भजनमा मुग्ध

बा–हजुरबाले मादल, खैँजडी, मुजुरा बजाउन, अभिनय गर्न र नाच्न सिकाएका छन् । विद्यालय बिदा हुँदा ‘माछापुच्छ्रे बाल भजन समूह’का कलाकार भजन प्रतियोगिता र छरछिमेकका पूजाआजामा पुग्छन् ।

वैशाख ११, २०८२

अनुप पौडेल

Fascinated by hymns

कास्की — बुवा टोल छिमेकतिर भजन–कीर्तनमा हिँड्दा हेम्जाका निश्चल गौतम पछ्याएर सँगसँगै पुग्थे । त्यसैले मादल, खैँजडी, मुजुराका धुन उनका कानमा बाल्यकालदेखि नै परिरहन्थे । १४ वर्षीय उनी आजकल बुवा–हजुरबुवा जाने ठाउँमा मादल र खैँजडी बजाउन बस्छन् ।

उनी मात्र होइन, पोखरा–२५ हेम्जाका १९ जना बालबालिका भजन प्रतियोगितामा, छरछिमेकका पूजाआजामा गाइरहेका, बजाइरहेका र नाचिरहेका भेटिन्छन् ।

‘भजनमा साह्रै इन्ट्रेस्ट लाग्छ । मलाई मादल र खैँजडी मन पर्छ । धेरै मादल बजाउँछु,’ निश्चलले सुनाए ।

हेम्जादेखि उत्तरतिर कास्कीकै माछापुच्छ्रे गाउँपालिका पर्छ । माछापुच्छ्रेको घाचोक, लाहाचोक, खोराकोमुख, भेडाबारी, रिभानलगायत गाउँका १ सय ३४ परिवार हेम्जा फाँटमा बसेका छन् । उनीहरू संगठित भएर २०७३ सालमा माछापुच्छ्रे सेवा समाज, हेम्जा खोलेका थिए । समाज खोलेपछि खर्च जुटाउन सदस्यहरूले भजन–कीर्तन गर्छन् ।

गत असोजतिर समाजका सदस्यले एउटा जुक्ति फुराए, ‘हाम्रा बच्चालाई भजनमा अलिअलि चासो देखिन्छ । तर, एउटाले अर्कोलाई राम्रोसँग चिन्दैनन् । बिदामा एकपटक उनीहरूलाई सँगै राखेर भजन गाउन सिकाऔँ ।’

निश्चल र उनका साथी विनायक अधिकारीले समाजसँग साइनो भएका साथीभाइ जुटाए । समाजकै सदस्यले पनि आ–आफ्ना छोराछोरी पठाए । पुस्ता हस्तान्तरणको उद्देश्यले समाजकै सदस्यका छोराछोरीलाई भजन गाउन, त्यसमा नाच्न र वाद्यवादन सिकाइएको समाजका सचिव भुवनराज दवाडीले सुनाए ।

‘हामी समाज खोलेर भजन–कीर्तनमा हिँडेको १० वर्ष हुन लाग्यो । यसलाई पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने भएपछि हाम्रै बच्चालाई सिकायौँ,’ उनले भने ।

दसैँ बिदामा ८ देखि १६ वर्ष उमेरका १९ जनाले एकै ठाउँ बसेर भजन गाउन, बाजा बजाउन र अभिनय सिके । त्यसपछि यो समूहको नाम जुर्‍यो – माछापुच्छ्रे बाल भजन समूह । पुर्ख्यौली थातथलो एउटै भएका उनीहरूबीच त्यसयता चिनजान मात्र भएको छैन, राम्रैसँग मादल, खैँजडी, मुजुरा बजाउन र अभिनय सिकेका छन् ।

दसैँ बिदामा १० दिन सिकाएपछि सबैलाई जिम्मेवारी तोकियो । आजकल कोही शिव–पार्वती, गणेश, कुमार, गणेशको वाहन मुसा, कुमारको वाहन मयुर, भक्तजन बन्छन्; कोही खैँजडी, मुजुरा, मादल बजाउँछन्, कोही नाच्छन् । गीत अभिभावकले लेखिदिन्छन् । उनीहरू स्वर भर्छन् ।

‘खैँजडी र मुजुरा घरमा यत्तिकै बजाइराख्थेँ । ठूलाहरूले सिकाउँछौँ भनेपछि हामीले सिक्यौँ,’ १४ वर्षीय विनायक अधिकारीले सुनाए । भजन सुन्दा आनन्द महसुस हुने उनको अनुभव छ । ‘मलाई कस्तो आनन्द आउँछ । म त घरमा पनि मोबाइलमा भजन सुन्छु,’ उनले भने ।

विनायकको टोलीले आफ्नो कलालाई प्रविधिसँग पनि जोडेको छ । उनले माछापुच्छ्रे बाल भजन समूहको युट्युब च्यानल खोलेका छन् । आफूहरू सहभागी प्रतियोगिताको भिडियो उनी आफैँ एडिट गर्छन्, थम्बनेल बनाउँछन् अनि च्यानलमा अपलोड गर्छन् ।

गत फागुनमा हेम्जाको सुइँखेतमा मौरी महोत्सव भएको थियो । त्यहाँ १८ वर्षमुनिका बालबालिका सहभागी हुन पाउने गरी बाल भजन प्रतियोगिता राखिएको थियो । त्यसमा सहभागी ८ टिममध्ये माछापुच्छ्रे बाल भजन समूह प्रथम भयो ।

Fascinated by hymns

प्रतियोगितामा भाग लिन आफूहरूले ३ दिन भजन सिकेर गएको अधिकारीले सुनाए । मौरी महोत्सव र गत वर्ष चैतको आलु महोत्सव गरेर उनीहरूले दुई स्टेजमा भजन गाएका उनले बताए । यसबाहेक छरछिमेकका भजनमा उनीहरू पुगिरहन्छन् ।

छोराछोरी परम्परागत बाजामा लोभिएको देख्दा अभिभावक पनि प्रसन्न छन् । समाजका सदस्य नवीन गौतमले संस्कृतिको पुस्तान्तरण, एउटै गाउँका बालबच्चाबीच चिनजान र आत्मीयता बढाउन भजन समूह प्रभावकारी बनेको बताए ।

‘घरमा राखेको मादल, खैँजडी छोराले (निश्चल) बजाइराख्थे । हामी सबैले सँगै सिक्छौँ भनेपछि सिकायौँ,’ उनले भने, ‘उनीहरू नजिक भए । अब संगठित गर्न के गर्ने भनेपछि बाल भजन समूह बनायौँ ।’

आजकल भजन गाउन जाने समाजका सीनियर टोलीमा बाल भजन समूहका सदस्य पनि सहभागी हुन्छन् । सबैलाई लैजान सम्भव नभए पनि २ जनासम्म लैजाने गरिएको सचिव दवाडीले बताए ।

पोखरा र आसपास माछापुच्छ्रे सेवा समाज भजन समूह चर्चित छ । समाजले ठाउँ–ठाउँमा भजन गाएर र पुरस्कारबापत पाएको रकमले ४० लाख रुपैयाँमा ८ आना जग्गा किनेको छ ।

माछापुच्छ्रे सेवा समाजले स्थापनाको १० वर्षमा ६० भन्दा बढी प्रतियोगितामा भाग लिएको छ । यससहित छरछिमेकका पूजाआजा गरेर २ सयभन्दा बढी ठाउँमा भजन सहभागी भएको सचिव दवाडीले बताए ।

अनुप पौडेल

Link copied successfully