराटनगरका बौद्धिक अगुवाहरूको भनाई छ ।
‘नयाँ पुस्ताका रुचि अनुसार विज्ञान, प्रविधि, करिअर र साहित्यिक पुस्तक थपेर युवा र विद्यार्थीलाई आकर्षण गर्न जरुरी छ’, विराटनगरकी लेखक सीमा आभासले भनिन्, ‘नत्र पुस्तकालयलाई बचाउन गाह्रो छ ।’
साहित्यिक कार्यक्रमहरूको पुनःजीवनः लेखक–पाठक भेटघाट, वाचन गोष्ठी र साहित्यिक बहसले युवाहरूलाई पुस्तकालयतर्फ फर्काउन सक्ने अर्को सम्भावना पनि देखिन्छ ।
देवकोटा पुस्तकालयमा भेटिएकी स्नातकमा अध्ययनरत विद्यार्थी रीता साह भन्छिन्, ‘किताब पल्टाउँदा आउने गन्ध, पानाहरू उल्टाउँदा पाइने अनुभव अनलाइनमा भेटिँदैन । तर नयाँ किताबको कमी र पुराना पुस्तकालयको असुविधाले हामी निरुत्साहित हुन्छौं ।’
आदर्श पुस्तकालयमा किताबका पाना पल्टाइरहेका ५५ वर्षीय शिक्षक रघुनन्दन यादवका अनुसार पढ्ने संस्कार क्रमशः हराउँदै गएको छ । उनी भन्छन्, ‘यदि विद्यालयदेखि नै बालबालिकामा पढ्ने बानी विकास गरिएन भने सहरबाट पुस्तकालय मरेर जाने निश्चित छ ।’
