यसपटक एउटा सामान्य कथा मनिष राउतले सुनाए विजयलाई । अक्सर, सामान्य कुरा नै मानिसका लागि असामान्य बनिदिन्छन् । सामान्य मानिसका जीवनमा आउने असामान्य उतारचढावका कथा विजयलाई घत पर्यो ।
What you should know
काठमाडौँ — जीवनमा बाको भूमिका कस्तो हुन्छ ? अभिनेता विजय बराल हुर्किरहेका छोरालाई हेरेर सुस्तरी महसुस गर्दै छन् । तर फिल्म ‘पूर्णबहादुरको सारंगी’मा उनैलाई हेरेर धेरै सन्तानहरूले महसुस गर्न सके ।
सारंगी रेटेर छोरालाई डाक्टर बनाउने पूर्णबहादुरको आँखामा ठूलो सपना थियो । त्यो सपना देखेर भावुक भएका दर्शकहरू नरोई सायदै फर्किए । एउटा अभिनेतालाई पर्दामा बा मात्र बन्ने छुट कहाँ छ र ? उचाइमा उक्लिरहेको करिअरको सूचीमा नयाँ फिल्म थपियो– 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ । फिल्मसँगै भूमिका पनि बदलियो । अब विजय छोरा बनेर ६ भदौदेखि सपनाको नयाँ गोरेटो कोर्दै छन् । कतिले त लख पनि काटे– कतै 'पार्ट टु' त होइन ?
दर्शकहरूले लख काटेजस्तो त नहोला । तर अघिल्लो फिल्मलाई पहिलो खुड्किलो मान्ने हो भने विजयका लागि ‘जनै हराएको मान्छे’ दोस्रो खुड्किलो जरुर हो । ‘पूर्णबहादुरको सारंगी’का बा विजय ‘जनै हराएको मान्छे’मा छोराको भूमिकामा रुपान्तरित हुँदै छन् । 'म लक्की रहेछु,' उनी भन्छन्, 'यतिबेला म बा भएर छोरालाई हेर्दै छु । छोरा भएर बा ।' एकै समयमा दुइटा कुरा भोग्नु आफैंमा रोचक अनुभूति रहेको विजयले बताए ।
विजय आफ्नो सपना खोतल्छन् । सपनाभित्र एउटा अभिनेता चलमलाइरहेको छ । तर एउटा विजयभित्र एउटा सपनामात्र बाँच्ने छुट पनि छैन । ‘मसँगसँगै सपना थुप्रिएको छ । जस्तो कि एउटा श्रीमान्को सपना, छोराको सपना, दाइको सपना,’ उनी आफूलाई आफ्ना जिम्मेवारीसँग वर्गीकरण गर्छन् । उनलाई थाहा छ, पर्दामा मात्र होइन जीवनमै पनि एउटा व्यक्तिले निभाउने भूमिका एकैनासको हुन्न ।
यसपटक एउटा सामान्य कथा मनिष राउतले सुनाए विजयलाई । अक्सर, सामान्य कुराहरू नै मानिसका लागि असामान्य बनिदिन्छन् । सामान्य मानिसका जीवनमा आउने असामान्य उतारचढावका कथा विजयलाई घत पर्यो ।
त्यही घत परेको कथालाई उनले आफ्नो आत्मामार्फत पर्दामा भनेका छन् । धेरैले गर्ने टिप्पणीहरू उनको मनले टिपिरहेको छ । भन्छन्, ‘विजयलाई अब चुनौती छ ।’
तर चुनौती के मानेमा ? व्यापारमा वा कथामा ? वा चरित्रमा ? अरु त उनको बसमा छैन । उनको हातमा हुने भनेको त चरित्र नै हो । ‘चुनौती चिर्न चरित्रको माध्यमबाट अर्को लेयर देखाउन सक्छु कि सक्दिनँ भन्ने हुने रहेछ,’ विजय बोल्छन् । यसबाहेक अरु कुरामा त उनले धेरै सोचेका छैनन् । बाँकी जिम्मा दर्शकलाई नै ।
फिल्म खेल्नु भनेको संख्यामात्र थपिनु लाग्दैन विजयलाई । एउटा सिंगो मान्छे बदलिनु लाग्छ । केही महिनाअघि मात्र झिमिक्कै गएका दिनहरू उनको आँखामा अल्झिरहेका छन् । फिल्मको केही दृश्यहरूले पशुपति परिसरको हिस्सा ओगटेका छन् ।
दृश्यमा आउने कथा त पूर्वनिर्धारित छन् । विजयलाई दृश्यभित्र नअटाउने कथाहरूले झन् हानेका छन् । लास जलाएका मान्छेका कथादेखि भाडाको किरिया पुत्र बसेर जीवन बाँच्नेहरूसम्म ।
‘त्यतिबेला सोचिरहेँ, लास पोल्नेको कथा अलग हुन्छ । तर ऊ सामान्य हुन्छ । किरियापुत्री बस्ने मान्छेको कथा अलग हुन्छ । तर ऊ सामान्य हुन्छ,’ उनी बागमती किनार छेउ बस्ने सामान्य मान्छेका असामान्य कथातिरै बग्छन् । गन्ध सहेर बगिरहेको बागमती किनारमा लास जलिरहेका थिए । मान्छेहरू रोइरहेका थिए । ती आर्तनादको साक्षी बसिरहेका मानिसहरूको अगाडि अभिनय गर्नु कति कठिन थियो ?
विजयले सकसपूर्ण महसुस गरे । ‘मलाई टाउको उठाएर हेर्ने आँट आएन । म जे गरिरहेको छु त्यो काम हो । तर मनैबाट गरे पनि एक्टिङ त एक्टिङ हो नि,’ विजय भन्छन्, ‘हामी समाजभित्रका पात्र हौँ । तर गरिरहेका छौँ के भन्ने लागिरह्यो ।’
पशुपति परिसरमा केही युवक आए । भने, ‘विजय दाइ, हामीलाई चिन्नुभएन ? हुर्रेको बेलामा तपाईंसँग सुटिङ गरेका थियौँ नि ।’ एक दशकअगाडि त्यही परिसरमा भेटिएका भाइहरू त जवान भइसकेछन् ।
फिल्म ‘हुर्रे’ खिच्दा ती केटाहरूले विजयसँग अभिनय गरेका थिए । ‘उनीहरू माथिबाट पैसा फाल्थे । म टिप्न जान्थेँ,’ सुटिङको क्षण सम्झन्छन् विजय । त्यतिबेला २७ दिन पशुपतिमा बिताएका विजयले हर मान्छेलाई चिन्थे ।
‘ती मान्छे, जसको सपना पशुपति परिसरभन्दा बाहिर छैन । त्यही संसारमा सुन्दर तरिकाले बाँचिरहेका छन् उनीहरू,’ विजय थप पोखिन्छन् । फिल्मले जीवन बुझ्ने कला यिनै पात्रहरूसँग भेट गरेर न सिकाउँदो रहेछ । आजकल यस्तो लाग्छ उनलाई ।
फिल्मको कथालाई ट्रेलर र टिजरमा अटाएको भन्दा बढी त विजयले खुलाएनन् । तर क्लाइमेक्स सिनलाई लिएर आफूले अनुभूत गरेको कुरा भने सेयर गरे । ‘त्यो यस्तो सिन थियो, म गर्दागर्दै शून्य भएँ । रोइ मात्र रहेँ ।’
फिल्मका दुई चार डाइलगहरूले दर्शकलाई कति हान्छन् थाहा छैन । विजयलाई भने ‘खुत्रुकै’ पारे । जस्तो कि एउटा संवाद, ‘यो संसारमा सबैभन्दा गह्रुँगो चिज त आमाकै लास हुँदो रहेछ ।’
यो डाइलगले विजयलाई न्यानो बाँडिरहने हजुरआमा चिसो भएको दिनको याद आयो ।
‘राजागन्ज’को सुटिङ चलिरहेका बेला उनकी हजुरआमा बितिन् । सुटिङ बीचैमा छाडेर घर पुगे विजय । आँगनमा सबैजना हजुरआमासामु बसिरहेका थिए । टोलाएर एकोहोरो बसिरहेका विजयले वरिपरिकाले भनेका सुने, ‘छिटो लास लैजाऔं ।’
त्यतिबेला पीडा महसुस गरिरहेका विजयले ठाने, ‘मेरो हजुरआमालाई सबैले अस्तिसम्म दिदी भन्थे । आमा भन्थे । बित्नेबित्तिकै सबैको लास मात्र भइन् ?’ त्यतिबेला हजुरआमाको लास सबैभन्दा भारी लाग्यो विजयलाई ।
‘हजुरआमा अब जल्दै छिन् भन्ने लागेपछि मनको भारलाई शरीरले धान्न सक्दैन रहेछ,’ विजय सुनाउँछन् ।
फिल्ममा दिदीभाइको सम्बधको कथा उन्दै गर्दा उनलाई आफ्नै बहिनीको याद आयो । ‘बहिनी भान्जा पढाउन काठमाडौं आई । पर कोटेश्वरमा उसका लागि हामीले कोठा खोज्यौँ । त्यतिबेला भित्तामा गएर अडेसिँदै बहिनी रुन थाली । के भयो भनेर सोध्दा एक्लै भइयो भनी । त्यतिबेला मलाई खुब बचपनको याद आयो,’ विजय सुनाउँछन् ।
४० दिनको सुटिङ क्रममा छोराको जन्मदिन आयो । तर छोराको जन्मदिन छुटाउने अवस्था पनि आयो । त्यतिखेर उनले छोरालाई पत्र लेखे । ‘छोराले बुझ्छ भनेर होइन, पछि बुझोस् भनेर,’ विजय भन्छन् ।
फिल्म गर्दा पात्रको मनोविज्ञानसँग आफ्नो पनि मनोविज्ञान चलिरहँदो रहेछ । कतै न कतै जोडिइरहँदो रहेछ । फिल्ममा फरकफरक भूमिका बाँचिरहेका विजय सबै भूमिकामा बसेर जीवनलाई अनुभूत गर्छन् ।
तिनै अनुभूतिबाट सम्बन्धका धागाहरूलाई नटुट्ने गरी जोड्ने कला पनि सिक्छन् ।
