शान्ति दिदीको कोठा नम्बर १०१

फाल्गुन ७, २०८१

शंकर आचार्य

Shanti Didi's Room No. 101

पर्सा — वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिर परिसरको दक्षिणतर्फ छ- मन्दिरको अतिथि सदन । वीरगन्ज आउने पाहुना यो धर्मशालामा केही दिनका लागि बास बस्छन् र फेरि आफ्नो घर फर्किन्छन् । 

यही धर्मशालाको कोठा नं १०१ भने कहिल्यै खाली हुँदैन । झन्डै अढाई वर्षयता शान्ति कार्की यो अतिथि सदनमा स्थायी रुपमा बसोबास गर्दै आएकी छन् ।

वीरगन्जवासीको आपार माया र श्रद्धा पाएकी 'शान्ति दिदी' वीरगन्ज महानगरपालिकाकी पूर्वउपमेयर हुन् । अहिले भने उनी 'गुमनाम जिन्दगी' बाँचिरहेकी छन् । मंगलबार दिउँसो अतिथि सदन पुग्दा उनी बुधबार काठमाडौं जानका लागि लत्ताकपडा प्याकिङ गर्दै थिइन् । '९७ वर्षीय दाजु काठमाडौंमा बिरामी हुनुहुन्छ,' उनले भनिन्, 'दाजुले भेट्न खोज्नुभएको छ, त्यसैले काठमाडौं जान लागेकी हुँ ।'

अढाई वर्षअघिसम्म एक शुभचिन्तकको घरमा ससम्मान आश्रय लिएकी र चिल्लो गाडी चढेर हिँड्ने शान्ति दिदी अहिले धर्मशालाको नियमित 'रेखदेखकर्ता जस्तै बनेकी छन् । पदमा नरहेपछि उनले पाएका सबै सुखसुविधा पनि सक्किए र सधैं छेउछाउ बसी राख्ने शुभचिन्तकहरु पनि टाढिँदै गए । 

पदमा पुगे पनि न त उनले बाँचुन्जेल पुग्ने अकुत सम्पत्ति कमाइन् न आलिशान बंगला नै ठड्याइन् । वीरगन्जमा उनको १ धुर पनि जग्गा छैन । बैंक ब्यालेन्स पनि नभएको उनी बताउँछिन् । धर्मशालाको एउटा कोठा र गहवामाई मन्दिर वरपर नै उनको संसार हो । ९५ वर्षको बुढो ज्यान अहिले पनि सक्रिय राख्ने प्रयास गरिरहेको उनले बताइन् । 

'बिहान ४ बजे उठेर नित्यकर्मपछि गहवामाईको दर्शन गर्छु । मन्दिर परिसर वरपरका मगन्तेदेखि व्यापारीहरुसम्मलाई नियमित भेटेर हालखबर सोध्छु,' उनले भनिन्, 'त्यसपछि एक कप चिया खान्छु, मसँगै चिया खान नियमति रुपमा एउटा कुकुर आइपुग्छ, त्यसलाई पनि चिया र एउटा लड्डु सधैं खुवाउँछु ।'

बिहानको खाना होटलमा खाने उनले साँझ भने २ वटा रोटी र तरकारी ल्याएर कोठामै खान्छिन् । उच्च रक्तचापको समस्याबाहेक उनको ज्यानमा अझैसम्म पनि कुनै ठूलो रोग छिरेको छैन । वीरगन्जवासीकै माया र आशीर्वादले आफू यति लामो आयु बाँच्न सकेको उनी बताउँछिन् । 'अझै बाँच्ने इच्छा छ, वीरगन्जबासीको सेवा गर्ने धीत अझै मरेको छैन ।' 

जीवन नै नेपाली कांग्रेसको राजनीतिमा समर्पित गरेकी कार्कीले विवाहसमेत गरिनन् । घरपरिवार नभएपछि एकल जीवन बाँचिरहेकी छन् । दाजु र उनको परिवार पुर्ख्यौली घर काठमाडौंमा बस्छन् । सामाजिक सुरक्षा भत्ता पाइरहेकी उनले त्यसैबाट गुजारा चलाइरहेको बताइन् । 

माइस्थान मन्दिर सञ्चालक समितिका सचिव कन्हैयालाल केशरी शान्ति दिदीलाई आजीवन अतिथि सदनमा निःशुल्क बास दिने बताउँछन् । 'उहाँले आफ्नो सिंगो जीवन वीरगन्जवासीको सेवामा समर्पित गर्नुभयो, राजनीति मात्र नभई समाजसेवामार्फत पनि यहाँका नागरिकको मन जित्नुभएको छ,' उनले भने, 'जीवनको उत्तरार्द्धमा पदविहीन भएपछि अहिले उहाँलाई शुभचिन्तकहरुले आफ्नो घरमा बास दिएनन्, त्यसैले समितिले उहाँको सम्मानमा आजीवन निःशुल्क बास बस्न दिने नीति बनाएको छ ।'

हाल शीतलहरको समयमा जाडोले समस्या नहोस् भनेर कार्कीलाई वातानुकूलित कोठाको व्यवस्था गरिएको केशरी बताउँछन् । 

स्थानीय व्यवसायी उमेश श्रेष्ठले शान्ति दिदी अझै पनि समाजसेवामा समर्पित रहेको बताए । 'उहाँको ज्यान गले पनि समाजसेवा अझै छाड्नुभएको छैन,' उनले भने, 'दीनदु:खी भेटेपछि कसरी सहयोग गर्न सकिन्छ भनेर दौडधुप गरिरहनुहुन्छ ।'

मानिस मात्र नभई मन्दिर वरपरका कुकुर, गाईजस्ता पशुको पनि सेवा गरिरहने शान्ति दिदीको बानीले आफू निक्कै प्रभावित भएको श्रेष्ठ बताउँछन् । 'आजको युगमा यस्ता त्यागी र सन्त नेता पनि छन् भनि पत्याउन गाह्रो  हुन्छ,' उनले भने, 'नयाँ पुस्ताले उहाँबाट धेरै सिक्नुपर्छ ।'

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully