अस्ट्रेलिया छाडिन्, सिक्किमको स्वाद नेपाल भित्र्याइन्

जब स्वाद पारखीहरू पाटनको पिमबहालमा रहेको ‘टेस्ट अफ सिक्किम’ रेस्टुरेन्ट पुग्छन् । अर्डर गर्छन् । र परिकारको मजा लिँदै मुक्तकण्ठले प्रशंसा गर्छन्, ‘सिक्किमको स्वाद जहिल्यै मीठो ।’

श्रावण २७, २०८२

आरती पौडेल

She left Australia and brought the taste of Sikkim to Nepal

What you should know

काठमाडौँ — सिक्किमको बेग्लै स्वाद बोकेर नेपालमा थुप्रै कलाकार आए । कहिले कवि आए, कविता पस्किए । कहिले संगीत सर्जक आए, गीत पस्किए । कहिले फिल्मकर्मी आए, फिल्म पस्किए । नेपाली माटोमा सिक्किमको अर्गानिक सौन्दर्य जहिल्यै सुहाउँदिलो छ ।

त्यसैले आउनेहरू साहित्य र सिर्जना मात्र बोकेर आएका छैनन् । विभिन्न परिकारका स्वादसमेत लिएर आएका छन् । जब स्वाद पारखीहरू पाटनको पिमबहालमा रहेको ‘टेस्ट अफ सिक्किम’ रेस्टुरेन्ट पुग्छन् । अर्डर गर्छन् । र परिकारको मजा लिँदै मुक्तकण्ठले प्रशंसा गर्छन्, ‘सिक्किमको स्वाद जहिल्यै मीठो ।’ 

सात महिना मात्र भयो यो रेस्टुरेन्ट खुलेको । छोटो समयमै ग्राहकहरूलाई लोभ्याउन सक्यो पो कसरी ?  रेस्टुरेन्टकी सञ्चालक युवावयकी स्वीकृति थापा निर्धक्क भन्छिन्, ‘सिक्किमेली परिकारकै कारण ।’

स्वीकृति काठमाडौंमै हुर्किइन् । तर पनि उनको भान्सामा सिक्किमेली परिकार पाकिरहे । कारण, आमाको माइती सिक्किममै थियो । आमाले मात्र हैन, मामाघर जाँदा हजुरआमाले बनाएको देखेर पनि स्वीकृति पाककलासँग परिचित हुँदै गइन् । उनी सानैदेखि पकाउन सिपालु भइन् ।

स्वीकृतिले कुलिनरी आर्ट्समा डिप्लोमा गरिन् । अस्ट्रेलिया गएर ३ वर्ष बर्गर हाउसमा काम गरिन् । तर उनको मन अस्ट्रेलियामा कहाँ अडिन्थ्यो र । फर्किने योजना बनाइन् । नेपाल फर्केर उनको योजनाको रोडम्यापमा सधैं रेस्टुरेन्ट पर्थ्यो ।

नभन्दै तीन वर्षे अस्ट्रेलिया यात्रा टुंग्याएर सन् २०१९ मा स्वदेश फर्किइन् । अनि उता काम गरेको अनुभव मन्थन गरिन् । अनुभवले भन्यो, ‘बर्गर हाउस खोलौँ ।’ तर मनले सोच्यो, ‘अरुभन्दा के फरक भयो र ?’ स्वीकृतिले अस्ट्रेलियाको भान्छा हैन, घरको भान्छा सम्झिइन् । जहाँ आमाले पकाएका सिक्किमेली स्वाद मग्मगाइरहेका हुन्थे । हजुरआमाका हातका कलाले पछ्याइरहेका हुन्थे । त्यसपछि बल्ल स्वीकृतिले रोजिन् ‘सिक्किमेली स्वाद ।’

त्यसमाथि आफ्नो सोच जीवनसाथी दीपक रिखाम मगरसँग मिल्यो । ‘हामी दुवै फरक स्वादका पारखी । नयाँ टेस्ट भएको फुड फरक फरक ठाउँमा गएर खान्थ्यौँ,’ स्वीकृति सुनाउँछिन् । उनीहरूको स्वाद मात्र हैन, पढाइ र बुझाइ पनि मिल्यो । ‘अब सिक्किमेली परिकारको परिचय दिनुपर्छ भनेर १७ लाखमा व्यवसाय थाल्यौँ,’ स्वीकृति थप्छिन् । 

सिक्किमको स्वादमध्ये धेरै ग्राहकको रोजाइमा यतिबेला टिङ्मो (टि–म:म) परेको छ । नेपालमा पाइने साधारण मःमभन्दा फरक हुनु नै यसको विशेषता हो । ‘ममभित्र फिलिङ भरेको हुँदैन । किमाहरु हालेको हुँदैन । यो रोल गरेको हुन्छ । स्टिम गरेपछि चिल्ली ओयलसँग सर्भ गरिन्छ,’ उनी टिङ्मोको पाक कलाबारे वर्णन गर्छिन् । स्वीकृतिको ठम्याइमा ग्राहकरूले यसलाई आलुदमसँग रुचाइरहेका छन् ।She left Australia and brought the taste of Sikkim to Nepal

ग्राहकका आँखा जाने मेन्युलाई पल्टाएर स्वीकृति स्वादका विविधताबारे भनिरहेकी छन् । तिनै रोजाइमध्येमा पर्छ पोर्क खुट्टी अचार । ‘यो सानोमा हजुरआमाले बनाउँदा मैले पनि सिकेको हुँ,’ उनी परिकार चिनाउँदै भन्छिन् ।

आलु दमको प्रसङ्ग त मो:मो चिनाउँदा पनि आएको थियो । स्वीकृति यसलाई थप विस्तारपूर्वक भन्छिन्, ‘आलुबाट बन्ने यो परिकार अरु ठाउँमा पाउने स्वाद र पकाउने शैलीभन्दा फरक छ । सादा खान रुचाउनेहरुले एकदमै मन पराउनुहुन्छ ।’

अर्डरमा नछुट्ने अर्को नाम त ‘तिब्बतीयन थेन्तुक’ पनि हो । थेन्तुक सुप बेस नुडल्स हो । यो मुख्यत: तीब्बत, भुटान, सिक्किम र हिमाली भेगमा धेरै पाइन्छ । जाडो वा बर्खाको मौसममा यो बढी ग्राहकको रोजाइमा पर्छ । ‘थेन्तुकको रेसिपी ठाउँ अनुसारको फरक फरक हुन्छ । यहाँ बफ, चिकेन र पोर्कमा फ्राइ बेस र सुप बेस दुवै प्रकारको थेन्तुक पाइन्छ,’ उनी भन्छिन् ।

स्वीकृति फेरि भान्छामा पाक्ने नयाँ म:म:तिर लाग्छिन् । यो भने ताइपो (बिग मःम)नामले परिचित छ । ‘यो धेरै नै ठूलो हुन्छ । यसलाई भेज, चिकेन, मटन लगायत जुनमा पनि बनाउन मिल्छ,’ उनी थप्छिन्, ‘बाहिरबाट नरम हुन्छ । भित्र जुसी हुन्छ ।’She left Australia and brought the taste of Sikkim to Nepal

हिमाली भेगमा पाहुना सत्कारदेखि अनिवार्य खाइने सु–चियाले पनि पाटनको यो रेस्टुरेन्टमा अड्डा जमाएको छ । बटर, नुन  र दूधको मिश्रणबाट बनाइने यो चिया पिएपछि पनि ग्राहकहरू फर्की फर्की आउने स्वीकृतिको ठम्याइ छ । किमा नुडल्स, विङ्स, स्याफली र सी मःम त प्राय अरु रेस्टुरेन्टमा पनि पाइन्छन् । तैपनि राख्नुको कारण स्वीकृति खुलाउँछिन्, ‘धेरै ग्राहकले खोजेपछि किमा नुडल्सहरु पनि समेट्यौँ ।’

सुरुवाती दिनमै रेस्टुरेन्टले लय लिएको थियो । सामाजिक सञ्जालमा ग्राहकका सकारात्मक रिभ्युहरूले अरु धेरैको ध्यान खिच्यो । स्वाद पारखीहरु खोजी खोजी पुग्न थाले ।  She left Australia and brought the taste of Sikkim to Nepal

ग्राहकलाई एक पटक हैन, पटक पटक तान्न सक्नु नै रेस्टुरेन्टको कला हो । त्यो कलामा मिसिएको अर्को पाटो हो स्वस्थ र अर्गानिक खानेकुरा । ‘हामी मसलाको प्रयोग निकै कम गर्छौँ । सचेत ग्राहकका लागि यो महत्त्वपूर्ण कुरा रहेछ,’ उनी भन्छिन् । 

स्वीकृतिको खुसीको ग्राफ त त्यतिबेला उकालो लाग्छ, जतिबेला अन्य देशका पर्यटक पनि खोज्दै खोज्दै यहाँसम्म पुग्छन् । त्यसमाथि नेपालका सरकारी र निजी संस्थाका कर्मचारी, युवायुवतीहरू पनि यहाँको परिकारसँग सन्तुष्ट छन् । फरक स्वादको आशा गरेर आउने हर ग्राहकका लागि ‘टेस्ट अफ सिक्किम’को दैलो हरेक दिन १२ बजेदेखि बेलुकी ९ बजेसम्म खुला रहनेछ ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully