'टाढा भएका छोराछोरी पनि साथमै भएजस्तो लाग्छ, कहिलेकाहीँ त यस्तो जमाना पनि आयो भनेर दंग पर्छु'
अछाम — कमलबजार नगरपालिका-६ की ५७ वर्षीया धना शाहीलाई केही वर्षअघिसम्म मन भुलाउने बहानाकै खोजी थियो । घरको कामधन्दा सकेर फुर्सदका बेला उनीसँग शून्यता मात्रै बाँकी हु्न्थ्यो । ३ छोरा-बुहारी र २ छोरी-ज्वाइँ काम गर्न भारत पसेका छन् ।
मोबाइल चलाउँदै बसेका मंगलसेनका महिला । तस्बिर : मेनुका/कान्तिपुर
घरका तीन नातिनातिनी स्कुल हिँडेपछि उनीसँग गफ गर्ने मान्छे पनि कोही हुन्न । यस्तो बेला उनको साथी भएको छ, भारतबाट छोरीले पठाइदिएको मोबाइल ।
धना आफ्नो नामसमेत लेख्न जान्दिनन् । कतै हस्ताक्षर गर्नुपरे उनीसँग ल्याप्चेको विकल्प रहन्न । तर मोबाइल चलाउन भने उनलाई कुनै दकस छैन । १० वर्षअघि श्रीमान्को मृत्यु भएपछि एक्लो बनेकी धनालाई लाग्छ, एक्लै भए मनमा कुरा खेल्छ । मोबाइल भए मन यसमै भुल्छ ।
५ वर्षअघि छोरीले पठाइदिएको मोबाइल हात पर्दा उनलाई कसरी चलाउने भन्ने पीर परेका थियो । कतै खसि पो हाल्छ कि भनेर डर लाग्थ्यो । सुरुवाती दिनमा नातिनातीनाले सिकाएपछि उनी मोबाइल चलाउन अभ्यस्त बन्दै गइन् । धनाले सुनाइन्, 'युट्युब , फेसबुक, टिकटक सबै हेर्छु । हेर्दाहेदै दिन बितेको पत्तै हुँदैन ।'
मोबाइल भएपछि धनालाई सारा संसार आफूसँगै भएजस्तो लाग्छ । युट्युब र फेसबुकमा अनेक भिडियो हेर्दा उनलाई संसारमा आफूजस्तै दु:ख भएका मान्छे अन्त पनि रैछन् भन्ने लाग्न थालेको छ । उनले सुनाइन्, 'कति त आफ्नै कहानी जस्तो लाग्छ ।'
अक्षर नचिन्ने भएकाले उनी कल लगमा नातिनातिनाले सेभ गरिदिएका आफन्तका तस्बिर हेरेर फोन र भिडियो कल गर्छिन् । भन्छिन्, 'टाढा भएका छोराछोरी पनि साथमै भए जस्तो लाग्छ । कहिलेकाहीँ त यस्तो जमाना पनि आयो भनेर दंग पर्छु ।'
धनाकै जस्तो कथा छ, मंगलसेन नगरपालिका-७ की ६२ वर्षीया मनसरा नेपालीको । दुई वर्षदेखि उनका हातका औंला एन्ड्रोइड मोबाइलका स्क्रिनमा अभ्यस्त छन् । उनका छोरा-बुहारी सबै भारत छन् । घरमा उनी दुई नातिनातिना हेरेर बसेकी छिन् । ७ वर्षअघि श्रीमान्को मृत्यु भएपछि उनी एक्लो भएकी छिन् । छोरा-बुहारी परदेश भएपछि उनको घरछेउको खेतबारी पनि बाँझै छ । नातिनातीना स्कुल हिँडेपछि उनलाई घरमा शून्यताले राज गरेजस्तो लाग्थ्यो । यहिले यही मोबाइल उनको साथी बनेको छ ।
उनको गाउँमा राम्ररी इन्टरनेट टिप्दैन । दिउँसो उनी वडा नम्बर ७ को कार्यालय छेउमा जान्छिन् । त्यहाँ नेपाल टेलिकमको नेट राम्ररी चल्छ । 'मोबाइलमा पैसा हाल्न पनि जानेको छैन । बम्बैबाट छोरा-बुहारीले हालिदिन्छन् । यता पढेलेखेकाहरुसँग महिनाको डाटा प्याक तानिमाग्छु । नेट चल्ने ठाउँमा आएर हेर्छु । डाउनलोड गरेको भिडियो भने राति हेर्छु,' उनले हाँस्दै सुनाइन् ।
साथमा मोबाइल भएकाले उनलाई संसार आफूसँगै भएजस्तो लाग्छ । देश दुनियाँका खबर सबै थाहा पाएजस्तो लाग्छ । तर आफ्नो गाउँमा राम्ररी नेट नटिप्ने कुराले भने उनलाई दिक्क बनाउँछ । त्यही भएर उनी जनप्रतिनिधि वा अन्य सरोकारवाला भेट्नेबित्तिकै गाउँमा नेट नचलेको गुनासो गर्छिन् । भन्छिन्,‘गाउँमा नेट चलेको भए कति सजिलो हुन्थ्यो । तर हाम्रा कुरा कोही सुन्दैनन् ।’
मंगलसेन-७ का ७७ वर्षीय मंगलबहादुर नेपालीले जीवनका उर्वर समय भारतमा काम गरेर बिताए । अहिले उनका तीन छोरा कामको खोजीमा उनकै पदचाप पछ्याउँदै भारत नै पसेका छन् । बुढ्यौलीका दिन उनी घरमा बिताइरहेका छन् ।
आफ्नो नामसमेत लेख्न नजान्ने उनले भारतमा हुँदा पढेलेखेका मान्छेसँग हारगुहार गरेर चिठी लेखिमाग्थे । छोराहरुलाई सन्चो-बिसन्चो खबर पठाउँथे । घरको खबर पनि उनी महिनौं दिनपछि चिठीबाटै थाहा पाउँथे । ती दिनमा उनी कहिले चिठी लेख्ने मान्छे खोज्दै हिँड्थे, कहिले चिठी पढिदिने मान्छे खोज्दै । उनले सुनाए, ‘अरुले चिठी लेखिदिँदा उनीहरुले आफ्नो शैलीमा लेख्थे । चिठी लेखिमाग्नेको भावना कसले समेट्ने ? मनमा भएका कुरा लेखिमाग्न मन लाग्थ्यो । तर सम्भव हुँदैनथ्यो ।’
८ वर्षअघि श्रीमती बितेपछि उनलाई एक्लो बुढेसकाल कसरी बिताउने भन्ने लागेको थियो । कान्छी बुहारी र चार नातिनातिना घरमा भए पनि उनीहरु आफ्नै व्यस्ततामा हुन्छन् । यस्तो बेला उनको साथी भएको छ, मोबाइल ।
अक्षर नचिनेर के भो र उनी फोटो हेरेर छोरा-बुहारी र बरु आफन्तलाई फोन गर्छन् । सुखदु:ख साटासाट गर्छन् । मंगलले सुनाए, 'चिठीपत्रका दिन त कुनै समयको कथाजस्तो पो लाग्छ ।'
