भुइँबाट उठेका उद्यमी

फाल्गुन २७, २०८१

समर्पण श्री

Entrepreneurs rising from the floor

काठमाडौँ — नेपालमा अहिले एकपछि अर्का महोत्सवहरु भइरहेका छन् । ती महोत्सवमा अक्सर लेखक, विद्, विज्ञ, कलाकार, पत्रकार तथा कहलिएका मानिसहरुले स्थान पाउँछन् ।

यस्ता कार्यक्रममा आममान्छेले भने विरलै वक्ता बन्ने मौका पाउँछन् । 

भुइँमान्छेका मुद्दामा सधैं ‘ठूला’ मान्छे हाबी भइरहेका बेला टीकापुरमा जारी साहित्यिक महोत्सवमा भने विरलै मञ्चमा देखिने पात्रहरु पनि वक्ता बने । 

एउटा सेसन थियो, ‘भुइँबाट उठेका उद्यमीहरु’ । 

हाम्रो दिनचर्या र जीवनलाई सहज बनाइदिने भुइँमान्छेहरुको दैनिकी कति सहज छ त ? उनीहरुका सपना र संघर्ष, आशा र उपलब्धि के हुन् त ? यिनै विषयमा केन्द्रित थियो यो सेसन । 

सेसनमा आफ्ना कथा सुनाइरहेकी थिइन् टीकापुरकी भगवती मगर । १२ वर्षअघिसम्म उनलाई थाहा थिएन, चैनको श्वास कस्तो हुन्छ ? काठमाडौं गएर पासपोर्ट बनाउँदासम्म पनि मन थिएन उनलाई विदेश जाने । तर श्रीमान्‌को जागिरले मात्र नधानेको घरमा सन्तान हुर्काउनै मुस्किल । विदेश जाने तरखरमा थिइन् उनी । जानुअघि एक शुभचिन्तकले सुझाए, ‘विदेश  नजाऊ । ठग्छन् । यहिँ केही गर्न सकिन्छ ।’

‘म त औंठाछाप, हिसाबकिताब गर्न आउन्न । सकुँला र ?’ उनले सुस्केरा बिसाइन् । यद्यपि हार खाइनन् । तीन बालबच्चाको भविष्य सोच्दै आँट गरिन् । सरसापट गरिन् । र रिक्सा किनिन् । 

त्यसपछि भगवती टीकापुरको सडकमा रिक्सा गुडाउन थालिन् ।

छलफलमा भगवतीसँगै स्टेज चढेकाहरूको संघर्ष, सफलता र सपना दर्शकहरू चाख मान्दै सुनिरहेका थिए । सैलुन हाँकिरहेकी रमा कठरिया, ठेला खाजा चलाइरहेका लोकराज कार्की र कृषक खुसीराम चौधरी । उनीहरूलाई सहजीकरण गरिरहेका थिए रङ्ग अधिकारीले ।

भगवतीको एकदिन वैदेशिक रोजगारमा रहेकी बहिनीसँग कुरा भयो । कुरैकुरामा उनले बहिनीलाई सोधिछन्, ‘तिमी कति कमाउँछौँ ?’ बहिनीले १५ हजारमात्र कमाइ हुने बताइछन् । ‘म त त्यतिबेला ९० हजार कमाउँथेँ, बरु बहिनीलाई नेपालै फर्किन भनेँ,’ उनले भनिन् ।

भगवतीले रिक्सा चलाउँदासम्म यो व्यवसायमा महिलाहरू थिएनन् । ‘मैले आँट गरेपछि अरु दिदीबहिनीहरूले पनि गर्नुभयो,’ उनी गर्विलो सुनिन्छिन् । अहिले टीकापुरको सडकमा थुप्रै महिलाहरू रिक्सा हाँकिरहेको भेटिन्छन्। भगवती त्यो देखेर खुसी हुन्छिन् । ‘हामी सानोबाट ठूलो बनेका हौँ,’ भगवती हँसिलो मुद्रामा भन्छिन् ।

भगवतीलाई विदेश जाने हैन, पहिला प्लेन चढ्ने रहरचाहिँ थियो । सोच्थिन्, ‘कहिले पूरा होला ?’ यद्यपि आफैंले कमाउन थालेपछि त्यो रहर पनि साकार हुने रहेछ भन्ने लागिरहेछ भगवतीलाई । ‘अबचाहिँ चढ्ने हो के सर,’ उनी निकै समयदेखिको रहरबारे हाँस्दै सुनाउँछिन् ।

पाँच बजे उठ्नु, खाना बनाउनु,बाख्राहरूलाई खान्की दिनु अनि रिक्सा लिएर सडकमा निस्कनु । यो भगवतीको दैनिकी हो । यो दैनिकीमा पाँच मिनेट पनि साथीहरूसँग समय बिताउने फुर्सद छैन उनलाई । ५ मिनेट पनि कुरा गर्न वरिपरीका साथी आए भने किन आज होला ? मेरो काम छुट्छ कि भन्ने लाग्छ,’ उनी भन्छिन् । भगवतीको घडीमा फुर्सदिलो समय कहिल्यै बज्दैन ।

रिक्सा चलाउँदाको एउटा दिक्दारी भने छ । त्यो हो खाल्डाखुल्डी बाटा । त्यो बाटोमा दैनिक हिँड्दा रिस उठ्छ उनलाई । राजनीति गर्नेहरूको प्रसँग जोड्दै भन्छिन्, ‘नेतालाई गाली नगर्ने को होला र है ।’

टीकापुरमा बाहिरका मान्छेहरूको आगमन हुँदा उनले रिक्सामा घुमाउँछिन् । त्यतिबेला उनीहरूले टीकापुर राम्रो भन्छन् । आफ्नो ठाउँलाई राम्रो भनेकोमा पुलकित हुन्छिन् उनी । 

रिक्सामा असल यात्रुमात्र सधैं कहाँ चढ्छन् र ? कहिलेकाहीँ दु:ख दिनेहरू पनि भेटिन्छन् । ‘मेरो काम गन्तब्यमा पुर्याउने हो । सम्झाउँछु ।’ 

केही भनिहाल्न पनि डर हुन्छ त्यस्तोबेला । ‘न रिक्सा फुटाउने पो हो कि,’ उनलाई लाग्छ । कतिपय अवस्थामा पैसा नभएकाहरू पनि चढ्छन् । उनी ‘छैन भने नदेऊ’ भनिकनै पनि गन्तब्यसम्म पुर्याउँछिन् ।

भगवतीको अबको सपना छ– चार चक्के गाडी चलाउने । त्यसका लागि उनले लाइसेन्स पनि लिइसकेकी छन् ।

०००

भगवतीको जस्तै कथा छ रमा कठरियासँग पनि । जानकी गाउँपालिकाकी रमाको विजयनगरमा सैलुन व्यवसाय छ । सैलुनमा उनी कपाल काट्छिन् । आर्थिक संकटले गाँजिरहेको समय । बा, आमा बिरामी । उनलाई काम गर्नुथियो । आय आर्जन गर्नुथियो ।  ऋण र सरसापटबाट उनले सैलुख खोलिन् । सखारै ७ बजे घरबाट हिँडेकी रमाले कडा परिश्रम गरिन् । त्यो परिश्रमको परिणाम विस्तारै राम्रो हुँदै गयो । ‘अहिले म मासिक ६० हजार कमाइ गर्छु,’ उनी सन्तुष्ट सुनिन्छिन् ।

उनीकहाँ पहिला दुई महिलाले काम गर्थे । सैलुनको काम रमाले नै सिकाइन् । ‘अहिले उहाँहरूले  आफैंले नयाँ पसल खोलेर गरिरहनुभएको छ । टिकटमा भाइरल छ,’ उनी भन्छिन् ।अहिले सैलुनमा रमालाई सघायने एकजना स्टाफ छन् । 

सुरुमा त सजिलो थिएन कपाल काट्ने पेसा । मानिसहरू ठान्थे– यो पुरुषले गर्ने काम हो । कतिको भनाइ सहिन,खिस्यिट्युरी सहिन् । तर आफ्नो काममा उनी हिच्किचाइनन् । अहिले भन्छिन्, ‘आफ्नो कामबाट खुसी र सन्तुष्ट दुवै छु ।’

०००

टीकापुरका खुसीराम चौधरी किसानी कर्ममा सधैं खुसी छन् । उनले स्कुले जीवनमा ‘किसानको रहर’ भन्ने कविता पढेका थिए । उनलाई कन्ठस्तै थियो त्यो कविता । कविताजस्तै उनलाई पनि लाग्थ्यो , ‘म किसानको छोरा भएर केही गर्नुपर्छ ।’

उनी स्कुलका शिक्षक पनि हुन् । स्कुलभन्दा बाँकी सक्रिय समय उनी आफ्नै माटोमा दिन्छन् । खेतीबाटै खुसीरामले मनग्य आम्दानी गरेका छन् । उनले आफ्ना सन्तानलाई विदेश पनि पठाएनन् । ‘किनकि सम्भावना यही माटोमा छ । पैसा यही माटोमा छ । र त्यो फलिरहेको पनि छ,’उनी भन्छन् ।

बडापाउ बेच्ने लोकराज कार्कीको ठेलामा मानिसहरू झुम्मिरहन्छन् । पटक पटक आउनेहरू भन्छन्, ‘मति मीठो बनाउनुहुन्छ ।’ सशस्त्र द्वद्न्वको समयमा उनले नेपाल छाडे ।

भारतमा बडापाउ बनाउन सिके । त्यहाँ गरेको कामलाई पछि नेपालमै आएर निरन्तरता दिए । उनी महिनामा डेढ लाख कमाउँछन् । एकजना स्टाफ पनि राखेका छन् उनले ।

विदेशमा भन्दा आफ्नै भूमिमा गर्दा कमाउन सकिने सम्भवान थुप्रै भएको बताउँछन् उनी । ‘यहाँ काम गर्न मानिसहरू लाज मान्छन् । तर विदेशमा गएर भाँडा माझ्छन् । गरे त यहीँ पनि सम्भावना छ,’उनी अडानका साथ भन्छन् ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully