भीसी तक्मा नपाएका सैनिकको ज्यानलाई केसँग तुलना गर्ने ? गुमनाम अलप भएका सपनालाई युद्ध, बहादुरी र तक्माले न्याय गर्न सक्छ ?
काठमाडौँ — नेपाली बहादुरीको चर्चा नेपाली राष्ट्रवादी जमातमा जति हुन्छ, लगभग त्यति नै नेपालबारे धेरथोर थाहा भएका विदेशीबीच पनि हुने गर्छ । फरक यत्ति हो नेपाली राष्ट्रवादीबीच सुगौली सन्धि वरपर रहेर वीरताको चर्चा हुन्छ भने नेपालबाहिर गुर्खा (बेलायती सेनामा आबद्ध गोर्खाली नेपाली) को बढी चर्चा हुने गर्छ ।
गुर्खा (यसपछि गोर्खा) को चर्चा थुप्रै आयाममा हुने त गरेको छ तर उनीहरुको बहादुरीको चर्चा भने सबैभन्दा धेरै भिक्टोरिया क्रस (भीसी) भनिने बेलायती सेनाको सबैभन्दा ठूलो सैन्य पदकबाट हुन्छ । हालसम्म १३ जना नेपाली (एक सिक्किमेली समेत गरेर) ले भीसी प्राप्त गरेका छन् । नेपालबाहिर र गोर्खा समुदायमा उनीहरुको जति धेरै चर्चा हुन्छ, नेपालभित्र भने यी १३ जनाको चर्चा त्यति नै कम हुन्छ ।
यी दुवै चर्चाका सीमितता र यिनमा लुकेका औपनिवेशिक शक्ति र सोसँग जुध्दाका गाथा त एक ठाउँमा छँदै छन् । तर यो लेखमा औपनिवेशिकरण वा वीरताको सैद्धान्तिक द्वन्द्वभन्दा पनि सो द्वन्द्वबीच एकजना गुमनाम गोर्खा भीसी पाएका गोर्खाको चर्चा गर्नेछु ।
आफ्नो अध्ययनका दौरान बेलायतको नेसनल आर्मी म्युजियमको वेबसाइटमा पुराना फोटो र दस्ताबेज खोज्दै जाँदा माथिको यो फोटो मैले सन् २०२० मा फेला पारेँ । फोटोको क्याप्सन अंग्रेजीमा लेखिएको थियो, जसको नेपाली अनुवाद मोटामोटी यस्तो थियो- 'फोटो, भारत, १९४५ । १९ डिसेम्बर १९४५ का दिन एक गोर्खा भिक्टोरिया क्रस (भीसी) विजेता आफ्नो तक्मा आफन्त र अन्य भारतीय सेनाका भीसी विजेताका परिवारलाई देखाउँदै ।'
आफ्नो गोर्खाली सैन्य भर्ती र बसाइँसराइको महिलवादी विश्लेषण गर्ने क्रममा थुप्रै यस्ता दस्ताबेज र फोटो भेट्टाएँ जसले गर्दा मैले गोर्खाको बहादुरीको तहभित्र लुकेका भावनात्मक कथा, दुःख र व्यथाको बारेमा जान्ने मौका पाएँ । आफू बेलायती तथा भारतीय गोर्खा सेना, मुख्यतया उनीहरुका परिवारका महिला सदस्यको कथा र अनुभवको बारेमा अध्ययन गरिरहेका हुनेले मलाई यो फोटोले तान्यो ।
यो फोटोमा कम्तीमा १० जना मानिसले एउटा भीसी तक्मा हेरिरहेका छन् । तक्मा बोकका भीसीका साथमा गरगहनाले सजिएका दुई महिलाको मुहारको भावनाले मलाई यो फोटो पछाडिको कथा के होला भन्ने कौतूहल पनि जाग्यो । प्रत्येकपटक यो फोटो हेर्दा ती महिलाको अनुहारमा गर्व, डर, र शोक मिसिएको जस्तो भान मलाई हुन्छ । हुन त उनीहरुको मनको कुरा ठ्याक्कै बुझ्न त कसरी सकिन्थ्यो र !
भीसी तक्मा बोक्ने गोर्खा सैनिकको नाम फोटोको क्याप्सनमा नलेखेको हुँदा र उनको अनुहार पनि फोटोमा छाया परेर नदेखिएको हुँदा झन् खसखस हुने नै भयो ।
पहिलो र दोस्रो विश्वयुद्ध लगायत थुप्रै युद्धमा नेपालीले अन्य भारतीय र औपनिवेशिक सेनाजस्तै ठूलो संख्यामा ज्यान गुमाए । यसरी लाखौंको मृत्यु भयो भने तीमध्ये केहीलाई बेलायती सेनाले भिक्टोरिया क्रस, मिलिटरी क्रसजस्ता तक्माले विभूषित पनि गर्यो ।
फोटो भेटेको दुई वर्षसम्म पनि मैले ठ्याक्कै सटिक उत्तर पाउन सकिनँ ।
कुनै सुरमा मैले सो फोटोका बारेमा केही थाहा होला कि भनेर ट्विटरमा फोटो हालेर बेलायतको विन्चेस्टर भन्ने ठाउँमा रहेको गुर्खा म्युजियमलाई फोटो चिन्न सहयोग मागेँ । नभन्दै बडो मेहनत गरेर म्युजियममा काम गर्ने ब्र्याड हल र डग हेन्डरसनले फोटो पहिचान गरी विस्तृत विवरण मलाई पठाए ।
तलका अनुच्छेदहरु उनीहरुले फोटोमा रहेको भिसी कसरी पहिचान गरे भन्ने उनीहरुको खोजको बारेमा छन् ।
फोटो सन् १९४५ को भएका हुनाले यो दोस्रो विश्वयुद्धमा भीसी पाएका गोर्खाको हो भन्ने ठम्याइ त भइहाल्यो । दोस्रो विश्वयुद्धमा जम्मा १० नेपालीले भीसी पाएका थिएः लक्षीमान गुरुङ, भान्भग्त गुरुङ, थमन गुरुङ, शेरबहादुर थापा, अगनसिङ राई, नेत्रबहादुर थापा, तुलबहादुर पुन, गञ्जु लामा (ग्याम्त्सो साङ्दार्पा), गजे घले र लालबहादुर थापा ।
लड्दालड्दै थमन गुरुङ, शेरबहादुर थापा र नेत्रबहादुर थापाको मृत्यु भएकाले उनीहरु यो भीसी बोकिरहेका हुने कुरै भएन भन्ने लख काटियो । त्यस्तै, लक्षीमान गुरुङले युद्धका बेला ग्रिनेड पड्किएर दायाँ हात गुमाउनुपरेको हुनाले र (फोटोमा दुवै हात भएका भीसी भएका हुनाले) उनी पनि फोटोका मानिस होइनन् भन्ने पक्का भयो । बाँकी रहे ६ भीसीः भान्भग्त गुरुङ, अगनसिंङ राई, तुलबहादुर पुन, गञ्जु लामा, गजे घले र लालबहादुर थापा ।
फेरि, भिसी बोक्ने लाहुरेको टोपीको दुइटा कालो धर्साले उनी ५ गोर्खा (पाचौं गोर्खा राईफल्स) का हुन् भन्ने लख गोर्खा संग्राहलयका ब्र्याड हल र डग हेन्डरसनले काटे । माथिका बाँकी ६ भीसी गोर्खामध्ये मात्र अगनसिङ राई र गजे घले ५ गोर्खाका थिए ।
तर यी दुवै भीसीलाई तक्मा सन् १९४५ डिसेम्बर १९ भन्दा पहिले नै दिइएको भएर उनीहरु हुन नसक्ने लख पनि ब्र्याड र डगले काटे । फोटोको क्याप्सनलाई सही मान्ने हो भने यो तक्मा १९४५ डिसेम्बर १९ मा दिइएको थियो । साथै, अगनसिङ राईको परिवार भीसी थाप्ने बेला भारत (हालको पाकिस्तान) पुगेकाले उनीहरुको फोटो यहाँ देखिएका नेपालीको भन्दा फरक भएर पनि फोटोका भीसी समाउने गोर्खा अगनसिङ राई नहुन सक्छन् भन्ने ठम्याइयो ।
अब फेरि गजे घलेतिरै संकेत त भेटिए तर उनले सन् १९४५ को जनवरी २३ मा भीसी तक्मा पाइसकेकाले कि त फोटोको क्याप्सनमा दिइएको मिति गलत हुनुपर्यो कि त यो गजे घलेको फोटो नै होइन भन्ने अड्कल काटियो ।
अब बडा समस्या पर्यो । क्याप्सन नै गलत भनेर भन्न पनि सिधै गाह्रै थियो किनभने त्यो कुनै न कुनै रुपमा प्रमाणित अभिलेखबाटै साभार गरिएको हुन्छ भन्ने कुरो ब्र्याड र डगलाई थाहा थियो । उनीहरु बडो अलमलमा परे ।
यता मैले फोटो खोज्दा के चाहिँ पत्ता लगाएको थिएँ भने राइफलम्यान थमन गुरुङलाई मृत्युपश्चात् भीसी ठ्याक्कै १९ डिसेम्बर १९४५ का दिन दिइएको थियो । तर गुरुङको मृत्यु भइसकेकाले उनले तक्मा समाएको कुरा क्याप्सन अनुसार फेरि गलत हुन पुग्यो । मसँग थमन गुरुङको भीसी तक्मा थाप्न भारत पुगेको परिवारको फोटोसम्म पहुँच थिएन ।
उता ब्र्याड र डग भने फोटोको मितिअनुसार सो फोटो थमन गुरुङको परिवारको तर भीसी समाउने मान्छे अरु नै कोही पो हो कि भनेर फेरि माथि गरिएका सबै अनुमानलाई पन्छाएर अभिलेखमा पुगे । उनीहरुले १९ डिसेम्बर १९४५ को अभिलेखमा थमन गुरुङ परिवारको यो अर्को फोटो भेट्टाए, जुन हालसम्म इन्टरनेटमा राखिएको थिएन ।
पहिलो फोटोमा थोरै आत्तिएका जस्तो अनुहारका मानिस यो फोटोमा भने भिन्न, खुसी मुद्रामा देखिन्छन् ।
यो दोस्रो फोटोका दायाँतिरका तीनजना मानिस पहिलो फोटोमा पनि देखिएका हुँदा दुवै फोटो थमन गुरुङकै परिवारको हो भन्ने यकिनमा ब्र्याड र डग पुगे । अनि यता ५ गोर्खा (पाचौं गोर्खा राईफल्स) का बाँचेका अगनसिङ राई र गजे घलेको अनुहार र माथिको पहिलो फोटो भिडाउँदा भीसी समात्ने मानिस गजे घले रहेछन् भन्ने निर्क्यौल ब्र्याड र डगले गरे ।
फोटोको क्याप्सनमा भनिएको मिति १९ डिसेम्बर १९४५ पनि ठिक थियो । भीसी विजेता गजे घले पनि भएको हुँदा त्यो तथ्य नै थियो यद्यपि सो भीसी तक्मा भने थमन गुरुङको थियो । क्याप्सनमा गलत भने भीसी विजेताले आफ्नै तक्मा देखाउँदै भनेकामा थियो । त्यति गल्तीका कारण दुई वर्षदेखि घुमिरहेको मेरो दिमागलाई गोर्खा संग्रहालयका ब्र्याड र डगले सही बाटो देखाए ।
यसरी भिक्टोरिया क्रसलाई बेलायतीहरुले आफ्नो युद्धको समयमा 'असामान्य' बहादुरी देखाउने मानिसलाई दिइने सबैभन्दा ठूलो तक्मा भने र त्यसलाई आफ्नै ढंगले उत्सवका रुपमा त मनाए, तर उनीहरुलाई त्यो पाउने गोर्खा वा औपनिवेशिक सेनाको बारेमा खासै चासो भएजस्तो देखिएन । भीसी पाएका थमन गुरुङ यसै गुमनाम भएर हराए ।
अब जाऔं थमन गुरुङतिर । हालको गण्डकी अञ्चल, गोरखा जिल्ला, धार्चे गाउँपालिका, सिङ्लाका थमन गुरुङको मृत्यु २० वर्षको कलिलो उमेरमा बेलायतका तर्फबाट दोस्रो विश्वयुद्ध लड्दा-लड्दै १० नोभेम्बर १९४४ का दिन इटलीमा भएको थियो । मृत्यु हुने बेलासम्म उनको फोटो खिचिएको थिएन । अहिलेको जस्तो क्यामराको पहुँच पनि त्यो बेला थिएन । तर भीसी पाएपछि उनका भाइको अनुहार उनीसँग मिल्ने भनेर परिवारबाट थाहा पाएर उनको भाइलाई मोडल बनाएर थमन गुरुङको चित्र बनाइयो । 'थमन गुरुङ' भनेर इन्टरनेटमा खोज्दा आउने चित्र उनै भाइलाई हेरेर बनाइएको चित्र हो ।
यसरी २० वर्षको सानै उमेरमा वीरगति प्राप्त गरेका थमन गुरुङका बारे थोरै मात्र जानकारी सार्वजनिक वृत्तमा छ । उनका बारेमा जे-जति पढ्न पाइन्छ, त्यो केवल 'लन्डन गजेट' नामक पत्रिकामा छ । जहाँ उनले १० नोभेम्बर १९४४ का दिन कति बहादुरीका साथ जर्मन सेनासँग लडे भन्ने मात्र छ ।
उनी को थिए, उनी कसरी भर्तीमा लागे, उनका बाबा-आमाले भर्ती लाग्नुअगाडि उनलाई भर्ती जाने अनुमति दिएका थिए वा उनी थुप्रै अरु युवाजसरी घरबाट भागेका थिए, कसरी युरोप पुगे, युरोपमा उनले युद्धबाहेक के-के देखे, युरोपेली युवासँग गफ भयो होला वा माया बस्यो होला वा उनले मात्र बेलायती भारतीय सेनामाझ मात्र आफ्नो युरोप यात्रा र युद्ध टुंग्याए होला ? यी र यस्ता प्रश्न अनुत्तरित नै छन् ।
युद्धमा युरोप पुगेका उनी लड्न कति सिपालु थिए ? उनी मृत्यु सामु कति डराए ? मर्ने बेला क-कसलाई सम्झिए ? उनी त्यो ठाउँबाट भागेर आफ्नो ज्यान बचाउन सक्थे ? भागेका भए उनको भविष्य कस्तो हुन्थ्यो ? के हामीले उनको नाम थाहा पाउँथ्यौं ? के बहादुरी साथ लडेर तक्मा पाएर चर्चित हुनु मात्रै एउटा सैनिकका लागि सबैभन्दा ठूलो पुरस्कार हो ? आफूसँग सरोकारै नभएको युद्ध थमन गुरुङ र उनीजस्ता अरु थुप्रै मानिसले किन लडे ? उनीहरुलाई सो युद्ध नलड्ने छुट थियो ? के उनीहरुले चाहेको भए त्यो युद्ध नलडी अन्यत्र कतै पुगेका हुन्थे ?
थमन गुरुङले बहादुरीका साथ लडेको हुनाले उनले भीसी पाए र उनको नाम हामी र म जस्ता मानिसले पढ्न-सुन्न पाएका छौं । यस्ता कति गोर्खा वा औपनिवेशिक सेना थिए, जो लड्दा-लड्दै मरे, न कुनै पदक पाए, न कसैलाई उनीहरुको नाम याद छ । सानै उमेरमा युद्धमा मृत्यु भएका हुनाले उनीहरुको सन्तान हुने सम्भावना पनि कमै भयो र उनीहरुलाई सम्झने उनीहरुका बुढा बाबा-आमा मरेसँगै उनीहरुका कथा पनि त्यसै माटोमा मिसिए, खरानी भए ।
के एउटा भीसी पदकले थमन गुरुङको ज्यानलाई किन्न सक्छ ? तक्मा नपाएका सैनिकको ज्यानलाई फेरि केसँग तुलना गर्ने ? गुमनाम अलप भएका सपनालाई युद्ध, बहादुरी र तक्माले न्याय गर्न सक्छ ? अहिलेलाई थमन गुरुङ र अन्य ज्ञात-अज्ञात मानिसहरुलाई सम्झँदै यो लेख यहीँ टुंग्याएँ ।
