विश्व बजारमा ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यमा वाईवाई

३० भन्दा बढी स्वादमा उत्पादित वाईवाई चाउचाउ अहिले स्वदेश र विदेशमा गरी वार्षिक ३ अर्ब प्याकेट उत्पादन हुने बताइन्छ, ‘इन्स्ट्यान्ट नुडल्स’ को स्वदेशी बजारमा वाईवाईको ६५ प्रतिशत र भारतमा ३० प्रतिशत ओगटेको कम्पनीको दाबी छ । सन् २०१६ मा सर्बियामा प्लान्ट स्थापनासँगै युरोप यात्रा थालेको वाईवाई विश्व बजारमा ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यसहित अघि बढिरहेको छ

पुस २८, २०८१

राजु चौधरी

YY aims to capture 4 percent share in the global market

काठमाडौँ — हिमाली काखमा, तराईको फाँटमावाईवाई बसेको छ, सबको मनमा,तिम्रो वाईवाई, मेरो वाईवाई, हामी सबैको वाईवाई ।माथिको चर्चित टीभी जिंगल नसुन्ने सायद कमै होलान् । यसमा भनिएजस्तै वाईवाई चाउचाउ अब कुनै एक क्षेत्रमा मात्रै सीमित रहेन । तराईदेखि हिमाल सबैतिर पुगेको छ । यसको स्वाद सबै नेपालीको जिब्रोमा बसेको छ ।

वाईवाई सर्वसाधारणको जीवन, संस्कृतिसँग पनि जोडिएको छ । वाईवाई नेपालीको खाजा संस्कृति नै बनिसकेको छ । वाईवाई आउनु अगाडि बजारमा अन्य नुडल्स नभएको होइन । विगतमा पनि थियो, अहिले पनि छन् । वाईवाई तुलनात्मक रूपमा सस्तो, मिठो भएकै कारण सर्वसाधारणले रुचाएको यसको उत्पादक चौधरी ग्रुपले जनाएको छ ।

लागतको हिसाबले पनि खाजामा वाईवाई रुचाइएको ब्रान्ड हो । विभिन्न स्वादमा उपलब्ध वाईवाई काँचै पनि पकाएर पनि खान मिल्छ । उकाली–ओरालीदेखि जहाँ जाँदा जसरी पनि खान सकिन्छ । सोही कारण पनि उपभोक्ता वाईवाईसँग जोडिएका छन् । नेपालमा मात्रै नभई वाईवाईले विश्व बजारमा पनि आफ्नो छाप विस्तार गरिरहेको छ । स्वदेशीदेखि विदेशी उपभोक्तासम्म आफ्नो प्रभाव जमाउँदै गएको छ । ‘इन्स्ट्यान्ट नुडल्स’ मा नेपालको पहिलो स्थानमा आउने वाईवाई भारतमा दोस्रो हुँदै विश्वमा फैलिएको छ । अहिले युरोपेली बजारमा पनि कडा प्रतिस्पर्धा गर्दै उत्पादन र बजारीकरण गरिराखेको छ ।

YY aims to capture 4 percent share in the global marketसन् १९८४ देखि उत्पादन सुरु भएको वाईवाई नेपालमा सबैभन्दा धेरै बिक्री हुने चाउचाउमा पर्छ । वाईवाई आएपछि अन्य ब्रान्डका चाउचाउ पनि आए । तर वाईवाईसँग प्रतिस्पर्धा गर्न सकेनन् । अहिले वाईवाईले स्वदेशमा मात्रै नभई विदेशी बजारमा पनि कब्जा जमाउन थालेको छ । वाईवाईले नै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई डलर अर्बपति बनाइदिएको छ ।

***

चौधरी ग्रुपका अध्यक्ष चौधरी विदेश यात्रा गरिरहन्थे । यात्राका क्रममा चार दशकअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्टुनमा चाउचाउ आएको देखे । त्यसताका चाउचाउ थाइल्यान्डबाट आयात हुन्थ्यो । कार्टुनका कार्टुन चाउचाउ आएको देखेपछि नेपालमै उत्पादन गर्ने सोच बनाए । त्यसपछि चौधरी चाउचाउका बारेमा थप अध्ययन गर्न थाइल्यान्ड गए । त्यहाँको वाईवाई चाउचाउ कम्पनीसँग नेपालमा फ्याक्ट्री खोल्नबारे छलफल गरे ।

‘विश्वभर फैलिएका नेपालीले यसलाई स्थापित गर्न निकै महत्त्वपूर्ण भूमिका खेलेका छन्, जहाँ नेपाली त्यहाँ वाईवाई भन्ने कुरा स्थापित नै भएको छ । अमेरिका, युरोप जस्ता बजारमा वाईवाईको सशक्त उपस्थिति देख्न पाउँदा निकै खुसी लाग्छ । विश्व बजारमा वाईवाई नेपालको ब्रान्ड हो’- विनोद चौधरी, अध्यक्ष, चौधरी ग्रुप

 नेपालमा वाईवाईको फ्याक्ट्री खोल्ने प्रस्तावमा थाइल्यान्डबाट प्राविधिक अध्ययन टोली नेपाल आयो । नेपालमा चाउचाउको बजारबारे अध्ययन भयो । र, टोलीले ‘मार्जिन’ कम हुने भन्दै चाउचाउ फ्याक्ट्री नखोल्न चौधरीलाई सुझाव दियो । नेपालमा बजार कम रहेको र फ्याक्ट्रीबाट दैनिक ३० हजार प्याकेट उत्पादन गर्दा ‘मार्जिन’ नहुने निष्कर्ष निकालेको थियो । तर चौधरीले चाउचाउ फ्याक्ट्री खोल्ने निधो गरिसकेका थिए । उनले दीर्घकालीन सोचअनुरूप जोखिम मोलेरै चाउचाउ फ्याक्ट्री स्थापना गर्ने निधो गरे । त्यसपछि थाइल्यान्डमा रहेको वाईवाई कम्पनीसँग फ्याक्ट्री सेटअप गरिदिन आग्रह गरे ।

YY aims to capture 4 percent share in the global marketचौधरीकै आग्रहमा थाइल्यान्डबाट विज्ञ आएर फ्याक्ट्री सेटअप गराए । लगानी भने शतप्रतिशत चौधरीकै थियो । फ्याक्ट्री सेटअपपछि चाउचाउ उत्पादनको तयारी भयो । सन् १९८४ बाट चाउचाउको व्यावसायिक उत्पादन यात्रा सुरु भयो । दैनिक ३० हजार प्याकेट उत्पादनले मार्जिन नहुने भन्दै फ्याक्ट्री नखोल्न सुझाव पाएका चौधरीले अहिले नेपाल र विदेश गरी वर्षको ३ अर्ब प्याकेट उत्पादन र बिक्री गर्छन् । ३ अर्ब प्याकेटमध्ये करिब १ अर्ब प्याकेट नेपालमै उत्पादन हुन्छ । थप २ अर्ब बढी प्याकेट उत्पादन गर्ने गरी काम भइराखेको जनाएको छ ।

वाईवाईको बजार अब स्वदेशमा मात्रै रहेन । विश्वभर अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा फैलिसकेको छ । कम विकसित राष्ट्रका सूचीमा रहेको नेपालको उत्पादनले विश्व बजारमा सशक्त उपस्थिति जनाउन सम्भव भएको छ । यसलाई वाईवाईले स्थापित गरिदिएको चौधरी ग्रुपका अध्यक्ष चौधरीले सुनाए । ‘मैले जीवनको झन्डै आधा शताब्दी खर्च गरेर वाईवाईलाई विश्वव्यापी ब्रान्ड बनाउन सफल भएको छु । र, विश्वभर फैलिएका नेपालीले यसलाई स्थापित गर्न निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्,’ अध्यक्ष चौधरी भन्छन्, ‘अहिले त जहाँ नेपाली त्यहाँ वाईवाई भन्ने कुरा स्थापित नै भएको छ । अमेरिका, युरोप जस्ता बजारमा वाईवाईको सशक्त उपस्थिति देख्न पाउँदा निकै खुसी लाग्छ ।’

सन् १९८४ मा वाईवाईले उत्पादन थाल्दा बजारमा अन्य नुडल्स नभएका पनि होइनन् । त्यसबेला एकाध सेतो नुडल्स बजारमा बिक्री हुन्थ्यो । गण्डकी नुडल्सले रारा चाउचाउ उत्पादन गर्थ्यो । चौधरी ग्रुपले नेपालको पहिलो ब्राउन तयारी चाउचाउका रूपमा वाईवाई ल्यायो । ४१ वर्षको दौरानमा चाउचाउ उद्योग बढ्न थाले । प्रतिस्पर्धा बढ्न थाल्यो ।

कैयन् नुडल्स कम्पनी आए, गए तर वाईवाई निरन्तर छ । त्यसको एउटा मात्रै कारण गुणस्तर, मूल्य र उपभोक्ताको सन्तुष्टि रहेको कम्पनीको दाबी छ । मूल्यको पनि भूमिका प्रमुख छ । सर्वसाधारणले दशकदेखि नै सस्तो मूल्यमा वाईवाई पाएका छन् । अहिले कम्पनीले ३० भन्दा बढी स्वादमा चाउचाउ उत्पादन गर्छ । यसको मूल्य २० देखि २५ रुपैयाँ पर्छ । जसमा शाकाहारी र मांसहारी गरी दुवै विकल्पहरू उपलब्ध छन् । बजारकै कुरा गर्दा वाईवाईले करिब ६५ प्रतिशत बजार ओगटेको कम्पनीको दाबी छ । बजारमा नैतिकतामा हुने स्वस्थ प्रतिस्पर्धा हुँदा ब्रान्ड र गुणस्तरमा थप सचेत बनाउने कम्पनीको बुझाइ छ ।

‘नेपालको सन्दर्भमा वाईवाई चौधरी ग्रुपको प्रडक्ट मानिएला तर नेपाल बाहिरको विश्व बजारमा वाईवाई नेपालको ब्रान्ड हो । विश्वमा नेपाललाई चिनाउने पहिचान हो,’ अध्यक्ष चौधरी भन्छन्, ‘र, विश्वभर छरिएर रहनुभएका नेपालीले पनि गर्व गर्न सक्ने उत्पादन हो ।’ कम्पनीका अनुसार नेपालको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित नगरेसम्म चाउचाउ बेच्न पाइँदैन । विदेशको हकमा पनि सोहीअनुसार कानुन छ । उत्पादनका क्रममा कहिलेकाहीं सामान्य त्रुटि हुनु स्वाभाविक भएकाले त्रुटि देखिएको उत्पादन तत्काल फिर्ता हुने गरेको जनाएको छ ।

वाईवाईको उत्पादन यात्रा

सन् १९८४ मा नेपालको पहिलो ब्राउन चाउचाउ उत्पादन एकाइ ललितपुरको भैंसेपाटीमा स्थापना भएको थियो । सानो प्लान्टबाट सुरु गरिएको उत्पादनमा दैनिक ३० हजार प्याकेट वाईवाई उत्पादन हुन्थ्यो । करिब ३ सयले रोजगारी पाएका थिए । त्यसपछि सन् १९९३ मा नेपालको पहिलो अत्याधुनिक औद्योगिकग्रामको स्थापना भयो । अत्याधुनिक प्रविधिबाट वाईवाई उत्पादन हुन थाल्यो ।

YY aims to capture 4 percent share in the global marketहाल नवलपरासीमा ४ फ्याक्ट्री लाइन, बर्दियामा १, सुनसरीमा २ वटा र ललितपुरको भैंसेपाटीमा एउटा फ्याक्ट्री लाइनसहित नेपालका ४ स्थानमा ९ वटा फयाक्ट्रीमार्फत वाईवाई उत्पादन हुन्छ । नेपालमा वाईवाईमा मात्रै ४ हजारले रोजगारी पाएका छन् । कम्पनीका अनुसार रजहरमा औद्योगिक क्षेत्रले समेटेको क्षेत्रमा एक घर एक रोजगारी दिइएको छ । रजहरमा लगभग ४२ प्रतिशत कामदार महिला छन् । अन्य फ्याक्ट्रीको अवस्था पनि उस्तै हो । फ्याक्ट्रीमा महिलालाई पहिलो प्राथमिकता दिइएको छ । नेपालमा आक्रामक रूपमा विस्तार भएको वाईवाईको उत्पादन यहाँ मात्रै सीमित भएन । सन् २००६ मा भारतको सिक्किममा सीजी फुड्स इन्डिया प्रालिको पहिलो प्लान्ट स्थापना भयो । यो कदमले वाईवाईको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो । त्यसपछि भारतकै अन्य प्रदेश बंगलादेश, सर्विया, काजकस्तान, इजिप्टमा प्लान्ट स्थापना भयो ।

सन् २०१५ सम्म भारतकै विभिन्न प्रान्तमा विस्तार गर्‍यो । सन् २००८ मा उत्तराखण्ड, सन् २००९ मा आसामको छे गाउँ, सन् २०१४ मा आन्ध्र प्रदेश र सन् २०१५ मा विहारमा फ्याक्ट्री स्थापना गरेर वाईवाईले उत्पादन थाल्यो । सन् २०१३ मा भारतको आसामस्थित सिलचारमा पनि प्लान्ट स्थापना गरेको कम्पनीले जनाएको छ । वाईवाईले भारतमा म्यागीसँग पनि कडा प्रतिस्पर्धा गरिराखेको छ । भारतीय बजारमा वाईवाईको हिस्सा ३० प्रतिशत छ । सन् २०२८ सम्ममा भारतीय बजारमा वाईवाईको हिस्सा ३५ प्रतिशत पुर्‍याउने योजना रहेको जनाएको छ ।

चौधरी ग्रुपले सन् २०१५ मा नेपालको बर्दियास्थित बाँसगढीमा पनि प्लान्ट स्थापना गर्‍यो । सन् २०१६ देखि वाईवाईको यात्रा युरोपतिर पनि मोडियो । सन् २०१६ मा सर्वियामा प्लान्ट स्थापना भई वाईवाई उत्पादन सुरु भयो । सन् २०१८ मा बंगलादेश र काजकास्तानमा तथा सन् २०१९ मा भारतको राजस्थानस्थित रूप नगरमा फ्याक्ट्री खुल्यो । सन् २०२० मा अफ्रिकी देश इजिप्टमा पनि वाईवाईको फ्याक्ट्री खुल्यो । कम्पनीका अनुसार वाईवाईले उत्तर अमेरिकाबाहेक सबै ‘कभर’ गरेको छ । अब उत्तर अमेरिकामा पनि विस्तार गर्ने योजना रहेको चौधरी ग्रुपले जनाएको छ ।

‘वाईवाईको विश्वव्यापी विस्तारको कुरा गर्दा अब हाम्रो ध्यान उत्तर अमेरिकामा प्लान्ट खोल्नेतर्फ छ,’ अध्यक्ष चौधरीले भने, ‘विश्व बजारमा वाईवाईको उपस्थिति रहे पनि उत्तर अमेरिकामा ग्याप भएको महसुस भइरहेकाले अबको ध्यान त्यहीं प्लान्ट खोल्नेतर्फ छ । त्यसका लागि अमेरिका वा मेक्सिकोमा प्लान्ट स्थापना गर्न हाम्रो टिमले गृहकार्य गरिरहेको छ ।’

भारतलगायत अन्य मुलुकमा फ्याक्ट्री स्थापना नहुँदा वाईवाई चाउचाउ नेपालबाटै निर्यात हुन्थ्यो । तर निर्यातका क्रममा चौधरी ग्रुपले धेरै अवरोध झेल्नुपर्‍यो । माओवादी द्वन्द्वको समयमा निर्यात गर्न तयार गरिएको चाउचाउ महिनौं महिना सडकमै हुन्थ्यो । त्यसपछि माग भएकै स्थानमा वाईवाईको फ्याक्ट्री स्थापनाको सोच बनाएको चौधरी ग्रुपले जनाएको छ । निर्यातमा भइराख्ने अवरोधले नै वाईवाई चाउचाउको विश्व बजारको ढोका खोल्यो । जहाँ वाईवाई पुगे पनि त्यसको नेतृत्व नेपालीले नै गरेका छन् । बाँकी कामदार सोही मुलुककै राखिएका छन् ।

पछिल्लो समय वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनीको सेयर सर्वसाधारणका लागि समेत जारी गर्ने तयारी भइरहेको छ । नेपाल र भारतमा प्राथमिक सेयर निष्कासन गर्ने तयारी रहेको ९ महिनाअघि नै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जनाएका थिए । ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं । यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं,’ चौधरीले समाजिक सञ्जाल एक्समा लेखेका थिए ।

वाईवाईले मिसन २०२८ बनाएको छ । वाईवाईले चाउचाउको विश्व बजारमा ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ । यसका लागि सीजी फुड्स वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन गर्ने योजनामा छ । बजार सम्भावना भएका ९ देशमा वाईवाई चाउचाउको कारखाना स्थापना गर्ने योजना छ । विश्व बजारमा वाईवाईको बिक्री वार्षिक २० प्रतिशत दरले बढिरहेको कम्पनीको दाबी छ । विश्वका ४० देशमा उपलब्ध वाईवाईले वार्षिक २ सय मिलियन अमेरिकी डलर राजस्व बुझाउने गरेको कम्पनीको दाबी छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully