जब स्वाद पारखीहरू पाटनको पिमबहालमा रहेको ‘टेस्ट अफ सिक्किम’ रेस्टुरेन्ट पुग्छन् । अर्डर गर्छन् । र परिकारको मजा लिँदै मुक्तकण्ठले प्रशंसा गर्छन्, ‘सिक्किमको स्वाद जहिल्यै मीठो ।’
What you should know
काठमाडौँ — सिक्किमको बेग्लै स्वाद बोकेर नेपालमा थुप्रै कलाकार आए । कहिले कवि आए, कविता पस्किए । कहिले संगीत सर्जक आए, गीत पस्किए । कहिले फिल्मकर्मी आए, फिल्म पस्किए । नेपाली माटोमा सिक्किमको अर्गानिक सौन्दर्य जहिल्यै सुहाउँदिलो छ ।
त्यसैले आउनेहरू साहित्य र सिर्जना मात्र बोकेर आएका छैनन् । विभिन्न परिकारका स्वादसमेत लिएर आएका छन् । जब स्वाद पारखीहरू पाटनको पिमबहालमा रहेको ‘टेस्ट अफ सिक्किम’ रेस्टुरेन्ट पुग्छन् । अर्डर गर्छन् । र परिकारको मजा लिँदै मुक्तकण्ठले प्रशंसा गर्छन्, ‘सिक्किमको स्वाद जहिल्यै मीठो ।’
सात महिना मात्र भयो यो रेस्टुरेन्ट खुलेको । छोटो समयमै ग्राहकहरूलाई लोभ्याउन सक्यो पो कसरी ? रेस्टुरेन्टकी सञ्चालक युवावयकी स्वीकृति थापा निर्धक्क भन्छिन्, ‘सिक्किमेली परिकारकै कारण ।’
स्वीकृति काठमाडौंमै हुर्किइन् । तर पनि उनको भान्सामा सिक्किमेली परिकार पाकिरहे । कारण, आमाको माइती सिक्किममै थियो । आमाले मात्र हैन, मामाघर जाँदा हजुरआमाले बनाएको देखेर पनि स्वीकृति पाककलासँग परिचित हुँदै गइन् । उनी सानैदेखि पकाउन सिपालु भइन् ।
स्वीकृतिले कुलिनरी आर्ट्समा डिप्लोमा गरिन् । अस्ट्रेलिया गएर ३ वर्ष बर्गर हाउसमा काम गरिन् । तर उनको मन अस्ट्रेलियामा कहाँ अडिन्थ्यो र । फर्किने योजना बनाइन् । नेपाल फर्केर उनको योजनाको रोडम्यापमा सधैं रेस्टुरेन्ट पर्थ्यो ।
नभन्दै तीन वर्षे अस्ट्रेलिया यात्रा टुंग्याएर सन् २०१९ मा स्वदेश फर्किइन् । अनि उता काम गरेको अनुभव मन्थन गरिन् । अनुभवले भन्यो, ‘बर्गर हाउस खोलौँ ।’ तर मनले सोच्यो, ‘अरुभन्दा के फरक भयो र ?’ स्वीकृतिले अस्ट्रेलियाको भान्छा हैन, घरको भान्छा सम्झिइन् । जहाँ आमाले पकाएका सिक्किमेली स्वाद मग्मगाइरहेका हुन्थे । हजुरआमाका हातका कलाले पछ्याइरहेका हुन्थे । त्यसपछि बल्ल स्वीकृतिले रोजिन् ‘सिक्किमेली स्वाद ।’
त्यसमाथि आफ्नो सोच जीवनसाथी दीपक रिखाम मगरसँग मिल्यो । ‘हामी दुवै फरक स्वादका पारखी । नयाँ टेस्ट भएको फुड फरक फरक ठाउँमा गएर खान्थ्यौँ,’ स्वीकृति सुनाउँछिन् । उनीहरूको स्वाद मात्र हैन, पढाइ र बुझाइ पनि मिल्यो । ‘अब सिक्किमेली परिकारको परिचय दिनुपर्छ भनेर १७ लाखमा व्यवसाय थाल्यौँ,’ स्वीकृति थप्छिन् ।
सिक्किमको स्वादमध्ये धेरै ग्राहकको रोजाइमा यतिबेला टिङ्मो (टि–म:म) परेको छ । नेपालमा पाइने साधारण मःमभन्दा फरक हुनु नै यसको विशेषता हो । ‘ममभित्र फिलिङ भरेको हुँदैन । किमाहरु हालेको हुँदैन । यो रोल गरेको हुन्छ । स्टिम गरेपछि चिल्ली ओयलसँग सर्भ गरिन्छ,’ उनी टिङ्मोको पाक कलाबारे वर्णन गर्छिन् । स्वीकृतिको ठम्याइमा ग्राहकरूले यसलाई आलुदमसँग रुचाइरहेका छन् ।
ग्राहकका आँखा जाने मेन्युलाई पल्टाएर स्वीकृति स्वादका विविधताबारे भनिरहेकी छन् । तिनै रोजाइमध्येमा पर्छ पोर्क खुट्टी अचार । ‘यो सानोमा हजुरआमाले बनाउँदा मैले पनि सिकेको हुँ,’ उनी परिकार चिनाउँदै भन्छिन् ।
आलु दमको प्रसङ्ग त मो:मो चिनाउँदा पनि आएको थियो । स्वीकृति यसलाई थप विस्तारपूर्वक भन्छिन्, ‘आलुबाट बन्ने यो परिकार अरु ठाउँमा पाउने स्वाद र पकाउने शैलीभन्दा फरक छ । सादा खान रुचाउनेहरुले एकदमै मन पराउनुहुन्छ ।’
अर्डरमा नछुट्ने अर्को नाम त ‘तिब्बतीयन थेन्तुक’ पनि हो । थेन्तुक सुप बेस नुडल्स हो । यो मुख्यत: तीब्बत, भुटान, सिक्किम र हिमाली भेगमा धेरै पाइन्छ । जाडो वा बर्खाको मौसममा यो बढी ग्राहकको रोजाइमा पर्छ । ‘थेन्तुकको रेसिपी ठाउँ अनुसारको फरक फरक हुन्छ । यहाँ बफ, चिकेन र पोर्कमा फ्राइ बेस र सुप बेस दुवै प्रकारको थेन्तुक पाइन्छ,’ उनी भन्छिन् ।
स्वीकृति फेरि भान्छामा पाक्ने नयाँ म:म:तिर लाग्छिन् । यो भने ताइपो (बिग मःम)नामले परिचित छ । ‘यो धेरै नै ठूलो हुन्छ । यसलाई भेज, चिकेन, मटन लगायत जुनमा पनि बनाउन मिल्छ,’ उनी थप्छिन्, ‘बाहिरबाट नरम हुन्छ । भित्र जुसी हुन्छ ।’
हिमाली भेगमा पाहुना सत्कारदेखि अनिवार्य खाइने सु–चियाले पनि पाटनको यो रेस्टुरेन्टमा अड्डा जमाएको छ । बटर, नुन र दूधको मिश्रणबाट बनाइने यो चिया पिएपछि पनि ग्राहकहरू फर्की फर्की आउने स्वीकृतिको ठम्याइ छ । किमा नुडल्स, विङ्स, स्याफली र सी मःम त प्राय अरु रेस्टुरेन्टमा पनि पाइन्छन् । तैपनि राख्नुको कारण स्वीकृति खुलाउँछिन्, ‘धेरै ग्राहकले खोजेपछि किमा नुडल्सहरु पनि समेट्यौँ ।’
सुरुवाती दिनमै रेस्टुरेन्टले लय लिएको थियो । सामाजिक सञ्जालमा ग्राहकका सकारात्मक रिभ्युहरूले अरु धेरैको ध्यान खिच्यो । स्वाद पारखीहरु खोजी खोजी पुग्न थाले । 
ग्राहकलाई एक पटक हैन, पटक पटक तान्न सक्नु नै रेस्टुरेन्टको कला हो । त्यो कलामा मिसिएको अर्को पाटो हो स्वस्थ र अर्गानिक खानेकुरा । ‘हामी मसलाको प्रयोग निकै कम गर्छौँ । सचेत ग्राहकका लागि यो महत्त्वपूर्ण कुरा रहेछ,’ उनी भन्छिन् ।
स्वीकृतिको खुसीको ग्राफ त त्यतिबेला उकालो लाग्छ, जतिबेला अन्य देशका पर्यटक पनि खोज्दै खोज्दै यहाँसम्म पुग्छन् । त्यसमाथि नेपालका सरकारी र निजी संस्थाका कर्मचारी, युवायुवतीहरू पनि यहाँको परिकारसँग सन्तुष्ट छन् । फरक स्वादको आशा गरेर आउने हर ग्राहकका लागि ‘टेस्ट अफ सिक्किम’को दैलो हरेक दिन १२ बजेदेखि बेलुकी ९ बजेसम्म खुला रहनेछ ।
