स्मृतिमा प्रदीप नेपाल : जसको अन्तर्वार्ता शुल्क तिरेर लिएँ

उनले मलाई कन्भिन्स गर्न भन्दै थिए, ‘मैले अन्तर्वार्ताका लागि समय दिनुपर्छ । सूचना, मेरो विद्धता पनि दिनुपर्छ । तपाईंले यो अन्तर्वार्ता लिएर छापेबापत पारिश्रमिक पाउने, मैले चाँहि किन नपाउने ? तपाईंलाई मात्रै होइन, अब म सबै ठूला मिडियासँग अन्तर्वार्ताको चार्ज गर्छु ।’

वैशाख २४, २०८२

राजाराम गौतम

In memory of Pradeep Nepal: Whose interview I paid for

काठमाडौँ — ‘राजा रंक सबै समान उसका बैषम्य गर्दैन त्योआयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’

कवि शिरोमणि लेखनाथ पौडेलका सबैजसो कृतिहरू कालजयी नै छन्। तीमध्ये पनि ‘कालमहिमा’ बेलाबेलामा सम्झनै पर्ने अवस्था आइलाग्छ । वामपन्थी नेता तथा प्रगतिवादी लेखक प्रदीप नेपालको निधनको खबरले एकचोटी फेरि ‘कालमहिमा’ सम्झाइदिएको छ । प्रदीप नेपाल नश्वर शरीर त्यागेर ब्रह्मलीन भएका छन् ।

केही वर्षदेखि उनी रोगले थलिएर ‘गुमनाम’ जस्तै थिए ।एक समय थियो, जुनबेला प्रदीप नेपाल नेकपा एमालेको सम्भवतः सबैभन्दा खट्ने (सक्रिय) नेता थिए । उनी भन्ने गर्थे, ‘कामको चापले २४ घन्टा पनि कम भइसक्यो ।’

दैनिक २४ घन्टा कम भयो भन्ने उनको भनाई प्रतिकात्मक थियो । तर, उनका समकालीनहरूलाई थाहा छ, पचासको दशकमा उनी पार्टीको काममा दैनिक १४/१५ घन्टा खट्थे । उनको धेरै समय बल्खुस्थित भव्य रातो घर (पार्टी कार्यालय अहिले छैन) मा बित्थ्यो । बल्खुमा नभेटिए उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुन्थे । अधिक चाहिँ बल्खुमै भेटिन्थे ।  

प्रदीप नेपाल पत्रकारमैत्री नेता थिए । प्रचार विभागको जिम्मेवारी, आफैँ लेखक, मिसन पत्रकारिता गरेकाले पनि होला, उनको धेरैजसो पत्रकारसँग निकट सम्बन्ध हुन्थ्यो । त्यसहिसाबले उनीसँग अनेक पटक भेट हुनु स्वाभाविक नै थियो । कान्तिपुर पब्लिकेसन्स्को नेपाल म्यागजिनमा काम गर्दाको एउटा भेट चाहिँ अविस्मरणीय नै रह्यो । उनको निधनको खबरले उक्त घटना ताजा भएर आयो । 

२०५७ सालमा कान्तिपुर पब्लिकेसन्सको नेपाल राष्ट्रिय पाक्षिकको प्रकाशन सुरु भएको केही महिनामात्रै भएको थियो । एक दिन संस्थापक सम्पादक विजयकुमार पाण्डेले भन्नुभयो, ‘प्रदीप नेपालको अन्तर्वार्ता लिएर आऊ ।’ भेट भइरहने नेताको अन्तर्वार्ता ल्याउन कुन ठूलो कुरा भयो र ! म ‘हुन्छ’ भनेर बल्खुतिर लागेँ। संयोगले नेपाल कार्यालयमै भेटिए । ‘आउँदो अंकको लागि म्यागजिनमा तपाईंको अन्तर्वार्ता गनुपर्‍यो’ मैले आफ्नो कुरा राखें । 

त्यो बेला हामी रिपोर्टरहरू सानो क्यासेट हाल्न मिल्ने हाते रेकर्डर बोकेर नेताका घर र पार्टी अफिसका दैलो चाहार्थ्यौँ। म रेकर्डर निकाल्दै थिए, नेपालले ‘एकछिन बन्द गर्नुहोस्’ भने । ‘म अन्तर्वार्ता त दिउँला तर निःशुल्क होइन । मसँग अन्तवार्ता लिने भए शुल्क लाग्छ ’, उनले थपे । 

नियमित भेटघाट भइरहने नेताले अन्तर्वार्ता दिन नमानेपछि एकछिन त अवाक नै भएँ। गम्भीर भएर भनेको हो कि जिस्किएको पत्तो पाइन । मैले प्रतिवाद गरे, ‘एउटा सामान्य रिपोर्टरले कसरी अन्तर्वार्ताको शुल्क तिर्नसक्छ । कहाँबाट दिनु शुल्क ?’

‘तपाईसँग मागेको हो र ? कान्तिपुर पब्लिकेसन्स्‌लाई भनेको’ उनले मलाई मनाउन खोज्दै अघि भने, ‘मैले अन्तर्वार्ताका लागि समय दिनुपर्छ । सूचना, मेरो विद्धता पनि दिनुपर्छ । तपाईंले यो अन्तर्वार्ता लिएर छापेबापत पारिश्रमिक पाउने, मैले चाहिँ किन नपाउने ? तपाईंलाई मात्रै होइन, अब म सबै ठूला मिडियासँग अन्तर्वार्ताको चार्ज गर्छु ।’ 

हक्की नेताले यति भनेपछि थप सवाल जवाफको कुनै अर्थ थिएन । अन्तर्वार्ता सम्बन्धी कुरा त्यही सकियो ।अफिस आएपछि विजय सरलाई भने, ‘एमालेको अरु कुनै नेताको अन्तर्वार्ता गर्नुपर्ला यसपटक । प्रदीप नेपालले त अन्तर्वार्ताको शुल्क मागे।’ 

‘कहाँ अरुको लिने, प्रदीप नेपालकै ल्याऊ, शुल्क तिरेरै भएपनि ल्याऊ, कति शुल्क लाग्छ ?’ विजय सर जंगिन थाल्नुभयो । प्रदीप नेपालले यतिउति भनेर शुल्क तोकेका थिएनन्, मैले उनीसँग भएको सबै सवाल जवाफ सुनाए । विजय सरले तत्काल प्रशासन शाखामा फोन गरेर शुल्कको प्रबन्ध गरिदिनुभयो । कान्तिपुरमा त्यो बेला प्रशासनमा केदार श्रेष्ठ हुनुहुन्थ्यो।

उहाँले एक हजार खाममा राखेर दिनुभयो र अर्को दिन पुनः प्रदीप नेपालको अन्तर्वार्ता लिन गए । एक हजार शुल्क तिरेर अन्तर्वार्ता ल्याए । खासमा त्यो कुनै ‘एक्स्क्लुसिभ कन्टेन्ट’ भएकाले शुल्क तिर्नुपरेको होइन । समसामयिक राजनीतिका विषयमा केन्द्रित नियमित टाइपकै वार्ता थियो । तर, नेपाली मिडिया अभ्यासमा अन्तर्वार्ताका लागि शुल्क तिर्नुपरेको यो सन्दर्भ चाहिँ नौलो थियो। 

पश्चिमा मिडियाहरूले अन्तर्वार्ता वा अन्य सूचनाहरूका लागि शुल्क भुक्तानी गर्ने अभ्यासलाई ‘चेकबुक जर्नालिज्म’ भन्ने गर्छन् । ती मिडियामा भएका अभ्यासहरूमा अलि सनसनीखेज कन्टेन्टका लागि शुल्क भुक्तानी गर्ने गरिएका नजीर भेटिन्छन्।

‘चेकबुक जर्नालिज्म’ले सम्पादकीय स्वतन्त्रतालाई कमजोर पार्न सक्ने, शुल्क तिर्न नसक्नेहरूका आवाज दबिने भएकाले यसलाई विवादास्पद अभ्यासका रुपमा लिने पनि गरिन्छ। यद्यपि, शुल्क तिर्नसक्ने मिडिया हाउसले सनसनीखेज समाचार, अन्तर्वार्ता र गोप्य सूचनाहरू प्राप्त गर्दा शुल्क भुक्तानी गर्ने गरिएको पाइन्छ। 

प्रदीप नेपाललाई एक हजार शुल्क तिरेर नेपालसँग अन्तवार्ता लिनु ‘चेकबुक जर्नालिज्म’ थियो कि थिएन, थाहा भएन। यद्यपि, यो सन्दर्भले प्रदीप नेपाल अलिक पृथक सोच्ने र नौलो अभ्यास गर्ने नेता थिए भन्ने चाँहि देखिन्छ। प्रविधिसँगको उनको औधि लगाव थियो। उनी सक्रिय हुँदाको समयमा अहिलेजस्तो प्रविधिको चरम विकास भइसकेको थिएन । तर, त्यो बेला मोबाइल आउनासाथ उपयोगमा ल्याइहाल्ने, कम्प्युटर चलाउने, इमेलहरू प्रयोग गर्ने नेताका रुपमा उनलाई लिइन्थ्यो। 

निधनपछि अहिले अनेक विशेषणहरू जोडेर नेपाललाई श्रद्धाञ्जलि दिँदै सम्झिनेहरूको घुइँचो लागेको छ । मलाई भने उनी ‘भरभराउदो एमालेको खरो नेता’ थिए भन्ने लाग्छ । जतिबेला प्रदीप नेपाल राजनीतिक उत्कर्षमा थिए, एमाले अहिलेजस्तो गतिहीन थिएन, भरभराउँदो पार्टीका रुपमा उदाउँदै थियो । २०४६ सालमा प्रजातन्त्र आएपछि नेकपा एमाले जन्मेको हो, माले र माक्सवादी मिलेर।

नेपालले पञ्चायती निरंकुशताका विरुद्ध भूमिगत राजनीति गरे, माले गठनको संस्थापक बने । उनको राजनीतिको एउटा पञ्चायतकालीन निरंकुशता विरुद्धको संघर्षको चरण थियो । खुला राजनीतिमा आएपछि पहिलो आम निर्वाचनमा एमाले मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताको नेतृत्वमा बलियो प्रतिपक्षमा रुपमा उदायो।

अझ मदन भण्डारीको रहस्यमय निधनपछि यो पार्टी अझ सशक्त ढंगले बढ्यो । भण्डारीको निधनपछि ‘शोकलाई शक्तिमा बदल्ने’ अठोटका साथ अघि बढेको एमाले दरिलो विकल्पमा रुपमा देखापर्‍यो।

जब यो पार्टीले सत्ताको स्वाद चाख्यो र त्यसपछिका दिनहरूमा यसमा भित्रेको विकृति र अद्योगतिको बेग्लै कथा छ । यद्यपि २०४६ साल पछिको संसदीय अभ्यासका सुरुवाती दिनहरूमा एमालेको बेग्लै परिचय थियो । राष्ट्रियता, प्रजातन्त्र र जनजिविकाको मुद्दा यो पार्टीका नेताहरूको मुखमै झुण्डिन्थ्यो।

सबैजसो नेताहरू चालीस/पचासको हारहारीका एउटै उमेर समूहका थिए । सामूहिक नेतृत्वको भावना थियो । त्यही हारमा थिए, प्रदीप नेपाल पनि । पार्टी कार्यकर्ता परिचालनमा माहिर मानिने नेपाललाई त्यो बेला एमालेभित्र कति प्रभावशाली मानिन्थ्यो भने, विश्लेषकहरू ‘किङमेकर’को उपाधि दिन्थे।

उनै ‘किङमेकर कमरेड’ अब भौतिक रुपमा रहेनन् । प्रगतिवादी साहित्यका पाठकहरूमाझ ‘जीवित’ रहिरहने प्रदीप नेपाल उर्फ सञ्जय थापाप्रति हार्दिक श्रद्धाञ्जली !

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully