थिएटरबाट पर्दामा देखिन थालेका कलाकारमध्ये प्रायःले मञ्च बिर्सन्छन् । तर, मेनुका प्रधानले भने थिएटर र पर्दालाई समानान्तर ढंगले अगाडि बढाइरहेकी छन् । उनले धेरै पटक सुनेको आलोचना हो, ‘तिम्रो एटिट्युड हिरोइनको जस्तो भएन, व्यक्तित्व भएन ।’ तर, मेनुकालाई सधैं लाग्यो, व्यक्तित्वभन्दा पनि कर्म ठूलो हो । त्यसैले उनले अभिनयको कर्म समाइरहिन् ।
काठमाडौँ — मोहन राई निर्देशित ‘महानगर’ फिल्ममा एउटा प्रसंग छ– खुसी र आशिष मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिलाई सहयोग गर्ने क्रममा एकअर्कासँग ठोक्किन्छन् । त्यही घटनाले ती दुईलाई एक रात सँगै हुनुपर्ने बाध्यकारी परिस्थितिमा पुर्याउँछ ।
मानवताले जोडिएका दुई पात्रले त्यही छोटो समयमा बाँडेका भावना, साटेका अप्ठ्यारा अनुभूति फिल्ममा देखाइएको छ । ‘महानगर’ मा ती युवतीको भूमिकामा देखिएकी पात्र हुन्, मेनुका प्रधान । युवक बनेका कलाकार हुन्, कर्मा । ‘ओपन इन्डिङ’ मा सकिएको यो कथा हेरिसकेपछि लाग्छ, यदि यी दुई पात्र त्यो रातपछिको बिहानसम्म पनि सँगै भइदिएका भए, केही क्षणको प्रेमिल भावले प्रेमकै सम्बन्ध स्थापित गराइदिएको भए ? उनीहरूका भविष्य कस्तो हुन्थ्यो होला ?
बानेश्वरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेघाहर्ज’ ले भने त्यही खुसी र आशिषको भविष्य देखाइरहेझैं लाग्छ । ‘महानगर’ को खुसी र आशिषको प्रेमले विवाहको बाटो समातेको भए कस्तो हुन्थ्यो ? दम्पती जीवनका आरोह–अवरोह कस्तो हुन्थ्यो होला ? झट्ट हेर्दा ‘महानगर’ को कथा ‘ढुकढुकी ७२ मेघाहर्ज’ मा पूरा भएको छ, यद्यपि यी दुई फरक निर्देशकबाट भनिएका फरक कथाहरू हुन् ।
संयोग एउटै छ, मुख्य कलाकार उनै मेनुका र कर्मा । खुसी पात्रले अनुभव गरेका केही अनुभूति, नाटकको माया चरित्रमा समान छ । सपनाको खोजीमा सहर पसेकी खुसीलाई काठमाडौंले बेखुस बनाएको थियो । उनी निराश थिइन्, हतास थिइन्, अलमलमा थिइन् । ‘ढुकढुकी ७२ मेघाहर्ज’ को मञ्चमा उभिएकी माया पनि अलमलमा छिन्, उनी हतासमा छिन् । उनको गर्भमा बच्चा हुर्कंदै छ, गर्भसँगै हुर्कंदै गरेका कठोर प्रश्नहरूको सामना गर्ने हिम्मत जुटाइरहेकी छन् ।
माया मञ्चमा देखिँदा साँच्चिकै गर्भवती उभिरहेझैं लाग्छ । उक्त पात्रमा देखिने आवेग–संवेग पनि दुरुस्तै भेटिन्छ । मञ्चमा मेनुका होइन, कुनै माया प्रकट भएकी छन्, जो आफ्नो अप्ठ्यारो गर्भावस्थाको संघर्ष गरिरहेकी छन् भन्ने विश्वास दर्शकमा उत्पन्न हुन्छ । मेनुकाको खुबी नै यही हो, उनी जुन पात्रमा हुन्छिन्, दुरुस्तै बाँचिदिन्छिन् । उक्त पात्रको शारीरिक भावभंगीदेखि, बोली अनि सोच्ने शैलीलाई पक्रिरहेकी हुन्छिन् । गर्भवती महिलाले कस्ता भावनाहरूको सामना गर्छिन् ? त्यही कुरालाई पृष्ठभूमिमा राखेर मेनुकाले माया चरित्र निर्माण गरेकी हुन् । पर्दा होस् या मञ्च उनी आफूले पाएको चरित्र सुहाउँदो अभिनय गर्नमा निपुण छिन् ।
थिएटरबाट पर्दामा देखिन थालेका कलाकारमध्ये प्रायःले मञ्च बिर्सन्छन् । तर, मेनुकाले भने थिएटर र पर्दालाई समानान्तर ढंगले अगाडि बढाइरहेकी छन् । अनुप बराल निर्देशित ‘एउटा सपनाको अवसान’ होस् या ‘देउराली डाँडी’ । मेनुकाले मञ्चलाई भुलेकी छैनन् । मेनुकालाई मञ्च उत्तिकै मनपर्छ, जति फिल्मको क्यामेरा । उनी यी दुई फरक माध्यमहरूमै रमाउने कलाकार हुन् । ‘कलाकारको हिसाबले मलाई कुनै कथा, चरित्रलाई बाँच्ने, त्यसलाई अनुभव गर्ने रहर हुन्छ जस्तो लाग्छ, चाहे त्यो मञ्चमा होस् या फिल्ममा । यो दुई माध्यमकै आ–आफ्नै शक्ति हुन्छ । सायद अरूका लागि जुरेन होला मञ्चमा फर्किने, मलाई जुर्यो,’ मेनुकाले भनिन् ।
मेनुकाका अनुसार फिल्मको अभिनयमा क्यामेराअघि कुनै भावनालाई फरक तरिकाले अनुभव गर्दै प्रस्तुत गरिदिनुपर्छ । मञ्चमा त्यही भावनालाई फराकिलो ढंगले पस्कनुपर्ने हुन्छ । ‘मञ्चबाट ती भावनाहरूलाई पुर्याउँदै गर्दा हामी एकदमै धेरै फराकिलो ढंगले तरंगित हुन्छौं । यसरी मञ्चमा त्यसलाई अभ्यास गर्दा आफैं पनि फराकिलो भएको अनुभव हुन्छ, ‘मेनुकाले मञ्चमा अभिनय गर्दाको अनुभव सुनाइन् ।’
चरित्र सुहाउँदो अभिनय गर्नु पछाडि मेनुकाले समात्ने सूत्र गज्जबको छ । उनको त्यही अभ्यासले नै चरित्र अभिनयमा मेनुकालाई अब्बल बनाएको छ । यद्यपि उनलाई आफूले अहिलेसम्म गरेको अभिनय औसत नै लाग्छ । उनी चरित्र निर्माणमा मनोविज्ञानतर्फ निकै घोत्लिन्छिन् । कुनै चरित्रको मनोविज्ञान मात्रै नभई भावनात्मक पाटोतर्फ ध्यान दिन्छिन् । स्क्रिप्ट हात पर्नेबित्तिकै त्यसमा उल्लेख गरिएका जानकारीका आधारमा चरित्र निर्माण गर्नतिर लाग्छिन् ।
उक्त चरित्रले कसरी सोच्छ त ? उसले मनमा के कुरा बुनिरहेको छ त ? हरेक दृश्यमा उक्त चरित्रले कसरी सोच्छ अनि त्यसमा उसको भावना के हुन्छ ? यिनै पक्षहरू नियाल्दै मेनुकाले चरित्र बनाउँछिन् । ‘खासमा हामीले जीवनमा कुनै चरित्रले भोग्ने अनुभवलाई त भोगिरहेकै हुन्छ नि त । त्यस्तै अनुभवलाई आफूभित्र वास्तविक रूपले अनुभव गरेर उक्त चरित्र बन्ने कोसिस गर्छु । उक्त अवस्थामा चरित्रले के सोच्यो होला भनेर काम गरिरहेको हुन्छु,’ मेनुकाले भनिन् ।
मेनुका आफूलाई सबै प्रकारको चरित्र गर्ने रहर भएको सुनाउँछिन् । तर, अहिले उनलाई यस्तो स्क्रिप्टहरूको अफर धेरै आइरहेको छ, निर्दोष, मायालु, दुःखमा भएका पात्रहरू हुन्छन् । उनी स्पष्ट भिजन भएको निर्देशक, बलियो कथालाई प्राथमिकतामा राख्छिन् । त्यसैले एउटै किसिमको चरित्रको प्रस्तावहरूलाई नकारिरहेकी छन् । उनी सकारात्मक मात्रै होइन फरक स्वभाव भएका पात्रहरू पनि बाँच्न चाहन्छिन् । नकारात्मक भूमिका गर्ने चाह उत्तिकै छ । तर, ती चरित्रका अँध्यारो पाटोले लखेट्ला कि भन्ने डर छ ।
चरित्रको अवस्था र मनोविज्ञानलाई शतप्रतिशत विश्वास गरेर चरित्र निर्माण गर्दा ती पात्रको छापले पछिसम्म कलाकारलाई पछ्याइरहेको हुन्छ । चरित्रको गहिराइमा डुब्दा आफैंलाई असर पारेको अनुभव मेनकासँग थुप्रै छन् । ‘कुनै चरित्रको घाउले हामीलाई पनि दुखाइरहन्छ । मानसिक रूपमा त्यसरी छिर्दा त्यो घाउले पोलिरहन्छ,’ उनले भनिन्, ‘कुनै चरित्रको मनोविज्ञानलाई विश्वास गर्नै सकिन भने चित्तै बुझिरहेको हुँदैन, मलाई । त्यसैले विश्वास त गरिन्छ, तर त्यसरी विश्वास गर्दा ती चरित्रका घाउ अचेत मनमा बस्दो रहेछ ।’ ‘रिल’ मा बाँचेका चरित्रका यस्तै अनुभूतिले कहिलेकाहीं ‘रियल’ जीवनमा ढकढकाउन आइपुग्छ । त्यतिबेला उनी अभिनय र जीवनको सत्य स्वीकार्दै त्यसबाट बच्ने कोसिस गर्छिन् ।
‘पानी फोटो’ मा बेपत्ता छोराको पर्खाइमा रहेकी आमाको घाउले मेनुकालाई धेरैबेर लखेट्यो । आफ्ना गुरु अनुप बरालसँग पर्दामा पत्नीको भूमिका गरेकी मेनुकाले यो चरित्र गरिरहँदा आफूभित्रको मातृत्व अनुभव गरिन् । उक्त चरित्रको जिद्दी स्वभाव, हठी चरित्र समातिन् । ‘पानी फोटो’ को आमा चरित्र मेनुकाले गरेको सशक्त चरित्रमध्येको एक हो । त्यसमा एक आमाले छोराको पर्खाइमा कस्ता भावहरूमा बाँच्छिन् भन्ने पक्षलाई गहिरो ढंगमा अभिनयमार्फत देखाएकी थिइन् । छोराको पर्खाइ, खोजीमा लिने हरेक निर्णयलाई मेनुकाले आफ्नो अनुहारको भावभंगीबाटै प्रस्तुत गरेकी थिइन् । उक्त पात्रको गहिरो पीडा उनको आँखामै झल्किन्थ्यो ।
चरित्रहरूले घाउ मात्रै दिएर जाँदैन । त्यो पात्रले पूरा यात्रा सकिँदासम्म कलाकारका हिसाबले आफैंमा थुप्रै परिवर्तन अनुभव गरेकी छन्, मेनुकाले । नयाँ भएको अनुभव गरेकी छन् । चरित्र निर्माणमा यस्तै पक्षहरूले मेनुकालाई नयाँ–नयाँ चरित्र गर्ने भोक जगाइदिन्छ । मेनुकाका अनुसार हरेक चरित्र गर्दा फरक दृष्टिकोण थपिँदै जान्छ । महानगरको खुसी गर्दा उनले खुसीको हेर्ने तरिका जानेकी थिइन् । खुसीको नजरले मेनुकाको नजरिया फराकिलो बनाइदियो । महानगरको छायांकन रातमा हुन्थ्यो, त्यतिबेला फिल्मको छायांकनमा उनले रातको रौनक, सौन्दर्यलाई महसुस गरिन् । सुतिसकेको सहर, चकमन्न अँध्यारो– रातलाई लिएर आफूमा भएको डरहरू भगाउँदै नयाँ विचार सँगालिन् । खुसी पात्रले आफूभित्रका अँध्यारा पक्षहरू हटाउँदै अँगालेको नयाँपन, उक्त पात्रमा आएको परिवर्तन आफैंमा मेनुकाका लागि रमाइलो पक्ष थियो ।
‘महानगर’ मात्रै होइन, मेनुका अभिनीत ‘गुराँस’ ले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनायो । चेक रिपब्लिकको ‘दि कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा फिल्मले जुरी अवार्ड नै जित्यो । अवार्ड जितिएला भन्ने मेनुकाको टिमले त्यतिबेला सोचेकै थिएन । अवार्डको दिन ‘ड्रेस कोड’मा जुत्ता नमिल्दा, फेस्टिभल टिमले मेनुकालाई जुत्तासमेत मिलाउन भने । त्यतिञ्जेल पनि मेनुका र उनको टिमले अवार्ड जित्ने हेक्का पाएन । जब अवार्ड घोषणा भयो, ‘गुराँस’ टोली छक्क । ‘हामीलाई सहजीकरण गरिरहनुभएको फेस्टिभलकै एकजनाले पो तपाईंहरू हो, अवार्ड जित्ने उठ्नुस् भन्नुभयो । हामी त्यतिबेला पनि एकअर्कालाई हेरिरहेका थियौं । अवार्ड जित्दा खुसी भयौं, बच्चाजस्तै हास्यौं,’ मेनुकाले भनिन् ।
मेनुकालाई धेरैले अहिले पनि साइँली भनेर चिन्छन् । असली नाम थाहै नभए पनि मेनुकालाई धेरैले साइँली भन्छन् । ‘दर्शकले मलाई आफ्नै परिवारको सदस्यझैं साइँली भनेर बोलाउनुहुन्छ । माया गर्नुहुन्छ । त्यो देख्दा मलाई एकदमै खुसी लाग्छ,’ उनले भनिन् । हेमन्त राणाको चर्चित गीत ‘साइँली’ ले चर्चाको शिखरमा पुर्याइदिए पनि, मेनुकाले बलियो अभिनय गरेको फिल्म हो– साइँली । रामबाबु गुरुङ निर्देशित ‘साइँली’ मा मेनुकाले त्यस्ता साइँलीहरूको भोगाई बाँचेकी छन्, जो आफ्नो परिवार र सपनाका लागि बिदेसिएका छन् । दुई साइँलीमध्ये मेनुकालाई फिल्मकै साइँली चरित्र मनपर्छ । किनभने भिडियोकी साइँली समाजले निर्माण गरिदिने स्वभावकी छिन्, कोमल, मायालु, निर्दोष तर, फिल्मकी साइँली हठी छे, स्वतन्त्र छ र उसमा नेतृत्व गर्ने क्षमता छ ।
मेनुका फरक चरित्रहरूमार्फत हिरोइनको प्रचलित मान्यताहरू भत्काउँदै आएकी छन् । उनी सार्वजनिक कार्यक्रमहरूमा अन्य कलाकारझैं झकिझकाउ भएर हिँड्दिनन् । यसमा मेनुकाको आफ्नो तर्क छ । ‘हिरोइनहरू झकिझकाउ भएर हिँड्नुपर्छ भन्ने पनि एउटा दृष्टिकोण नै हो । खासमा अभिनय त मेरो कर्म हो । तर, मेरो व्यक्तित्व त म नै हुँ नि । त्यसैले आफू जस्तो छु, त्यस्तै भएको मात्र हुँ,’ उनी भन्छिन्, ‘कुनै समय ममा पनि यसरी हिँड्नुपर्छ भन्ने भएको थियो । तर, त्यसरी हिँड्दा मलाई सहज अनुभव भएन । त्यसैले आफू जस्तो छ, त्यस्तै स्विकारेर अगाडि बढें ।’
अभिनयको यो यात्रामा मेनुकाले धेरै पटक सुनेको आलोचना हो– तिम्रो एटिट्युड हिरोइनको जस्तो भएन, व्यक्तित्व भएन । तर, मेनुकालाई सधैं लाग्यो, व्यक्तित्वभन्दा पनि कर्म ठूलो हो । त्यसैले उनले अभिनयको कर्म समाइरहिन् । कलाकार बन्ने छाँटकाँट त बाल्यकालदेखि नै देखाइसकेकी थिइन् । टीभी धेरै हेर्थिन् । उनी टेलिभिजनमा देखिएका कलाकारहरूको बोल्ने शैली नक्कल गर्थिन् । विद्यालय पढ्दा साथीहरूलाई होर्डिङ बोर्ड देखाउँदै भनेकी पनि थिइन्, ‘हेर्दै जाऊ साथीहरू, एकदिन त्यहाँ मेरो फोटो हुन्छ ।’
मेनुकाले विद्यालय हुँदा आफूमा देखाएको त्यो विश्वास अहिले पूरा भएको छ । सानैदेखि फिल्मी थिइन्, उनी । कक्षामा साथीहरूलाई अटोग्राफ लेखेर दिन्थिन् अनि भन्थिन्, ‘भोलिपर्सि अटोग्राफ नपाउला, अहिले नै लिइराख्नु ।’ साथीहरूलाई थाहा थियो, मेनुका कलाकार नै बन्छिन् भन्ने । साथी मात्रै होइन, शिक्षकदेखि प्रिन्सिपलसमेतलाई यो कुरा थाहा थियो । उनी विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थिन् । तर, साइन्स पढाउने शिक्षकले भन्थे, ‘मलाई थाहा छ, तिमी कलाकार नै बन्छौं । तर साइन्स पढ्नु ।’
नारायणघाटको गैंडाकोटबाट १२ को पढाइ सकेर १८ वर्षको उमेरमा मेनुका काठमाडौं आइन्, कलाकार बन्न । कक्षा ७ पढ्दै गर्दा चितवनको स्थानीय टेलिभिजनका लागि नाटक नै बनाएकी थिइन् । काठमाडौं आउनेबित्तिकै त्यही टेलिभिजनमा आबद्ध गराउने व्यक्तिहरूमार्फत थुप्रै अडिसनमा सरिक भइन् । तर, जताबाट पनि अस्वीकृत । नतिजाहरूले हृदय दुखाउँथ्यो । काठमाडौं आउनेबित्तिकै गुरुकुल पुगेकी थिइन्, त्यहाँ नयाँ विद्यार्थीको भर्ना रोकिएको थियो । त्यसैले लामो समय अडिसन दिन संघर्ष गरिन् । ‘एकदिन एकरात’ भन्ने फिल्मको अडिसनमार्फत भने अनुप बराल र दिया मास्केसँग ठोक्किइन् । त्यही फिल्मपछि मेनुकाले १४ वर्षअघि एक्टर्स स्टुडियोमा अभिनय सिकिन् ।
