उनी कार्यरत नर्सरीमा सबैभन्दा धेरै, २ लाखभन्दा बढी बिरुवा उत्पादन हुने गरेको छ। १ बिघा क्षेत्रफलमा फैलिएको नर्सरी चारैतिर घेराबार गरिएको छ।
रौतहट — पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर चोकबाट झन्डै एक किलोमिटर पश्चिम लागेपछि डिभिजन वन कार्यालयको आडैमा एउटा ठूलो नर्सरी छ। जहाँ बिरुवा सुमसुमाइरहेका भेटिन्छन्—७४ वर्षीय हरिप्रसाद आचार्य।
उनको दिनचर्या बिरुवाको हेरचाहबाट सुरु हुन्छ। चार दशकदेखि यही काममा लागेका आचार्यलाई सधैं बोटबिरुवा हुर्काउने चटारो लागिरहन्छ। बुढ्यौली उमेरमा पनि बोटबिरुवाको रेखदेख गर्ने जाँगरमा कुनै कमी आएको छैन। चन्द्रपुर–४ घर भएका आचार्य बिहान सबेरै नर्सरी पुग्छन्, चारैतिर नियाल्छन्—पशुचौपाया छिरेका छन् कि छैनन्, हेर्छन्। वन्यजन्तु छिरेर बिरुवा खाने खतरा पनि उत्तिकै छ।
नर्सरी नजिकै नै उनको घर छ। विभिन्न जातका हुर्किँदै गरेका बिरुवाले नर्सरीमा हरियाली भरिएको छ। परिवारका सदस्य जस्तै माया गर्छन् बिरुवालाई। 'सारा जीवन नर्सरीमै बिताएको छु,' आचार्यले सुनाए, 'मैले यो काम सुरु गर्दा धेरैले हाँसो र टीकाटिप्पणी गरे। तर, म आफ्नो काममै लागिरहे।'
अहिले रुख–बिरुवा उनका साथीजस्तै भएका छन्। कुनै बिरुवा सुक्न थाल्यो भने मनमै पीडा हुने उनी बताउँछन्। बिहान ५ बज्न नपाउँदै नर्सरी पुग्ने उनी राति ८ बजेसम्म बिरुवाकै हेरचाहमा खटिन्छन्।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नर्सरीमा काम गर्न थालेको ४० वर्ष बितिसकेको उनले बताए। अहिले उनी अढाई लाख बिरुवाका अभिभावक बनेका छन्। अहिले उनी पुराना ४/५ जातका बिरुवाको संरक्षणमा लागेका छन्। 'बिरुवा हुर्केन भने चिन्ता लाग्छ। परिवारका सदस्यजस्तै माया गर्छु,' उनले भने, 'पानी पुग्यो कि पुगेन, मल हाल्नुपर्ने हो कि होइन हेर्छु। आँखा लगाएर हेर्छु—कसलाई के चाहिएको हो। यहीमा रमाएको छु। बाँकी जीवन पनि यहीँ बिताउने योजना छ।'
यस सिजन नर्सरी बेडमा मसला, सिसौ, सतिसाल, टिक, ज्याकारान्डा, मलेसियन साल, खयर, राजवृक्ष, बेल, अर्जुन, अमला, कल्की, क्यासिया, मगी र एकोसिया जातका अढाई लाख नयाँ बिरुवा उत्पादन गर्ने योजना रहेको उनले बताए।
बिरुवा हुर्काउने, संरक्षण गर्ने र रोप्नेसम्बन्धी तालिम समेत लिइसकेका आचार्य भन्छन्, 'एउटा बिरुवा हुर्कन ४ महिना लाग्छ। हुर्किएको बिरुवा वन कार्यालयले स्थानीयलाई निःशुल्क वितरण गर्दै आएको छ।'
उनी कार्यरत नर्सरीमा सबैभन्दा धेरै, २ लाखभन्दा बढी बिरुवा उत्पादन हुने गरेको छ। १ बिघा क्षेत्रफलमा फैलिएको नर्सरी चारैतिर घेराबार गरिएको छ।
डिभिजन वन प्रमुख हेमन्त साह भन्छन्, 'बिरुवा उत्पादन र संरक्षणमा आचार्यको लगाव देखेर अचम्ममा परेका छौँ। यसरी बोटबिरुवालाई माया गर्ने कमै भेटिन्छन्। चार दशक एउटै काममा लाग्नु सामान्य कुरा होइन।'
जग्गाको नाममा एक धुर पनि नभएका सुकुम्बासी आचार्यलाई वन कार्यालयले मासिक रूपमा नर्सरी नाइकेका रूपमा करारमा नियुक्त गरेको छ। उनी बिरुवा हुर्काउन खप्पिस भएकाले धेरैजसो मानिसहरू फोन गरेर बिरुवा लिन आउँछन्।
करारको अवधि एक वर्षको हुने र उनी मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन्। बिरुवा लगाउने ठाउँ तयार पार्ने, गोड्ने, बिरुवा बनाउने, माटो भर्ने, रोप्ने, हुर्काउने र संरक्षण गर्ने सबै काम उनी एक्लैले भ्याउँछन्।
उनको २ छोरी र १ छोरा छन्। श्रीमती राधा आचार्यले ५ वर्षअघिसम्म वन कार्यालयमा सामान्य क्यान्टिन चलाएकी थिइन्। तर, आम्दानी नपुगेपछि उनले बन्द गरिन्। त्यसबेलादेखि उनलाई सुगर, प्रेसर र नसासम्बन्धी समस्याले च्यापेको छ। अहिले उनी घरमै आराम गरिरहेकी छन्। छोरा दिनेशले राजमार्गको पश्चिम लच्कामा चिया–खाजा पसल सञ्चालन गरेका छन्।
सधैंजसो बिरुवासँग रमाउने आचार्यलाई राति बढी चिन्ता लाग्छ। बाँदर र हरिणले बिरुवा खाने भएकाले उनी बेलाबेला राति टर्चलाइट बोकेर नर्सरी पुग्छन्। 'यति दुःखले हुर्काएको बिरुवा वन्यजन्तुले खाइदिए भने बर्बाद हुन्छ,' उनी भन्छन्। हरिणले मन पराउने जातका बिरुवाले उनी बेलाबेला दुःख पाउँछन्।
बिरुवामा रोग लागे पनि उनी चिन्तित हुन्छन्, यद्यपि अहिलेसम्म कुनै गम्भीर रोग नलागेको उनी बताउँछन्। एक सिजनमा उत्पादन भएका बिरुवा दुई वर्षभित्र वितरण गर्ने वनको योजना छ।
लामो समयदेखि यसैमा रमाएका आचार्यको लगनशीलता देखेर बिरुवा लिन आउनेहरू समेत दंग पर्छन्। पछिल्लो समय स्थानीयहरूले सबैभन्दा धेरै मसला जातका बिरुवा लगेका छन्। उनीहरूले ती बिरुवा निजी जमिनमा रोप्ने गरेका छन्।
विभिन्न रोगले सिसौ सुक्न थालेपछि पछिल्ला वर्षहरूमा यसको माग घट्दै गएको वन कार्यालयले जनाएको छ।
