३९ वर्षदेखि छोरालाई पर्खिरहेकी चपलादेवी

०४२ सालमा राजदरबार र राष्ट्रिय पञ्चायतमा बम विस्फोटको आरोपमा पक्राउ परेका साकेतचन्द्र मिश्र पक्राउ परे । उनको नाममा पार्क र प्रवेशद्वार बनाइएका छन् तर राज्यले अझै पनि साकेतचन्द्र मिश्रका विषयमा केही प्रस्ट्याउन सकेका छैन ।

माघ २९, २०८१

अवधेशकुमार झा

Chapladevi, who has been waiting for her son for 39 years

राजविराज — २०४२ असार ६ । राजदरबार र राष्ट्रिय पञ्चायतमा बम विस्फोट गरेको आरोपमा घटनाको भोलिपल्ट सप्तरीको तिलाठीस्थित घरबाट प्रक्राउ परे, साकेतचन्द्र मिश्र । त्यसपछि प्रहरीले उनलाई कहाँ लग्यो र के गर्‍यो अहिलेसम्म प्रस्ट छैन । पञ्चायतविरोधी आन्दोलनमा जुझारु योद्धा साकेतचन्द्र कहाँ छन् ? उत्तर कसैसँग छैन । छ त मात्र आमा चपलादेवीसँग ३९ वर्षको सकसपूर्ण पर्खाइका कथा ।

त्यतिबेला साकेतसँगै पक्राउ परेकाहरूले उनको हिरासतमै हत्या भएको अनुमान सुनाउँछन् । तर हत्यापछि उनको शव के गरियो ? वा हत्या नै गरिएको हो भन्ने स्पष्ट प्रमाण पनि साकेतको परिवारसँग छैन । साकेतले पञ्चायतविरुद्ध गरेको क्रान्तिको नेतृत्व गरेको दल कांग्रेस पटक-पटक सत्तामा पुग्यो । तर अहिलेसम्म न साकेतको अवस्था सरकारले प्रस्ट पारेको छ न उनको निधन भएको स्वीकार गरी सहिद घोषणा गरेको छ । ‘पञ्चायतविरुद्ध लागेकै कारण मेरो छोरा सिध्याए कि,’ ९० वर्षीया चपलादेवी भन्छिन्, ‘यो ३९ वर्षमा छोराको अवस्थाबारे कसैले केही भनेनन् ।’

चपलादेवीका ५ छोरामध्ये माइला छोरा साकेत  राजविराज र बिहारका विभिन्न विद्यालय र कलेजमा अध्ययन गर्दागर्दै कांग्रेसका तत्कालीन नेताहरूको संगतमा पुगेका थिए । मणिराज भट्टराईद्वारा लिखित 'सहिद स्मृति ग्रन्थ'मा उल्लेख भएअनुसार आईएसम्मको अध्ययनपश्चात सप्तरीमा आफ्ना घनिष्ठ साथी शिवमधुकर पोखरेलबाट कांग्रेसको सदस्यता लिएका थिए । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भएका उनी २०३५/३६ को आन्दोलनमा सक्रिय भएका थिए । ‘साकेत प्रजातन्त्रका लागि प्रतिबद्ध योद्धा थिए,’ साकेतका दौंतरीसमेत रहेका हाल राष्ट्रपति रामचन्द्र पौडेलका अन्तर्राष्ट्रिय मामिला विज्ञ  सुरेश चालिसे सम्झिन्छन्, ‘उनी इमान्दार र कर्तव्यनिष्ठ थिए ।’

पञ्चायतविरुद्धको आन्दोलन तीव्र रूपमा अगाडि बढ्न थालेका बेला कांग्रेसको  सत्याग्रह पनि देशव्यापी बनिरहेको थियो । त्यही बेला २०४२ असार ६ गते दरबार र राष्ट्रिय पञ्चायतमा बम विस्फोट भयो । घटनाको भोलिपल्ट साकेत तिलाठीस्थित घरबाट पक्राउ परे । ‘साकेतलाई पक्राउ गर्न प्रहरी घरमा पुगेपछि स्थानीय प्रतिकारमा उत्रेका थिए,’ चपलादेवी भन्छिन्, ‘तर कानुनअनुसार साकेत छुट्छन् भन्दै उनलाई हजुरबुवा र बुवाले नै प्रहरीको जिम्मा लगाए ।’

साकेतका बुवा रामचन्द्र मिश्र लामो समय न्यायाधीश र तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको सचिवसमेत भएका थिए । हजुरबुवा लक्षेश्वर मिश्र प्रधानपञ्च भएका थिए । ‘साकेतलाई पक्राउ गर्नका लागि सप्तरीका तत्कालीन एसपी मोतीलाल बोहराको निर्देशनमा इन्सपेक्टर इन्दिबर सिंहसहितको टोली हाम्रो घर पुगेको थियो,’ साकेतका भाइ नरेशचन्द्र मिश्र भन्छन्, ‘गाउँले प्रतिकारमा उत्रे । तर बुवाले साकेत निर्दोष छ, कानुनअनुसार छुट्छ भन्दै प्रहरीसँग जान भनेपछि दाजुलाई लगे ।’

Chapladevi, who has been waiting for her son for 39 yearsसहिद स्मृति ग्रन्थमा मणिराज भट्टराई लेख्छन्, ‘असार ७ गते उनलाई गिरफ्तार गरी राजविराज एसपी कार्यालय ल्याइयो ।’ बम काण्डकै अभियोगमा पक्राउ गरिएका राजविराजका जगरनाथ दास (जो पछि राजविराज नगरपालिकाका मेयर भए) लाई उद्धृत गर्दै स्मृति ग्रन्थमा लेखेका छन्, ‘असार ८ गते राति एसपी बोहराले बोलाई साकेतलाई जिल्लाका ३०/४० जना कांग्रेस नेताहरूको नाम सोधे, एसपी बोहराले साकेतलाई धम्की दिए, तर साकेतले कसैको नाम नबताएपछि राति उनलाई निर्मम तरिकाले पिटियो । एसपी कार्यालयको एउटा अँध्यारो र सानो कोठामा साकेतलाई अर्धचेत बनाएर राखिएको थियो ।’ 

साकेतसँगै हिरासतमा बसेका राजविराजका उमेश साह प्रहरीको कुटाइबाट साकेतको मुख र दिशामा पनि रगत आउनेसम्म भएको सम्झिन्छन् । उनी यस घटनालाई यसरी सम्झन्छन्,  ‘उनलाई हिरासतमा क्रुरतापूर्वक यातना दिइन्थ्यो ।’ साकेतलाई राजविराजस्थित एसपी कार्यालयमा राखिँदा परिवार वा साथीभाइ कसैलाई भेट्न दिइएको थिएन । ‘हामी हिरासतमै रहेकाले उनको अवस्था थाहा पाउँथ्यौं,’ साह थप्छन्, ‘पञ्चायती प्रहरीले साकेतमाथि क्रुरताको पराकाष्ठा नाघेको थियो ।’

२०४२ असार २१ गते मोरङ एक्सप्रेस बसमा सन्तनु कार्की र शिवजी थापासहित साकेतलाई प्रहरीसहित काठमाडौं पुर्‍याइएको सहिद स्मृति ग्रन्थमा उल्लेख गरिएको छ । उनलाई दुई दिन महेन्द्र पुलिस क्लबमा राखेर हनुमानढोका लगिएको थियो पनि उल्लेख छ । २०४२ भदौ २६ सम्म साकेतलाई चरम यातनासहित प्रहरी हेडक्वार्टरमा राखिएको उनीसँगै हिरासतमा रहेका दिनेश श्रेष्ठ र केशव भेटवालको भनाइसहित स्मृति ग्रन्थमा उल्लेख छ ।

‘साकेतलाई परिवारले ल्याइदिने गरेको खाना प्रहरीले बुझेर दिँदैनथ्यो । यातनाका कारण साकेतको शारीरिक अवस्था निकै कमजोर भइसकेको थियो । साकेत भन्थे हामी परिबन्धमा पर्‍यौं,’ स्मृति ग्रन्थमा दिनेश श्रेष्ठले भनेका छन्, ‘साकेतलाई नक्सालमै यातना दिएर मारियो । साकेतसँगै पद्म लामा, ईश्वर लामा, दिलिप चौधरी, डा. लक्ष्मीनारायण झा र महेश चौलागाईंलाई पनि मारिए । सबैको शव प्रहरी हेडक्वार्टरबाट राति बोरामा हालेर गाडीमा पथलैया जंगल पुर्‍याएर एउटै दाउराको थुप्रोमा जलाइयो ।’ 

साकेतलाई तत्कालीन अवस्थामा यातना दिएका कारण हिरासतमै मृत्यु भएको साकेतका दौंतरी सुरेश चालिसेको दाबी छ । साकेतलाई पक्राउ गरिएको दिनदेखि परिवारलाई भेट्न दिइएको थिएन । हिरासतमा रहेकाहरुकै बयानका आधारमा परिवारले पनि साकेत यो संसारमा नरहेको विषय मानिसकेका छन् ।

आमा चपलादेवीलाई भने अझै 'क्रान्तिकारी छोरा' फर्केर आउँछ कि भन्ने लाग्छ ।  ‘देशमा प्रजातन्त्र पुन:स्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वमा सरकार बनेपछि हामी प्रधानमन्त्रीलाई भेट्न काठमाडौं गयौं,’ चपलादेवी सम्झिन्छिन्, ‘राजनैतिक पीडित भन्दै एक लाख रुपैयाँ दिएर साकेतलाई सहिद घोषणा गर्ने आश्वासन पायौं । तर तयो पूरा भएन ।’

Chapladevi, who has been waiting for her son for 39 years

२०६२/६३ को जनआन्दोलनपछि राजविराजको अदालत रोडमा रहेको महेन्द्र पार्कलाई स्थानीय राजनीतिकर्मीले साकेत पार्क नामकरण गरेर उनको सालिक राखेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाले कार्यालयमा एउटा सहिद साकेत स्मृति भवन निर्माण गरेको छ । तिलाठी गाउँ प्रवेशद्वारमा सहिद साकेत स्मृतिद्वार निर्माण गरिएको छ । केही वर्षदेखि तिलाठीमा साकेतचन्द्रकै स्मृतिमा कुस्ती प्रतियोगिता समेत हुने गरेको छ । तर राज्यका निकायले अझै पनि साकेतचन्द्र मिश्रका विषयमा केही प्रस्ट्याउन सकेका छैनन् ।  

माओवादी सचिव राम कार्की निस्वार्थ र अदम्य साहस भएका व्यक्तिका रूपमा साकेतलाई सम्झन्छन् । साकेतका साथी उनी भन्छन्, ‘साकेत आदर्शप्रति प्रतिबद्ध, स्वार्थ नभएको र अदम्य साहस बोकेको योद्धा हुनुहुन्थ्यो । आर्थिक र राजनैतिक सत्तामा अझै पनि भुईंमान्छेको पहुँच पुग्न सकेको छैन ।’

अवधेशकुमार

Link copied successfully