एउटा साइकल मिस्त्रीले नियालेको सहर

अहिले समय त्यस्तो रहेन । एकाधबाहेक आजभोलि साइकल देखिँदैनन् सहरमा । साइकलको घण्टीको टिङटिङ आवाजलाई विद्युतीय हर्नहरूले गुमनाम जस्तै बनाइदिए।

जेष्ठ ३०, २०८२

नवराज सुवेदी

A city seen by a bicycle mechanic

झापा — ‘दाइ साइकलको चेन खुकुलो भएछ, खुस्किरहन्छ । बनाइदिनु न !’ मध्यान्हको सन्नाटालाई चिर्दै एउटा आवाज आयो। साइकल बनाउने दाइले आवाज सुने, र ‘हुन्छ’ को भावमा टाउको हल्लाए। अनि हातमा साइकल बनाउने रेन्च लगायतका समान लिएर साइकलतर्फ अघि बढे। खुकुलो भएको चेन कसिदिए। एकैछिनमा चेन कसियो, साइकल मर्मत भयो।

दाइले २० रुपैयाँ पैसा साइकल मर्मतबापत लिए र खल्तीमा हाले। अनि मुस्कुराउँदै पुनः आफ्नै पसलतर्फ फर्किए। र सुनाए ‘के गर्नु आफ्नो त काम नै यही हो। जानेको काम गर्नैपर्‍यो, नत्र त कसरी घर चलाउनु ?’

तीन दशक भयो । कुलबहादुर राजवंशीको साइकल मर्मतको यो अभिछिन्न यात्रा निरन्तर चलिरहेको छ, यसै गरी निरन्तर । एउटा प्रमुख व्यापारिक सहर बन्ने दौडमा दौडिरहेको सहर इँटाभट्टा चोक दक्षिणमा उनको साइकल मर्मत केन्द्र छ । एउटा सटर भाडामा लिएका छन् उनले । सटरभित्र साइकल बनाउने सामानहरू छन् । सटर बाहिर मर्मतका लागि आइपुगेका साइकलहरू । जसलाई उनी मर्मत गरेर दैनिकी चलाइरहेका छन् । 

२०३२ सालमा उनी झापा मेचीनगरको एक सामान्य राजवंशी परिवारमा जन्मिए । खेती किसानी गरेर जीवन चलाइरहेको परिवारमा जन्मिएका उनले घरको कामसँगै पढाइलाई पनि निरन्तरता दिए । ‘खेती किसानी गरेर चलेको थियो हाम्रो परिवार । त्यस बेला पढ्नुपर्छ, पढ्यो भने सुख पाइन्छ भनेर अग्रजहरूले भन्नुहुन्थ्यो,’ साइकल बनाउँदै गर्दा आफ्नै पसलमा भेटिएका उनले विगतलाई सम्झिए, ‘म पनि स्कुल जान थालो । पढाइलाई आफूसँगै अघि बढाएँ ।’

उनी पढ्दै खेरिको कुरा हो । घरपरिवार चलाउन कि जंगलबाट दाउरा खोजेर ल्याएर बेच्नुपर्ने बाध्यता थियो । कि धान किनेर चिउरा कुटाएर बेच्नुपर्ने बाध्यता । तर, परिवारसँगै समाजलाई नजिकबाट नियालिरहेका उनले यो सबै बुझेका थिए । पढाइ र जीवनका अनुभवहरूलाई सँगाल्दै उनी अघि बढिरहे ।

उनले २०५१ सालमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट एसएलसी दिए । ‘तर, पढेर मात्रै हुँदैन जिन्दगी बिताउन हातमा सीप पनि हुनुपर्छ भन्ने लाग्यो, त्यस बेलै । सीप भयो भने पैसा कमाउन सकिन्छ । पैसा कमाउन सकियो भने सजिलै गरी खाइन्छ भनेर बुबाले भन्नुभएको थियो,’ उनले सुनाए । 

जीवन चलाउन हातमा सीप हुनुपर्छ भन्ने हुटहुटी थियो उनमा । र, त एसएलसी दिएको केही दिनमै उनी साइकल बनाउने काम सिक्न भारतको सीमावर्ती बजार नक्सलतर्फ सोझिए । त्यस बेला पूर्वपश्चिम राजमार्ग बनिसकेको थियो । तर, अहिलेको जस्तो ठुलो थिएन । राजमार्गमा फाट्टफुट्ट मात्रै बस र ट्रकहरू देखिन्थे । अहिलेजस्तो कमिलासरि थिएनन् । टाढाको यात्रा होस या नजिकै कतै काम गर्न जाँदा नै होस । मान्छेको प्रमुख साधनको रूपमा साइकल थियो । 

राजमार्गमा धेरै साइकल नै हुइँकिन्थे । हुलाकीले चिठ्ठी ल्याउँदा होस् या कार्यालयका हाकिमहरू हुन् । ओहोरदोहोरको माध्यम साइकल नै थियो । कानै बिझाउने गरीका बसका कर्कश हर्न भन्दा साइकलको टिङटिङ घण्टी नै धेरै गुन्जिन्थ्यो राजमार्गहरूमा । 

A city seen by a bicycle mechanic

मोटरसाइकल देख्न मुस्किल पर्थ्यो । कहिलेकाहीँ दखिादा मान्छेहरूको लस्कर नै लाग्थ्यो, मोटरसाइकल हेर्नलाई । आज जसरी मान्छेको हात हातमा मोटरसाइकल छ, त्यस बेला त्यसै गरी हात हातमा थियो साइकल । सहर होस या गाउँ साइकलको एकछत्र राज थियो । त्यही एकछत्र राज देखेर त साइकल मर्मत गर्ने सीपमा भविष्य देखे कुलबहादुरहरूले । उनीहरूलाई लाग्यो, साइकल बनाउन सिक्यो भने जीवन कटाउन सकिन्छ । 

एसएलसी पछि साइकल मर्मतको काम सिक्न नक्सल हुइँकिएका उनी ९ महिना नक्सलमै बसे । अहोरात्र खटिरहे, साइकल मर्मत सिक्न मै ध्यान लगाए । जब साइकल बनाउन जान्ने भए । उनी आफ्नै गाउँ फर्किए । अनि २०५२ सालको अन्तिमतिर इटाभट्टा स्थित पूर्वपश्चिम राजमार्ग दक्षिणमा सानो छाप्रो हाले । र, साइकल बनाउन सुरु गरे । ‘मेरो पहिलो दिनको कमाई २० रुपैयाँ भारु थियो । मैले आफ्नै पसलमा आफैले साइकल बनाएर कमाएको,’ हँसिलो मुद्रामा विगत सुनाए उनले । 

यसरी २०५२ सालबाट सुरु भएको साइकल मर्मतको यात्रा आजसम्म जारी छ उनको । आजसम्म उनले कति साइकल बनाए होलान् ? क–कसका बनाए होलान् ? उनलाई याद त छैन । तर, बाल्यावस्थामै उनले ‘हातमा सीप त हुनुपर्छ । नभए कसरी जीवन चलाउने ?’ भनेर जे सोचेका थिए । त्यही सोचले आज उनी आत्मनिर्भर छन् । अनि चिनिएका छन् पनि ‘साइकल बनाउने दाइ’ को उपनामले । 

उनले साइकल मर्मतको काम सुरु गर्दै गर्दा यो इँटाभट्टा बजार आजको जस्तो वैभवशाली थिएन । आज गगनचुम्बी भवन बनेका छन्, त्यस बेला खरले छाएका, काठ र बाँसका घरहरू थिए। जस्ताले छाएका पक्की घरहरू हेर्न काँकडभिट्टा दौडिनुपर्थ्यो । राजमार्ग आजको जस्तो फराकिलो थिएन, सानो थियो । ताँतीका ताँती पसलहरू खुलेका थिएनन् । बासको खम्बामा पाल टाँगेर राखिएका साना पसलहरू थिए । जुन रात परेपछि उठाइन्थ्यो । बजारभरमा एउटा किराना पसल थियो । जसले नै बजारको अस्तित्व जोगाएको थियो । 

A city seen by a bicycle mechanic

तर, कुलबहादुरले साइकल बनाउन थालेको नै तीन दशक भएछ, उनको उमेर नै ५० पुगिसकेको छ। आज इँटाभट्टामा के छैन ? सिटी सिनेमा बनेको छ, पाँच तारे होटेल खुलेको छ। गनिनसक्नु गरी ठुला–साना होटलहरु खुलेका छन्। लत्ताकपडा, किराना लगायतका पसल कति होलान् ? सायदै गन्न सकिएला ।

कुलबहादुरले साइकल बनाउन सुरु गर्दै गर्दा यहाँ कमिलासरि साइकल हुँइकिन्थे, टिङटिङ घण्टीको गुञ्जायमान यो सहरको पहिचान थियो । तर, अब समय त्यस्तो रहेन । एकाध बाहेक आजभोलि साइकल देखिँदैनन् सहरमा । साइकलको घण्टीको आवाजलाई विद्युतीय हर्नहरूले गुमनाम जस्तै बनाइदिएका छन् ।

सहरमा मोटरसाइकलहरूको राज सुरु भयो, साइकल बिस्तारै हराउँदै गए । ‘आजभोलि को चढ्ने साइकल ? सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरू, मिस्त्री काम गर्ने मजदुरहरू, चिया बगानमा काम गर्ने श्रमिकहरू । यस्तैले मात्रै चढ्छन् साइकल आजकल त । अलि धनीलाई त चढ्न लाज हुन्छ हरे !,’ उनले देखिरहेको वर्तमान सुनाए, ‘साइकल चढ्नेहरू घटे । सँगै घट्यो साइकल पनि ।’

तर, उनी आफ्नो पेसाप्रति उत्तिकै अडिग छन् । उनलाई लाग्छ, साइकल चढ्नेहरू मात्रै घटेका हुन् । साइकलप्रतिको मोह झन्झन् बढ्दै छ । साइकल बनाउने सीप अजम्बरी सीप हो । यसले सधैँभरि साथ दिइरहन्छ । उनी आजभोलि साइकल बनाएरै दिनको १५ सय रुपैयाँसम्म कमाउँछन् । जुन कमाइले उनको पाँच जनाको परिवार चलेको छ । 

एक समय थियो । उनी जवान थिए । त्यो पनि भरखरै एसएलसी दिएका । तर, उनले आजभोलिको जस्तो विदेशमा गएर धेरै पैसा कमाउने सपना बुनेनन् । न जीवन बिताउन अरूको मजदुरी गर्नुपर्छ भन्ने नै सोचे । उनले त सोचे ‘हातमा सीप हुनुपर्छ, जीवन चलाउन सहज हुन्छ ।’ तर, आजभोलिको युवा पुस्ताले देशमा भविष्य नै नदेखेको देख्दा भने उनी आश्चर्यमा छन् । 

भन्छन्, ‘हातमा सीप हुनुपर्छ । जीवन त जसोतसो कटिहाल्छ नि ! यति धेरै अवसर छन् देशमा । मोबाइल, आधुनिक टिभी, एसी जस्ता सामानहरू बनाउन सिक्ने मात्रै हो भने पनि कमाउन सकिन्छ । तर, यतातर्फ युवाहरूको ध्यान किन नगएको होला ?’

नवराज सुवेदी

Link copied successfully