किन गुमनाम छिन् झोवा विक ?

सदनमा बोल्न नसक्दा धेरै पटक राजीनामा दिने सोचमा पुगेकी थिइन्, झोवा । पहिलो पटक सदनमा बोल्दा सबै जना हाँस्दा उनी डराएकी थिइन् तर हरेस खाइनन् । दह्रो आत्मविश्वासका साथ आफूलाई लागेका कुरा मुगाली भाषामै अभिव्यक्त गरिन् ।

चैत्र २७, २०८१

ज्योति कटुवाल

Why is Jhowa Vick anonymous?

सुर्खेत — कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा आफ्नो मौलिक वाकशैलीका कारण चर्चामा आइरहन्थिन्, मुगुकी झोवा विक । कांग्रेसबाट समानुपातिक सांसद रहेकी उनी प्रदेशसभामा आफ्नो निर्वाचन क्षेत्रका समस्यादेखि सरकारका काम कारबाहीमाथि मातृभाषा मुगाली लवजमै टिप्पणी गर्न माहिर थिइन् ।

उनले बोलेका हरेक वाक्य त्यतिबेला सामाजिक सञ्जालमा भाइरल हुन्थे । उनको वाककलालाई कतिपयले हाँसीमजाक पनि उडाउँथे । प्रदेशसभामा उनी सधैं हिमाली भोटे जातिकै पोसाक लगाउँथिन् । मुगाली लवजमै बोल्थिन् । सरल शैलीमा प्रस्तुत हुन्थिन् ।

पाँच वर्ष सांसदको कार्यकाल बिताएपछि झोवा मुगु गमगढीस्थित घरमा बस्दै आएकी छिन् । उनलाई अहिले पार्टीको केही जिम्मेवारी छैन । त्यसो हुँदा उनी घरमै नातिनातिना हुर्काउने, घरासयी काममै दिनचर्या बिताउने गरेकी छन् । पूर्व प्रदेश सांसदको परिचय भए पनि पार्टीका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत उनी कतै देखिन्नन् । ‘मलाई अहिले कसैले बोलाउँदैन्, नबोलाएको कार्यक्रममा जाने कुरै भएन,’ झोवाले भनिन्, ‘पढेलेखेको छैन, अबुझ भोटेको छोरी भनेर पनि होला नबोलाउने ।’

मुगुको मुगमकार्मारोङ गाउँपालिका–७ मह स्थायी घर भएकी ५२ वर्षीया झोवा स्थानीय तहले समेत आफ्नो पूर्वजनप्रतिनिधिलाई नसम्झिएको दुखेसो गर्छिन् । भन्छिन्, ‘पद भएमात्र बोलाउने रहेछन्, मसँग पद छैन त्यसैले बोलाउँदैनन्, अहिले नातिनातिना खेलाउँछु, बस्छु, आफ्नो ठाउँभन्दा प्रदेश र केन्द्रमा गएपछि बरु धेरैले सम्मान गर्छन् ।’ 

सदनमा बोल्न नसक्दा धेरै पटक राजीनामा दिने सोचमा पुगेकी थिइन्, झोवा । पहिलो पटक सदनमा बोल्दा सबै जना हाँस्दा उनी डराएकी थिइन्  तर हरेस खाइनन् । दह्रो आत्मविश्वासका साथ आफूलाई लागेका कुरा मुगाली भाषामै अभिव्यक्त गरिन् । प्रदेशसभामा पार्टीका नेताले पनि ढाडस दिए । पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीलाई उनी आफ्नो राजनीतिक गुरुका रूपमा सम्झिन्छिन् । ‘दाजुले म माननीय हुँदा निकै सहयोग गर्नुभयो,’ आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘पाँच वर्षमामा गाउँको विकासका लागि धेरै योजना माग गरेकी छु अनपढलाई माननीय बनाएर विकास आएन भन्लान् भनेर सबै मन्त्रीसँग विकासका लागि बिन्ति बिसाएँ । धेरैले मेरो अनुहार हेरेर बजेट पारिदिए ।’ 

Why is Jhowa Vick anonymous?प्रदेशसभामा काम गर्दा उनले अन्य सांसदसँगको हेलमेलबाट नेपाली भाषा बोल्न सिकेको बताइन् ।  प्रदेशसभामा सुरुका दुई वर्ष निकै कठिन रूपमा बिताइन् उनले । नेपाली भाषा राम्ररी बुझ्थिनन् । उनी आफूलाई पनि नेपाली भाषा बोल्न आउँथेन । कांग्रेस संसदीय दलका नेता शाहीले आफ्नै भाषा शैलीमा पनि प्रदेशसभामा कसरी बोल्ने भन्ने सिकाउँथे । उनी भन्छिन्, ‘उहाँले सिकाएपछि आत्मविश्वास बढ्थ्यो, धेरै पटक सिकाउनुभयो, उहाले गर्दा म अहिले धेरै कुरा सुन्छु, हेर्छु, बोल्छु ।’ प्रदेशसभामा उनी बैठक छ भन्ने सूचना पाएपछि बिहानैदेखि तयारीमा जुट्थिन ।

सांसद हुँदा उनलाई धेरैले नमस्कार गर्थे । प्रायः कार्यक्रममा प्रमुख अतिथिका उद्घाटन गर्न बोलाउँथे । ‘अहिले भूपू माननीय भन्दछन्, नमस्कारसमेत भन्दैनन्, पद नै ठूलो हुने रहेछ, उनी भन्छिन्, ‘प्रदेश सांसदहरूको क्लबमा पनि त्यति धेरै बोलाउँदैनन्, म दुर्गममा बस्छु त्यो भएर पनि होला ।’ जतिबेला उनले केही बुझेकी थिइनन् प्रदेश सांसद भइन् । अहिले धेरै नीति नियम, राजनीति, समाजका बारेमा बुझ्ने अवसर पाइन् तब कुनै सार्वजनिक भूमिकामा छैनन् ।

गमगढीमाझोवाको एउटा सानो घर छ । १० जनाको परिवार सगोलमै बस्छन् । परिवारमा श्रीमान्, छोराबुहारी र नातिनातिना छन् । ‘छोराबुहारीले कमाउँछन् खान्छन् तर मेरो कहीँबाट पैसा आउने ठाउँ छैन, व्यापार छैन, दु:ख नै छ, उनी भन्छिन् । सांसद हुँदाको पारिश्रमिक परिवारको घरखर्च, बालबच्चाको पढाइमा खर्च गरेको उनी बताउँछिन् । अहिले भने मुगु गमगढीको घरको भाडाबाट जीवन निर्वाह गरिरहेकी छिन् ।

सांसद हुँदा समेत आफ्नै जातिबाट विभेदको सामना गर्नुपरेको उनीसँग तितो अनुभव छ । हालै दलित संघको केन्द्रीय समितिमा मनोनीत भएकी उनी अब प्रतिनिधिसभामा पुगेर मुगुजस्ता दुर्गम भेग र पिछडिएका वर्ग समुदायका समस्या उजागर गर्ने सपना साँचेकी छन् । पाँच वर्ष प्रदेशसभामा सक्रियतापूर्वक बिताएकाले पार्टीले राम्रै मूल्यांकन गर्नेमा उनको विश्वास छ ।

महिलालाई पालो कटाउने हिसाबले पार्टीले एक पटक मात्र अवसर दिने प्रचलन अन्त्य हुनुपर्ने उनको भनाइ छ । ‘हामीलाई कि त प्रतिस्पर्धा गर्न दिइयोस् कि त पार्टीले अवसर देओस्,’ झोवा भन्छिन्, ‘कोटा पूरा गर्न मात्र होइन, केही काम गरेर देखाउने गरी जिम्मेवारी पनि चाहिन्छ ।’ भर्खरै दलित संघको केन्द्रीय सदस्य मनोनीत गरेकाले अब पार्टीले कार्यक्रममा बोलाउँछ कि भन्ने आशामा छिन् झोवा । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully