आशान्तले रंगमञ्चबाट फिल्ममा पहिलोपटक आफ्ना कथा प्रस्तुत गर्दै छन्, आगामी भदौ ६ मा उनको फिल्म प्रदर्शन हुनेछ ।
What you should know
काठमाडौँ — मानिस विचलित भएको कुनै रात निदाउन सकेन भने के गर्छ ? रंगकर्मी आशान्त शर्मा उकुसमुकुसमै बितेका रातहरू सम्झँदै भन्छन्, ‘चारैतिर अँध्यारो भएका बेला, मन चिसो भएका बेला, ननिदाएको बेला म आकाशमा हेर्ने गर्छु । त्यहाँ ताराहरू चम्किरहेका हुन्छन् । अनि सोच्छु– त्यहाँमाथि उज्यालो त छ नि ।'
उज्यालो आशा हो । त्यही आशा जगाउने ताराहरूसँग संवाद गरेपछि आशान्त शान्त हुन्छन् ।
के त्यस्तै आशा जगाउने ताराहरू धरतीमाचाहिँ छैनन् ?
उनी भन्छन्, ‘छन् । जमिनमा प्रशस्तै तारा छन् । जो दु:खको बेला दियो बनेर आउँछन् ।’ ती ताराहरू आफन्त हुन सक्छन्, साथीहरू हुन सक्छन् । तिनै आशा जगाउने साथीहरूका निम्ति उनले यसपालि फिल्म ‘ताराहरू’ लिएर आएका छन् ।
‘फिल्ममा सर्रियल ताराहरूको दृश्य छैन । तर जमिनका हँसाउने ताराका सम्बन्धका कथा छन्,’ उनी भन्छन् ।
प्राय: रंगमञ्चबाट कथा भनिरहने उनले पहिलोपटक फिल्मका पर्दाहरूमा आफ्नो कथालाई उने । आगामी भदौ ६ मा त्यो दर्शकहरूको हुनेछ ।
हामीले सोध्यौं, ‘यो कथा किन फिल्मकै पर्दाबाट भन्न मन लाग्यो ?’
उनी दुई वर्ष अगाडिका प्रसंगतर्फ लगे । दुई वर्षअघि उनले टेकुस्थित कौशी थिएटरमा नाटक ‘साथी, साथी आइदेऊ न’ निर्माण गरेका थिए । किशोर मनोविज्ञानलाई गहिरो खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाएका थिए । आत्महत्याको मार्गमा हिँडेकी किशोरीको भेट एक अधबैंसे पुरुषसँग हुन्छ । ऊ साथी बन्छ । मृत्यु कल्पेर हिँडेकी किशोरीको आँखामा सपना भरिदिन्छ । आशा भरिदिन्छ । खुसी भरिदिन्छ ।
त्यो कथा जति भने, त्यतिले मात्र उनको धीत मरेको थिएन । सोचे- फिल्मका पर्दाहरूमा यस्ता कथा खै ?
उसो त फिल्महरूमा कथाकै अभाव देखिरहेका उनले जोखिम उठाउने सोच बनाए ।
सबैका कथा आइरहँदा अधबैंसे मानिसका मानसिक स्वास्थ्यका विषयमा चर्चा भएको उनले थाहा पाएका थिएनन् । ‘त्यसपछि मैले अधबैंसे मानिसको कथा भन्ने विचार गरेँ,’ आशान्त भन्छन् ।
मध्यमवर्गीय परिवारमा जन्मेको पुरुषले सपना र चाहना पूरा गर्न कति संघर्ष गर्छ ? समाजले उसको बारेमा के सोच्छ ? अनि उसले समाजबारे के सोच्छ ? 'कथा यसकै वरिपरि घुमेको छ,' उनी भन्छन् ।
‘सबै संघर्षदेखि हारेर अन्धकारमा बसेको मान्छेका जीवनमा साथीहरू आउँछन् । ती साथीले डोहोर्याएर कसरी उज्यालो देखाइदिन्छन् ? यो त्यही उज्यालोको कथा हो,’ उनी निर्धक्क भन्छन् ।
कथा उन्छु र भन्छु भन्ने सोच आए पनि आँटिहालेका थिएनन् उनले । जीवनमा केही पीडादायक क्षण र अत्यासका कारण उनले यो निर्णय लिए । केही वर्षअघि उनले क्यान्सरका कारण आमा गुमाए । बहिनी पनि क्यान्सरकै कारण गइन् । त्यो पीडा त छँदै थियो ।
एकदिन उनले आफ्नो ओठमा गिर्खा पलाएको महसुस गरे । ‘त्यो गिर्खा दुख्दैन थियो । क्यान्सरकै संकेत हो भनेर डर लाग्यो,’ उनी सम्झिन्छन् । अस्पतालमा जाँच गराउन जाँदा बायोप्सी गर्ने निधो भयो । ‘यदि क्यान्सरै रहेछ भने त गर्नुपर्ने काम अधुरै रहन्छन्,’ अतालिँदै सोचे । ‘त्यहीबेला मैले फिल्म त बनाइहाल्नुपर्छ भनेर निर्णय गरेँ,’ उनी सुनाउँछन् ।
बायोप्सी जाँचको रिपोर्ट आउन २० दिन लाग्यो । त्यति दिनमा त उनले फिल्मको सुटिङ पूरा गरे । सुटिङ सकेर रिपोर्ट लिन जाँदा थाहा भयो, ‘त्यो गिर्खो क्यान्सरको संकेत हैन, आफ्नै दाँतले टोकेर बनेको घाउ रहेछ ।’ यदि त्यो डर थिएन भने आँट कसरी आउँथ्यो ? आजकल उनलाई लाग्छ, ‘कुनै राम्रो काम गर्नुछ भने समय यही हो भनेर गरिहाल्नुपर्ने रहेछ । साँचिराख्यो भने ढिला हुन्छ ।’
सधैं फिल्महरूका पात्र निर्वाह गरेका मान्छे यसपटक त आफैं एक्टर ।
सोध्यौं, ‘मेकर भएर उभिँदा कस्तो हुने रहेछ ?’
उनी फिस्स हाँसे र भने, ‘चक्रव्यूहमा छिरेको अभिमन्यु जस्तो । छिरि त हालेँ । अब लड्नैपर्छ लाग्दो रहेछ ।’
फिल्मको प्रमुख पात्र मोहनसँग हामी अहिलेसम्म टिजर, ट्रेलर र गीतमा मात्र परिचित छौं । उसको ह्युमरलाई झिनो महसुस गर्न पाएका छौं ।
उसको कथासँग कताकता ठोकिन पाएका छौं । उसलाई पछ्याउन र महसुस गर्न त हलमै पुग्ने दिनको प्रतीक्षा गर्नुपर्छ । त्यो मोहनको अवतार भने उनले नै धारण गरेका छन् । आफैं निर्देशक, आफैं एक्टर ?
प्रश्नको जवाफ उनले इमानदारीपूर्वक दिए, ‘खासमा हामीले त यो पात्रमा हरिवंश दाइको अनुहार देखेका थियौं । सोच्दासोच्दै पनि अर्को मनले भन्यो– स्टारलाई खेलायो भने कथाको मर्म मर्ला कि ! फिल्ममा कथाभन्दा स्टारको भ्यालु बढी भयो भने त सकिन्छ । यो कुरा हरिवंश दाइसम्म पुर्याउन पाएनौं ।’
एकदिन कौशी थिएटरकी आकांक्षा कार्कीले उनलाई झकझक्याइन्, ‘दाइ, यो त तपाईं नै गर्नु । तपाईंलाई फिट हुने क्यारेक्टर छ ।’
सोचे, मनन गरे । अनि बल्ल आफूले कल्पेको मोहन पात्रलाई आफैंभित्र अपनाए ।
फिल्म रिलिजको दिन नजिक-नजिक आइपुगेको छ । यतिबेला लेखक, निर्देशक र कलाकार आशान्त औधि उत्साहित छन् । तर प्रोड्युसर आशान्त गलेका छन् । आत्तिएका छन् ।
लागिरहेको छ, ‘फिल्म बनाउनभन्दा चलाउन गाह्रो रहेछ ।’
साथीले ३० लाखमा फिल्म सुरु गरिहाल्नुस् भने । ६० लाखसम्म चाहिँ गर्छु भनेर उनले आँट गरेँ । 'तर फिल्मको हरेक प्रोसेसमा खर्च,’ उनी मन अमिलो बनाउँछन् ।
फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोड कमाएपछि त केही बदलाव आएका रहेछन् । जस्तो कि हिजो नि:शुल्क पाइने सुटिङस्थलमा अहिले शुल्क लिन थालिएको रहेछ । ‘तपाईंहरू कमाउने, हामीलाई नदिने भन्ने कुराहरू सुनेँ । प्राविधिकहरूको पारिश्रमिक पनि बढेको रहेछ,’ उनी भन्छन् ।यद्यपि थिएटरका कलाकारहरूले उनलाई स्वस्फूर्त सहयोग गरे ।
पैसाभन्दा पनि सपनाले फिल्म बनाएका उनी ठूला ब्यानरका प्रोड्युसरजस्तो पैसा ‘खन्याउन’ सक्दैनन् । ‘ताराहरु’ कथाले चम्किए मात्र हो, प्रचार र विज्ञापनले चम्काउन सकेनन् । ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’सँगै रिलिज हुने ‘ताराहरू’ले कति हल पाउँछ ? कति शो पाउँछ, उनी अन्योलमा छन् । आशान्तलाई यतिचाहिँ विश्वास छ कि, ‘मेरो कथावस्तु बलियो छ ।’
नेपाली फिल्म हेरेर हलबाट फर्किएका दर्शक कोही रुँदै निस्केका देखेका छन् उनले । कोही हाँस्दै, कोही मेकरलाई गाली दिँदै मुर्मिरिने पनि छन् । आशान्त आफैं पनि दिकदार लागेर फर्किएका छन् ।
तर आफ्नो फिल्म रिलिज हुँदै गर्दा उनी हलबाट निस्किरहेका दर्शकहरूको कस्तो प्रतिक्रिया चाहन्छन् त ?
'आनन्द लिएर फर्किरहेका दर्शकहरू देख्न पाऊँ । त्यो देखेर मैले पनि आनन्द लिन पाऊँ,’ उनी आशाजडित मुद्रामा भन्छन् ।
