कैंची चलाउने फरक हातहरू

सैलुनको कुर्सीमा बसिरहेको ग्राहक, काँधमा तौलिया र पछाडिबाट कैंची चलाइरहेको पुरुष । अब यो दृश्य बिस्तारै फेरिँदै छ । किनकि कपाल काट्ने पेसामा महिलाहरु पनि आउन थालेका छन् र यो काम सौन्दर्यसँग जोडिन थालेको छ ।

भाद्र १, २०८२

प्रकृति दाहाल

Different hands wielding scissors

What you should know

काठमाडौँ — कपाल काट्ने पेसा र व्यक्ति भन्नेबित्तिकै एउटा दृश्य आउँछ— सैलुनको कुर्सीमा बसिरहेका ग्राहक, काँधमा तौलिया र पछाडिबाट कैंची चलाइरहेको पुरुष । यो पेसामा लामो समयको पुरुषहरुको 'वर्चस्व'लाई यतिबेला महिलाहरुले तोड्न खोजिरहेका छन् । तिनैमध्येकी एक हुन्, इलामकी समीक्षा थापा ।

९ वर्षदेखि उनी सौन्दर्यकर्मीका रुपमा आफूलाई व्यस्त राखिरहेकी छन् । सुरुमा त उनलाई यो काम एउटा रहर मात्रै थियो । नील डेभिड सैलुनमा ६ महिना तालिम लिएपछि उनको करिअरले नयाँ बाटो समात्यो । फेसियल, हेयरकट, कलर, मेनिक्योर, पेडिक्योर सबै सीप एकसाथ सिकेकी समीक्षाको कामलाई सुरुमा त परिवारले खासै रुचाएन् । तर उनी यही काम व्यावसायिक हिसाबले गर्न सकिन्छ भन्नेमा ढुक्क थिइन् । 

सहयोगीका रूपमा यो पेसामा छिरेकी उनले आफूलाई निखार्दै गइन् अनि सेवाग्राहीको विश्वास जित्न थालिन् । उनी अहिले महिला–पुरुष दुवै ग्राहकको कपाल काट्छिन् ।

पुरुष ग्राहकका लागि फेड, स्लोपजस्ता डिजाइन तयार गर्दा अझ ध्यान दिनुपर्ने उनको अनुभव छ ।  ‘पुरुषहरूको छोटो कपालमा गल्ती तुरुन्त देखिन्छ,’ उनले भनिन्, ‘त्यसैले सधैं ध्यान दिएर काम गर्नुपर्छ, सुरुमा केही पुरुष ग्राहक संकोच मान्थे, तर अहिले काम देखेर उनीहरू सहजै सेवा लिन्छन् ।’ 

000

समीक्षाकै जस्तो वर्तमान छ, सौर्न्दयविद् गंगा राईको । तर उनको पृष्ठभूमि भने थोरै फरक छ । सुरुवाती दिनमा पार्लर व्यवसायप्रति उनको खासै रुचि थिएन । तर उनका काकाले भने यो क्षेत्रमा भविष्य भएको बताइरहन्थे । सुरुमा केही सीप सिक्ने सोच मात्रै राखेकी उनले बिस्तारै यही पेसामा भविष्य देख्न थालिन् । १४ वर्षको अनुभव सँगालेकी गंगाले सुरुमा महिलाको मात्र कपाल काट्थिन्, बिस्तारै पुरुषको कपाल पनि काटन थालिन् ।

उनले अनुभवको सार खिचेर सुनाइन्, 'पहिलेपहिले महिलाले पनि पुरुषहरूको कपाल काट्न सक्छन र भन्ने सोच र संकोच दुवै थियो । तर समयसँगै यो कुरा पनि बदलियो । अहिले तर यसमा धेरै खुलापन आएको छ ।'

महिलाले पुरुषको कपाल काटिरहेको दृश्य अब पार्लर वा सैलुनमा देखिनु सामान्य बन्दै जानुमा समीक्षा र गंगाजस्तै महिलाहरुले खेलेको भूमिकाको देन छ । उनले सुनाइन्, 'यस क्षेत्रमा आम्दानी र सम्मान दुवै मिल्दै गएको छ ।'  

000

अर्चना परियारसँग सानैदेखि ब्युटिसियन बन्ने रहर थियो । उनको रहरमा आमाको पनि साथ थियो । त्यसैले त उनी एसएलसी सक्नेबित्तिकै ६ महिनाको तालिम लिइन् । अनि सौन्दर्य सेवा क्षेत्रमा पाइला हालिन् । सुरुमा महिलाको कपाल मात्रै काट्ने उनका हात पछिपछि पुरुषको कपाल काट्न पनि सहज हुँदै गए । तर यो यात्रा त्यति सहज कहाँ थियो र ? सुरुवाती दिनमा उनले केटाको कपाल काट्न सिक्नका लागि आफ्नै केटा साथीहरुलाई भनेकी थिइन् । केटा साथीहरुले उनलाई भन्थे, ‘केटी भएर केटाको कपाल काट्ने कुरा नगर न । ’ तर उनले हिम्मत हारिनन् । 

एकाध साथीहरुको टाउकामा कैंची चलाएपछि त उनी अनुभवी बन्दै गइन् । अहिले त उनी स्वयम्भूस्थित आफ्नै युनिसेक्स सैलुनमा व्यस्त हु्न्छिन् । मेकअप आर्टिस्टबाट यात्रा सुरु गरेकी अर्चना अहिले  हेयर स्टाइलिसका रूपमा स्थापित हुने ध्याउन्नमा छिन् । Different hands wielding scissors
हेयर कटिङ, फेस ट्रिटमेन्ट, कलर, केराटिन, स्किन केयर, हेयर स्पा जस्ता सेवाहरू दिने अर्चना मेकअपमा गहिरो रुचि राख्छिन् । पछिल्लो समय पुरुषहरूमा पनि सौन्दर्यप्रतिको सचेतना बढेको बताउँदै उनले यस क्षेत्रमा राम्रो भविष्य भएको बताइन् । भनिन्, ‘पुरुषहरुमा पनि सौन्दर्य चेतना बढ्दो छ । त्यसैले यो क्षेत्रमा राम्रो स्कोप छ । मेहनत गरेमा राम्रो आम्दानी छ ।'

000

गोगंबुस्थित द हिमालयन हेयरलाइन्स एन्ड बार्बर सपमा व्यस्त देखिन्छिन्, मोनिका तामाङ । सानैदेखि केही नयाँ काममा रुचि राख्ने मोनिकाका हातले कैंची चलाउन थालेकै ५ वर्ष भइसक्यो । पुरुषको कपाल काटेको भिडियो सामाजिक सञ्जालमा राखेपछि प्राप्त प्रतिक्रियाबाट पुलकित मोनिकाले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । 

नयाँ पुस्ताले फरक, क्रिएटिभ र ट्रेन्डी कपाल कटिङलाई प्राथमिकता दिने भएकाले यो काममा चुनौती र पहिचान दुवै भएको उनले बताइन् । महिलाहरूले पनि कपाल काट्न सक्छन् भनेर विश्वास पनि बढ्दै गएको उनको अनुभव छ । 'कपाल काट्नु भनेको कपाल छोट्याउने काम मात्रै नभएर यो त फेसन र सौन्दर्यसँग जोडिएको छ,' उनी ढुक्क छिन्, 'धैर्य र लगनशील हुने हो भने यो पेसामा आम्दानी र स्कोप दुवै छ ।'

प्रकृति दाहाल दाहाल कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully