दाम्पत्य जीवनका अस्थायी झगडालाई गुरुप्रसाद मैनालीले 'परालको आगो' का रुपमा देखाए । त्यही कथालाई प्रताप सुब्बाले पर्दामा उतारे, जसमा चामेको जीवन्त अभिनय टंक शर्माले गरे ।
सिलिगुडी — दार्जिलिङको शान्त, हरियाली चियाबारीको बस्ती दबाइपानीको भोटे टोलमा सन् १९३८ मा जन्मिएका थिए, टंक शर्मा । त्यो बेलासम्म भारत ब्रिटिस उपनिवेशको चंगुलबाट मुक्त भइसकेको थिएन । देश स्वतन्त्र नभइसकेको समय थियो । तर, त्यो पहाडी भेगका एक बालकको मनमा सिर्जनाप्रतिको मोह र हुटहुटी बिस्तारै अँकुरित हुँदै थियो ।
सन् १९५१ बाटै उनले नाटक खेल्न थालेका थिए । जतिबेला उनी मामा घर मङपुमा बस्थे । त्यहीँबाट उनको रंगमञ्चप्रतिको मोह झाँगिँदै गयो । १० वर्षको उमेरमै ‘कृष्ण–सुदामा’ नाटकमा सुदामाको छोराको भूमिका पाए । त्यो नाटकमा उनले बोलेको ‘बाबा, भोक लाग्यो’ भन्ने संवाद आज पनि उनले भुल्न सकेका छैनन् ।
त्यसपछि ‘दुई घरको दीपक’ मा काम गरे । बालककालमै अरुणा लामाका काका रंगकर्मी सीबी लामाको सान्निध्य पाए । लामाले ऊ बेलै बंगाली लेखक शरदचन्द्र चट्टोपाध्यायको बांग्ला भाषाको कृति ‘रामेर सुमती’ मा आधारित ‘सुमती’ नाटक निर्देशन र अभिनय गरेका थिए । ‘नाटकसँगको गहिरो सम्बन्ध त्यहीँबाट बन्यो,’ हालैको एक दिन सिलिगुडी नजिकको नेपालीभाषी बहुल सालाबरीमा भेटिएका शर्माले सुनाए,‘राम्रो नाटक खेल्ने मौका पाएँ भने त अझै गर्छु भन्ने जोस छ ।’
मङ्पुबाट उनी दार्जिलिङ पुगे थप अध्ययनका लागि । टर्नबुल हाइस्कुलमा पढाइ सुरु भएपछि केही समय अभिनय रोकियो । तर, रंगमञ्चप्रतिका प्रेमबाट उनी विमुख हुन सकेनन् ।
कसोकसो उनी पुनः नाटकमा जोडिन पुगे । सन् १९५६ मा गोर्खा दुःख निवारक सम्मेलन (जीडीएनएस) मा नाटक ‘भरत निवास’ को रिहर्सल चलिरहेको थियो । उनका सानाबाले त्यहीँ पुर्याइदिएका थिए । अभिनयको पहिलो संवाद थियो, ‘होसियार ! दरबारमा महाराजको सवारी हुँदै छ ।’ संवाद थोरै थियो, तर त्यो सुरुवात थियो ।
खासमा उनलाई ढोकेको रुपमा मात्रै नाटकमा राखिएको थियो । त्यो भूमिकामा उनको संवाद थिएन । तर, उनकै नाम थर भएका हुम्मे भूमिकाका पात्रले त्यो संवाद फड्कारेर उच्चारण गर्न नजान्दा उनले मौका पाएका थिए ।
पछि उनको रिहर्सल समयमा भूमिका बढुवा भएको भए लक्ष्मणमा पुगेर टुंगियो । ढोकेको भूमिकामा नाटकमा छिरेका उनी लक्ष्मण भएर दर्शकमा माझ देखिए ।
त्यहीँबाट दार्जिलिङको रंगमञ्चमा उनको अभिनय स्थापित हुन थाल्यो ।
०००
प्रताप सुब्बा, हृदयनाथ लामा र रतन मोतेको टोलीले दार्जिलिङमै पहिलोपटक एकांकी नाटक प्रतियोगिता घोषणा गर्यो । तर, टंक शर्माहरुको टोलीमा उक्त प्रतियोगितामा सहभागिता जनाउनु हुन्न भन्ने मत बलियो थियो । अगुवा नाटककार केबी मोक्तानको भने फरक मत थियो । उनी प्रतिस्पर्धामा भाग लिनु पर्छ भन्ने पक्षमा थिए उनी ।
लामो गलफतीपछि टोलीले अप्रतियोगी नाटकमा देखाउने निर्णयमा पुग्यो । अन्ततः आयोजकको आग्रहमा कमेडी नाटक तयार भयो । फरक शैली र संवादको नाटकलाई दर्शकले निक्कै मन पराए ।
त्यो नाटकपछि निर्देशक प्रताप सुब्बाको नजरमा परे शर्मा ।
सुब्बाले त्यो दिन उनलाई भनेका थिए, ‘एक दिन फिचर फिल्म बनाउँछु, ‘परालको आगो’ । तपाईंलाई चामेको भूमिका दिन्छु ।’ त्यो सुनेर शर्मा मक्ख परे ।
‘परालको आगो’ निर्माणको समय आयो । चामेको भूमिकामा शर्मा निश्चित भए । त्यतिबेला उनी तीन छोराछोरीका पिता भइसकेका थिए । उमेर पनि ४२ वर्ष हाराहारी थियो । दार्जिलिङको जिल्ला प्रशासन कार्यालयमा जागिरे थिए । परालको आगो निर्माणताका उनी खरसाङको सबडिभिजन कार्यालय सरुवा भएका थिए । सन् १९७५ बाट निर्माण सुरु भई १९७८ मा परालको आगो रिलिज भयो ।
परालको आगो नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथा हो । दाम्पत्य जीवनका अस्थायी झगडालाई परालको आगो भन्ने अभिव्यक्तिले चामे र गौंथलीको मनोविज्ञानलाई गहिरो रूपमा उजागर गर्छ । त्यही कथालाई प्रताप सुब्बाले पर्दामा उतारे, जसमा चामेको जीवन्त अभिनय टंक शर्माले गरे ।
परालको आगो रिलिजपछि दार्जिलिङमा शर्माको चर्चा बढ्यो ।
शर्माका बारे तुलसी घिमिरेले थाहा पाए । जतिबेला उनी बम्बईमा फिल्मी संघर्षमा थिए । उनी ‘बाँसुरी’ नामको सिनेमा बनाउने योजनामा थिए । शर्मालाई पनि एउटा भूमिका दिने उनको मनसाय थियो । सोहीअनुसार अवकाश प्राप्त सैनिक (भर्तीवाल) को भूमिका उनले पाउने भए । त्यो फिल्म घिमिरेकै घरगाउँ कालेबुङ र बम्बईमा आधाआधा सुटिङ भएको थियो । भूमिकाका लागि शर्माले एक भर्तीवालको पोसाक सापटी मागेर बम्बई लागे । ‘भूमिका त पाएँ तर न त पारिश्रमिक, न सुविधा,’ शर्मा सम्झिन्छन्, ‘दुईपल्ट बम्बई गएँ ४२ दिनसम्म बिताएँ । फर्किँदा त टिकटसम्म आफैं खोज्नुपर्यो ।’
तर, त्यो दुःखले उनलाई सिकायो ।
पारिश्रमिक नपाए पनि कलाकारका रूपमा थप परिचय बन्यो । ‘पहिलो ब्ल्याक एन्ड ह्वाइटमा खेलेको थिएँ, पछि रंगीनमा देखिएँ,’ उनले हाँस्दै सुनाए ।
सन् १९८१ मा ‘बाँसुरी’ रिलिज भयो । त्यो बेला उनी ५० हाराहारी उमेरका भइसकेका थिए । त्यसपछि भने उनलाई कुनै फिल्मको अफर आएन । जीवन फेरि जागिरतिर फर्कियो । अभिनय बिस्तारै छाड्दै गए । तर, नाटकप्रतिको भोक भने अहिले पनि उस्तै छ ।
१९९७ मा अवकाश पाएपछि उनी सामाजिक काममा सक्रिय भए । आज पनि सालबारीतिरै भेटिन्छन्, कमेज सुरुवाल र भादगाउँले टोलीमा । ‘दार्जिलिङ त टाढा भइसक्यो’, उनी भन्छन्, ‘दार्जिलिङसँग मेरो सेन्टिमेन्टल रिलेसन मात्रै बाँकी छ ।’
