फेरि चम्कँदै पाल्पाली ढाका

वार्षिक १० करोड बराबरको कारोबार हुने पाल्पाली ढाका उद्योगमा हाल ३ सय ५० तान छन् । लुम्बिनी प्रदेश, तानसेन नगर र यूकेएड सीप विकास परियोजनाले ढाका बुन्ने तालिम तथा तान थपमा सहयोग दिएपछि पाल्पाली ढाका उद्योग पुनः जुर्मुराउन थालेको छ

मंसिर २, २०८१

माधव अर्याल

Palpali Dhaka shining again

पाल्पा — जनजिब्रोमा निकै चल्तीका गीत ‘चोली राम्रो पाल्पाली ढाकाको...’, ‘ढाका टोपी शिरैमा ढलक्क ढल्कियो...,’ ‘पाल्पाली ढाका टोपी राम्रो...’ ले पाल्पाको ढाकालाई निकै महत्त्व दिएको पाइन्छ । तर पाल्पाको ढाका कपडा उद्योग भने यतिबेला मुस्किलले चलिरहेको छ ।

एकातिर सरकारले तेह्रथुम र पाल्पालाई ढाकाको राजधानी घोषणा गरे पनि यसको पूर्वाधार व्यवस्थापनका लागि पर्याप्त बजेट दिन सकेको छैन भने ढाका जस्तै देखिने आयातित कपडाका कारण स्थानीय उद्योगलाई असर पुर्‍याइरहेको छ ।

पाल्पाली ढाका संघका अनुसार ५ वर्षयता ढाका उत्पादनका लागि १ सय ५० भन्दा बढी तान थपिएका छन् । बन्द भइसकेका कतिपय उद्योगले पनि पुनः उत्पादन थालेका छन् । सरकारले सुतीको धागोमा भन्सार सहुलियत दिने हो भने देश ढाका कपडामा आत्मनिर्भर बन्न सक्ने उद्योगीको दाबी छ । तर सरकारले स्वदेशी उद्योगको संरक्षण गर्नुको साटो आयातलाई प्रोत्साहन गरिरहेको उनीहरूको गुनासो छ । ‘हामीले सुती धागो मगाउन सक्ने अवस्था नै छैन,’ सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी भन्छन्, ‘यसमा सरकारले भन्सार सहुलियत दिनुपर्छ । तीनै तहको सरकारले उद्योग सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ ।’ 

Palpali Dhaka shining again२०१५ सालमा गणेशमान महर्जनले पाल्पाली ढाका कपडा उत्पादनको सुरुवात गरेका थिए । भारतको नयाँदिल्ली पुगेका महर्जनको परिवारले नै ढाका कपडा बुन्ने उद्योग नेपाल भित्र्याएका हुन् । महर्जन दम्पतीले सञ्चालन गरेको पाल्पाली ढाका उद्योगबाट ५ सय बढी महिला तथा पुरुषले रोजगार पाएका थिए । तत्कालीन पञ्चायत सरकार, राजा, विदेशी पाहुनाले ढाका कपडाका साथै पाल्पाली ढाका टोपीको प्रयोग बढाएका थिए ।

जसले गर्दा उद्योग फस्टाएको थियो । ‘त्यसबेलाको कुरै नगरौं,’ स्वदेशी वस्त्रकला पाल्पाली ढाका कपडा उद्योगकी सञ्चालक तथा पाल्पाली ढाका कपडाकी संस्थापक ८७ वर्षीया पूर्णमाया महर्जन भन्छिन्, ‘अहिले त नक्कली ढाकाको आयातले हाम्रा उद्योग नै बन्द हुने अवस्थामा पुगेको छ, धिपीधिपी चलेका मात्र छन् ।’ हातबुना पाल्पाली ढाका भन्दै मेसिनले तयार पारेका नक्कली ढाका पाल्पाली भनेर नबेच्न पूर्णमायाको आग्रह छ । ‘मैले जतासुकै त्यही भन्ने गरेको छु,’ उनले भनिन्, ‘पाल्पामै बुनेकालाई पाल्पाली भन्ने हो तर बाहिरबाट आयातितलाई पाल्पाली नभनौं । ग्राहकलाई ठग्ने काम नहोस् ।’

पाल्पाका हातबुना कपडा बंगलादेशको राजधानी ढाकाबाट धागो ल्याएर तयार पारिने भएकाले नै यसलाई पाल्पाली ढाका भन्ने गरिएको हो । प्रिन्टको डिजाइन बंगलादेशको ढाकाबाट सुरु भएको पूर्णमाया बताउँछिन् । हुन त गणेशमान पनि ‘ढाका कपडा बंगलादेशसँग सम्बन्धित मलमल, कपासबाट बनेको पौराणिक कपडा भएको’ बताउँथे । भन्थे, ‘तर पछि पाल्पाली ढाका टोपीलाई नेपालको हिमाली चुचुरासँग दाँजेर पनि बढी प्रसिद्ध भयो ।’ २०५० अघिसम्म पनि पूर्णमायाले धेरै महिलालाई आफ्नो उद्योगमा रोजगारी दिएकी थिइन् । महिलालाई ढाका बुन्ने तालिम दिएर कारखानामा काम लगाउँथिन् । ‘धेरै महिलाको उद्धार गरें,’ भनिन्, ‘बहुदल आयो, लोकतन्त्र आयो, तर खै के भयो ? भएका र राम्रो चलेका ढाका कपडा उद्योग पनि खस्कँदै गयो । धेरैले त टोपी लगाउनै छाडे ।’ 

Palpali Dhaka shining againपछिल्लो समयमा आधुनिकीकरणसँगै यहाँ सिकेर भारत र मुलुक पुगेर नक्कली ढाका उत्पादन गर्दा असली पाल्पाली ढाका पाउनै मुस्किल परेको छ । मेसिनले बुनेका र जेकार्ड ढाका मात्र होइन सोफाको खोललाई समेत पाल्पाली ढाका भनेर बिक्री गरेको देख्दा रुन मन लाग्ने पूर्णमायाले सुनाइन् । उनका अनुसार पछिल्लो समयमा सरकारी सहयोग हुन नसक्दा असली ‘पाल्पाली ढाका’ पाउनै मुस्किल परेको छ । ‘तर पाल्पाली ढाका जोगाउने हो भने सरकारी सहयोगको खाँचो छ,’ उनले भनिन्, ‘पाल्पाली ढाकाको ब्रान्ड जोगाउन अब तीनै तहका सरकारको सहयोग हुनुपर्छ ।’ ५ वर्षअघि ‘सीपद्वारा उत्प्रेरित’ परियोजना तानसेनमा सञ्चालन भएपछि भने केही राहतको श्वास फेरेको पूर्णमायाले सुनाइन् । त्यसपछि पूर्णमायाकै अध्यक्षतामा पाल्पाली ढाका संघ गठन भयो, ११ उद्योग यसमा आबद्ध भए । यसपछि पाल्पाली ढाका उद्योगलाई पुनर्जीवित गर्न सहयोग पुगेको उनले बताइन् । 

यसरी बुनिन्छ पाल्पाली ढाका

पुरानो पाल्पाली ढाका कपडाको तान काठैकाठले बनेको हुन्थ्यो । अहिले फलामका पनि बनेका छन् । चारकुने तानमा यो बुनिन्थ्यो । गोटी राखेर ग्राफिक्स डिजाइनअनुसार यसको उत्पादन हुन्थ्यो । गोटी राख्दा ज्याला महँगो पर्छ । यसमा मिहिनेत पनि बढी लाग्छ । पुरानो डिजाइनमा बुन्न निकै मिहिनेत हुने संस्थापक पूर्णमायाले बताइन् ।

Palpali Dhaka shining again ‘ढाकामा प्रयोग हुने धागो लक्षिमामा आउँथ्यो । मेसिनको सहयोग (पहिले हातैले बेरिन्थ्यो) मा बबिनमा बेरिन्छ । त्यसपछि ग्रिलमा भरिन्छ । लट्टाईजस्तो बनाएर बिम लगाइन्छ । बुन्ने स्थानमा स–साना प्वाल हुन्छ । धागो क्रस बनाएर राखिन्छ । कंगीबाट लगेर धागो राखिन्छ । तान तयार हुन्छ । मान्छेले बुन्ने सटल हुन्छ । डिजाइन कार्ड, बुट्टा हातैले बनाउने गरिन्छ । त्यसभन्दा अघि बुट्टाको ग्राफ गरिएको हुन्छ,’ उनले सुनाइन् । पूर्णमायाले नै पहिलो पटक २०१३ सालमा पाल्पाली ढाका कपडा बुन्ने तान (हाते मेसिन) राखेकी हुन् । त्यसबेला ३ हजार रुपैयाँ ऋण खोजेर तान राखेको उनले सम्झिइन् । आफैं पनि वार्पिङदेखि लिएर सबै काम गर्थिन् । श्रीमान्ले ढाका बुन्ने गर्थे । 

सुरुसुरुमा ग्राहकले हातबुना ढाका कपडा किन्न मान्दैनथे । ‘हातले बुनेका कपडा पसलमा लगेर छाड्यो, बिकेको छैन भन्ने मात्रै सुनिन्थ्यो,’ उनले भनिन् । पाल्पाली ढाका कपडा २०१५ सालमा दर्ता भए पनि तान राखेर कपडा बुन्न थालेको २०१३/१४ सालमा भएको उनले बताइन् । तानमा कपडा बुन्न सिक्दा विभिन्न रंग र बुट्टामा बुन्न थाले । जसले गर्दा त्यही सिकाइ नै पछि आएर ढाका कपडा बुन्न थालियो । अरू कपडा विभिन्न प्रकारका धागोले बुनिन्थ्यो । तर, पछि ढाका कपडा दर्ता गरेर बुन्न थालेका हुन् । त्यो चाहिँ सुती धागोबाट मात्र बुनिन्थ्यो । तानमा खद्दरको साडी, अरू कपडा बुन्ने गरिन्थ्यो ।

बंगलादेशको राजधानी ढाकामा बुन्ने कपडाको डिजाइन भित्र्याउने पनि महर्जन परिवार नै हो । त्यही डिजाइनमा बुनेर सुरु गरेपछि बल्ल ढाका कपडा भन्ने भएको उनले सुनाइन् । तान राख्ने र त्यसलाई पूरा गर्न निकै समय लाग्थ्यो । ढाका कपडाका विषयमा बुझेकाहरूकै कारण महँगोमा खरिदबिक्री हुन थाल्यो । त्यसबेलामा सरकारी निकाय घरेलु कार्यालयमा दर्ता गरेर ढाका बुन्न थालेका हुन् । श्रीमान् घरेलु कार्यालयमा जागिरे भएकाले बिक्रीमा सहज भयो । तानसेनमा घरेलु शिल्पकला भण्डार खुलेपछि बिक्री गर्ने झन्झट भएन । ढाकाको पछ्यौरा, खद्दरको साडी, तन्ना त्यो बेलामा बढी बिक्री हुन्थ्यो । 

२०३० सालमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनले ढाका कपडालाई अझ बढी पहिचान दिलाएको महर्जनको दाबी छ । सम्मेलनमा धेरै नै साडीको माग आएको उनलाई सम्झना छ । त्यसै वर्षदेखि नै नेपाली बजारमा पनि पाल्पाली ढाकाको माग बढ्दो थियो । बजारमा यति धेरै बिक्यो कि ढाका कपडा र अन्य कपडाको माग पुर्‍याउनै नसक्ने अवस्था आयो । ‘५ सय कामदार राखेकी मैले अहिले २० जनामा चित्त बुझाएकी छु,’ उनले भनिन्, ‘नक्कली ढाका बजारमा आए, पुराना तान त्यसै थन्किए । अहिले कामदार पनि नपाइने भएपछि समस्यैसमस्या छ ।’ धागोमा कर तिर्नु नपर्ने, साइकलमा सुनौलीबाट नाका पार गराउने, अनि त्यही कमसल धागो प्रयोग गरेका ढाकालाई पाल्पाली भनेर बिक्री गर्ने गरिएको उनको गुनासो छ । 

‘ब्रान्डिङ’ भएपछि उत्साह

पाल्पाली ढाकाले उद्योग मन्त्रालयबाट ‘पाल्पाली ब्रान्ड’ पाएपछि पाल्पाली ढाका संघमा आबद्ध सबै उद्योगी खुसी भएको ढाका कपडा उद्योगका सञ्चालक तथा पाल्पाली ढाका संघका सचिव मनोजराज शर्मा पौड्यालले बताए । पाल्पाली ढाकाको चोली, पछ्यौरी मात्र नभएर टाई, कोट, कुर्ता, पर्स, ब्याग, सर्टलगायत विविधीकरणमा जोड दिइएको उनी बताउँछन् । पाल्पाली ढाकाको पहिचान कायम राख्न ‘पाल्पाली ब्रान्डिङ’ भएको पाल्पाली ढाका संघका कार्यक्रम संयोजक सागरमान महर्जनले बताए । ढाका पसलमा पुग्ने ग्राहकलाई कुन पाल्पाली र कुन बाहिरको हो भन्ने जानकारी नदिँदा ठगिनु परेको थियो । ‘पाल्पाली ब्रान्डिङ’ भएपछि उपभोक्ताले पनि गुणस्तर पहिचान गर्न सक्ने भएका छन् । 

Palpali Dhaka shining againढाकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा चिनाउन ‘ब्रान्डिङ’ले सहयोग पुग्ने यसका कार्यक्रम संयोजक महर्जनले बताए । ‘पाल्पाली ब्रान्ड भनेको ११ वटै उद्योगको हो,’ भने, ‘यो एउटा कारखाना वा फर्मले गरेको होइन ।’ कतिपयले घरमै तान राखेर बुनेका छन् । त्यस्तालाई पनि समेटेर अघि बढ्ने उनले बताए । ‘अहिले उत्पादन धेरै नभए पनि त्यसलाई विविधीकरण गर्नेछौं,’ उनले भने, ‘फेसनका कपडा, होम डेकोर सामग्रीलाई अहिले जोड दिएका छौं ।’ सागरमानका अनुसार ‘ब्रान्डिङ’ले केही न केही सहयोग पुगेको छ । 

विदेशमा बस्ने नेपाली र विदेशीले समेत नमुना कपडा र यसबाट बनेका सामग्री लैजाने गरेका छन् । ‘तर ठूलो परिमाणमा पठाउन सकिन्न कि भन्ने चिन्ता छ । अर्कोतर्फ सुती धागोमा कर छुट छैन,’ उनले भने, ‘जसले गर्दा कपडा महँगो पर्न जान्छ । निर्यातका लागि कपडा पुर्‍याउनै सकिन्न कि भन्ने अन्योल छ ।’

घोषणामा सीमित  ‘ढाकाको राजधानी’ 

पाल्पालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘ढाकाको राजधानी’ घोषणा गरेको तीन वर्ष भइसकेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधीकरणका लागि उक्त घोषणा गरेको थियो । तर यसको बजारीकरणमा मन्त्रालयले खासै ध्यान नदिएको उद्योगीको गुनासो छ । अर्को वर्षबाट त बजेटसमेत विनियोजन भएन । 

ढाका राजधानी घोषणा गर्नुअघि भने तानसेन नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सीप परियोजनाले पनि यसको प्रवर्द्धन, बजारीकरण, सीप विकासमा सहयोग पुर्‍याएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि यसको पहिचान पुर्‍याउन अब अझ बढी सहयोग पुग्नेछ भन्ने लागेको पाल्पाली ढाका संघका कार्यक्रम अधिकृत अनुशेष रायमाझीले बताए । तर जति अपेक्षा थियो त्यो हुन नसक्दा उद्योगी निराश छन् । ‘परम्परागत ढंगले नभई अब व्यवसायीकरण र विविधीकरणमा जोड दिनुपर्छ भन्ने उद्योगीलाई लागेको थियो,’ उनले भने, ‘तर त्यसपछि भएको सरकारी बेवास्ताले पुनः निराश बनाएको छ ।’ 

Palpali Dhaka shining againकार्यक्रम संयोजक सागरमान पाल्पाली ढाका र आयातित ढाकालाई छुट्टाछुट्टै उत्पादनका रूपमा ‘डिजाइन पेटेन्ट’ गरेर बिक्री गर्नुपर्ने बताउँछन् । ‘ब्रान्ड जाँच गरेर बजारमा आएपछि गुणस्तरमा भिन्नता बताउनुपर्ने हुन्छ,’ उनले भने, ‘पाल्पाली ढाका किन्दा ठगी हुने डर छैन भन्ने विश्वास ग्राहकमा दिलाउनुपर्छ । स्वदेशी बजारमा आपूर्ति गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सम्भावना प्रशस्त छ ।’

अधिकांश पाल्पाली ढाका हाते तानबाट बुनेको गुणस्तरीय हुन्छ भन्ने ग्राहकमा विश्वास रहेको पाल्पाली ढाका कपडा संघका सचिव पौड्यालले बताए । त्यसैले धुँदा रङ नजाने भएकाले यसको व्यापार बढ्दै गएको थियो । पाल्पामा ढाका कपडाको उत्पादन जति धेरै भए पनि बजारका लागि कुनै समस्या नभएको उनले बताए । त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ । स्वदेशी उद्योगलाई बचाउने गरी नीति नियम आउनुपर्ने सुझाव उद्योगीको छ । लगानीमैत्री वातावरण बनाउनुपर्छ । दक्ष कामदारको अभाव छ । त्यसलाई समाधान गर्न केही वर्षअघि ३ सय ६८ जनालाई पाल्पाली ढाका संघले तालिम दिएको छ । त्यसमा पनि ३ सय ५४ जना महिला रहेको पाल्पाली ढाका संघका कार्यक्रम अधिकृत अनुशेष रायमाझीले बताए । 

पहिला सरकारीस्तरबाटै दक्ष प्रशिक्षक उत्पादन हुन्थ्यो । अहिले तालिमको सूचना निस्के पनि मतलब नै गर्दैनन् । ढाका कपडा बुनाइ, सिलाइकटाइ, तान मर्मतको स्तरीय तालिमको अभाव छ । बजार क्षेत्रमा रहेका तानलाई स्थानीय तहबाट घरेलु औद्योगिक क्षेत्र स्थापना गरी स्थानान्तरण गर्नुपर्ने सुझाव यसका जानकारहरूको छ । विद्यालय तथा कलेजमा लगाउने टाई पाल्पाली ढाकाको अनिवार्य गराउन सक्नुपर्ने सुझाव पनि छ । संघसंस्था तथा सरकारी कार्यालयका कर्मचारीका लागि पाल्पाली ढाकाको टोपी वा पोसाक बनाउन सकिन्छ । पाल्पाली ढाकाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय बजारका साथै ‘ब्रान्डिङ र मार्केटिङ’ रणनीति विकसित गर्नुपर्ने सुझाव छ ।

वार्षिक १० करोडको कारोबार

पाल्पामा ढाकाको कपडाको वार्षिक १० करोड बराबरको कारोबार हुने गरेको पाल्पाली ढाका संघले जनाएको छ । संघीय सरकारमार्फत लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र यूकेएड सीप विकास परियोजनामार्फत ढाका बुन्ने तालिम सञ्चालन, उद्योगमा तान थप गर्न सहयोग दिएको छ । ५ वर्षअघिसम्म २ सय पनि ढाकाका तान सञ्चालनमा नआएको पाल्पामा अहिले भने ३ सय ५० तान पुगेको संघले जनाएको छ । सामान्य एउटा तान राख्नका लागि कम्तीमा ७० हजार रुपैयाँ लाग्छ । तालिम लिएका महिलाले गाउँगाउँमा समेत तान राखेर स्वरोजगार बनेको पाल्पाली ढाका संघका सचिव पौड्यालले बताए ।

Palpali Dhaka shining againलुम्बिनी प्रदेश सरकारमार्फत घरेलु तथा साना उद्योग कार्यालयमार्फत पाल्पाली ढाका प्रवर्द्धनका लागि काम भइरहेको छ । कार्यालय प्रमुख श्यामकुमार पौडेलका अनुसार अघिल्लो वर्ष ढाकाको सीप परीक्षणसहितको लेबल–१ तालिम सञ्चालन गर्न १८ लाख बजेटबाट तानसेन र पूर्वखोलाको वीरकोटमा तालिम सञ्चालन गरिएको उनले बताए । त्यस्तै संघीय सरकारले विनियोजन गरेको ५ लाखबाट १० वटा पाल्पाली हाते तान खरिद गरिएको उनले बताए । यसवर्ष प्रदेश सरकारले तालिमका लागि १० लाख विनियोजन गरेको छ । संघीय सरकारबाट कुनै पनि बजेट अहिलेसम्म विनियोजन गरेको आफूले थाहा नपाएको उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully