किन उठिरहेछ तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ दिनुपर्ने माग ?

जेष्ठ १५, २०८२

पर्वत पोर्तेल

Why is there a demand to give 'Bharat Ratna' to Tenzing Norge Sherpa?

विराटनगर — मेचीपारि दार्जिलिङमा छुट्टै राज्य ‘गोर्खाल्यान्ड’ गठनको माग उठ्ने र फेरि सेलाउने क्रम जारी छ । तर, त्यही क्षेत्रबाट उठेको एउटा विशेष माग भने सन् २०१२ देखि निरन्तर छ । माग हो, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ दिनुपर्ने !

‘भारत रत्न’ सन् १९५४ यता भारतका सर्वोच्च नागरिकलाई हरेक वर्ष दिइने सम्मान हो । सुरुमा यो पुरस्कार कला, साहित्य, विज्ञान र सार्वजनिक सेवामा विशेष योगदान दिएका व्यक्तिहरूलाई मात्र दिइन्थ्यो । तर सन् २०११ मा भारत सरकारले यसको दायरा विस्तार गरी ‘मानव प्रयासका कुनै पनि क्षेत्र’लाई समेट्ने निर्णय गर्‍यो । त्यसपछि बाक्लियो, तेन्जिङ नोर्गेलाई भारत रत्न दिलाउने अभियान । 

तेन्जिङ नोर्गे र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सन् १९५३, मे २९ अर्थात् आजकै दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राखेका थिए । ऐतिहासिक विजयको यो दिन आज ७२औं वर्षमा प्रवेश गरेको छ ।

नोर्गेले पहिलोपटक सगरमाथा चढेको स्मरणमा हरेक वर्षझैं यसपटक पनि भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ दिनुपर्ने माग पुनः सतहमा आएको छ । तर हरेक वर्ष उठ्ने उक्त माग समयसँगै सेलाउँदै गइरहेको देखिन्छ । 

यसपटक उत्तर बंगालका पर्वतारोहीहरू तथा साहसिक गतिविधिमा संलग्न क्लबका प्रतिनिधिले नोर्गेलाई ‘भारत रत्न’ दिनुपर्ने मागलाई फेरि बलियो रूपमा अघि सारेका छन् । भारतको साहसिक खेलकुद तथा पर्वतारोहण क्षेत्रको प्रमुख संस्था हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेसनले बर्सेनि यस मागलाई औपचारिक रूपमा प्रस्तुत गर्दै आएको छ ।

संस्थाका संयोजक अनिमेष बोसले यस वर्ष पनि प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र दार्जिलिङका लोकसभा सांसद राजु विष्टलाई औपचारिक पत्रमार्फत माग पेस गरिएको बताए । नोर्गेको योगदान नेपाल र भारतका लागि मात्रै होइन, विश्व पर्वतारोहणको इतिहासमै अद्वितीय रहेको जनाउँदै त्यही कारण नोर्गे उक्त सम्मानको हकदार रहेको उनीहरुको भनाइ छ । ‘उहाँ (तेन्जिङ नोर्गे) साँचो अर्थमा भारत रत्नका हकदार हुनुहुन्छ,’ बोसले भने, ‘भारत रत्न दिन किन ढिला गरिएको हो सरकारलाई सोध्न चाहन्छु ।’ 

उनीसँग सगरमाथा चढेका सर एडमन्ड हिलारीले ‘नाइटहुड’ र ‘अर्डर अफ न्युजिल्यान्ड’ जस्ता विशिष्ट पदक सम्मान पाइसकेका छन् । नेपाल सरकारले नोर्गेलाई ‘नेपाल तारा’ बाट सम्मानित गरिसकेको छ । भारत सरकारले पनि उनलाई ‘पद्म भूषण’ अवार्ड प्रदान गरिसकेको छ । तर, ‘भारत रत्न’जस्तो सर्वोच्च सम्मानका लागि अझै उनी हकदार छन् भन्ने बोसको दाबी हो । 

भारतीय जनता पार्टी (भाजपा) बाट निर्वाचित दार्जिलिङ क्षेत्रका लोकसभा सांसद राजु विष्टले सन् २०२० को मार्च १२ मा भारतीय संसद्‌मा भारत रत्नको प्रसंग उठाउँदै नोर्गेलाई यो सर्वोच्च नागरिक सम्मान प्रदान गर्नुपर्ने माग राखेका थिए । संसद्‌मा यो विषय पहिलोपटक उठाउने व्यक्ति विष्ट नै हुन्, तर त्यसबारे केन्द्र सरकार अहिलेसम्म गम्भीर देखिएको छैन ।

विष्ट हालै सम्पन्न आम निर्वाचनमा दोस्रोपटक विजयी भई पुनः सांसद बनेका छन् । उनले यसपटक पनि संसदमा नोर्गेलाई भारत रत्न दिनुपर्ने माग पुनः उठाउने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै विष्टले यस विषयलाई फेरि प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्  । 

सिलिगुडी नगरपालिकाका मेयर तथा तृणमूल कांग्रेसका नेता गौतम देवले केन्द्र सरकारले यो माग लामो समयदेखि बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । ‘हामीले २०१२ देखि यो माग उठाउँदै आएका छौं । मुख्यमन्त्री ममता बेनर्जीलगायत धेरै नेताले यो विषय केन्द्र सरकारसमक्ष राखेका छन्, तर सरकारले सुनुवाइ गरेको छैन,’ देवले भने, ‘तेन्जिङ नोर्गेलाई भारत रत्न नदिनु केन्द्र सरकारको नियतमै खोट देखिन्छ ।’

Why is there a demand to give 'Bharat Ratna' to Tenzing Norge Sherpa?

नोर्गेको सम्मानमा पश्चिम बंगालको सिलिगुडीमा तेन्जिङ नोर्गे बस टर्मिनल स्थापना गरिएको छ । त्यहीँको दार्जिलिङ मोडमा र दार्जिलिङको हिमालयन माउन्टेनिङ इन्स्टिच्युटमा उनको पूर्णकदको सालिक पनि छ ।

नोर्गेको प्रभाव अन्तर्राष्ट्रिय स्तरमै देखिएको छ । सन् १९९९ मा अमेरिकाबाट प्रकाशित टाइम पत्रिकाले उनलाई विश्वका प्रभावशाली व्यक्तिमध्ये एकका रूपमा समावेश गरेको थियो भने सन् २००० मा लाइफ म्यागजिनले उनलाई विश्वका उत्कृष्ट १० खेलाडीमध्ये एक घोषित गरेको थियो ।

यति मात्र होइन, नासाले पनि प्लुटो ग्रहको एक पहाडलाई ‘तेन्जिङ मोन्टेस’ नाम दिँदै उनलाई विशेष सम्मान दिएको छ । सन् २००३ मा नोर्गेको सगरमाथाको शिखर सफलताको स्वर्ण जयन्तीको अवसर पारेर भारत सरकारले सर्वोच्च साहसिक खेल पुरस्कारको नाम 'तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक कार्य पुरस्कार'का रुपमा परिवर्तन गरेको थियो ।

के हो भारत रत्न ?

‘भारत रत्न’ गणतान्त्रिक भारतको सर्वोच्च नागरिक सम्मान हो । यो सम्मान सन् १९५४ जनवरी २ मा स्थापना गरिएको हो । यो सम्मान उत्कृष्ट सेवा वा प्रदर्शनको उच्चतम स्तरमा पुर्‍याएको योगदानका लागि प्रदान गरिन्छ । जसमा जात, पेसा, पद वा लिंगको कुनै भेद गरिँदैन । 

Why is there a demand to give 'Bharat Ratna' to Tenzing Norge Sherpa?

सुरुमा यो सम्मान कला, साहित्य, विज्ञान र सार्वजनिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउनेलाई मात्र दिइन्थ्यो । तर, सन् २०११ डिसेम्बरमा भारत सरकारले यस पुरस्कारको क्षेत्रलाई ‘मानव प्रयासका कुनै पनि क्षेत्रमा’ को रुपमा विस्तार गरेको थियो । 

यो पुरस्कारको सिफारिस प्रधानमन्त्रीले राष्ट्रपतिलाई गर्ने गर्छन् । सम्मानस्वरूप राष्ट्रपतिले हस्ताक्षर गरेको प्रमाणपत्र (सनद) र पिपलको पात आकारको पदक प्रदान गरिन्छ । भारत रत्न प्राप्त गर्ने व्यक्ति भारतको औपचारिक प्राथमिकता अनुक्रममा सातौं स्थानमा पर्छन् ।

हालसम्म ५३ जनाले यो सम्मान पाइसकेका छन् । जसमा १८ जना मरणोपरान्त सम्मानित भएका छन् । सुरुमा मरणोपरान्त सम्मानको व्यवस्था थिएन, तर सन् १९६६ जनवरीमा तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई मरणोपरान्त सम्मान दिन व्यवस्था परिवर्तन गरिएको थियो । 

सन् २०१४ मा क्रिकेटर सचिन तेन्दुलकरले भारत रत्न पाएका थिए । यो सर्वोच्च सम्मान पाउने उनी एक्ला र कान्छा खेलाडी हुन् । यो सम्मान सामान्यतया भारतमा जन्मिएका नागरिकलाई दिइने प्रावधान भए पनि केही अपवादहरू पनि देखेको छ ।

विदेशी नागरिक मदर टेरेसा, पाकिस्तानी नागरिक अब्दुल गफ्फार खान र दक्षिण अफ्रिकी नागरिक नेल्सन मन्डेलालाई समेत प्रदान गरिएको थियो । 

नोर्गेलाई  किन दिन मान्दैन भारत ?

सन् १९१४ मा सोलुखुम्बुमा जन्मेका तेन्जिङ नोर्गे शेर्पाले नेपाली नागरिककै हैसियतबाट सगरमाथा आरोहण गरेका थिए । त्यसपछि मात्र भारतले उनलाई नागरिकता प्रदान गरेको हो । सगरमाथा आरोहणपछि  भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको पहलमा उनलाई भारतीय नागरिकता प्रदान गरिएको थियो ।

यही नागरिकता विवादकै कारण बेलायतमा महारानी एलिजाबेथको राज्याभिषेकको बेला उनले ‘जर्ज मेडल’ मात्रै पाए । तर, बेलायतको अत्यन्तै प्रतिष्ठित ‘केबीई’ अवार्डबाट उनी वञ्चित भए । जबकि हिलारी र आरोहण दलका नेता जोन हन्टले भने यो सम्मान पाए । कला, विज्ञान, सार्वजनिक सेवा, मानव सेवा तथा राष्ट्रिय हितमा उल्लेखनीय योगदानकर्तालाई यो अवार्ड दिइन्छ । 

Why is there a demand to give 'Bharat Ratna' to Tenzing Norge Sherpa?

नोर्गेले बेलायत, इरान, नेपाल, तत्कालीन सोभियत संघ, फ्रान्स र इटालीबाट धेरै पदक प्राप्त गरेका थिए । भारतले सन् १९५९ मा पद्म भूषण र सन् २००८ मा मरणोपरान्त पद्म विभूषण प्रदान गरिसकेका छ ।
उनलाई  ‘भारत रत्न’ दिनुपर्ने माग पछिल्लो समय पेचिलो ढंगले उठेको छ । उनलाई उक्त सर्वोच्च सम्मान दिन भारत सरकारले किन हिचकिचाहट गरेको त्यसको  ठोस कारण त छैन । तर, नागरिकताको द्विविधा र विवादित पहिचानजस्ता विषय नै तगारो बनेको अनुमान गर्न सकिन्छ । 

उनलाई रैथाने भारतीय नागरिक मान्ने वा नमान्ने भन्ने प्रश्नले पनि अन्योल बनाएको हुन सक्छ । ‘जसकारण उनलाई सर्वोच्च सम्मान दिने कुरा विचाराधीन राखिएको हुन सक्छ,’ भारतीय पर्वतारोही भाष्कर दासले भने, ‘यद्यपि उनलाई भारत रत्न दिनुपर्छ भन्ने हाम्रो माग जारी छ ।’ 

भारतीय नागरिक भएपछि नोर्गे दार्जिलिङमा बस्थे । दार्जिलिङमा अहिले पनि उनको घर र आफन्तहरु छन् । उनको ७१ वर्षको उमेरमा सन् १९८६ मा निधन भएको  थियो । नोर्गे भारतको अल्पसंख्यक (पहाडिया) क्षेत्र दार्जिलिङका बासिन्दा  भएकाले केन्द्र सरकारको नजरमा उनको योगदान ओझेल परेको आरोप पनि लगाइन्छ ।

‘नागरिकता, क्षेत्रीय पहिचान, केन्द्र सरकारको बेवास्ताका कारण यी ऐतिहासिक पात्र अझैसम्म उपेक्षित बन्नु परेको हो,’ दार्जिलिङका अग्रज पत्रकार विमल राई भन्छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully