अर्घाखाँचीका विशाल १८ वर्षकै उमेरमा नायब सुब्बा मात्र भएनन्, रूपन्देहीमा कम उमेरका वडासचिव पनि बने, गुल्मीकी १९ वर्षीया अनिताले पनि झन्डै २ वर्षको प्रयासपछि प्रदेशतर्फ खरिदार र संघतर्फ नायब सुब्बामा नाम निकालेकी छन् ।
बुटवल — सेतो कमिजमाथि नीलो रङको कोट । चिटिक्क पहिरनमाथि परिचयपत्र झुन्ड्याएर ठाँटिएका उनी सधैं कम्प्युटर अगाडि बसेर सेवाग्राहीको प्रतीक्षामा हुन्छन् । तर, काम लिएर आउनेले उनी वडा सचिव भएको हत्तपत्त पत्याउँदैनन् ।
दोमन भएपछि सेवाग्राही नै प्रश्न गर्छन्, ‘सचिव तपाईं नै हो सर ?’ कलिलो उमेरमा वडा सचिवको जिम्मेवारी पाएका उनी मुस्काउँदै जवाफ दिन्छन्, ‘हो, म नै सचिव हुँ ।’ त्यसपछि सेवाग्राहीसँग कामकाजबारे सोधखोज गर्छन् ।
अर्घाखाँचीको पाणिनि–५, मैदानमा जन्मिएका यी १८ वर्षीय युवा हुन्, नायब सुब्बा विशाल घिमिरे । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मा कार्यरत उनी जिल्लामै कान्छा वडा सचिव पनि हुन् । कम उमेरमै सरकारी सेवामा छिरेका घिमिरे यत्तिमै मात्र सीमित हुने पक्षमा भने छैनन् ।
‘यो त सुरुवात मात्र हो,’ सानैदेखि सरकारी जागिरे बन्ने रुचिअनुसार लोक सेवातर्फ आकर्षित बनेको बताउँदै उनले भने, ‘लक्ष्य त अझै ठूलो छ नि ।’ उमेरसँगै सरकारी उच्च तहको यात्रा कायम राख्ने उनी बताउँछन् । साथै, छिटै उपसचिव बनेर सेवा गर्ने चाहना रहेको बताउँछन् ।
नायब सुब्बा घिमिरेले सरकारी जागिरमा नाम निकाल्न कुनै इन्स्टिच्युट धाएनन् । ‘स्वअध्ययन गरेरै सफल भएँ,’ भने, ‘रुचि थियो, त्यसैले दैनिक ८ घण्टाजति समय पढाइलाई दिइन्थ्यो, पढेअनुसार नाम पनि निकालियो ।’ उनी अहिले पनि लोक सेवाको तयारी गरिरहेका छन् । २३ वर्षमा अधिकृत र त्यसपछि क्रमशः पद बढाउँदै लैजाने उनको इच्छा छ ।
लोक सेवा तयारी कक्षाका लागि उनको अध्ययनको शैली छुट्टै छ । ‘मेरो पढाइको सूत्र बेग्लै खालको छ, सर्ट फर्म बनाउने, फर्मुला याद गरेर पढ्दा सम्झन सहज हुन्छ,’ उनले भने । अरूले पढाउँदा उनीहरूकै सूत्रअनुसार सम्झन र बुझ्न समस्या हुने भएकाले आफैंले चित्र, सर्ट फर्म र धर्सा कोरेर अध्ययन गर्ने गरेको उनी बताउँछन् ।
‘मैले तयार गरेको फर्मुलाले पढ्दा त्यतिबेला पढेका सबै कुरा अहिलेसम्म पनि ताजै छन्,’ घिमिरेले सुनाए, ‘यही तरिका अपनाएर भविष्यमा पनि पढ्नेछु ।’ विशाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने चाहना छ ।
बुटवल–१२ तामनगरकी रचना पौडेल गत कात्तिकमा नियुक्ति लिएर कपिलवस्तुको विजयनगर गाउँपालिकामा सहायक पाँचौं तहमा कार्यरत छिन् । २०७४ सालमा कक्षा १२ सकेपछि काठमाडौंमा स्नातक पढ्दै लोक सेवा तयारी गरेकी उनले १ वर्षको मिहिनेतले नाम निकाल्न सफल भएको बताउँछिन् । अभिभावकले ‘नेपालमै केही गर्नुपर्छ, छोरीले नेपाली झन्डामुनि रहेर सफलता हासिल गरेको हेर्न मन छ’ भनेपछि विदेश जाने वा अन्य क्षेत्रमा लाग्ने सोच नै नराखी पढेको उनले बताइन् ।
‘मलाई ब्युटी पेजेन्ट, निजी संस्थामा काम गर्ने मन थियो,’ पौडेलले भनिन्, ‘घरकी जेठी छोरी भएकाले पनि बुवाआमाले विदेश पठाउन मान्नुभएन, त्यसपछि यहीं पढें, अहिले निजामती कर्मचारी हुन पाउँदा खुसी छु ।’ यो जागिरमा प्रवेश गर्न भने सजिलो नभएको उनले बताइन् ।
यतिबेला उनी विज्ञान संकायमा स्नातकोत्तर तहमा चौथो सेमेस्टर पढिरहेकी छन् । विज्ञान पढ्नु जत्तिको गाह्रो लोक सेवाको तयारी गर्नुमा नभए पनि तरिका मिलाएर पढ्न जाने अझ सजिलो हुने र नाम निस्कने सम्भावना पनि धेरै हुने उनको अनुभव छ ।
पौडेलले पारिवारिक दबाबलाई आफ्नो रहरमा बदलेर स्वउत्प्रेरणा जगाउँदै पढ्न सके सफल भइने तर्क गर्छिन् । ‘पढ्दाको समयमा अनगिन्ती संघर्ष खेपियो,’ उनले थपिन्, ‘घरदेखि टाढा, साथीसँग मिलेर बस्न तालमेल नमिल्ने, आफ्नो वातावरण अनुकूल नभएपछि एक्लै बसेर पढेकाले दुःख पाइयो ।’
काठमाडौंको डेरा जिन्दगी यसै पनि विद्यार्थीका लागि त्यति सहज छैन । उनी पनि डेरा जिन्दगी सम्झँदै थप्छिन्, ‘मैले कति रात त भोकभोकै मैतीदेवी मन्दिर परिसरमा रोएर बिताएको पनि थिएँ, खान नपुगेर होइन, आफूदेखि नै फ्रस्ट्रेड भएर ।’
एक्लै भएपछि कोहीसँग बोलेर राम्रा कुरा सुन्न नपाइने, निरुत्साह मात्र गर्नेहरूको भीडमा आफूले आफूलाई सम्हालेर धैर्यता बटुलेको उनको तीतो अनुभव रहेछ । सरकारी सेवा प्रवेशका लागि मानसिक रूपमा पनि मजबुत हुनुपर्ने उनको मान्यता छ ।
‘मैले जे भेट्थें, पढ्थें, त्यसका बारेमा जान्ने कोसिस गर्थें, त्यसबाट पनि सहज भयो तर सामान्य ज्ञानका प्रश्न बढी गाह्रो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले संघीय नायब सुब्बामा नाम निस्कियो, अन्तर्वार्ता पर्खिरहेकी छु । लोक सेवामार्फत जागिरमा प्रवेश गरेपछि अझ माथि जानुपर्छ भनेर पढिराख्ने बानी हुँदो रहेछ ।’
देशमै बसेर पनि काम गर्न, अघि बढ्न सकिन्छ भन्ने सन्देश फैलाउन अभिभावकले नै बालबालिकालाई देशप्रतिको भाव जगाइरहनुपर्ने रचना बताउँछिन् । ‘युवा पलायनले समस्या भोगिरहेको हाम्रो जस्तो देशमा हामीजस्ता युवा बसेर सरकारी काम गर्ने हो भने व्यवस्था सकारात्मक गराउन सकिन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
आफ्ना समकालीन महिला साथीहरू सबैको विवाह भइसकेको र पुरुष साथीहरू पनि विदेश गएकाले एक्लै यसको अनुभव गरिरहँदा हौसला दिने व्यक्ति खासै नपाएको गुनासो उनको छ । तर सरकारी जागिरका लागि धैर्यता र लगनशीलता दुवै हुनुपर्ने उनी बताउँछिन् ।
प्रायः कक्षामा प्रथम भइरहने गुल्मीकी १९ वर्षीया अनिता सुनारलाई शिक्षकहरूले नै सल्लाह दिन्थे, ‘तिम्रो सम्झन सक्ने क्षमता राम्रो छ, मिहिनेती पनि छौ, दायाँबायाँ नसोचीकन सरकारी सेवामा जाने गरी तयारी गर ।’ २०७९ सालमा गाउँकै विद्यालयमा कक्षा १२ सम्मको अध्ययन सकेपछि उनी शिक्षकहरूको सल्लाहबमोजिम नै सरकारी सेवाको सपना लिएर बुटवल आइन् ।
दिदीसँग डेरामा बसेर पढ्न सुरु गरेकी उनले बिहान क्याम्पसमा व्यवस्थापन संकाय पढ्ने र दिनभरि डेरामै बसेर लोक सेवा तयारीसम्बन्धी पुस्तक पढ्ने गरिन् । झन्डै २ वर्षको प्रयासपछि अहिले प्रदेशतर्फ खरिदार र संघतर्फ नायब सुब्बामा उनको नाम निस्किएको छ । हाल अन्तर्वार्ताका लागि तयारी हालतमा बसिरहेकी छन् ।
अन्तर्वार्ता यसै महिनामा परेकाले त्यसका लागि ‘स्किल टेस्ट’ तयारी गरिरहेको अनिताले बताइन् । आर्थिक रूपमा पारिवारिक अवस्था त्यति धेरै सबल नभएपछि अभिभावकले उनलाई डेरामा राखेर लोक सेवाको तयारी गराउन लगाउनु कठिन थियो ।
‘तर अभिभावकलाई म पढुन्जेल जसरी हुन्छ सहयोग गरिदिनुहोस्, त्यसपछि म आफैं गर्छु भनेर मनाएँ । सफलताको नजिकै छु, आशा छ सफलता हासिल हुनेछ,’ उनले भनिन् । सरकारी सेवामा प्रवेश गर्ने भनेर बुटवल आएपछि कतिपयले एकै पटकमा नाम निस्कन गाह्रो हुन्छ, ननिस्किए बेइज्जत हुन्छ भन्दा उनी बेलाबेलामा निरुत्साहित पनि हुन्थिन् । ‘तर आफूलाई सम्हादै आफैंमा उत्साह जगाएर यतिको नतिजा ल्याएँ,’ उनले भनिन् ।
कुनैकुनै बेला, लोक सेवामा नाम ननिस्किए समय खेर पनि जान्छ, त्यसपछि कसरी अघि बढ्ने भन्ने सोचले उनलाई बारम्बार गाँज्थ्यो । लिखितमा नाम निस्किएपछि भने केही ढुक्क भएको उनले बताइन् । आमाबुवा, दिदीहरूलाई मनाएर यत्तिको पढ्न पाएकाले दिनरात मिहिनेत गरेको उनले बताइन् । ‘मैले समय फिक्स गरेर, योजना बनाएर यति दिनमा यति पढ्छु भनेर लागें,’ उनले भनिन्, ‘कति रात निदाइनँ, कति दिन कलेज छुट्यो, पढ्नकै लागि समय मिलाएँ ।’
तयारीका बीचमा कम्प्युटर टाइप सिक्न काठमाडौं गएकी उनले २५ दिनमा सो तयारी गरेर आएको बताइन् । पढाइका बेला कानुनी कुरा अलि गाह्रो लागेकाले त्यसमा बढी केन्द्रित भई पढेको अनिताको भनाइ छ ।
लोक सेवा पढेर सरकारी जागिर खाने चाहना भएका अधिकांश विद्यार्थीको रोजाइमा बुटवल पर्छ । उनीहरू सहजताका साथ पढ्न, कक्षा लिनैका लागि घर छोडेर यहाँ आउने गरेका छन् । आफूहरूले पढ्दै गरेको कुरा घरमा, आफन्तसँग, साथीभाइलाई पनि नभनीकन पढिरहेकाहरूले नाम निस्केपछि मात्र खुसी साट्न चाहन्छन् ।
तयारी कक्षामा चाप
बुटवलमा २०७५ सालदेखि सञ्चालनमा रहेको लग इन एजुकेसन संस्थामा लोक सेवाका हरेक विधाको तयारी कक्षा गराइन्छ । उक्त संस्थाबाट शिक्षा, सेना, प्रहरी सेवा, विद्युत्, बैंक, सरकारी निकायका प्रशासकीय विभाग आदि पढाइबाट १ सय ५० विद्यार्थी सरकारी सेवामा आबद्ध भइसकेको सञ्चालक अर्जुन खनालले बताए ।
‘हामीकहाँ कालीकोट, जाजरकोटका विद्यार्थी पनि आउँछन्,’ अर्जुनले भने, ‘आर्थिक अवस्था हेरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाइदिन सहुलियतका अवसर प्रदान गरेका छौं ।’ उत्तीर्ण भएर सेवामा प्रवेश गरेका विद्यार्थीले खुसी हुँदै मिठाई खुवाउँदा आफूले गरेको काम फलदायी भएको महसुस हुने अर्जुनको भनाइ छ ।
थपे, ‘हामी माध्यम हौं, जसले बढी मिहिनेत गरेका हुन्छन्, उनीहरू नै पास भइरहेका हुन्छन् ।’ आफूहरूले विद्यार्थीलाई पढाउन सरकारी कर्मचारी नै बोलाएर सिकाउने गरेको र यसले गर्दा नतिजा पनि राम्रो आइरहेको उनले बताए ।
बुटवलकै कालिकानगरमा रहेको बेस्ट इन्स्टिच्युटले लोक सेवा तयारी कक्षा चलाउन थालेको २ वर्ष भयो । यस समयावधिमा प्रहरी जवान र सेनामा अधिकांश विद्यार्थीले नाम निकालेको सञ्चालक भीमप्रसाद पौडेलले बताए । काठमाडौंको जस्तो स्रोत व्यक्ति यहाँ पाइँदैनन् कि भन्ने आशंकामा कतिपय विद्यार्थी यहाँ पढ्न हच्किने गरेको भए पनि आफूले विज्ञापन क्षेत्रबाट, विद्यार्थीको मनोविज्ञान बुझेर काउन्सिलिङ गर्ने गरेको उनी बताउँछन् । लोक सेवा भनेको उनीहरूको करिअर र भविष्यसँग जोडिएको विषय भएकाले पनि त्यसका लागि विश्वास जित्न आवश्यक रहेको उनले बताए ।
भैरहवामा रहेको रेती इन्स्टिच्युटले विगत १० वर्षदेखि ब्रिज कोर्ससँगै अन्य भाषा र लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सञ्चालक कृष्ण जैसवालका अनुसार शिक्षक सेवातर्फ विद्यार्थीको फ्लो राम्रो छ भने अन्यमा त्यति धेरै चासो राखेको पाइँदैन ।
‘सिद्धार्थनगरदेखि नजिक रहेका पालिकाका युवायुवती आउँछन्,’ उनले भने, ‘विदेश जानेको क्रेज बढी छ, यहाँको चलनचल्तीले पनि होला, लोक सेवातर्फ कम छन् ।’ उनले सरकारी सेवा प्रवेशका लागि त्यति धेरै विद्यार्थीले चासो नदिएको बताए ।
