सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा सिन्थेटिक ट्र्याकमा थुप्रै कीर्तिमान बने । त्यसमा नेपाली तीव्र गतिकी धाविका देवीमाया पनेरूले १०० मिटर, २०० मिटर दौड र १०० मिटर रिलेमा बनाएका तीन कीर्तिमान २५ वर्षदेखि कसैले तोड्न सकेका छैनन्
काठमाडौँ — नेपालमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको २५ वर्ष बितेको छ । दशरथ रंगशालामा सिन्थेटिक ट्र्याक बिछ्याइएको पनि ठ्याक्कै त्यति नै वर्ष भयो । यो सन् १९९९ को कुरा हो । सागका लागि नै पहिलो पटक नेपालमा सिन्थेटिक ट्र्याक बनाइएको थियो ।
आठौं सागमा त्यही ट्र्याकमा बनेका केही कीर्तिमानहरू अहिले पनि अजेय छन् । त्यसमा तीव्र गतिकी धाविका देवीमाया पनेरूका नाममा केही कीर्तिमान छन्, जुन अहिलेसम्म तोडिएको छैन ।
महिला १०० र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी देवीमायाले रिलेबाट दुई कांस्य पदक जितेकी थिइन् । त्यसयता कुनै पनि धाविकाले यो स्प्रिन्ट इभेन्टमा बनेको राष्ट्रिय कीर्तिमान तोड्न सकेका छैनन् भने रिलेबाट नेपालले सागमा कांस्य पनि जितेको छैन । देवीसहित बिना श्रेष्ठ, समिज्ञा शाक्य र सुस्मिता थापाले ४ गुणा १०० मिटर रिले तथा देवी, बिनासहित केशमाया श्रीश र हरिमाया चौधरीले ४ गुणा ४०० मिटर रिलेमा राष्ट्रिय कीर्तिमानसहित कांस्य जितेका थिए । १०० मिटरमा १२.१९ सेकेन्डको कीर्तिमान बनाएकी देवीका नाममा २०० मिटर दौडमा २५ सेकेन्डको कीर्तिमान छ । १०० मिटर रिलेको कीर्तिमान पनि यथावत् नै छ ।
दक्षिण एसियाली खेलकुदका तीन संस्करण खेलेकी धाविका देवीमायाले ओलम्पिकमा पनि सहभागिता जनाएकी छन् । उनले सन् २००० को सिड्नी ओलम्पिकमा १०० मिटरमै दौडिइन्, जहाँ १२.९५ सेकेन्डको ‘टाइमिङ’ निकालेकी थिइन् । इस्लामाबादमा सन् २००४ मा भएको नवौं सागपछि उनको खेल यात्रा मोडियो तर नेपाली एथलेटिक्सले यो अन्तरालमा छोटो दूरीमा कायम कीर्तिमान तोड्ने उम्दा खेलाडी पाउन भने सकेको छैन । जबकि सिन्थेटिक ट्र्याक बनेपछि झन् एकसे एक उम्दा खेलाडी निस्कनुपर्ने थियो ।
कीर्तिमानी धाविका देवीमाया पनि यति लामो समयसम्म आफ्नो कीर्तिमान नतोडिएकामा खुसी छैनन् । राम्रा स्प्रिन्टरहरू उत्पादन हुन नसकेकामा उनको चिन्ता हो । ‘व्यक्तिगत अर्थमा त रेकर्डको ठूलो महत्त्व हुन्छ, त्यो मेरा लागि पनि छ । तर, एउटै नेसनल रेकर्ड लामो समय तोडिएन भने त्यो देशका लागि घाटा हो,’ उनले भनिन्, ‘आफ्नै देशको रेकर्ड त ब्रेक गर्न सकेका छैनौं भने अन्तर्राष्ट्रियस्तरमा कसरी गतिलो प्रतिस्पर्धा गर्न सक्छौं ?’ एथलेटिक्समा कीर्तिमान बन्दै, तोडिँदै गरे नै खेलले गति लिने देवीमायाको बुभाइ छ । भन्छिन्, ‘त्यो बेलाको मेरो कीर्तिमानले अहिले अन्तर्राष्ट्रियस्तरमा केही हुन्न । १०–११ सेकेन्डमा दौडिरहेका हुन्छन् । त्यसले गर्दा छोटो दूरीको दौडमा हामी जहाँको त्यहीँ छौं, नयाँ कीर्तिमान बने पो राम्रो भएछ भन्नु ।’
नेपालले सन् २००० को ओलम्पिकयता एथलेटिक्सको छोटो दूरीकै इभेन्टमा सहभागिता जनाउन थालेको हो । तर, पुरुष र महिला दुवैमा विगतका राष्ट्रिय कीर्तिमानहरू तोडिन सकेका छैनन् । ओलम्पियन देवी चाहन्छिन्, आफ्ना कीर्तिमानहरू चाँडै तोडियोस् । उनले प्रतियोगिताहरू हुँदा आफ्नो कीर्तिमान तोडेर राम्रो गर्नेलाई व्यक्तिगत रूपमा १ लाख रुपैयाँ प्रोत्साहनस्वरूप पुरस्कार दिने भन्दै आएकी छन् । तर, त्यो पूरा हुन सकेको छैन ।
झन्डै एक दशक स्प्रिन्टमा राज गरेकी धाविका देवीमाया अहिले अमेरिकामा बस्छिन् । अवसरको खोजीमा परिवारसहित अमेरिका गएको पनि २० वर्ष भइसक्यो । यसपालि दसैं मनाउन श्रीमान् (देवेन्द्र पराजुली) सहित नेपाल आएकी उनले हालै दशरथ रंगशाला परिसरमा आफ्ना पुराना क्षणको स्मरण गरिन् । एथलेटिक्समा पहिले जुन माहोल थियो, त्यो अहिले नभएको उनको बुझाइ रह्यो । साथीभाइबाट पनि त्यही सुनिन् । उनले स्मरण गरिन्, ‘त्यो बेला बिहान रंगशालामा प्रशिक्षण गर्न छिर्ने ४–५ सय हुन्थे, अहिले त औंलामै गन्न सकिन्छ रे । हामी खेलाडीले पनि मिहिनेत यति गरिन्थ्यो कि प्रशिक्षण हुँदा रंगशालामै बास बस्न पनि तयार हुन्थ्यौं । हौसलाले नै रंगशाला पुग्न प्रेरित गर्थ्यो । अहिलेचाहिँ मैले त्यस्तो पाइनँ ।’
समयअनुसार प्रविधिमा धेरै परिवर्तन आइसके पनि नेपाली खेलकुदमा भने देवीमायाले खासै परिवर्तन देखेकी छैनन् । बरु झन्–झन् खस्केको जस्तो महसुस भएको छ उनलाई । ‘पहिला अवसर कम थियो, खेलाडी आफैंले पनि धेरै मिहिनेत गर्थे, अहिले जहाँ अवसर छ, त्यता (विदेश) तिर कुदिहान्छन् । खेलाडीलाई पनि दोष दिने ठाउँ छैन । खेलाडीको खेलपछिको जीवनबारे राज्यले सोच्नुपर्छ । विभागमा आबद्ध भएकाबाहेक खेलाडीको अवस्था त दयनीय छ,’ उनले भनिन् ।
देवीको दौड सुरुवात
झापा जिल्लास्थित धाइजनकी हुन् देवीमाया । दौडमा खासै रुचि नभए पनि सानो कदकी भएकीले शिक्षकको जोडबलमा कक्षा ८ मा छँदै उनले वीरेन्द्र शिल्डका लागि १०० मिटर दौडिइन् । स्कुलको छनोटमा सबैलाई जितिन् । जिल्लास्तरमा पनि पहिलो भइन् । त्यसपछि पूर्वाञ्चलस्तरीय वीरेन्द्र शिल्डमा दोस्रो भइन् । पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै सन् १९९४ मा वीरगन्जमा भएको ३१ औं राष्ट्रिय ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप दौडिइन् । त्यहाँ कांस्य पदक जितिन् । त्यसपछि भने देवीलाई दौडको नसा लाग्यो । ‘अब कसरी पहिलो हुने ?’ यही हुटहुटीले उनलाई धाइजनको ढुंगा बिछ्याइएको सडकमा बिहानको झिसमिसेमै दौडने जाँगर दिन थाल्यो । ‘उज्यालो हुँदा मान्छेले देख्लान् भनेर अँध्यारोमै दौडिसकेको हुन्थें । त्यो बेला गाउँमा, त्यसमाथि छोरी मान्छे खेलकुदमा लाग्दा घरपरिवार र समाजले के भन्ला भन्ने डर हुन्थ्यो । सुरुमा त मलाई घरबाटै पनि अवरोध नभएको होइन,’ उनले सुरुवाती दिन सम्झिइन् ।
उक्त च्याम्पियनसिपमा तेस्रो भएपछि चाहिँ उनी राष्ट्रिय प्रशिक्षण क्याम्पमा परेकी थिइन् । प्रशिक्षणका लागि काठमाडौंमै बस्नुपर्ने भएपछि तत्कालीन नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष रघुराज वन्तले वसन्तपुरस्थित शान्ति निकुञ्ज माविमा पढ्ने व्यवस्था पनि मिलाइदिए । दशरथ रंगशालामा प्रशिक्षक नरबहादुर दाहालबाट प्रशिक्षण लिन्थिन् । क्याम्पमै उत्कृष्ट टाइमिङ राखेपछि उनी सातौं दक्षिण एसियाली खेलकुद (मद्रास, १९९५) का लागि छानिइन् । त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिइन् । जुन उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।
मद्रासमा उनको घरेलु प्रतिस्पर्धी स्प्रिन्टर बिना श्रेष्ठले १३.०९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । बिनाले भने मञ्जु श्रेष्ठले सन् १९९१ को कोलम्बो सागमा बनाएको १३.४८ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् । सागको आठौं संस्करणमा भने देवीमायाले उनै बिनाको कीर्तिमानलाई सुधारेकी हुन् । ‘त्यो बेला हामी प्रविधिमा पछाडि रहे पनि टाइमिङमा क्रमिक सुधार हुन्थ्यो । अहिले त एडभान्स ट्रेनिङ छ तर टाइमिङमा कुनै सुधार छैन,’ देवीले चिन्ता व्यक्त गरिन्, ‘हामी धेरै पछाडि परिसक्यौं । १०० मिटरमा त अहिले हाम्रा खेलाडीको टाइमिङ १०–११ सेकेन्डको हाराहारीमा हुनुपर्थ्यो । तर दुर्भाग्य, २५ वर्षदेखि एउटै टाइमिङ पछ्याइरहेका छौं ।’
आफूले दुःख गरेरै पनि त्यो समय स्प्रिन्टमा एकछत्र राज गरेको सुनाउँछिन् उनी । ‘काठमाडौं बस्दा मैले मैतीदेवीबाट १० वर्ष त रंगशाला पैदल नै आउजाउ गरें । त्यही बेला नै मैले छोटो दूरीको दौडमा आधिपत्य जमाएँ, पुलिस क्लबलाई राष्ट्रिय प्रतियोगितामा जहिल्यै ५ गोल्ड मेडल दिलाउँथें । सन् १९९६ देखि अमेरिका जाने दिनसम्म पनि कहिल्यै पछि परिनँ,’ उनले आफ्ना संघर्षमयी सफलताको कथा सुनाइन् । राष्ट्रिय प्रतियोगितामा राम्रो गरेपछि १४ वर्षको उमेरमै उनलाई पुलिस क्लबले करारमा लिएको थियो । बिना, मञ्जु, देवीको उपस्थितिले महिला स्प्रिन्टमा पुलिसको जगजगी थियो । पुलिसमा प्रसनि रहेका देवेन्द्र पनि देवीको दौड हेर्न रंगशाला पुगिरहन्थे । त्यहीं जाँदा–आउँदा नै उनीहरूबीच सम्बन्ध गाँसिएको थियो । आठौं सागपछि त प्रेम विवाह नै गरिहाले ।
स्प्रिन्टमा तहल्का मच्चाएर पनि देवीमायाले एसियाड भने खेल्न पाइनन् । उनको उर्वरकालमा भएका दुई संस्करण १९९८ को बैंकक एसियाडमा नेपालले लामो र मध्यम दूरीको इभेन्टमा खेलाडी मात्र पठाएको थियो भने सन् २००२ को बुसान एसियाडमा गर्भवती भएका कारण उनी सहभागी हुन पाइनन् । २००६ को दोहा एसियाड हुँदासम्म त उनी अमेरिका पुगिसकेकी थिइन् । उनले एसियन ट्र्याक एन्ड फिल्ड, वर्ल्ड च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाइन् ।
नेपालकै छिटो दौड्ने महिला भनेर चिनिनुभएकी तपाईं कसरी अमेरिका पुग्नुभयो ? देवीमायाले सुनाइन्, ‘कमाइ सामान्य नै थियो, छोरी जन्मिइसकेकी थिइन् । देशमा माओवादी द्वन्द्व चर्किरहेको थियो । श्रीमान्लाई कतिखेर कहाँ, लड्न जानुपर्ने हो थाहा हुन्थेन । अवसरको खोजीमा भएकै बेला मलाई डीभी पर्यो । यता, त्यही बेला देवेन्द्रजीको इन्स्पेक्टरमा नाम निस्किएको थियो तर त्यसलाई माया मार्दै अमेरिका गयौं ।’
१४ महिनाको बच्चा च्यापेर अमेरिका पुगेका उनीहरूले सुरुवाती दिनमा निकै संघर्ष गर्नुपर्यो । ‘जे सोचेर गएका थियौं, त्यो त कहाँ पाइयो र ? धेरै नै गाह्रो भयो । तर हार मानिएन । २०१३ बाट सानोतिनो व्यवसाय सुरु गरेपछि अमेरिका बसाइ सहज हुन थाल्यो,’ देवेन्द्रले भने । ग्यास स्टेसन र आइसक्रिम पार्लर चलाइरहेका उनीहरूले अहिले झन्डै १५ जनाभन्दा धेरैलाई रोजगारी दिएको बताए । त्यसमा पनि धेरै नेपाली नै छन् । अहिले आफू सात समुद्रपार रहे पनि नेपाली खेलकुद र एथलेटिक्सबाट टाढा हुन नसक्ने बताउँछिन् देवीमाया । भन्छिन्, ‘दौड त मेरो रगतमै छ । यहाँ भइराखेको भए प्रशिक्षक बन्थें होला, अब त्यो नसके पनि कुनै न कुनै माध्यमबाट एथलेटिक्ससँग जोडी नै रहनेछु । पहिला पनि ‘गेम’ हरू हुँदा सौजन्यस्वरूप पुरस्कार पठाइरहेको हुन्थें ।’
उनी एथलेटिक्सलाई कठिन खेलका रूपमा बुझ्छिन् । धेरै मिहिनेत गर्नुपर्ने खेलका रूपमा लिन्छिन् । खेलाडीलाई विद्यालयस्तरदेखि नै ट्रेनिङमा राखेर राष्ट्रियस्तरमा ल्याउन सुझाउँछिन् उनी ।
