किनेर पनि अधुरै रह्यो चुङ्बाको क्यानन आरवान् चलाउने योजना

पुस २९, २०८१

मनोज पौडेल

Chungba's plan to run Canon Arwan was also incomplete

कपिलवस्तु — उमेरले उनलाई भनिरहेको थियो- आराम गर । रमाएर बस । तर उनी उनी आराम गर्न त पटक्कै तयार थिएनन् । रमाउन भने उनी आफ्नो मनमौजी काममा रमाइरहेका थिए । एक सट राम्रो फोटोका निम्ति उनी जहाँ जति बेला पनि कुद्न तम्तयार देखिन्थे । लुगलुग काम्ने चिसो होस कि हपहपी गर्मी ! उनी बेपरवाह थिए ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ चौर खर्कका ६३ वर्षे वरिष्ठ वाईल्डलाईफ फोटोग्राफर चुङ्बा शेर्पा अब कहिल्यै यस्तो हतारोमा भेटिने छैनन् । न त वाईल्डलाईफ फोटोग्राफीमा उनले सँगालेका अनुभवमा अनेकन् किस्साहरू नै सुन्न पाइने छ । किनकि उनी यो लोक छोडेर सधैंका लागि हिँडिसकेका छन् ।

चुङ्बा वाईल्डलाईफ फोटोग्राफीका यस्ता किरा थिए, जसलाई दुनियाँका अरू कुराले हम्मेसि छुन्थ्यो । उनी वर्षौँदेखि आफ्नै काममा मनमगन थिए । उनको निधनपछि वाईल्डलाईफ फोटाग्राफरहरूले असल अभिभावक गुमाएका छन् भने संरक्षणको क्षेत्रमा काम गर्नेहरूले एउटा अमूल्य निधि ।

Chungba's plan to run Canon Arwan was also incomplete

चुङ्बा सधैँ आफ्नै रहरको बाटोमा हिँड्न पाएनन् । फोटोग्राफीमा सानैदेखि रुचि थियो । तर घर व्यवहार चलाउन र छोराछोरी पढाउन उनी पर्यटन व्यवसायमा लागेका थिए । छोराछोरी आफ्नै खुट्टामा दह्रो गरेर उभिन सक्ने भए पनि उनका रहरले पखेटा हालिहाले । अनि त उनी वाईल्डलाईफ फोटोग्राफीमा क्रियाशील हुन थाले ।

चराविद् हठन चौधरीले वाईल्डलाईफ फोटोग्राफीका अभिभावक गुमाउनु पर्दा आफू दुःखी भएको अनुभव सुनाए । वाईल्डलाईफ फोटोग्राफर राज अधिकारीको पनि यस्तै दुःखद अनुभव छ । राजले उनी प्रतिबद्ध वाईल्डलाईफ फोटोग्राफर भएको र चुनौती मोल्न रुचाउने व्यक्तिको रुपमा स्मरण गरे ।

केही समयअघिको भेटमा उनले आफूले भर्खरै क्यानन कम्पनीले निकालेको महँगो आरवान् क्यामेरा किनेको सुनाएका थिए । यो क्यामेराको बडी मात्रै पनि झन्डै दस लाखका हाराहारीमा पर्ने सुनाएका थिए । अनि यही क्यामेरा बोकेर चितवनदेखि शुक्लाफाँटा र विदेश जाने योजना पनि चुङ्बाले सुनाएका थिए । तर आफ्ना सारा योजना अधुरै छाडेर आइतबार उनी यो संसारबाट बिदा भए ।

बाघको तस्बिर खिच्न भनेपछि चुङ्बा सधैँ हुरुक्कै देखिन्थे । ६ वर्षमा चितवन, बर्दिया र शुक्लाफाँटामा ६५ बाघ देखेको बताउने उनले ४६ वटा बाघका तस्बिर खिचेका थिए । उनी भन्थे,  ‘बाघको तस्बिर खिच्न जाने भनेपछि डर त्यसै हराएर जान्छ ।’ बाघको पछि लाग्ला लाग्दा उनले बाघका अनेकन् पोजका तस्बिर खिच्न भ्याएका थिए । ड्रोनबाट पनि ७ वटा बाघका तस्बिर खिचेका चुङ्बाले एउटा बाघलाई १५ मिनेटसम्म क्यामराको फ्रेमिङमा पारेको र चितवनमा एकै पटक ४ वटा बाघको तस्बिर खिच्न पाउँदाको रोमाञ्चकता सधैँ खुसीसाथ सुनाउँथे ।

चुङ्बाको फोटो अर्काईभमा नदी तर्दै गरेको बाघदेखि डमरुलाई दूध ख्वाएर हन्टिङमा जाँदै गरेको दुर्लभ तस्बिरसम्म छन् । वरिष्ठ वन्यजन्तु विशेषज्ञ हेमसागर बरालले उनले खिचेका तस्बिरबाट बाघको आनीबानी थाहा हुने बताए । उनले भने, ‘उनको मृत्यु ठूलो क्षतिको विषय हो ।’

बाघको मात्रै होइन, चराका पनि त्यस्तै उम्दा तस्बिरहरू खिचेका थिए चुङवाले । तराईका फाँटदेखि उच्च हिमाली भेगका ३ सय प्रजाति भन्दा धेरै चराको तस्बिर उनले खिचेका थिए । उनी भन्थे, ‘चराको तस्बिर खिच्न साह्रै धैर्यता चाहिन्छ । सेकेन्ड–सेकेन्डको मुभमेन्ट महत्त्वपूर्ण हुन्छ । गोठालो लागेर बसिरहनु पर्छ ।’

३५ भन्दा धेरै प्रजातिको वन्यजन्तुका अनेकन् आकर्षक तस्बिर खिच्न उनी गोक्योदेखि कालापथ्थरसम्म पुगेका थिए । झारल, नाउर, कस्तुरी र मृगको फोटो खिच्दाका रोमाञ्चक अनुभवदेखि बाघ, भालु, चितुवा र गैँडाको तस्बिर खिच्दाको पट्यारलाग्दो पर्खाइसम्मका अनेकन् अनुभव उनले सँगालेका थिए । मयुर, अर्ना, चौका, राते, नीलगाई, कृष्णसार र बाह्रसिङ्गालगायतका पनि चित्ताकर्षक तस्बिर खिच्दाको खुसी उनी बेला बेला साट्थे । अनि त्यही खुसी हात पार्न उनले गरेको मिहिनेत सम्झिँदा उनीप्रति सधैँ सम्मान भाव जाग्थ्यो ।

आधा दशक भइसकेको थियो मैले चुङ्बासँग संगत गरेको । पछिल्लो पटक जेठ १३ गतेको भेट नै अन्तिम होला भन्ने मैले सोचेको पनि थिइनँ । त्यतिबेला उनी फोटो खिच्नका लागि डडेलधुरा जाने तयारीमा थिए ।

त्यही यात्राका निम्ति उनी कपिलवस्तु आइपुगेका थिए । अनि चराविद् कृष्णप्रसाद भुसाल र म उनीसँगै अर्घाखाँचीको घेरा भीरसम्म पुगेका थियौँ । त्यहाँ पुगेर हामीले विश्वकै दुर्लभ पन्छी चीरको फोटो खिच्ने योजना बनाएका थियौँ । उक्त यात्रामा चुङ्बाले मलाई धेरै कुरा सिकाएका थिए ।

कुनै असल गुरु जसरी उनले मलाई सिकाएका मसिना कुराहरू धेरै अर्थपूर्ण थिए । तीन दिन बस्दा पनि चिरको फोटो खिच्न नपाउँदाको थकथकी हामीले एकअर्कासँग साटेका थियौँ । तर चौथो दिन त्यो थकथकी मेटियो । चौथो बिहान चीरको मनमोहक तस्बिर खिच्न पाउँदा हामीले औधी खुसी मनाएका थियौँ । सबैभन्दा धेरै खुसी सायद चुङ्बा नै देखिएका थिए ।

Chungba's plan to run Canon Arwan was also incomplete

नयाँ नयाँ ग्याजेट प्रयोग गर्न रुचाउने उनी सारै गतिशील थिए । विश्व बजारमा निस्केका आधुनिक क्यामेरा उनी किनिहाल्थे । गत डिसेम्बरमा उनले क्याननको आरवान क्यामेरा किनेका थिए । छोरा छेवाङले बताए, ‘बुबा त्यही क्यामेरा लिएर इन्डोनेसिया, सिंगापुर र थाइल्यान्ड जाने योजनामा हुनुहुन्थ्यो ।’ तर चुङ्बाको योजना अधुरै रह्यो ।

केही समय घि काठमाडौँको धुम्बाराहीस्थित चप्पल कारखाना नजिक घरमा दुई घण्टाको भेटमा उनले भनेको झलझली सम्झनामा आइरहेको छ । ‘वाल्डलाईफ फोटोग्राफर बन्ने सपना त पूरा भयो,’ उनले भनेका थिए ‘भोक पूरै मेटिएको छैन । पूरा नेपाललाई समग्र तस्बिरमा उतार्छु । अनि मात्रै विश्राम लिन्छु ।’ यस्तो भनेका उनी बीचैमा आफ्नो सपना थाती राखेर चलिगए ।

काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ बजे निधन भएको खबर सबैका निम्ति नपत्याउँदो खबर बन्यो । उनका ज्वाइँ निमाछिरिङ शेर्पाका अनुसार कलेजोसम्बन्धी रोगका कारण एक सातादेखि उपचाररत रहेकै बेला चुङ्बाको मृत्यु थियो ।

मनोज

Link copied successfully