काठमाडौँ — सन् २०२१ मा बीबीसी मास्टर सेफ भएपछि लण्डनबाट सुरु भएको सन्तोष साहको यात्रा अहिले विश्वभर फैलिँदो छ । नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उनलाई विभिन्न देशमा जान भ्याइनभ्याइ छ ।
बीबीसी मास्टर सेफ जितिसकेपछि संसारभर उनको वाहवाही चुलियो । उनले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो । धेरैले उनले बनाएको खानाको स्वाद लिन चाहन्थे । त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो । यो उनको पहिलो ‘पप–अप' थियो ।
'म बीबीसी मास्टर सेफ भएपछि धेरैले खोजी गर्न थाले, म त्यो समयमा इन्डियन रेस्टुरेन्टमा काम गर्थें, रेस्टुरेन्टको मेन्युमा नेपाली परिकार थिएनन्, त्यसैले लण्डनमै कार्यक्रम आयोजना गरिएको थियो,' सेफ साहले भने । उनको माग यति थियो कि उक्त कार्यक्रमको टिकट बिक्री खुलाएको दुई घण्टामै ‘सोल्डआउट' भयो ।
उक्त पप–अप विभिन्न मितिका लागि आयोजना गरिएको थियो । एउटा कार्यक्रममा औसतमा २० देखि २२ जनाका लागि मात्रै सहभागी गराइएको थियो । चार महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि राखिएका ६०० टिकट निमेषभरमै सकियो ।
लण्डनको कार्यक्रम सकेपछि सोही वर्ष स्कटल्याण्डबाट पप–अपका लागि निम्तो आयो । स्कटल्यान्डमा नेपाली समुदायले नेपाली रेस्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेका थिए । सेफ साहले त्यहाँ पनि आफ्नो पाककलाको कौशल पस्किए ।
त्यसको केही समयपछि मास्टर सेफका चार जना विजेताका लागि लण्डनमै विशेष कार्यक्रम आयोजना गरियो । सबैका दुई–दुई कोर्स हुने गरी आठ कोर्सको मेन्यु बनाइएको थियो । लगातारका कार्यक्रमले उनको चर्चा अझ चुलियो । विभिन्न देशबाट पप–अप कार्यक्रमका लागि माग आउन थाल्यो । साहलाई लाग्यो, नेपाली खानालाई विश्वभर फैलाउने यो उपयुक्त माध्यम बन्न सक्छ ।
त्यसपछि साहले आफ्नो पाककलालाई एउटा होटल वा रेस्टुरेन्टमा मात्रै सीमित नराखी विश्व यात्रालाई निरन्तरता दिने योजना बनाए । तत्कालीन समयमा उनले नेपालमै मिथिला थालीका नाममा रेस्टुरेन्ट सुरू गरेर यतै व्यवसाय गर्ने सोच बनाए पनि नेपाली खानालाई विश्वभर प्रवर्द्धनको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच बनाइसकेका थिएनन् ।
सन् २०२२ मा जर्मनी र स्वीट्जरल्यान्डमा पप–अप कार्यक्रम आयोजना गरे । अमेरिकामा पहिलो पटक जाँदा १४ ठाउँमा पप–अप आयोजना गरिएको थियो । जसमा सुरूआतमै सबै टिकट सोल्डआउट भएका थिए । यही सिलसिलामा साहले अस्ट्रेलियाका चार वटा र न्युजिल्यान्डका पाँच सहरमा पप–अप कार्यक्रम सम्पन्न गरे । अब भने उनको तालिकामा क्यानडा र जापनमा पप–अप कार्यक्रम बनिरहेको छ ।
साह आगामी जुलाईमा अमेरिका जाँदै छन् । त्यसपछि जर्मनी जाने तालिका छ । नेपाली खाना पकाउँदै विश्व यात्रा सुरू गरेका साहले नेपालमा पनि निजी स्तरमा पप–अप आयोजना गरिरहन्छन् । केही समय अघि नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको वैवाहिक वार्षिकोत्सव र अर्को चौधरीका पाहुनाका लागि मिथिला थालीमै विशेष पप–अप आयोजना गरेका थिए । 'समयले भ्याएसम्म नेपालमै पनि पप–अप सो आयोजना गरिरहेको हुन्छु, विभिन्न संस्था तथा व्यक्तिका लागि केही कार्यक्रम आयोजना भइसकेका छन्,' सेफ साहले भने ।
उनले च्यारिटीका लागि पनि पप–अप गरेका छन् । स्वीट्जरल्यान्डमा विदेशीमाझ गरिएको च्यारिटी पप–अपबाट संकलन रकम नेपालमा ल्याएर बोल्न र सुन्न नसक्नेहरूका लागि खर्च गरिएको थियो । उक्त रकमले पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकालाई हस्पिटालिटीसम्बन्धी तालिम दिइएको थियो । त्यसबाहेक उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणका लागि पनि गेट कलेज र पाटाको सहकार्यमा अन्नपूर्ण होटलमा पप–अप आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी मानिसहरू थिए । त्यसबाट सङ्कलत भएको रकम अस्पतालको क्यान्टिन निर्माणमा खर्चिएको थियो ।
साहका अनुसार उनको विश्व यात्राका क्रममा ठाउँअनुसार मेन्यु पनि आवश्यकताअनुसार परिवर्तन भइरहन्छ । तर नेवारी परिवकार वः अर्थात बारा र साँधेको भोगटे भने कहिल्यै नछुट्ने परिकारमा पर्छन् । यात्राका क्रममा उनलाई आउने अधिकांश प्रतिक्रियामध्ये एउटा हो, नेपाली खाना पस्कने उनको शैली ।
साहले बनाएको जुजु धौ (दही) को परिकारलाई धेरैले मन पराएका छन् । जुजु धौमा स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूल उमालेको पानी, जाम र जेरी क्रम्बल गरिएको बेक्ड जुजुधौ अधिकांशले मन पराउने परिकारमा पर्छ । साथै भाङको पातको पकौडा पनि धेरैले मन पराएका छन् । भाङको पातको पकौडामा डल्ले खुर्सानी, चाट मसला मिश्रण गरिएको हुन्छ । त्यसैगरी मासको दाल, याक चिज मिसाइएको काँचो केराको फुलौरा पनि साहको उत्कृष्ट परिकारमा पर्छ ।
विश्व यात्राका दौरानमा अमेरिकामा आयोजना भएको ममः महोत्सवमा उनले बनाएको कोदोको खिर खानेहरूले मुक्तकण्ठले साहको प्रसंशा गरेको सम्झाना साहलाई अझै ताजा छ । उनले अधिकांश स्थानमा १० देखि १७ कोर्ससम्मको मेन्यु बनाउँछन् । नेवारी, मधेसीलगायतका खानालाई आधुनिक ‘फ्लेवर' दिएर ‘सर्भ' गर्छन् ।
