उनी पुरानै दैनिकीमा फर्किएका छन् । परिवारजन र छरछिमेकीसँग मज्जाले भलाकुसारी गर्छन् । लाग्छ, यसअघि उनलाई केही भएकै थिएन !
पर्सा — उनी जोसुकैलाई कुटपिट गर्थे, गाली बर्साउँथे । मानसिक समस्याले गुज्रिएका उनको उपचारका लागि परिवारजनले केसम्म गरेनन् ? नेपालदेखि भारतसम्मका धेरै अस्पताल धाए । उपचार खर्च जुटाउन ५ कठ्ठा खेत पनि बेचे । तर, उनी शान्त भएनन् । ७ वर्षससम्म गोठमा साङ्लोले बाँधेर राख्न परिवार बाध्य भयो ।
२०७४ असारमा मानव सेवा आश्रम वीरगन्जले उनको समस्याबारे जब जानकारी पायो, तब एक टोली घरमै पुग्यो । निर्वस्त्र अवस्थामा रहेका उनको उद्धारपछि ८ महिना आश्रममै राखियो । मानसिक रोग विशेषज्ञ डा. भरत गोइतले सक्दो प्रयास गरे । बिस्तारै स्वास्थ्यमा सुधार आयो । ठिक भएपछि उनलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।
ऊर्जावान् ७ वर्ष नारकीय जीवन भोगेका कलैया उपमहानगरपालिका–१८ मोतिसरका ४७ वर्षीय जोगेश्वर ठाकुरको यो आश्चर्यजनक परिवर्तन धेरैलाई अचम्म बनाउने खालको छ । अहिले उनी पुरानै पेसा काठको मिस्त्री काम गर्छन् । हथौडा र आरीको मद्दतले काठका ससाना फर्निचर बनाउन थालेका छन् । करेसाबारीमा तरकारीका बोटबिरुवा गोडमेल गर्छन् । परिवारजन र छरछिमेकीसँग मज्जाले भलाकुसारी गर्छन् । लाग्छ, यसअघि उनलाई केही भएकै थिएन !
अहिले पनि उनको सामान्य औषधोपचार त चल्दै छ । डा गोइतको सम्पर्कमा छन् । तर उनको अवस्थामा अकल्पनीय परिवर्तन आएको छ । सामान्य र स्वस्थ्य मानिससरह उनको दैनिकी अहिले चलेको छ । उनको आक्रामकता पनि शून्यमा झरेको छ ।
४२ वर्षीया पत्नी सुदामा देवीको मुहारमा अहिले मुस्कान फर्किएको छ । पतिको उपचार गराउँदा आर्थिक भारले पनि थिचिएकी सुदामा अहिले निःशुल्क उपचार पाएर पतिको मानसिक अवस्थामा व्यापक सुधार आएपछि दंग छिन् । ‘उहाँको उपचारमा धेरै वर्ष सास्ती भोगेँ,’ उनी भन्छिन्, ‘५ कठ्ठा खेत पनि बिक्यो, तर अहिले तनाव छैन ।’ दुई छोराहरु पनि कमाउन थालेको र पतिले पनि पुरानै रोजगारी गर्न थालेकाले अब जीवन धान्न सहज भएको उनले बताइन् ।
जोगेश्वर २०६२ को अन्त्यतिर वीरगन्जको पिपरामठमा तत्कालीन राजा ज्ञानेन्द्रको सवारीका समयमा सवारी स्थलमा काम गर्न पुगेका थिए । आफूलाई पारिश्रमिक नदिएको विषयमा उनले कुरा राखे तर उल्टै सुरक्षाकर्मीले धम्क्याए । त्यही डर मनमा गढेर बसेकाले मानसिक अवस्था त्यहीँदेखि कमजोर हुँदै गएको उनी बताउँछन् । ‘सुरक्षाकर्मीले तर्साएपछि मेरो मनमा भय बस्न गएको रहेछ,’ उनले भने, ‘त्यसपछि बिस्तारै मानसिक अवस्था खराब हुँदै गयो, पछि मसँग के कस्ता घटना भयो सम्झना पनि छैन ।’ आफू बिसेक भएपछि परिवारजनले लामो समय गोठमा बाँधेर राखिएको सुनाए पनि ती कुरा सम्झना नभएको उनले बताए ।
मानव सेवा आश्रम वीरगन्जका अभिभावक प्रकाश थारू आश्रमले थुप्रै सडक मानव तथा मानसिक समस्या भएका व्यक्तिको उद्धार गरेकामा तीमध्ये सबैभन्दा नारकीय जीवन जोगेश्वरले भोगेको बताउँछन् । ‘आजको युगमा कोही मानिस उपचारको अभावमा आफ्नै घरको गोठमा परिवारबाटै ७ वर्ष निर्वस्त्र रुपमा पशुसरह बाँधिएर बसेको सुन्दा पनि पत्यार लाग्दैन,’ उनले भने, ‘तीनै जोगेश्वर अहिले दोस्रो जीवन बाँच्दै छन्, यो भन्दा खुसीको कुरो के हुन सक्छ ?’
२०७६ जेठ १५ मा स्थापना भएको आश्रमको वीरगन्ज शाखाले हालसम्म २ सय ७६ जनाको उद्धार गरेको छ । ती मध्ये ९७ को पारिवारीक पुनर्मिलन गराइसकेको छ । आश्रममा संरक्षण लिइरहेका बेला ३४ को मृत्यु भएको छ भने ८७ जना उपचार पश्चात स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् । सामुदायिक पुनस्थापना १ जनाको गरिएको छ भने हाल आश्रममा ५७ महिला, पुरुष र बालबालिका आश्रित छन् ।
