१६ वर्षपछि नयाँ हिृवलचेयरमा बलराम

रुखबाट खसेर पक्षाघात भएका वन हेरालु बलरामले पुरानो हिृवलचेयर बिताएको १६ वर्षको कथा अब बिसाउँदै छन्

जेष्ठ २, २०८२

रमेशकुमार पौडेल

Balaram in the new Hrivalchair after 16 years

चितवन — खैरहनी नगरपालिका–१३ कुमरोजको गवै गाउँका बलराम भण्डारी घरको आँगन नकटेको ठ्याक्कै १६ वर्ष भयो । पक्षाघातले पीडित बलरामको मन भने कहाँकहाँ डुलिहिँड्थ्यो । तर उनको शरीर थियो, घरभित्रै । आकाश हेर्न, चराहरुको गतिविधि हेर्न उनी पुरानो हिृवलचेयरका चक्का हत्केलाका छाला दुख्नेगरी धकेलेर आँगनसम्म पुग्थे । यताउति नियाल्थे । तर आँगनबाट पर जान सक्ने अवस्थामा उनी थिएनन् । उनले सुनाए, ‘अलि परसम्म जाउँ भन्ने चाहना मनैमा दबाएर राखेँ ।’

चितवन — खैरहनी नगरपालिका–१३ कुमरोजको गवै गाउँका बलराम भण्डारी घरको आँगन नकटेको ठ्याक्कै १६ वर्ष भयो । पक्षाघातले पीडित बलरामको मन भने कहाँकहाँ डुलिहिँड्थ्यो । तर उनको शरीर थियो, घरभित्रै । आकाश हेर्न, चराहरुको गतिविधि हेर्न उनी पुरानो हिृवलचेयरका चक्का हत्केलाका छाला दुख्नेगरी धकेलेर आँगनसम्म पुग्थे । यताउति नियाल्थे । तर आँगनबाट पर जान सक्ने अवस्थामा उनी थिएनन् । उनले सुनाए, ‘अलि परसम्म जाउँ भन्ने चाहना मनैमा दबाएर राखेँ ।’

तर अब यी दुःखबाट उनले छुटकरा पाएका छन् । किनकि उनले १६ वर्ष पुरानो हिृवलचेयरको सट्टा स्विच थिचेका भरमा चल्ने इलेक्ट्रिक हृविलचेयर उपहार पाएका छन् । अनुहारभरि खुसी ल्याएर उनले भने, ‘हृविलचेयर बदले पनि मलाई त चोला नै बदलेझैं भयो ।’ नयाँ हिृवलचेयर सजिलै गुड्ने भएकाले उनलाई घरभन्दा अलिक परसम्म जान सजिलो भएको छ । उनले सुनाए, ‘अब सरर अलि परसम्म गएर फेरि तत्कालै फर्केर घर आउँछु भन्ने लागेको छ । यो उपहार दिनेमाथि भगवान् पशुपतिनाथको सधै कृपा होस् ।’

रुखबाट लडेर पक्षाघात हुनुअघिसमम बलरामको जीवन अर्कै थियो । पक्षाघात भएपछि हातले जोड लगाएपछि मात्रै थोरै गुड्ने पुरानो शैलीको हिृवलचेयरमा यताउति गर्दा उनको जीवन अर्कै थियो । अब इलेक्ट्रिक हृविलचेयर पाएपछिको जीवन भने अर्कै हुन्छ होला भन्ने उनले सोचिरहेका छन् । कुमरोजवासीले ‘पञ्चायत वन’का नाममा ४० को दशकबाटै गाउँ छेउको वनको संरक्षण गर्दै आएका थिए । राप्ती खोला यो वन छिचोलेर गाउँ पस्दैन, आडको वनले बाढी पनि रोक्छ भन्ने विश्वास थियो ।

कुमरोज मध्यवर्ती सामुदायिक वन घोषणा भएपछि २०५५ मा उनी यसैको वन हेरालु भए । घर छेवै बाटोपारिको वन संरक्षणको काममा उनी यसरी लागिपरे कि उनी हर बिहान आँखा खुल्नासाथ वनतिर हिँडिहाल्थे । चोरी सिकारी र तस्करीका काम रोक्नु र वन संरक्षण गर्नु उनको नियमित काम थियो । २०६५ साल चैत्र २२ । उनी सधैंझैं एकाबिहानै आँखा मिच्दै वन छिरेका थिए । एक किलोमिटरजति भित्र छिरेपछि उनले मान्छेको पाइलाको ताजा डोब देखे । त्यतिबेला उनले सोचेका थिए, 'विष हालेर माछा मारेछन् क्या हो' । उनले यस्तो किन पनि सोचेका थिए भने खोला छेउछाउमा मरेका माछा पनि उनले देखेका थिए । त्यतिबेला गैंडा चोरी शिकारीको बिगबिगी थियो । त्यसैले उनले गैंडा चोरी शिकारी पो आएका छन कि भनेर पनि सोचे ।

उनी फटाफट छेवैको रुखमा चढेर पर परसम्म नियाले । केही नदेखेपछि उनी रुखको अझै माथी चढे । त्यति नै बेला उनलाई आकाश खसेजस्तो भयो । उनले सुनाए, ‘खुट्टा छाडेर हाँगो समाउन पुगेँ । दुर्भाग्य हाँगो त सुकेको रहेछ । मेरो भारले भाच्ची हाल्यो । म भुईमा बजारिएँ ।’ बलरामका अनुसार त्यतिबेला तुरुन्तै उनलाई कम्मरमाथीको भाग नमज्जाले दुख्यो । तर उनले होस भने गुमाएका थिएनन् । बरु खुट्टा चल्न छाडेको थियो । उनले त्यो समय सम्झिदै सुनाए, ‘मेरा खुट्टा नै आफ्नै हुन की हैनन् भन्ने भ्रम भयो ।’त्यत्ति बेला भर्खरै घाम झुल्केको थियो । उनी एकैछिन जोड जोडले कराए पनि । तर सुन्ने कसले ?

केही बेरपछि जंगल आएका स्थानियले उनको बोली सुने । वनका तत्कालिन अध्यक्ष राजु सिलवालसहितको टोली घटनास्थल आईपुगे । उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याए । त्यहाँ उपचार हुन नसक्ने भएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याए । त्यहाँबाट उनलाई जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा पठाए । हप्तादिनपछि उनको शल्यक्रिया भयो । तर कम्मर मुनीको भाग नचल्ने भयो । बलरामले सुनाए, ‘तत्काले अप्रेशन गर्न पाएको भए तैबिसेक केही हुन्थ्यो कि !’त्यहाँ उपचार सकेपछि उनले केही समय काभ्रेको साँगास्थित स्पाइनल ईन्जुरी रिहृयाबिलिटेसन सेन्टर पुगेर थप उपचार गरे । त्यसपछि बलरामको जीवन हिृवलचियरमा कैद भयो । ‘डाक्टरले अब नयाँ तरिकाले बाँच्नुपर्छ भने । अनि म नयाँ हिृवलचियर लिएर घर आए,’ उनले भने ।

हिृवलचियरमा बस्नुपर्ने भएपछि उनको संसार खुम्चियो । उनी आँगनभन्दा पर खासै गएनन् । दिसा पिसाबको हर दिनको समस्या, बाहिर जान नपाउँदाको उकुसमुकुस अनि स्वास्थ्यमा बेला बखत आईपर्ने अनेकन अप्ठ्याराहरुसँग उनी हर दिन जुधीरहे । मासिक २२ सय रुपैँयाको वन हेरालुको जागिर खाने बलरामसँग बचत पनि केही थिएन । झन् त्यसमाथी ससाना बालबच्चा हेर्नुपर्ने दायित्व । धन्न उपचार गर्दा लागेको एक लाख ६७ हजार रुपैयाँ वन समितिले बेहोरीदियो र उनलाई राहत भयो ।

दैनिन्दनको खर्चको अभाव, पुरानो बन्दै गएको घर र बर्षाका बेला छानाबाट चुहिने तप तप पानी । उनी चिन्तै चिन्तामा थिए । स्थानिय संघ संस्थाको सहयोगमा उनको जस्ताको छानोसहितको सानो घर बनेपछि भने उनलाई राहत भयो । सुरु सुरुमा ठिक ठिकै भएको हिृवलचियर विस्तारै पुरानो बन्दै गएपछि बलराम पनि चिन्तामा थिए । नयाँ हिृवलचियर किन्ने रकम र उपाय दुवै उनीसँग थिएन । चुनावका बेला मत माग्न आएका सबैजसो नेतासँग उनले नयाँ हिृवलचियरको आशा सुनाए । 'हुन्छ हुन्छ' भनेका कुनै पनि नेता चुनावपछि फर्केर आएनन् ।


खैरहनी पर्साका समाजेवी मुरलीप्रसाद गजुरेल एक दिन उनको समस्या सुनेर इलेक्ट्रिक हृवील चीयर उपलब्ध गराउने कुरा सुनाए । पूर्वी चितवनको खैरहनी माध्यामिक विद्यालयमा एक करोड रुपैयाँ राशीको जन्मोत्सव तथा स्मृती छात्रवृत्ति अक्षय कोष स्थापना गरेर गरिब तथा जेहेन्दार विधार्थीहरुको उच्च शिक्षामा सहयोग पुर्‍याएका गजुरेलका कुराले बलराम आशावादी बने । गजुरलले बलरामलाई सहयोग दिलाउन धेरै तिर  गरे । अमेरिका बस्ने शोभा पाण्डे सहयोग गर्न तयार भइन् । शोभाको छोरी समिक्षा र भाइ सुजनको जेठ २ गते परेको जन्मदिनमा एक लाख २० हजार रुपैयाँ पर्ने ईलेक्ट्रिक हिृवलचियर बलरामले हस्तान्तरण गरे ।

एक घन्टामा फुल चार्ज हुने र २० किलोमिटरसम्म गुडन मिल्ने हिृवलचियर पाएपछि बलरामलाई अब नयाँ जीवन सुरु भएजस्तो भएको छ । अगाडीको भाग एक ठाउँमा भाँच्चिएपछि वेल्डिङ गरेर काम चलाउ बनाएको हिृवलचियर हेर्दै बलरामले भने, ‘नयाँ पाए पनि त्यसलाई त म छोडीहाल्दिन । घरमा बस्दा त्यसैमा बस्छु । बाहिर हिँड्नु परे नयाँमा जाउँला ।’

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully