कमैया थिए, वडाध्यक्ष बने, अहिले साइकल मर्मत गर्छन्

भन्छन्- 'आफूसँग सीप छ भने जहाँ जुनसुकै अवस्थामा पनि प्रयोग गरेर खान लाज मान्नु हुँदैन' 

जेष्ठ ११, २०८२

रामप्रसाद चौहान 

He was a worker, became a ward president, now he repairs bicycles

बर्दिया — बर्दियाको बढैयाताल गाउँपालिका–९ को अध्यक्ष थिए, कान्छु थारू । पाँच वर्ष वडाको नेतृत्व गर्दा जनताका पीरमर्का बुझे । अभाव र समस्यासँग अझ नजिक भए । जब उनको कार्यकाल सकियो, आफ्नो सीपलाई खेर जान दिएनन् । साइकल मर्मत गर्न थाले । 

राजनीतिक जिम्मेवारीको कुर्सीमा ५ वर्ष बिताएका उनमा पुरानो पेसाप्रतिको मोह भने कदापि घटेको छैन । वडाध्यक्षको कार्यकाल सकिएपछि तीन वर्षदेखि उनी वडा कार्यालयकै अगाडिपट्टि सानो पसल थापेर बसिरहेका छन् । जहाँ उनी साइकल मर्मत मात्रै गर्दैनन्, फोटोकपी मेसिन राखेका छन्, किराना पसल पनि चलाउँछन् ।

वडा कार्यालयमा आउने सेवाग्राही सल्लाह सुझावका लागि पनि पहिला कान्छुकै पसल छिर्छन् । ‘५ वर्ष वडाको अभिभावक भएर काम गरेँ,’ बढैयाताल–९ टेसनपुरका ६२ वर्षीय उनी भन्छन्, ‘काम गर्दागर्दै वडावासीसँग गहिरो सम्बन्ध गाँसियो । नयाँ मान्छेलाई अवसर दिन पनि २०७९ सालको निर्वाचनमा नउठ्ने निर्णय लिएको हुँ ।'

अहिले जिम्मेवारीमा नभए पनि वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई उनी सल्लाह सुझाव दिइरहेका भेटिन्छन् । 'मेरो आवश्यकता खड्किए उनीहरुको कामका लागि सदरमुकाम गुलरियासम्म पुग्ने गरेको छु,‘ उनी भन्छन्, 'आर्थिक सबै कुरा होइन, धेरै कमाउने उद्देश्य भए बजारतिर पसल राख्थेँ होला, वडावासीको सेवा गर्न कार्यालय नजिक पसल गरेको छु ।' खाली बस्नुभन्दा आफूसँग भएको सीपलाई खारिराख्न साइकल ममर्त पनि गर्ने उनको भनाइ छ ।

He was a worker, became a ward president, now he repairs bicycles

२०३६ सालतिर २ कक्षासम्म पढेर उनी कमैया बस्न बाध्य भएका थिए । २०५७ सालमा कमैयाबाट मुक्त भएर खेती किसानी गरे । २०७२ सालमा शीतलाबजारमा साइकल पसल सुरु गरे । २०७४ सालमा माओवादीबाट वडाध्यक्ष उठेका उनी निर्वाचित भए । ‘धेरै पढाइ नभए पनि ८-९ वर्ष संघसंस्थाको सहकार्यमा काम गरेकाले ५ वर्ष वडा चलाउन खासै समस्या परेन,’ उनी भन्छन् ।

दुई छोरा, दुई बुहारी, तीन नातिनातिना र श्रीमान्-श्रीमती गरी उनको ९ जनाको परिवार छ । ‘लोक सेवाबाट नाम निकालेर ठूलो छोरा कपिलवस्तुमा शिक्षण पेशामा आबद्ध छ, ठूली बुहरी पनि शिक्षक छिन्, सानो छोरा वैदेशिक रोजगारमा छ,’ उनले भने, ‘यता म पनि दिनभरि मेहनत गर्दा दैनिक ज्याला कहीँ जाँदैन ।’ 

उनका अनुसार काम ठूलोसानो भन्ने हुँदैन । आफूसँग सीप छ भने जहाँ जुनसुकै अवस्थामा पनि प्रयोग गरेर खान लाज मान्नु हुँदैन । 

उनी वडाध्यक्ष हुँदा वडावासीहरुको हितका लागि सन्तोषजनक काम गरेको टेसनपुरका हिरासिंह थारु सम्झिन्छन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully