सिटी रिक्साले ‘पाइडल’ रिक्सालाई करिब–करिब विस्थापित गरिसकेको अवस्था छ तर पनि ‘पाइडल’ खियाउँदै जीविका चलाइरहेका छन् मोहम्मद बच्चा मुस्लिम
विराटनगर — ७३ वर्षीय मोहम्मद बच्चा मुस्लिमको पुरानो थातथलो सुनसरीको सीतापुर हो । सानै उमेरमा मजदुरीका लागि मोरङ झरेका उनले १३ वर्षको उमेरदेखि विराटनगरमा रिक्सा चलाउन थाले । ६० वर्षदेखि रिक्साको ‘पाइडल’ खियाइरहेका उनी विराटनगरका ‘जेठा रिक्सावाल’ का रूपमा पनि चिनिन्छन् । बुढ्यौलीवयमा पनि रिक्सा लिएर बिहानै विराटनगर विमानस्थल पुगिसक्छन् ।
विराटनगरमा औंलामा गन्न सकिने एकाध मात्र छन् ‘पाइडल’ रिक्सा । अहिले सिटी रिक्साले ‘पाइडल’ रिक्सालाई करिब–करिब विस्थापित गरिसकेको अवस्था छ । तर पनि सिटी रिक्सासँग पौंठेजोरी खेलेर ‘पाइडल’ खियाउँदै जीविका चलाइरहेका छन् मोहम्मद बच्चा ।
विराटनगरको जतुवास्थित पुरानो विमानस्थल सञ्चालनमा आउँदा उनले भर्खरै रिक्सा चलाउन थालेका थिए । सन् १९६० दशकको अन्त्यतिर विमानस्थल कञ्चनबारी सरेसँगै उनको दौडधुप पनि त्यतै सर्यो ।
त्यस बेला रिक्सा भाडा थियो– न्यूनतम चार आनादेखि अधिकतम आठ आनासम्म । कञ्चनबारी–महेन्द्र चोकको भाडा चार आना थियो । महेन्द्र चोकबाट जोगबनीको पनि चारै आना । यात्रु एयरपोर्ट पुर्याएको चाहिँ उनी आठ आना लिन्थे ।
छाला उप्किने धुप होस् या मुटु काँप्ने ठिही, उनी तरतरी पसिना चुहाउँदै यात्रु बोकेर एयरपोर्ट, जोगबनी, महेन्द्र चोक, देवकोटा चोक, पोखरिया, वरगाछी ओहोरदोहोर गरिरहन्थे । ‘दिनभरि रिक्सा हाँक्दा ५/७ रुपैयाँ कमाइ हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘त्यही कमाइले साहुलाई रिक्साको भाडा तिर्नुपर्थ्यो अनि परिवार पनि चलाउनुपर्थ्यो ।’
अहिले बच्चा मुस्लिम विराटनगर महानगरपालिकाको छेउमै रहेको दुहबी नगरपालिका–१२ बुग्डहरी गाउँमा बस्छन् । यो गाउँमा ७५ घरधुरी मुस्लिम समुदायको बसोबास छ ।
उनले करिब २० वर्षअघि वरगाछी छोडेर यो ठाउँ रोजेका थिए । ऐलानी एक कट्ठा जमिनमा दुई साना झुप्रा छन् । पश्चिमपट्टिको झुप्रोमा बच्चा र उनकी पत्नी मैमुल खातुन बस्छन् । त्यहीँ उनीहरूको सुत्ने कोठा, पकाउने भान्सा छ । सँगै छ, गाईको गोठ पनि । पूर्वपट्टिको झुप्रोमा उनका छोरा र बुहारी बस्छन् । ‘बर्खाको समयमा केसलिया खोलाको बाढीले सिंगो गाउँ नै डुबाउँछ । हिउँदमा चाहिँ जसोतसो बस्न सकिन्छ तर बर्खामा घर जोगाउन मुस्किल हुन्छ,’ उनी भन्छन् ।
फुसले छाएको झुप्रोको छानो कमजोर छ । हिउँदका हावाहुरीको समयमा घर जोगाउने चिन्ता अब सुरु भएको छ । अल्पसंख्यक मुस्लिम परिवारले सधैं आर्थिक संकटको सामना गर्दै आएको छ । दिनभर रिक्सा चलाएर कमाएको पैसाले पत्नीको उपचार र घर खर्च धान्नुपर्ने बाध्यता उनको छ । उनकी ७० वर्षीया पत्नी मैमुल खातुन बाथ रोगले ग्रस्त छिन् । पत्नीलाई राम्रो अस्पताल लगेर उपचार गराउन उनलाई मन छ । तर, आर्थिक अभाव काँडेतार बनेर अघिल्तिर तेर्सिएको छ ।
