हात्तीले दिएको दु:खबाट बच्न बाहुनडाँगीवासीले के गरेनन् ? माहुरी पाल्दा हात्ती आउँदैन भन्ठानेर माहुरीको घार घरघरमै राखे । डोरी टाँगेर डोरीमा खुर्सानीको धुलो दले । सुरुङ खन्नेसम्मका काम गरे । तर, कुनै प्रयास सफल भएन ।
झापा — गत मंगलबार बिहान । रातको २ बजेको हुँदो हो । मेचीनगर–४ बाहुनडाँगीस्थित शान्ति टोलमा जंगली हात्तीको एउटा बथान पस्यो । बिहानीको समय भएकाले टोलका सबै निद्रामा थिए सायद, अधिकांशले थाहा पाएनन् । २० वटाको संख्यामा गाउँ पसेका हात्तीले करिब आधा दर्जन परिवारको भाँच्न तयार भइसकको मकै खाइदिए । मकैका बोटहरु पेलेर सोत्तर बनाए । मकैबाली हेर्नुहुने रहेन, न बोटमा रहृयो भाँच्न लायक मकै नै ।
शान्ति टोलकी ३८ वर्षीया सीता सुनारले करिब १० कट्ठा जमिनमा अँधिया मकै खेती गर्दै आएकी थिइन् । यसपटक मकै राम्रै फलेको थियो । ‘मकै राम्रो फल्छ भनेर चार सय रुपैयाँ किलो पर्ने बिउ ल्याएर रोपेका थियौं,’ सुपारीको बिरुवामा मल लगाउँदै गर्दा भेटिएकी उनले सुनाइन्, ‘तर, भाँच्न तयार भएको सबै मकै हात्तीले खाएर सखाप बनाइदियो । हात्तीको बथानले कुल्चिएका कारण घाँस पनि वस्तुलाई खुवाउन मिल्ने रहेन ।’
त्यस रात आएको हात्तीको बथानले सीताको मात्रै मकै सखाप पारेन । शान्ति टोलकै चतुरमान सुनार, सूर्यबहादुर सुनार, जीवन पाण्डे लगायतको पनि भाँच्न तयार मकै उजाड बनाइदियो । सीताले मकैबाली लगाएको जमिन उनको आफ्नो होइन । जग्गाधनी भारतमा छन्, उनले अँधिया खेती गरेकी हुन् ।
सीतालाई जंगली हात्तीले बाली क्षति गरेपछि राहत पाइन्छ भन्ने थाहा पनि छ । तर, राहतका लागि निवेदन दिँदा जमिनको धनीपुर्जा, नागरिकतालगायत कागजात चाहिन्छ । नागरिकता त उनीसँग छ तर, धनीपुर्जा कसरी हुनु, किनकि जग्गाधनी यहाँ छैनन् । 'राहत पाउन पनि ६ महिनाभन्दा धेरै समय लाग्छ,’ उनी भन्छिन्, ‘कसले त्यत्रो लेठो गरोस्, त्यसैले राहतका लागि निवेदन दिइनँ ।’
त्यस रात जंगली हात्तीले सीताको एक पटकको बाली मात्रै खाइदिएन । उनको वर्षभरिको मेहनत, सालभरि खाने अन्न र परिवारको रोजीरोटी पनि खाइदियो । त्यसो त बाहुनडाँगीका लागि जंगली हात्तीको यो समस्या नौलो भने होइन । बाहुनडाँगी र जंगली हात्ती एक अर्काका पर्यायवाचीजस्तै छन् । तर, पछिल्लो समय यहाँका स्थानीयले भोगिरहेको समस्या भने फरक छ ।
बाहुनडाँगीमा आजकाल पहिलाजस्तो एउटा, दुइटा मात्रै हात्ती आउँदैनन् । ५०–६० वटाको बथान नै आइपुग्छ । पहिला रैथाने हात्ती आउँथे, आजकल छावासहितका हात्ती पनि आउँछन् । बथान जहाँ पस्यो, त्यहाँको बाली नै सखाप हुन्छ । उठाउनलाई किसानको खेतमा केही बाँकी रहँदैन ।
मंगलबार बिहानको राति शान्ति टोल पसेको हात्तीको बथानले यहाँ मात्रै करिब ४० मन मकै खाइदियो, मकैका बोट पनि सोत्तर बनाइदियो । टोलवासीसँग हात्ती धपाउने प्रयास गर्नुबाहेक अन्य विकल्प केही थिएन । हात्ती अघायो, बाटो लाग्यो । बिहान खेतमा हेर्दा न मकैका घोगा थिए, न खुवाउन मिल्ने घाँस नै ।
यसैगरी शुक्रबार बिहानको राति करिब ४५ वटाको संख्यामा जंगली हात्ती मेची तरेर बाहुनडाँगी प्रवेश गरे । मेची बगरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी तैनाथ रहेर नेपाल प्रवेश गर्ने हात्तीलाई भारततर्फ नै धपाउने प्रयास गरे पनि पछिल्लो समय त्यो प्रयास सफल हुन सकिरहेको छैन । शुक्रबार बिहान पनि त्यही भयो ।
हात्तीको हुल रातको एक बजेतिर बाहुनडाँगीका युवराज पोखरेलको सुपारी बगानमा पस्यो । एक बिघा जमिनमा करिब ६ सय बोट सुपारी लगाइएको बगानमा हात्तीको बथान पसेको थियो । बथानले फुल्दै गरेका चार सयभन्दा बढी सुपारीको बोट भाँचिदियो, फेरि नजाग्ने गरी ।
‘सवा एक बजेतिर सुपारी बगानमा पसेको हात्तीको बथान बिहान करिब ३ बजेतिर मात्रै निस्कियो । तल्लोपट्टि मकैबाली थियो, मान्छेले छेकेर जान दिएनन् । पूर्वपट्टि प्रहरी चौकी छ, त्यहाँबाट साइरन बजाइदिए । उत्तरपट्टि पनि मान्छेले छेके । हात्ती जाने ठाउँ भएन,’ भाँचिएका सुपारीका बोट देखाउँदै युवराजका भाइ दिव्यराज पोखरेलले भने, ‘चारैतिरबाट छेकेपछि हात्ती सुपारी बगानमै घण्टौंसम्म रहृयो । सयौं सुपारीको बोट भाँचिदियो ।’
मेची तरेर बाहुनडाँगी आइपुगेको हात्तीको बथानले अन्नबाली मात्रै खाँदैन । कहिले घर नै भत्काइदिन्छ, सुपारीका बोट भाँचिदिन्छ । बच्चासहित आएको हात्तीको बथानले अनेक बिगार गर्छन् । तर, बाहुनडाँगीवासीसँग साइरन बजाउने, हात्ती धपाउनेलगायतका प्रयास गर्नेबाहेक विकल्पै हुँदैन । बिहान हुन्छ, हात्तीको बथान मेची तर्छ । तर, फेरि अर्को दिन उस्तै !
जंगली हात्तीले दिएको दु:खबाट बच्न बाहुनडाँगीवासीले के प्रयास गरेनन् ? माहुरी पाल्दा हात्ती गाउँसम्म आउँदैन भन्ने ठानेर माहुरीको घार घरघरमै राखियो । खेतबाली वरिपरि डोरी टाँगेर डोरीमा खुर्सानीको धुलो दलियो । यसो गर्दा हात्ती खेतबालीमा पस्दैन भन्ने थियो । हात्तीबारको रुख लगाउँदा खेतबालीमा हात्ती नपस्ला भनेर सयौंका संख्यामा हात्तीबारको रुख पनि लगाइयो । यही बाहुनडाँगी हो, जहाँ हात्तीको क्षतिबाट जोगिन सुरुङ खन्नेसम्मका कार्य भए । तर, यी कुनै प्रयास सफल भएनन् ।
अन्ततः दशकौं भयो बाहुनडाँगीले हात्तीको त्रासबाबाट छुटकारा पाउन सकेको छैन । बरु यहाँ त झन्झन् पीडा थपिँदै छ । बाहुनडाँगीमा हात्तीले पुर्याएको क्षतिबारे वर्षौंदेखि जानकार स्थानीय नीलकण्ठ तिवारी भारतबाट आउने हात्ती रोक्ने एउटै उपाय सफल भएको बताउँछन् । त्यो हो सीमामा लगाइएको सोलार फेन्सिङ । ‘सोलार फेन्सिङ लगाएको वर्ष त ९८ प्रतिशत नै कम भएको थियो हात्ती आतंक । मेची तरेर हात्ती आउँदैनथे । यहीँका रैथाने हात्तीले बिगार गर्थे,’ उनी भन्छन्, ‘तर, समयक्रममा सोलार फेन्सिङ बिग्रँदै गयो । मर्मतसम्भारतर्फ खासै कसैको चासो गएन ।’
उनका अनुसार अहिले सोलार फेन्सिङका अधिकांश संरचना बिग्रिएका छन् । कतिपय सामान हराएका छन् । यसलाई आवश्यक मर्मत गर्दै चुस्तदुरुस्त बनाउने हो भने हात्तीको क्षतिबाट बच्न सकिने उनी बताउँछन् । ‘नगर, प्रदेश, केन्द्रलगायत वन्यजन्तुका क्षेत्रमा काम गर्ने निकायले यसतर्फ गम्भीरतापूर्वक चासो देखाउनुपर्छ । नगरमा त यस विषयमा छलफल पनि भइरहेको छ । समयमा ध्यानाकर्षण भएर सोलार फेन्सिङलाई चुस्तदुरुस्त राख्ने हो भने हात्ती आतंक कम हुने थियो,’ उनी भन्छन् ।
हात्तीको बथान मेची तरेर आउन थालेपछि बाहुनडाँगीवासी चैनले निदाउन नसकेको धेरै भइसक्यो । उनीहरुको एउटै माग छ । त्यो हो, भारतबाट आउने जंगली हात्तीलाई रोकियोस् ।
सोमबार दिउँसो (आज) पनि पनि मेचीनगर–२ मा जंगली हात्तीको बथान नै पसेको छ । जसका कारण यहाँका स्थानीय नागरिक त्रसित छन् । बिहानदेखि नै मेचीनगर–२ स्थित मगर डाँडामा भने २० वटाभन्दा बढी जंगली हात्ती डुलिरहेका छन् । उक्त हात्ती चिया बगान, बाँसघारी लगायतका स्थानमा छलिँदै भौंतारिरहेको स्थानीय प्रबिन चापागाईले जानकारी दिए ।
मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी समस्या न्यूनीकरणका लागि नगरमा पटकपटक छलफल चलिरहेको बताउँछन् । उनका अनुसार नगरमा मात्रै नभएर जिल्ला प्रशासन कार्यालय, सुरक्षा संयन्त्र लगायतको उपस्थितिमा समेत हात्तीको क्षति न्यूनीकरणबारे बृहत् छलफल चलाउने तयारी भइरहेको छ ।
छलफलले मात्रै त हात्तीले दिएको दु:ख कम नहोला ! जीर्ण बन्दै गएको सोलार फेन्सिङको मर्मतका लागि चाहिँ नगरको योजना के छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यदि उपल्लो कुनै पनि निकायबाट सोलार फेन्सिङका लागि पहल नभए, रकमको स्रोत सुनिश्चित नभए के गर्ने भन्नेबारे समेत नगरमा छलफल चलिरहेको छ । नगरले मर्मतका लागि आवश्यक केही बजेट छुट्याउँछ ।’
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ चालु आर्थिक वर्षमा ९ लाख ५६ हजार बजेट विनियोजन भएर सोलार फेन्सिङ मर्मतको काम भइरहेको बताउँछन् । ‘यहाँ यदि हात्ती र तारबार मात्रै थियो भने समस्या थिएन । तर, यहाँ त हात्ती छेक्न लगाइएको तार नै चुँडाएर नदीजन्य सामग्री ओसारपसार गर्ने बाटो बनाइएको छ । सीमा वारपार गर्ने मान्छेले पनि तार चुँडाइदिन्छन् । यस प्रकारका समस्या पनि छन् सीमामा,’ उनी भन्छन्, ‘यद्यपि हात्तीका बथान रोक्नका लागि सोलार फेन्सिङ नै उपयुक्त लागेर मर्मतको काम भइरहेको छ ।’
