'दक्षिणा' छायाँकन गरेर मुम्बई गएका प्रमोद 'पहाड' खिच्न उक्लिए

प्रमोदले नेपाली फिल्ममा मात्र नभएर बलिउडका ‘भाग मिल्खा भाग’, ‘रंग दे वसन्ती’, ‘देवदास’, ‘परिन्दा’ लगायत थुप्रै चर्चित फिल्ममा दाइ विनोदलाई असिस्ट पनि गरे । उनी ‘चैन खुली कि मैन खुली’ जस्ता फिल्म र केही टेलिभिजन सिरिजका प्रमुख सिनेमाटोग्राफर पनि हुन् ।

श्रावण १२, २०८२

समर्पण श्री

Pramod, who went to Mumbai after shooting 'Dakshina', went up to shoot 'Pahaad'

What you should know

काठमाडौँ — ३० वर्षमा के के भए ? काला कपाल सेताम्य भएर फुले । हात र गालाका छाला चाउरिए । पहाड उक्लिएका जोसले थुप्रै अप्ठेरा चिरे । तिनै अप्ठेरा कर्म कालान्तरमा जीवनको सबैभन्दा सरल जीवनशैली बने । बाँचेका समय र गुजारेका यात्रा सम्झेर केही दिनअघि मात्र निर्देशक तुलसी घिमिरेले सिनेमाटोग्राफर प्रमोद प्रधानलाई सम्झाए, ‘धेरै वर्ष पो बितेछ है प्रमोद ।’

क्यामराको लेन्सबाट तुलसीको फिल्म ‘पहाड’ नियालिरहेका प्रमोदले मुसुक्क हाँस्दै भने, ‘अँ यार ।’ त्यसपछि स्मृतिका लेन्सबाट प्रमोद र तुलसीले ३० वर्षअघिका फिल्महरू नियाले, ‘उतिबेला त सेल्युलोइडबाट पो खिचिन्थ्यो ।’

त्यसयता नेपाली फिल्मले डिजिटल फन्को मात्र लगाएन । कथा, शैली र मौलिकतामा पनि फड्को मार्‍यो । अन्तिम फिल्म ‘दक्षिणा’ खिचेर भारत फर्किएका सिनेमाटोग्राफर प्रमोदलाई लामो अन्तरालपछि साथी तुलसीले कल गरे, ‘तिमी अहिले फ्रि छौ ।’ ‘फ्रि नै छु’ उनले साथी तुलसीलाई भने । ‘उसोभए नेपालमा एउटा फिल्म खिच्नुपर्छ,’ तुलसीले प्रस्ताव राखे । बलिउडका ठूला र चर्चित फिल्ममा काम गरेका प्रमोदलाई अलौकिक खुसीको महसुस भयो । 

त्यो असिम खुसीको कारण के थियो त ? काठमाडौंको बत्तीसपुतलीस्थित एक क्याफेमा हामीले राखेको यो जिज्ञासा सुनेर प्रमोदले मुस्कुराउँदै भने, ‘१९७४ एडीको एउटा गीत छ नि– यो मन त मेरो नेपाली हो ।’ उनको जवाफमा एउटा नेपालीभाषीको नेपाली माटो र नेपालीपनसँगको गहिरो प्रेम झल्किएको थियो । बलिउडका जति नै ठूला प्रोजेक्टमा काम गरे पनि हिन्दीमै बोल्नुपर्थ्यो । ‘नेपालमा त आफ्नै भाषामा बोल्न पाइयो । 

आफ्नै दाजुभाइसँग काम गर्न पाइयो,’ प्रमोदले खुसीको कारण भने । 

तुलसीको पनि नेपाली फिल्ममा ८ वर्षपछि ‘कमब्याक’ हुँदै थियो । यो ‘कमब्याक’ किन आफूले मात्र गर्ने, दार्जिलिङ कालिम्पोङवासी आफ्नै गाउँले साथी प्रमोदलाई पनि गराए । प्रमोदले अन्तिम पटक खिचेको नेपाली फिल्म ‘दक्षिणा’ थियो । त्यही फिल्मबाट अभिनेत्री निरुता सिंहले फिल्ममा पदार्पण गरेकी थिइन् । यतिका वर्षपछि फर्कंदा निरुता नै फिल्म क्षेत्रबाट ‘रिटार्यड’ झैं भइसकिन् । निरुता मात्र होइन, त्यतिबेलाका धेरै स्टार अहिले पर्दाबाट टाढा छन् । 

निरुता, शिव श्रेष्ठ र भुवन केसीको समयका कलाकार मात्र होइन, त्यसपछि फिल्म क्षेत्रमा आएका अर्को पुस्तालाई पनि ‘कमब्याक’मा सकस छ । बरु त्यसपछिको पुस्ताले अहिले फिल्म क्षेत्रको नेतृत्व गरिरहेका छन् । ‘दक्षिणा’ गर्दा सायदै भर्खरै जन्मिएका पुस्ता अहिले ‘पहाड’को ‘हिरो’ भएकामा प्रमोद दंग छन् । हिजो यही क्षेत्रमा तन्नेरी समय गुजारेका आँखासामु नयाँ तन्नेरी उस्तै जोसमा खडा छन् । तुलसीकै सन् १९९६ को ‘देउता’ फिल्ममा एउटा चर्चित गीत छ, ‘हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो ।’ फर्केर हेर्दा तुलसी र प्रमोदलाई ठ्याक्कै त्यस्तै पो लाग्छ ।

नेपाली फिल्ममा काम गर्नुअघि प्रमोद मुम्बईमा व्यस्त थिए । उनका दाइ प्रसिद्ध सिनेमाटोग्राफर विनोद प्रधानले नेपाली फिल्म ‘कुसुमे रुमाल’ खिच्दै थिए । विनोदले नै भाइ प्रमोदलाई पनि फिल्ममा जोडिदिए । ‘विनोद र म बम्बईमा संघर्ष गर्ने साथी हौं । कुसुमे रुमालमा विनोद मसँग आउँदा प्रमोद स्टिल फोटोग्राफर भएर आए । त्यसपछि लगातार फिल्ममा सँगै काम गर्‍यौं,’ तुलसी सम्झन्छन्, ‘मेरो फिल्ममा उनले स्वतन्त्र रूपमा काम गरेको पहिलो फिल्म चिनो थियो ।’

‘कुसुमे रुमाल’ कालिम्पोङमा तुलसीकै घर वरपर खिचिएको थियो । यो फिल्म अभिनेता भुवन केसीको तेस्रो प्रोजेक्ट थियो । फिल्म क्षेत्रमा भुवनलाई स्टार बनाउने काम पनि यही फिल्मले गरेको थियो । ‘त्यो फिल्म खिच्दा हाम्रै बाआमा पनि हेर्न आउनुहुन्थ्यो,’ प्रमोद सम्झन्छन् । प्रमोदलाई नेपाली फिल्म ‘अन्याय’मा मुख्य सिनेमाटोग्राफरका रूपमा काम गर्दाका सम्झनाहरू छन् । त्यो फिल्मको काम गरिरहँदाको काठमाडौंमा चलिरहेको एउटा आन्दोलनको धमिलो स्मृति छ । ‘फिल्मका प्रोड्युसर विश्व बस्नेतको घरमाथि बसिरहेको बेला तल आन्दोलन चलिरहेको थियो । प्रहरीले अश्रग्यास फाल्दा आँखा पोलेका थिए,’ उनी सम्झन्छन् । फिल्म ‘चिनो’ गर्दा पोखरामा भवन नै लिएर परिवार जसरी बसेका दिन पनि बिर्सन सक्दैनन् । 

Pramod, who went to Mumbai after shooting 'Dakshina', went up to shoot 'Pahaad'

फिल्म ‘कोसेली’ खिच्दा पनौतीका सुन्दर दृश्य उनका आँखामा अहिले पनि कैद छन् । कोसेलीमा उनलाई क्यामरामा सहयोगी रहेका सिनेमाटोग्राफर शम्भु सापकोटा प्रमोदलाई सम्झन्छन्, ‘मैले सिनेमाटोग्राफी नै विनोद दाइ र प्रमोद दाइबाट सिकें । प्रमोद दाइ काममा गम्भीर र संवेदनशील हुनुहुन्थ्यो । सरल हुनुहुन्थ्यो ।’ शम्भुले पछि ‘हामी तीन भाइ’, ‘सुख–दुःख’, ‘पाहुना’, ‘नाइँ नभन्नु ल’ लगायत दर्जनौं चर्चित नेपाली फिल्ममा सिनेमाटोग्राफीको गरे । किशोर रानाको हिट फिल्म ‘राँको’ मा पनि सिनेमाटोग्राफी उनैले गरेका थिए ।

 प्रमोदलाई अहिलेसम्म पनि याद आइरहने एउटा गीत छ, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाऊँ ।’ ‘दक्षिणा’ फिल्मका लागि मुम्बईमा रेकर्ड गरिएको यो गीत नारायण गोपालले गाएका थिए । ‘गीत रेकर्डिङ गर्दै गर्दा नारायण गोपालले अन्तिममा अचानक खोक्नुभयो । संयोगवश फिल्ममा तुलसीले निर्वाह गरेको पात्रले पनि खोकेका हुन्छन् । त्यो खोकी हटाइएन । पछि गीतमा आउँदा साह्रै राम्रो सुनियो,’ प्रमोद भन्छन् ।

‘दक्षिणा’ पछि भने प्रमोदले तीन दशक नेपाली फिल्म गरेनन् । किन त ? प्रमोद भन्छन्, ‘यसबीचमा मलाई एउटा पनि अफर आएन ।’ तुलसीलाई पनि सोधियो, ‘यतिका वर्षसम्म किन उहाँलाई एउटै फिल्मका लागि अफर गरिएन ।’ तुलसी हाँस्छन् अनि केही व्यावहारिक कुरा जोड्छन्, ‘हामी आफैं बुझेर बोलाउनुहुन्न नि । हामीले बोलाउनुभन्दा पहिला सोच्नुपर्छ ।’ उनी थप्छन्, ‘बोलायो भने त नेपाली फिल्मका लागि उनीहरू तुरुन्त आइहाल्छन् नि । तर बलिउडमा ठूलो प्रोजेक्ट गरिरहेको मान्छेलाई मेरा लागि आइदेऊ त भन्न पनि अप्ठेरो । त्यसकारण यतिका समय नबोलाएको ।’ यस पटक भने प्रमोदका ठूला प्रोजेक्ट सकिएर बसिरहेको समय मौका जुरेको बताउँछन् तुलसी ।

अहिले ‘पहाड’ मात्र होइन, भुवन केसीको नयाँ फिल्म ‘बाटुलो जुन’ पनि प्रमोदकै हातमा छ । हिजो तन्नेरी भुवनलाई ‘हिरो’ का रूपमा खिचिरहेका प्रमोद यस पटक उनकै छोरा अनमोललाई खिच्दै छन् । ‘सिनियर केसी र जुनियर केसीसँगको काम पनि रोचक होलाजस्तो छ,’ प्रमोद ठट्यौली सुनिन्छन् । अहिले नेपालमा प्रविधिमा मात्र होइन, फिल्मका कथा र शैलीमा पनि परिवर्तन भएको महसुस गर्छन् प्रमोद । ‘नेपालमा धेरै सुधार भएछ । परिपक्व भएछ । टेक्निसियनहरू धेरै राम्रो आइसकेछन् । लेखन पनि उस्तै राम्रो हुन थालेछ,’ प्रमोद फेरि तीन दशकअघितर्फ फर्केर मूल्यांकन गर्छन् ।

हिजोका दिन कथाहरू बलिउड फिल्मबाट कपी गरिन्थे । त्यसमा नेपालीपन आउन्नथ्यो । यसपालि त फिल्म ‘ऊनको स्वीटर’ हेरेर प्रमोद दंग परेछन् । सुनाउँछन्, ‘त्यो हेरेपछि लाग्यो कि बल्ल नेपाली फिल्महरू बन्दै छन् ।’ उनी कालिम्पोङमै बस्दा पनि युट्युबमा राखिएका नेपाली फिल्म नछुटाई हेर्छन् । विशेषगरी उनी दयाहाङ राईका फिल्मचाहिँ सकेसम्म छुटाउँदैनन् ।

बलिउडमा प्रमोदले दाइ विनोदलाई ‘भाग मिल्खा भाग’, ‘रंग दे वसन्ती’, ‘देवदास’, ‘परिन्दा’ लगायत थुप्रै चर्चित फिल्ममा असिस्ट गरे । उनले ‘चैन खुली मैन खुली’ जस्ता फिल्म र केही टेलिभिजन सिरिजमा प्रमुख सिनेमाटोग्राफरका रूपमा काम गरे । बलिउडमा गरेको पछिल्लो प्रोजेक्ट भने रिलिजको क्रममा छ । ‘देवदास‘ मा काम गर्दाका एउटा रोचक स्मृति प्रमोदका आँखामा आइरहन्छन् । सुनाउँछन्, ‘यो फिल्मको सुटिङमा बम्बई लाइटहरू सबै सकिएका थिए । यति ठूलो सेट थियो कि जेनेरेटर त लाइनै खडा हुन्थे । दुई–तीन दिन त लाइटिङ गर्नमै लाग्थ्यो ।’

प्रमोदको सिनेमाटोग्राफीका गुरु भनेकै दाजु विनोद हुन् । उनीहरूको घर कालिम्पोङमा बाको फोटो स्टुडियो थियो । त्यो स्टुडियो सुरु गर्दा प्रमोद त जन्मेकै थिएनन् । ‘त्यहाँ हामीले फोटो खिच्न सिक्यौं । पछि दाइ बम्बई गएर फिल्मतिर लागे । म पनि दाइसँग स्टिल र मोसन फोटोग्राफी सिक्न थालें,’ उनी सम्झिन्छन् । दाइ विनोद काममा अत्यन्तै कडा थिए । सेटमै थुप्रै पटक दाइको गाली खान्थें । काम सकेर घर पुगेपछि दाजुभाइ सँगै बसेर रक्सी पिउँथे । त्यो बेलामा भने प्रमोद रवाफसहित भन्थे, ‘तिमीले मलाई सेटमा किन गाली गरेको ?’

प्रमोदले फिल्म यात्रामा वर्षौं गुजारे । तैपनि उनलाई लाग्छ, ‘यो लाइनमा मास्टर्स कहिल्यै हुन सकिन्न ।’ जहिल्यै काममा नयाँ काममा भइरहने हुटहुटीबाट नै उनी आफूभित्रको खुसी महसुस गर्छन् । झन् यस पटक त उनी नेपाली फिल्म खिचिरहेका छन् । ‘झन् नेपाली फिल्म खिच्न पाउँदाको खुसी त बलिउडका ठूल्ठूला प्रोजेक्टले पनि दिँदैनन्,’ प्रमोद गर्विला सुनिन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully