‘वरपरकाले कुकुरलाई जथाभावी खाना खुवाउन पाइँदैन । आफ्नै घरमा लगेर खान दे भन्दै झगडा गर्न आउँछन्’
पर्वत — उनलाई कहिलेकाहीँ घर छाडेर टाढा घुम्न रहर लाग्छ । तर कुकुरको मायाले दिनभरी जहाँ गए पनि बेलुकीचाहिँ घरमै आइपुग्नुपर्छ । यो उनले यसलाई बाध्यतासँगै आनन्द पनि मान्छिन् । असार– साउनमा मुसलधारे वर्षा हुँदा होस् या पुस-माघको कठ्याङ्ग्रिदो चिसोमा कुश्मा नगरपालिका-६ मा बस्दै आएकी राजकुमारी राना चार वर्षदेखि बजारमा बेवारिसे कुकुरको भोको पेट भरिरहेकी छिन् ।
समाजमा ‘भुस्याहा’ भनेर दुर्व्यवहार गरिने सामुदायिक कुकुरलाई राजकुमारीचाहिँ आफ्नै परिवारको सदस्य सम्झिन्छिन् । उनलाई सबैभन्दा खुसी कुकुरले दिने गरेको छ भने दु:ख पनि कुकुरकै कारण पाउने गरेकी छिन् । ‘कुकुरप्रतिको प्रेमभावले होला कसैले हिर्कायो भने प्रतिवाद गरिहल्छु । त्यो कुरा उनीहरुलाई मन पर्दैन अनि झगडा हुन्छ,’ राजकुमारी भन्छिन्, ‘मनमनै आफूलाई गाली गरेको कुराले भन्दा निर्दोष र बोल्न नसक्ने निरीह प्राणीको भावना नबुझेकोमा एकदमै पीडा हुन्छ ।’
बेलुकी ७ बजेदेखि कुकुरको खाना बनाउने र ९ बजेपछि स्कुटरमा खाना राखेर बजारभर डुल्छिन् राजकुमारी । सडक र बजारका घरको पेटीमा बसेका कुकुर राजकुमारीको प्रतीक्षामा हुन्छन् । उनलाई कुकुरले टाढैबाट चिन्छन् । उनले स्कुटर रोक्नसाथ शिवालयचोकमा रहेका कुकुर राजकुमारीको अघि आएर मायाले पुच्छर हल्लाउने, झम्टने र कराउने गर्छन् । उनी भन्छिन्, ‘मेरो खुसी भनेको यिनै त हुन् । कुनैदिन म बिरामी भएर खाना खुवाउन आउन सकिनँ भने यिनीको भोको पेट कसले भरिदेलान् भनेर चिन्ता लाग्छ ।’
हरेक दिन कुखुराको पाँच केजी खुट्टा र टाउको, १० माना जति चामल पकाउने गर्छिन् उनी । चार वर्षअघिबाट बजारका बेवारिसे कुकुरलाई खाना खुवाउँदै आएकी उनले पहिले भुईंमै खान दिन्थिन् । अहिलेचाहिँ कुकुरलाई खुवाउने प्लास्टिकको बाटा किनेकी छिन् । कुकुरले खाएर नसक्दासम्म कुरेर बस्छिन् । उनले कुश्मा बजारका शिवालयचोक, दुर्लुङचोक, जिरो, नारायणमाविचोक, मैत्रीचौक, मेलमिलाप चोकलगायत बजारका कुकुरलाई खाना खुवाउने गर्छिन् । खाना खुवाएर घर पुग्दारातिको साढे १०/११ बज्ने गरेको उनी बताउँछिन् ।
‘वरपरकाले कुकुरलाई जथाभावी खाना खुवाउन पाइँदैन । आफ्नै घरमा लगेर खान दे भन्दै झगडा गर्न आउँछन्,’ राजकुमारी दु:खी हुँदै भन्छिन्, ‘मैले खान दिएर उनको घरअघि कुकुर बस्यो रे, रातभर कुकुर भुकेर सुत्न दिएन भन्दै मसँग रिस पोख्छन् । एकपटक त प्रहरीले समेत बोलाएर मलाई गाली गरे । आफ्नो घरअघि बस्ने कुकुरलाई खाना दिन नसके पनि हिर्काउने, पानी छ्याप्ने काम नगर्दिनु होला । माथिबाट भगवानले हेर्नुभाको हुन्छ ।’
कुकुरलाई खाना खुवाउन महिनामा ३०/३५ हजार रुपैयाँ खर्च भइरहेको छ । अहिलेसम्मको व्यवस्थापन आफू एक्लैले गरिरहेको उनले बताइन् । उनको एक छोरा र छोरी छन् । उनीहरू रोजगारीका लागि विदेशमा छन् । श्रीमान् अवकाश प्राप्त भारतीय सैनिक हुन् । ‘मेरो आर्थिक अवस्था ठीकै छ । निजी लगानीमा कुकुरलाई दिनकै खाना खुवाउन त गाह्रो छ नै त्यो भन्दा साह्रो एक्लै बजारमा डुलेर खाना खुवाउनुपर्छ,’ उनले भनिन्, ‘परिवार मेरो कामले खुसी छन् । पुण्यको काम गर्नुभा'छ भनेर छोराछोरीले नै कुकुरलाई भनेर बेग्लै रकम पनि पठाउने गर्छन् ।’
राजकुमारीको घरमा पाँच वर्षदेखि तीन वटा कुकुर छन् । उनी भन्छिन्, ‘तिनीहरूले दिनमा चार पटकसम्म खाँदा पनि अघाउँदैनन् भने सडकमा बस्ने कुकुरले त दिनमा एकपटक समेत खान पाउँदैनन् । उनीहरूको भोक पनि हाम्रो जस्तै त हो नि ।’ पहिले बाटामा दुब्ला र अपाङ्ग कुकुरलाई देख्दा बिस्कुट किनेर दिने र घरअघि आएकालाई मात्र खाना खुवाउँथिन् ।
‘एक दिन मर्निङवाक निस्कँदा साझाचोकमा एउटा अशक्त कुकुरको पछाडिको शरीर चल्दैनथ्यो, दुब्लो शरीर लिएर फालेको दूधको प्लास्टिक खाएर भोक मेट्दै गरेको देख्दा रुँदै घर फर्केर मासुभात पकाएर पेटभरी खान दिएँ,’ उनले सुनाइन् । पहिलो पटक तीन वटा कुकुरलाई खाना खुवाएको उनी सम्झन्छिन् । पहिले एक्लै पैदल हिँड्दै चोकचोकमा बस्ने कुकुरलाई बाल्टी बोकेर खाना खुवाउन हिँड्दा राजकुमारीको हात र काँध फतक्कै गल्थ्यो ।
एक वर्षयता उनी स्कुटरमा खाना बोकेर हिँड्छिन् । उनले सडकका ५० भन्दा बढी कुकुरलाई अघाउन्जेल खुवाएरमात्र आफ्नो घर लाग्छिन् । बजारका मान्छेले कुकुरमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रशासन धाँउछिन् त कहिले पत्रकारसम्म पुगेर बिलौना गर्छिन् । कानुनमा चौपायामाथि गरिने दुर्व्यवहार दण्डनीय भए पनि राज्यले गम्भीर रूपमा नलिइदिँदा कुकुरप्रति मान्छेको ज्यादती बढेको उनको बुझाइ छ । उनले जिल्लामा रहेको पशु सेवा कार्यालयका कर्मचारी पनि तलबभत्ता खान बसेजस्तो देख्छिन् । ‘शरीरभरि चोटपटक भएको कुकुर छ, औषधि उपचार गर्नुपर्यो भनेर बोलाउँदा बहाना बनाउँछन् । तपाईंले जिम्मा लिएर कुकुर लाने हो भनी उपचार गर्छौं नभए आउँदैनौं भन्छन् ।’
राजकुमारीले स्थानीय सरकारसँग अन्यत्रजस्तै कुश्मामा पनि सामुदायिक कुकुर व्यवस्थापनका लागि ‘कुकुर होमस्टे’ निर्माण गर्न आग्रह गरिन् । उनले कुकुरलाई भैरवका रूपमा पुजिने र तिहारमा भगवान सम्झेर पूजा गरिने स्मरण गराउँदै कसैले पनि कुकुरलाई ज्यादती नगर्न अनुरोध गरिन् ।
