जागिर छाडेर केरा खेती, युवालाई प्रेरणा बनिरहेका टोपलाल

भन्छन्- ‘विदेश बसेको भए आफूले त कमाउँथे होला तर समुदायका युवालाई कृषितर्फ उन्मुख गर्न सक्दिनथेँ’

जेष्ठ ४, २०८२

रामप्रसाद चौहान 

Toplal, who quit his job and became an inspiration to the youth, is a banana farmer

बर्दिया — सल्यानमा जन्मिए । नेपालगन्ज पढे । कर्मभूमि बर्दियालाई बनाए । अहिले व्यावसायिक केरा खेतीमा दत्तचित्त भएर लागेका टोपलाल विकले मनग्गे आम्दानी गर्नुका साथै १२ जनालाई रोजगारी दिएका छन् । 

गुलरिया नगरपालिका–४ सिर्जनशील टोलका ४३ वर्षीय विकले नगरपालिकाको उद्यम विकास शाखामा ६ वर्ष काम गरे । गत असोजमा जागिर छाडेका उनी पूर्ण रुपमा आफ्नै व्यवसायमा लागेका छन् । इलेक्ट्रिकल इन्जिनियरिङ पढेका उनले आरडी (ग्रामीण विकास) बाट मास्टर्ससमेत गरेका छन् ।

बिहान उठेदेखि साँझ नसुतेसम्म उनी बेर्ना हेरचाह, तयारी केरा काट्ने र च्याम्बरमा पाकेका केरा बजार पठाउने लगायतका काममा व्यस्त हुन्छन् । उनी व्यावसायिक केरा खेती गर्ने कृषकलाई परामर्श सेवा पनि दिन्छन् । उनको व्यवसाय समुदायका अन्य मानिसका लागि सिकाइको केन्द्र बनेको छ । जिल्लामा केरासम्बन्धी कुनै जानकारी चाहिएका किसान उनीकहाँ पुग्छन् । 

वैदेशिक रोजगारका क्रममा उनले तीन वर्ष डेनमार्क र कतारमा बसे । ‘विदेशमा दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ सोच बनाएर फर्कें,’ उनी भन्छन्, ‘विदेश बसेको भए आफूले त कमाउँथे होला तर समुदायका युवालाई कृषितर्फ उन्मुख गर्न सक्दिनथेँ ।’ 

वैदेशिक रोजगारबाट फर्केका युवाले कृषिमा गरेको योगदानलाई कदर गर्दै २०७५ मा श्रम तथा रोजगार मन्त्रालय र कृषि प्रविधिमा उत्कृष्ट कार्य गरेबापत युवा तथा खेलकुद मन्त्रालयले नगदसहित उनलाई राष्ट्रिय पुरस्कार पनि दिएको छ ।

Toplal, who quit his job and became an inspiration to the youth, is a banana farmer

नेपालमा व्यवासायिक सम्भावनाको कसरी अनुसन्धान गर्ने विषयमा इलम हेल्भेटास संस्थाले तालिम दिएको उनले बताए । ‘संस्थाले तालिम दिएर परियोजनाको स्रोत व्यक्तिका लागि मलाई चयन गरी जडीबुटी, केरा खेती र नर्सरीको बारेमा सिकायो,’ उनले भने, ‘अरुलाई सिकाउँदै हिँड्नेले आफू किन नगर्ने भनेर सुरु गरेँ ।’

२०७० सालमा आधुनिक कृषि तथा जडीबुटी व्यवसाय फर्म दर्ता गरेर उनले टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गरे । पहिलो फेजमा ५ हजार केराको बिरुवा उत्पादन गरी बेचेपछि राम्रो आम्दानी भयो । त्यसलाई निरन्तरता दिँदै हाल वार्षिक एकदेखि डेढ लाख केराको बिरुवा उत्पादन गरी बिक्री वितरण गरिरहेको उनले बताए ।

२०७२ सालदेखि केरा खेती नै सुरु गरेका उनले १२ बिघामा केरा लगाएका छन् । उनीसँग जी नाइन, विलियम हाइब्रिड, रेड बानाना र मालभोग जातका केरा छन् । 

उनका अनुसार प्रतिबेर्ना ४० रुपैयाँमा बिक्री हुन्छ । बेर्ना उत्पादनबाट ४० लाख र केरा खेतीबाट ६० लाखको वार्षिक कारोबार हुन्छ । '१२ बिघा जग्गा ठेक्कामा लिएको छु, जसको वार्षिक ७ लाख २० हजार भाडा तिर्नुपर्छ । सबै खर्च कटाएर वार्षिक २० लाख आम्दानी हुने गरेको छ,’ उनले भने ।

Toplal, who quit his job and became an inspiration to the youth, is a banana farmer

‘पहिला केराको बिरुवा उत्पादन गरेर चितवन, नवलपरासी, सुर्खेत, बाँके कैलालीलगायत १० जिल्लामा पठाइन्थ्यो । त्यतिबेला बर्दियामा केरा खेती गर्ने किसान थिएनन् । तर, तीन-चार वर्षदेखि केराप्रति किसानको आकर्षण बढेको छ,' उनले भने, 'जिल्लामा खेती गर्ने किसानको मागलाई थेग्न मुस्किल भइरहेको छ ।’ 

बर्दियामा ४ सय बिघामा केरा खेती गर्न किसानले आफूबाटै बेर्ना लगेको उनले सुनाए । उनी बेर्ना मात्रै बेच्दैनन्,  किसानलाई चाहिने सबै चिज उपलब्ध गराएर उत्पादनको केरासमेत किन्छन् । उत्पादित केरा कोहलपुर, नेपालगन्ज, दाङ, पोखरा र जनकपुरमा बेच्ने गरेको उनले बताए । 'केरा पकाउने आफ्नै च्याम्बर र ढुवानीका लागि साधन भएकाले बजारीकरणमा कुनै समस्या छैन,' उनी भन्छन् ।

खेर गइरहेका खम्बा र पात प्रशोधन गरी रेसा निकालेर बेच्ने र अर्गानिक मल उत्पादन गर्ने उनको योजना छ । व्यवसायिक शिक्षा र सीपका साथै काम गर्ने सोचको विकास भएमा कामको खोजीमा बाहिर जान नपर्ने उनी बताउँछन् । 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully