एक दर्जीले देखेको विराटनगरको बदलाव

‘यो सहरको मायाले मलाई बाँधेर राखेको छ । म त दर्जी मात्रै भएँ तर मेरो जीवनको कपडा त विराटनगरले नै सिएजस्तो लाग्छ ।’ 

वैशाख ३०, २०८२

पर्वत पोर्तेल

The transformation of Biratnagar as seen by a tailor

विराटनगर — २००७ सालको क्रान्तिको समय थियो, दुर्गा मोते (परियार) त्यतिबेला मात्र दुई वर्षका थिए । क्रान्तिको उद्गम स्थल नै विराटनगर थियो । दुर्गाका बुबा लोकबहादुर परियार जहाँनिया राणा शासनको समयमा शाही सेनामा विगुल फुक्थे । लोकबहादुरका बुबा सेते दमाई धनकुटास्थित राणाहरूको मुख्य अड्डामा विगुलेका रूपमा कार्यरत थिए । सेतेको पथ पछ्याउँदै लोकबहादुर पनि विगुले बनेका थिए ।

तर, यो परम्परा दुर्गाबाट टुट्यो । उनले विगुल हैन, सियो र धागो समाते । उनको मन सिलाई–बुनाईमा रमायो । सायद उनी विराटनगरका सबैभन्दा पुराना दर्जीहरूमा पर्छन् । करिब ६० वर्षदेखि उनी निरन्तर कल (चलाइरहेका छन्,  खटखटखटखट...। 

विराटनगरसँगै उनी पनि परिवर्तनका साक्षी बनेका छन् ।  कपडाको फेसन बदलियो । गाउँबाट सहर बदलियो । समाजको सोच उस्तै देख्छन् उनी । उनको पेशाप्रतिको समर्पण पनि समाजको सोच जस्तै उस्तै छ, कहिल्यै नबदलिने । 

दशकौं लामो यात्रामा दुर्गाले विराटनगरलाई अनेक रंगमा देखे । उनले बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मलाई प्रत्यक्ष देखे । मनमोहन अधिकारीदेखि सूर्यबहादुर थापासम्मलाई नजिकैबाट नियाल्न पाए । किनकि यी चारै जना पूर्वप्रधानमन्त्रीहरू विराटनगरकै थिए । ‘त्यो बेलाको सानो सहरमा यस्ता नेताहरूलाई नचिन्ने त कुरै भएन,’ उनी सम्झन्छन् ‘म उहाँहरूलाई चिन्थे, तर उहाँहरूले मलाई कहिल्यै चिन्नु भएन ।’ 

वि.सं. १९७० तिर विराटनगरको खासै अस्तित्व थिएन । त्यतिबेला रंगेली नै पूर्वको प्रमुख व्यापारिक केन्द्र थियो । आज रंगेली हुलाकी राजमार्गको सानो बजारमा सीमित छ । त्यही बजार एक समय पूर्वकै व्यापारिक धुरी थियो । जब रंगेलीको वैभव विराटनगर सर्‍यो, तब  रंगेलीको रौनक हराउँदै गयो र विराटनगरको उकालो यात्रा सुरु भयो ।

दुर्गाका लागि यो सहर केवल बसोबासको थलो मात्रै थिएन, परिवर्तनको संगिनी पनि थियो । यसै सहरको छायाँमा उनले जीवन बिताए । ‘आफ्नो त उमेर मात्रै फेरियो अरु जस्तो को तस्तै छ,’ उनी भन्छन्, ‘तर सहरचाहिँ मज्जाले बदलिँदै गयो ।’

The transformation of Biratnagar as seen by a tailorहिजोको चिप्लो बाटोमा हिलो छ्याप्दै हिँड्ने विराटनगर, आज कालोपत्र सडक र झिलिमिली उज्यालो बत्तीसँग दगुरिरहेको छ । तर, दुर्गा भने अझै आफ्नै पुरानै सिलाइ मेसिनमा, पुरानै कपडा सिलाउँदै बुढ्यौलीवय गुजारिरहेका छन् । 

७७ वर्षीय दुर्गा केही शान्त र उदास देखिन्छन् । विराटनगर–१ स्थित भट्टा चोकको साँघुरो फुटपाथमा एउटा झुप्रोभित्र उनको सानो ‘टेलरिङ’ छ । झुप्रोमा राखिएको छ, एउटा पुरानो सिलाई मेसिन ।  केही थोत्रा कपडा र काममा साथ दिने पुराना औजारहरू । ‘नयाँ कपडा सिलाउन अचेल मान्छे आउँदैनन्,’ उनी गुनासो गर्छन्, ‘म संग आइरन पनि छैन । नयाँ कपडा सिलाएपछि आइरन लाउनुपर्छ ।’  त्यसैले उनी पुराना कपडा टालटुल गर्छन्, सय, डेढ सय कमाउँछन् अनि साँझतिर घर लाग्छन् । 

एक समय थियो, दसैं–तिहारमा उनको हातले एकछिन फुर्सद पाउँदैनथ्यो । अहिले भने दिनभर फुर्सदिलो बस्छन् । खासगरी भारतीय टेलरहरूको आगमनले उनलाई थप चिन्तित बनाएको छ । ‘पहिला सिरक–डसना बनाउने भन्दै आएका थिए,’ उनी अनुभव साट्छन्, ‘यहाँ हामीसँगै सीप सिके, मास्टर बनेर सहरभरि उनीहरूकै दबदबा छ ।’ 

विराटनगरमा उनीजस्ता पहाडिया दर्जीहरूको उपस्थिति फाट्टफुट्ट मात्रै छ । अधिकांश भारतबाट आएका मुस्लिम समुदायका टेलर सहरमा छ्याप्छ्याप्ती छन् ।

७५ वर्षदेखि विराटनगरलाई नजिकबाट नियालिरहेका उनले सहरलाई घना जंगलबाट महानगर हुँदै डिजिटल युगसम्म आइपुगेको आफ्नै आँखाले देखेका छन् । ‘त्यो समयको विराटनगर र अहिलेको विराटनगर त आकाश–जमिनको फरक छ,’ उनी उत्साहित हुँदै सुनाउँछन्, ‘बाक्लो काँसघारी थियो, जंगलै जंगल । न बाटो, न बत्ती । बिजोग थियो ।’

दुर्गाका बुबा लोकबहादुर परियार राणा शासनकालमै धनकुटाबाट विराटनगर झरे पनि विगुले पेसाबाट गुजारा मात्रै चलाएका थिए । जायजेथा जोड्न सकेका थिएनन् ।  उनलाई यतिबेला लाग्छ, बुबाले थोरै भए पनि जमिन जोडिदिएको भए अहिलेसम्म यो हविगत हुने थिएन । उबेला जमिन प्रशस्त थिए । थोरै पैसोमा धेरै जमिन किन्न पाइन्थ्यो । तर, दुर्गाका बुवाको ध्यान जमिनतिर गएन । 

विराटनगर महानगरपालिका–१ स्थित सिंघिया खोलाको बगरनजिकै दुर्गाको एउटा सानो घर छ । २०४२ सालतिर १५ सय रुपैयाँमा १२ धुर जमिन किनेर राखेका थिए । जमिन किनेको धेरैपछि सानो घर बनाए । आज त्यो जमिनको मूल्य अकासिएको छ, तर दुर्गाको जीवनशैली भने उस्तै छ, सरल, सादा र मेहनती ।

दुर्गा अब बूढा भइसके, सिलाई मेसिनको आवाज पहिले जस्तो चर्को सुनिँदैन । ‘सहर बदलियो, मान्छे बदलिए, तर मेरो सीप त उही रह्यो’, टुंग्यौनीमा उनी भावुक बने, ‘यो सहरको मायाले मलाई बाँधेर राखेको छ । म त दर्जी मात्रै भएँ तर मेरो जीवनको कपडा त विराटनगरले नै सिएजस्तो लाग्छ ।’ 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully