इन्दुलाई विश्वकपमा हेर्ने आमाको सपना

बल र ब्याट समातेको पहिलो दिन इन्दुलाई केटाहरूले नखेल भने, छिमेकीले गाली गरे । तर आमाले ऊर्जा दिइन्, ‘कसैको कुरा नसुन, मनको कुरा सुन ।’ त्यसपछि इन्दुले आफूभित्रको खेलाडीलाई सुनिन् । १३ वर्षमै यू–१९ राष्ट्रिय प्रतियोगिता खेलेकी उनी लगत्तै एसीसी यू–१९ का लागि छनोट खेलका लागि सिंगापुर पुगिन् र जितसहित ‘प्लेयर अफ द म्याच’ बनेर फर्किइन् । यतिखेर उनी नेपाली महिला क्रिकेट टोलीको नेतृत्व गरिरहेकी छन् । 

माघ १, २०८१

समर्पण श्री

Mother's dream to see Indu in the World Cup

काठमाडौँ — बर्खे पानीले छाना बजिरहेको थियो । आँगनमा खसेका थोपाहरू भेल भएर बग्दै थिए । एकाएक बिजुली चम्कियो । भीमकाय आवाज निकालेर आकाश गर्जियो । पाँच वर्षकी बालिका आफूभन्दा सानो भाइ च्यापेर चिच्याउन थालिन्, ‘ममी हो... ।’

वर्षाले त्यो कलिलो आवाज पर नपुग्दै निलिदियो । गलेको स्वर रोदनमा परिणत भयो । दिदीभाइ अँगालो मार्दै पानी रोकिने प्रार्थना गरिरहे । घाँसदाउरा गर्न गएकी आमा भूमा बर्मा त्यस बेलासम्म आइपुगेकी थिइनन् । जब भारी बोकेर रुझ्दै उनी गोठसम्म पुगिन् । घाँस बिसाउँदै गरेकी आमालाई पछ्याउँदै दिदीभाइ पुगे । दुवैले अंकमाल गरे । अघि डरले रोइरहेका उनीहरू अब खुसीको आँसु खसाल्न थाले ।

बागलुङको त्यो पहाडी गाउँमा आमाले गरिरहने भीरपाखा । डुबिरहेको घाम हेर्दै ‘ममी’ पर्खिरहने दिदीभाइ । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माको आँखामा अहिले पनि ती दृश्य लुकामारी गर्छन् । परेला ढप्किँदासम्म सुनिने लोरीको आवाज । किंवदन्तीजस्तै लाग्ने दुःखका कथा आमा सुनाउँथिन् । अनि लोरीसँगै दिदीभाइ सपनामा सयर गर्थे । इन्दु अहिले ठम्याउँछिन्, ‘आमाले गाउने लोरीभन्दा मीठो, सुनाउने कथाभन्दा सुन्दर अरू के होला र ?’

Mother's dream to see Indu in the World Cup

सानो काँठीकी आमाको पातलो ज्यानले गरेको दुःख देख्दा इन्दुलाई सहन सकस पर्थ्यो । उनी घरधन्दा सघाउँथिन् । आमाको पछि लाग्दै घाँसदाउरा जान खोज्थिन् । भूमा छोरीलाई घरतर्फै फर्काउँथिन् । खान, लाउन र सन्तान पढाउनै मुस्किल परिरहेको समयमा पनि आमा दुःख देखाउन्न थिइन् । इन्दु आफैं बुझ्थिन् । मनमनै कल्पिन्थिन्, ‘ममीको पनि सुखको दिन आउला... ।’

इन्दु र भाइ अर्जुन स्कुलबाट घर फर्किरहेका थिए । एक जना साथीले सुनाए, ‘आज तिमीहरूको बाबा आउँदै छन् ।’ बालाई त उनले एल्बममा मात्र देखेकी थिइन् । आफूलाई बोकिरहेको मान्छे फोटोमा देखाउँदै आमाले चिनाएकी थिइन्, ‘तिम्रो ड्याडी... ।’ उनी त्यही फोटोभित्रको मान्छे केलाउँदै आमालाई प्रश्न गर्थिन्, ‘हाम्रो ड्याडी कहिले आउनुहुन्छ ?’ साउदी अरब गएका रमेशले बेलाबेला चिठी पठाउँथे । महिनौंपछि हात लागेको पत्र पढेर भूमा छोरीलाई सुनाउँथिन्, ‘मलाई छोराछोरी हेर्न मन छ । छिट्टै फर्किन मन छ ।’

घाम डाँडामाथि पुगिसकेको थियो । दिदीभाइ पर्खाल चढेर माथितिर हेरिरहे । हेर्दाहेर्दै घाम डुब्न थाल्यो । त्यही बेला टुप्लुक्क झुल्किए, लौरो टेकेर रेडियो घन्काउँदै आइरहेका युवक । उनका साथमा थिए दुई भरिया । उनी नजिक–नजिक हुँदै आँगनमा आइपुगे अनि इन्दुलाई बोलाए, ‘छोरी यता आऊ ।’ अपरिचितले बोलाएको देख्दा इन्दुलाई डर लाग्यो । उनी परै बसिन् । आमा आइपुगिन् । र, खुसी हुँदै भनिन्, ‘तेरो ड्याडी ।’ त्यसपछि इन्दु बिस्तारै रमेशको काखमा लुट्पुटिइन् ।

इन्दु ७ वर्षकी थिइन् । २०६१ को एक दिन भूमाले दिदीभाइलाई गुल्मीस्थित मामाघर लिएर गइन् । आमासँग खुसी हुँदै मामाघर पुगेका दिदीभाइ अचानक दुःखी हुन पुगे । आमाले फकाउँदै भनिन्, ‘ड्याडी र म मन्दिर जान्छौं, बेलुका चकलेट ल्याइदिन्छौं, ज्ञानी भएर बस्नू ।’ त्यसपछि आमा गइन् । साँझ आमा र चकलेटको प्रतीक्षा गरेका दिदीभाइ बाटो हेरेर बसिरहे । साँझ घर्कियो । आमा आइनन् । हजुरआमालाई सोधे, ‘ममी कति बेला आउने ?’ हजुरआमाले ‘भोलि’ आउने आश्वासन दिइन् । आमाको प्रतीक्षामा सुतेका दिदीभाइ बिहानदेखि फेरि बाटो हेरिरहे । दिन बित्दै गयो, आमा आइनन् । अब त भक्कानिँदै हजुरआमालाई पिराउन थाले । जवाफ दिँदादिँदा थाकेकी हजुरआमा एक दिन आफैं रोइदिइन् । दिन बिते, हप्ता बिते, महिना बिते । ‘अब ममी आउनु हुन्न लाग्यो । बिस्तारै हजुरआमाले ममीले जस्तै लोरी सुनाउन थाल्नुभयो । कथा भन्न थाल्नुभयो,’ इन्दु सम्झिन्छिन्, ‘हामी हजुरआमासँगै सुत्न थाल्यौं ।’

Mother's dream to see Indu in the World Cup

एक दिन मामाघरमा इन्दुको ठूलोममी र ठूलोबुबा आइपुगे । उनीहरूले माया गर्दै भने, ‘अब ममीकहाँ जाने । हामी तिमीहरूलाई लिन आएको ।’ बिलाइसकेको आशा पुनः पलायो । इन्दु सम्झिन्छिन्, ‘त्यो बेलाको खुसी अहिले पनि व्यक्त गर्न सक्दिनँ ।’ पहिलो पटक गाडी चढेर आफन्तसँग दिदीभाइ बुटवलतर्फ लागे । लामो दूरीको यात्रापछि बल्ल बुटवल आइपुग्यो । इन्दुले ठानिन्, ‘अब त ममी भेटिनु हुन्छ ।’ ठूलोममीको कोठामा पुगेपछि दिदीभाइले ममी खोजे तर भेटिइनन् । ठूलोममीले भनिन्, ‘बेलुका आउनु हुन्छ ।’ आश्वासनहरू पत्याउनै छाडिसकेका थिए दिदीभाइले । अब भेटिन्न भनेर निन्याउरो परेका उनीहरूको सामु बेलुका टुप्लुक्क आमा झुल्किइन् । 

इन्दुलाई सपनै जस्तो भयो । आमाले नजिक आएर स्पर्श गरिन् र सोधिन्, ‘दुब्लाएछौ, के खान मन छ ?’ त्यसपछि भूमा भक्कानिइन् । सँगै दिदीभाइ पनि निचोरिएर रोए । 

आमाको सन्तान स्नेह र नियास्रिएका छोराछोरीको रुवाइले त्यहाँ भएका सबै पग्लिए । सम्झँदा अहिले पनि इन्दुको आँखा रसाउँछ । ‘त्यो क्षण सम्झ्यो कि मलाई गाह्रो हुन्छ,’ उनी गह भिजाउँदै भन्छिन् । रमेश फर्किएपछि दम्पतीबीच छोराछोरीको भविष्यलाई लिएर चिन्ता बढ्न थालेको थियो । गाउँको खेतीपातीले नधान्ने भएपछि उनीहरूले बुटवल जाने निधो गरेका थिए । छोराछोरीलाई दुई महिना मामाघर छाडेर बुटवलमा बन्दोबस्त गर्न पुगेका थिए । उनीहरूले त्यहाँ होटल सुरु गरे । ‘सबै तयारी भएपछि उहाँहरूले मलाई र भाइलाई ल्याउन लगाउनुभएको रहेछ,’ इन्दु सुनाउँछिन् । 

क्रिकेटको मैदानमा सानदार प्रदर्शन गर्ने इन्दुको खेल हेर्न कैयन् दर्शक प्रतीक्षामा हुन्छन् । सयौँ शुभचिन्तक प्रार्थनामा हुन्छन् । तिनै प्रार्थनामध्येको एउटा प्रार्थना आमाको हुन्छ । बल र ब्याट समातेको पहिलो दिन बरु केटाहरूले नखेल भने । छिमेकीले गाली गरे । तर आमाले ऊर्जा दिइरहिन्, ‘कसैको कुरा नसुन । आफ्नो मनको कुरा सुन ।’ इन्दुले आफूभित्रको खेलाडीलाई सुनिन् । खेतको गरादेखि अन्तर्राष्ट्रिय मैदानसम्म नडगमगाई खेलिन् । हामीसँगको भेटमा इन्दु त्यो मैदान सम्झिरहेकी छन्, जहाँ एउटा महसुर खेलाडीको जन्म भएको थियो ।

Mother's dream to see Indu in the World Cup

बुटवलका दिनहरू गाउँभन्दा अलग थिए । भीरपाखा गरिरहेकी आमाको दैनिकी पनि बदलिएको थियो । बाआमा बिहानदेखि रातिसम्म होटलमा व्यस्त हुन्थे । इन्दु र भाइलाई स्कुलका लागि नयाँ पोसाक आयो । तर, पोसाकको रङ फरक थियो । इन्दुले सोधिन्, ‘हाम्रो ड्रेसको कलर किन फरक ?’ जवाफमा थाहा पाइन्– उनलाई सरकारी र भाइलाई बोर्डिङमा भर्ना गरिँदै रहेछ । ‘मलाई भाइसँगै स्कुल जान–आउन मन थियो । सँगै नहुने भएपछि दुःखी भएँ,’ इन्दु सुनाउँछिन् । आमाले बाध्यता सुनाउँदै भनिन्, ‘अहिले गाह्रो छ । पैसा भएपछि दुवैलाई सँगै पढाउँला ।’

भाइ पढ्ने एपेक्स स्कुल नजिकै थियो उनीहरूको होटल । इन्दु ‘हाफ टाइम’ हुनासाथ स्कुलबाट दौडेर होटलमा पुग्थिन् । अनि आमालाई सघाउँथिन् । ‘स्कुलमा खाजा हाम्रै होटलबाट पाक्थ्यो । विद्यार्थीले खाजा खोसेर ममीलाई पैसा नदिई भाग्थे । मैले यो देखेपछि ममीलाई सघाउन थालें,’ इन्दु सम्झन्छिन् । खाजा बाँड्ने बेला इन्दुले विद्यार्थीलाई लाइनमा राख्न थालिन् । त्यो देखेर एपेक्स स्कुलका प्रधानाध्यापकले आमालाई भने, ‘छोरी त एकदम बाठी रैछ ।’

इन्दुका बा फेरि विदेशिए, होटलमा सामान ल्याउने सबै पसलको नाम कागजमा टिपाएर । त्यसपछि इन्दु ‘बूढो साइकल’ चलाएर बियरको कार्टुन होटलसम्म बोकेर ल्याउँथिन् । एक पटक साइकल लड्यो । बियरका सबै बोतल फुटे । इन्दु अत्तालिइन् । वरिपरिकालाई रुँदै याचना गर्न थालिन्, ‘यो सामान फेरि किनिदिनु न, मलाई घरमा मार्नुहुन्छ ।’ तर रुँदै घर पुगेकी इन्दुलाई आमाले केही गरिनन् । बरु उल्टै रोएकामा सम्झाइन् । पसलका मान्छेहरू आजकल पनि कुरा गर्छन्, ‘त्यति सानो नानुले कति दुःख गर्थिन्, आखिर यत्रो नाम कमाउन पो रहेछ ।’

बा विदेश गएपछि इन्दु भाइ पढ्ने स्कुलमा पढ्न थालिन् । ‘त्यहीँ पुगेपछि मेरो क्रिकेटको करिअर अगाडि बढ्यो,’ इन्दु भन्छिन् । तिनताका इन्दु भाइहरूसँग खेतमा क्रिकेट खेल्न जान्थिन् । एक दिन स्कुलमा केटाहरू क्रिकेट खेल्दै थिए । उनी २/३ जना केटीहरू बटुलेर इन्चार्जकहाँ पुगिन् । उनले खेल्नका लागि ११ जना पुग्नुपर्ने बताए । त्यसपछि इन्दु थप साथीहरू बटुल्न थालिन् । १५ जना साथी बटुलेपछि बल्ल उनले क्रिकेट खेल्न पाइन् । ‘मैले सुरुबाटै बलिङ गर्ने बेला हात पूरै घुमाएर गर्थें । ब्याटिङ पनि राम्रै गर्थें,’ इन्दु सम्झन्छिन् । एक जना साथीले भने ब्याट उचालेर भुइँमा झारिन् । त्यसपछि खेल्दिनँ भन्दै ‘गिभअप’ गरिन् । ‘सायद त्यति बेला मैले क्रिकेट ब्याट छाडेर हिँडेको भए अहिले खेलेको हुन्न थिएँ,’ उनी सुनाउँछिन् । 

Mother's dream to see Indu in the World Cup

खेल्ने क्रममा एक दिन इन्दुको टिम स्कुलस्तरीय प्रतियोगितामा भाग लिन भैरहवा पुग्यो, विजयी भएर आयो । त्यसपछि जिल्लास्तरीय खेल भयो । त्यति बेला उनी बलर थिइन् । त्यहाँ उनीहरूको टिम विजयी मात्र भएन, इन्दु ‘प्लेयर अफ द म्याच’ समेत बनिन् । त्यो खुसीको क्षण सम्झँदै इन्दु भन्छिन्, ‘त्यति बेला मैले ५ सय रुपैयाँ पाएको थिएँ । त्यो पैसा ममीलाई दिएँ । ममीले खुसी हुँदै भन्नुभयो– यो मेरा लागि पाँच लाख हो ।’

त्यसपछि यू–१६ खेल्न नेपालगन्ज र जनकपुर गइन् । त्यति बेला उनको घुँडामा चोट लाग्यो । घरमा चोट बोकेर आएकी छोरीलाई देखेपछि आमाले ननिको मान्दै भनिन्, ‘घाउ हुन्छ भने त नखेल ।’ तर भूमाले छोरीलाई बलियो बनाउन खसीको खुट्टाको सुप बनाएर खुवाउँथिन् । भन्थिन्, ‘यसले तागत लाग्छ ।’ बिस्तारै इन्दु समाचारमा छाउन थालिसकेकी थिइन् । भूमाले छोरीबारे लेखिएका हरेक पत्रिका सँगालेर राखेकी छन् । 

सन् २०१० मा यू–१९ राष्ट्रिय प्रतियोगिता खेल्न १३ वर्षकी इन्दु काठमाडौं आइन् । यसरी घरबाट टाढा पठाउनुपर्दा भूमाको मन गाँठो परेको थियो । ‘पहिलो पटक परिवार छाडेको, त्यसमाथि काठमाडौं भन्नेबित्तिकै अर्कै देशजस्तो लाग्ने । आमाछोरी दुवै रोयौं,’ इन्दु भन्छिन् । त्यो सिंगापुरमा हुने एसीसी यू–१९ का लागि छनोट खेल थियो । इन्दु ‘प्लेयर अफ द म्याच’ बनेर फर्किइन् । तर उनलाई सिंगापुर पुग्ने आस रत्तिभर थिएन । एक दिन होटलमा स्कुलका सहायक प्रधानाध्यापक खुसी हुँदै आइपुगे । उनले भूमालाई भने, ‘अब तयारी गर्नुपर्‍यो, छोरी प्लेन चढ्ने भई । विदेश जाने भई ।’ अघिसम्म उभिरहेकी आमा त्यो खबर सुनेपछि खुसीले उफ्रिन थालिन् । ‘ड्याडीलाई फोन गरेर सुनाउनुभयो, ड्याडी पनि खुसी हुनुभयो । वरिपरिका सबै खुसी भए,’ इन्दु सुनाउँछिन् । 

क्याम्पका लागि जाँदा १३ वर्षकी इन्दु सबैभन्दा सानी थिइन् । सिनियरहरूले भन्थे, ‘अलि पर जाऊ है, फेरि किल्चिएलिऊ नि ।’ उनीसँग खेल्नका लागि जुत्ता पनि थिएन । ‘मैले मेरै सरको जुत्ता लगाएर खेलें । जुत्ताको साइज ४१ थियो । प्लास्टिक, मोजा कोचेर लगाएर खेलेकी थिएँ,’ इन्दु सुनाउँछिन् । सिंगापुरमा उनीहरूले जितेर आए । स्कुलमा भव्य स्वागत भयो । उनीसँगै आमालाई पनि स्वागत गरे । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पनि टोलीलाई स्वागत गरे । बालुवाटारमा नेपालले इन्दुको हात समाउँदै भने, ‘यति सानो मान्छेले नि क्रिकेट खेल्छ्यौ ? कसरी समात्छ्यौ ब्याट ?’ परिवारमा त्यसपछिका दिनहरू फेरिँदै गए । ‘पहिला हामीलाई हेप्ने मान्छेले पनि इज्जत दिन थाले । बिस्तारै सहज हुन थाल्यौं । त्यसपछि हाम्रो जीवनशैली पनि परिवर्तन भयो,’ इन्दु सुनाउँछिन् ।

भूमाले अहिलेसम्म छोरीको खेल मैदानमै गएर हेरेकी छैनन् । त्यसै पनि नेपाली महिला टोलीले घरेलु भूमिमा विरलै खेलेको छ । एक पटक टीभीमा हेरेकी थिइन् । हेर्दाहेर्दै छोरी घाइते भइन् । त्यसपछि भूमा टीभीमा हेर्न पनि डराउँछिन् । इन्दुका बा भने ‘भोल्युम’ ठूलो पारेर हेर्छन् । 

Mother's dream to see Indu in the World Cup

बा इन्दु आउनासाथ कराउँछन्, ‘छोरी आई, छोरी आई ।’ आमाले त्यो कुरा सुन्छिन् । फेरि सोचेजस्तो खेल नभएपछि बा भन्छन्, ‘जम्मा यति रन बनाएर गई ।’ भूमालाई चिन्ता लाग्छ । अनि रमेशलाई हप्काउँदै भन्छिन्, ‘तपाईं चुप लागेर हेर्नू, मलाई नसुनाउनू ।’

यद्यपि, छोरीको विजयमा उत्सव मनाउन भूमालाई खुब मजा लाग्छ । इन्दुको जस्तै सपना छ आमाको– छोरीले विश्वकप खेलेको अनि जितेको हेर्ने । बेलाबेला भन्छिन्, ‘जति पटक विदेश जान्छौ, त्यति पटक ट्रफी लिएर आऊ न छोरी ।’ आमाको यस्तै कुराले इन्दुको आत्मविश्वास झन् बलियो हुन्छ । उनी कप्तान भएको थाहा पाउँदा डर भरिएको लवजमा आमालाई सुनाएकी थिइन्, ‘ममी म क्याप्टेन भएँ । अब कसरी अगाडि लैजाने ?’ आमाले प्रसन्न हुँदै सुझाइन्, ‘रुविना दिदीले जसरी अगाडि लगेकी थिइन्, त्यसरी नै लैजाऊ । तिमीले सक्छौ ।’ आमाको ‘सक्छौ’ भन्ने शब्दले इन्दुका हरेक बाटो सजिलो बनाउँछ ।

सानोमा आमा कतै जाँदा अत्तालिने दिदीभाइ अहिले घरबाट टाढा छन् । भाइ इन्डियन आर्मीमा, इन्दु क्रिकेट खेल्न काठमाडौंमा । हिजो आमा आउने बाटो कुरिबस्थे उनीहरू । अहिले आमा उसैगरी छोराछोरी आउने बाटो कुरिबस्छिन् । भन्छिन्, ‘तिमीहरू टाढा हुँदा गाह्रो हुन्छ ।’ सुरुमा काठमाडौं आउँदा त इन्दुलाई लाग्थ्यो, ‘चोटपटक लाग्दा कसलाई सुनाउनु ? भोक लाग्दा कसलाई भन्नु ? यहाँ त आमा छैनन् ।’ भूमा तारन्तार फोन गरेर सोधिरहन्थिन् । छुट्टीमा घर पुग्छिन् इन्दु । फर्किने बेला गहभरि आँसु पार्दै आमा सोध्छिन्, ‘अब कहिले आउने ?’ सानो हुँदा आमाले दिएजस्तै आश्वासन दिन्छिन् इन्दु । भूमा भारी मनले बिदाइ गर्दै छोरी गएको बाटो हेरिरहन्छिन् । र, गन्दै बस्छिन्– छोरी फर्किने दिन !

Mother's dream to see Indu in the World Cup

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully