१६ वर्षदेखि छोरीको हात समाएर हिँडिरहेका बाबु

दृष्टिविहीन शिवलाल छोरीको हात समातेर हरेक दिन कम्तीमा पनि २६ किलोमिटर पैदल हिँड्छन्

माघ ४, २०८१

लक्ष्मी साह

A father who has been holding his daughter's hand for 16 years

बारा — एक हातमा लौरी अनि अर्को हातमा छोरी शकुन्तलाको सहारा । अनि काँधमा छ, थोत्रो र मैलो झोला । चप्पल पड्काउँदै हरेक दिन ५४ वर्षीय शिवलाल मण्डल कलैया-३ वैद्यनाथपुर गाउँ १३ किलोमिटर दूरी छिचोलेर दसगजा पारि रहेको आदापुरको पोखरी बजार पुग्छन् । दृष्टिविहीन शिवलालले यो बाटो ओहोरदोहोर गर्न थालेको १६ वर्ष भइसक्यो । किनकि यही ओहोरदोहोराट उनको गुजारा चलिरहेको छ ।

पोखरी बजारबाट उनी हरेक दिन विभिन्न प्रकारका १५/२० केजी विस्कुट किनेर फर्किन्छन् । अनि दिनभर छोरीको हात समातेर कलैया बजारका पसल–पसल पुगेर बिस्कुट बेच्छन् । यही कमाईबाट उनको परिवारको गुजारा चलेको छ । १५ वर्षीय छोरी शकुन्तलाको हात समातेर हिँड्नुअघि शिवलाल अरु दुई छोरीसँग पालैपालो हिँड्थे । ती दुवै छोरीको विहे भएपछि बाबुको हात समात्ने जिम्मेवारी साइँली छोरी शकुन्तलामा आइपुग्यो ।

२ कठ्ठा जमिन अनि खपडाको घर । यही त उनको सम्पत्ति हो । उनकी श्रीमती १० कठ्ठा खेत अधिँयामा कमाउँछिन् । छोरीको सहारामा शिवलालले कमाउने र श्रीमतीले कृषि कर्मबाट आर्जन गरेर उनीहरुको ६ छोराछोरी सहितको परिवारको गुजारा चलेको छ । पसल-पसल डुलेर बिस्कुट बेच्नु शिवलालका निम्ति सजिलो भने छैन । कहिले घाम त कहिले पानी सहनुपर्छ । एकपकट त उनले बेच्दै गरेको बिस्कुट प्रहरीले समेत खोसीदिएको थियो । कलैयाका व्यापारी दिपक दास शिवलालको वर्षौंदेखिको मिहिनेतको साक्षी हुन् । उनले सुनाए, ‘छोरीले हात समातेर उनले व्यापार गरेको देख्दा सबैको मन पग्लिन्छ ।’

A father who has been holding his daughter's hand for 16 years

२०६५ अघि शिवलालको आँखामा समस्या थिएन । उनले प्रेसरका कारण आफूले आँखाको ज्योति गुमाएको सुनाउँदै भने, ‘त्यसपछि त संसारै अँध्यारो भयो ।’ सुरुमा उनी परवानीपुरस्थित आँखा अस्पतालमा पनि नपुगेका होइनन् । तर त्यहाँको उपचारले उनको आँखामा कुनै सुधार आएन । त्यसपछि उनी काठमाडौं पुगे । तर चिकित्सकहरुले आँखाको ज्योति सधैंका लागि गुमेको बताएपछि उनी निराश बनेर फर्के । उनले सुनाए, ‘त्यसपछि त मेरो जीवन छोरीहरुकै सहारामा बितेको छ ।’

अहिले पनि शिवलालसँग आँखा उपचार गर्दाताकाका सबै कागजताहरु सुरक्षित छन् । आफूले उपचार गराएका डाक्टरका नाम पनि कन्ठस्थ छ । उनीसँग झिनो आशा पनि छ, कुनै नयाँ प्रविधि आयो भने आँखाको ज्योति फर्की पो हाल्छ कि ?

वर्षौंदेखि हरेक दिन भन्सार पास भएर भारतीय बजार जाने र आउने गर्दागर्दै उनले सीमा क्षेत्रमा कार्यरत वारिपारिको प्रहरीदेखि मटिअर्वा छोटी भन्सारका धेरैजसो कर्मचारीलाई आवाजका भरमा चिन्छन् । भने, ‘सकेसम्म कसैले दुःख दिँदैनन् ।’ आफूले बिस्कुटमात्रै ओसार्ने भएकाले पनि प्रहरी र कर्मचारीले दुःख नदिएको होला भन्ने उनको बुझाई छ ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully