२५ वर्षसम्म अजेय कीर्तिमान

सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा सिन्थेटिक ट्र्याकमा थुप्रै कीर्तिमान बने । त्यसमा नेपाली तीव्र गतिकी धाविका देवीमाया पनेरूले १०० मिटर, २०० मिटर दौड र १०० मिटर रिलेमा बनाएका तीन कीर्तिमान २५ वर्षदेखि कसैले तोड्न सकेका छैनन्

कार्तिक २७, २०८१

ध्रुव तुलाधर

Unbeaten record for 25 years

काठमाडौँ — नेपालमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको २५ वर्ष बितेको छ । दशरथ रंगशालामा सिन्थेटिक ट्र्याक बिछ्याइएको पनि ठ्याक्कै त्यति नै वर्ष भयो । यो सन् १९९९ को कुरा हो । सागका लागि नै पहिलो पटक नेपालमा सिन्थेटिक ट्र्याक बनाइएको थियो ।

आठौं सागमा त्यही ट्र्याकमा बनेका केही कीर्तिमानहरू अहिले पनि अजेय छन् । त्यसमा तीव्र गतिकी धाविका देवीमाया पनेरूका नाममा केही कीर्तिमान छन्, जुन अहिलेसम्म तोडिएको छैन । 

महिला १०० र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी देवीमायाले रिलेबाट दुई कांस्य पदक जितेकी थिइन् । त्यसयता कुनै पनि धाविकाले यो स्प्रिन्ट इभेन्टमा बनेको राष्ट्रिय कीर्तिमान तोड्न सकेका छैनन् भने रिलेबाट नेपालले सागमा कांस्य पनि जितेको छैन । देवीसहित बिना श्रेष्ठ, समिज्ञा शाक्य र सुस्मिता थापाले ४ गुणा १०० मिटर रिले तथा देवी, बिनासहित केशमाया श्रीश र हरिमाया चौधरीले ४ गुणा ४०० मिटर रिलेमा राष्ट्रिय कीर्तिमानसहित कांस्य जितेका थिए । १०० मिटरमा १२.१९ सेकेन्डको कीर्तिमान बनाएकी देवीका नाममा २०० मिटर दौडमा २५ सेकेन्डको कीर्तिमान छ । १०० मिटर रिलेको कीर्तिमान पनि यथावत् नै छ । 

दक्षिण एसियाली खेलकुदका तीन संस्करण खेलेकी धाविका देवीमायाले ओलम्पिकमा पनि सहभागिता जनाएकी छन् । उनले सन् २००० को सिड्नी ओलम्पिकमा १०० मिटरमै दौडिइन्, जहाँ १२.९५ सेकेन्डको ‘टाइमिङ’ निकालेकी थिइन् । इस्लामाबादमा सन् २००४ मा भएको नवौं सागपछि उनको खेल यात्रा मोडियो तर नेपाली एथलेटिक्सले यो अन्तरालमा छोटो दूरीमा कायम कीर्तिमान तोड्ने उम्दा खेलाडी पाउन भने सकेको छैन । जबकि सिन्थेटिक ट्र्याक बनेपछि झन् एकसे एक उम्दा खेलाडी निस्कनुपर्ने थियो ।

कीर्तिमानी धाविका देवीमाया पनि यति लामो समयसम्म आफ्नो कीर्तिमान नतोडिएकामा खुसी छैनन् । राम्रा स्प्रिन्टरहरू उत्पादन हुन नसकेकामा उनको चिन्ता हो । ‘व्यक्तिगत अर्थमा त रेकर्डको ठूलो महत्त्व हुन्छ, त्यो मेरा लागि पनि छ । तर, एउटै नेसनल रेकर्ड लामो समय तोडिएन भने त्यो देशका लागि घाटा हो,’ उनले भनिन्, ‘आफ्नै देशको रेकर्ड त ब्रेक गर्न सकेका छैनौं भने अन्तर्राष्ट्रियस्तरमा कसरी गतिलो प्रतिस्पर्धा गर्न सक्छौं ?’ एथलेटिक्समा कीर्तिमान बन्दै, तोडिँदै गरे नै खेलले गति लिने देवीमायाको बुभाइ छ । भन्छिन्, ‘त्यो बेलाको मेरो कीर्तिमानले अहिले अन्तर्राष्ट्रियस्तरमा केही हुन्न । १०–११ सेकेन्डमा दौडिरहेका हुन्छन् । त्यसले गर्दा छोटो दूरीको दौडमा हामी जहाँको त्यहीँ छौं, नयाँ कीर्तिमान बने पो राम्रो भएछ भन्नु ।’

Unbeaten record for 25 yearsनेपालले सन् २००० को ओलम्पिकयता एथलेटिक्सको छोटो दूरीकै इभेन्टमा सहभागिता जनाउन थालेको हो । तर, पुरुष र महिला दुवैमा विगतका राष्ट्रिय कीर्तिमानहरू तोडिन सकेका छैनन् । ओलम्पियन देवी चाहन्छिन्, आफ्ना कीर्तिमानहरू चाँडै तोडियोस् । उनले प्रतियोगिताहरू हुँदा आफ्नो कीर्तिमान तोडेर राम्रो गर्नेलाई व्यक्तिगत रूपमा १ लाख रुपैयाँ प्रोत्साहनस्वरूप पुरस्कार दिने भन्दै आएकी छन् । तर, त्यो पूरा हुन सकेको छैन । 

झन्डै एक दशक स्प्रिन्टमा राज गरेकी धाविका देवीमाया अहिले अमेरिकामा बस्छिन् । अवसरको खोजीमा परिवारसहित अमेरिका गएको पनि २० वर्ष भइसक्यो । यसपालि दसैं मनाउन श्रीमान् (देवेन्द्र पराजुली) सहित नेपाल आएकी उनले हालै दशरथ रंगशाला परिसरमा आफ्ना पुराना क्षणको स्मरण गरिन् । एथलेटिक्समा पहिले जुन माहोल थियो, त्यो अहिले नभएको उनको बुझाइ रह्यो । साथीभाइबाट पनि त्यही सुनिन् । उनले स्मरण गरिन्, ‘त्यो बेला बिहान रंगशालामा प्रशिक्षण गर्न छिर्ने ४–५ सय हुन्थे, अहिले त औंलामै गन्न सकिन्छ रे । हामी खेलाडीले पनि मिहिनेत यति गरिन्थ्यो कि प्रशिक्षण हुँदा रंगशालामै बास बस्न पनि तयार हुन्थ्यौं । हौसलाले नै रंगशाला पुग्न प्रेरित गर्थ्यो । अहिलेचाहिँ मैले त्यस्तो पाइनँ ।’

समयअनुसार प्रविधिमा धेरै परिवर्तन आइसके पनि नेपाली खेलकुदमा भने देवीमायाले खासै परिवर्तन देखेकी छैनन् । बरु झन्–झन् खस्केको जस्तो महसुस भएको छ उनलाई । ‘पहिला अवसर कम थियो, खेलाडी आफैंले पनि धेरै मिहिनेत गर्थे, अहिले जहाँ अवसर छ, त्यता (विदेश) तिर कुदिहान्छन् । खेलाडीलाई पनि दोष दिने ठाउँ छैन । खेलाडीको खेलपछिको जीवनबारे राज्यले सोच्नुपर्छ । विभागमा आबद्ध भएकाबाहेक खेलाडीको अवस्था त दयनीय छ,’ उनले भनिन् ।

देवीको दौड सुरुवात

झापा जिल्लास्थित धाइजनकी हुन् देवीमाया । दौडमा खासै रुचि नभए पनि सानो कदकी भएकीले शिक्षकको जोडबलमा कक्षा ८ मा छँदै उनले वीरेन्द्र शिल्डका लागि १०० मिटर दौडिइन् । स्कुलको छनोटमा सबैलाई जितिन् । जिल्लास्तरमा पनि पहिलो भइन् । त्यसपछि पूर्वाञ्चलस्तरीय वीरेन्द्र शिल्डमा दोस्रो भइन् । पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै सन् १९९४ मा वीरगन्जमा भएको ३१ औं राष्ट्रिय ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप दौडिइन् । त्यहाँ कांस्य पदक जितिन् । त्यसपछि भने देवीलाई दौडको नसा लाग्यो । ‘अब कसरी पहिलो हुने ?’ यही हुटहुटीले उनलाई धाइजनको ढुंगा बिछ्याइएको सडकमा बिहानको झिसमिसेमै दौडने जाँगर दिन थाल्यो । ‘उज्यालो हुँदा मान्छेले देख्लान् भनेर अँध्यारोमै दौडिसकेको हुन्थें । त्यो बेला गाउँमा, त्यसमाथि छोरी मान्छे खेलकुदमा लाग्दा घरपरिवार र समाजले के भन्ला भन्ने डर हुन्थ्यो । सुरुमा त मलाई घरबाटै पनि अवरोध नभएको होइन,’ उनले सुरुवाती दिन सम्झिइन् ।

उक्त च्याम्पियनसिपमा तेस्रो भएपछि चाहिँ उनी राष्ट्रिय प्रशिक्षण क्याम्पमा परेकी थिइन् । प्रशिक्षणका लागि काठमाडौंमै बस्नुपर्ने भएपछि तत्कालीन नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष रघुराज वन्तले वसन्तपुरस्थित शान्ति निकुञ्ज माविमा पढ्ने व्यवस्था पनि मिलाइदिए । दशरथ रंगशालामा प्रशिक्षक नरबहादुर दाहालबाट प्रशिक्षण लिन्थिन् । क्याम्पमै उत्कृष्ट टाइमिङ राखेपछि उनी सातौं दक्षिण एसियाली खेलकुद (मद्रास, १९९५) का लागि छानिइन् । त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिइन् । जुन उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

मद्रासमा उनको घरेलु प्रतिस्पर्धी स्प्रिन्टर बिना श्रेष्ठले १३.०९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । बिनाले भने मञ्जु श्रेष्ठले सन् १९९१ को कोलम्बो सागमा बनाएको १३.४८ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् । सागको आठौं संस्करणमा भने देवीमायाले उनै बिनाको कीर्तिमानलाई सुधारेकी हुन् । ‘त्यो बेला हामी प्रविधिमा पछाडि रहे पनि टाइमिङमा क्रमिक सुधार हुन्थ्यो । अहिले त एडभान्स ट्रेनिङ छ तर टाइमिङमा कुनै सुधार छैन,’ देवीले चिन्ता व्यक्त गरिन्, ‘हामी धेरै पछाडि परिसक्यौं । १०० मिटरमा त अहिले हाम्रा खेलाडीको टाइमिङ १०–११ सेकेन्डको हाराहारीमा हुनुपर्थ्यो । तर दुर्भाग्य, २५ वर्षदेखि एउटै टाइमिङ पछ्याइरहेका छौं ।’ 

आफूले दुःख गरेरै पनि त्यो समय स्प्रिन्टमा एकछत्र राज गरेको सुनाउँछिन् उनी । ‘काठमाडौं बस्दा मैले मैतीदेवीबाट १० वर्ष त रंगशाला पैदल नै आउजाउ गरें । त्यही बेला नै मैले छोटो दूरीको दौडमा आधिपत्य जमाएँ, पुलिस क्लबलाई राष्ट्रिय प्रतियोगितामा जहिल्यै ५ गोल्ड मेडल दिलाउँथें । सन् १९९६ देखि अमेरिका जाने दिनसम्म पनि कहिल्यै पछि परिनँ,’ उनले आफ्ना संघर्षमयी सफलताको कथा सुनाइन् । राष्ट्रिय प्रतियोगितामा राम्रो गरेपछि १४ वर्षको उमेरमै उनलाई पुलिस क्लबले करारमा लिएको थियो । बिना, मञ्जु, देवीको उपस्थितिले महिला स्प्रिन्टमा पुलिसको जगजगी थियो । पुलिसमा प्रसनि रहेका देवेन्द्र पनि देवीको दौड हेर्न रंगशाला पुगिरहन्थे । त्यहीं जाँदा–आउँदा नै उनीहरूबीच सम्बन्ध गाँसिएको थियो । आठौं सागपछि त प्रेम विवाह नै गरिहाले । 

स्प्रिन्टमा तहल्का मच्चाएर पनि देवीमायाले एसियाड भने खेल्न पाइनन् । उनको उर्वरकालमा भएका दुई संस्करण १९९८ को बैंकक एसियाडमा नेपालले लामो र मध्यम दूरीको इभेन्टमा खेलाडी मात्र पठाएको थियो भने सन् २००२ को बुसान एसियाडमा गर्भवती भएका कारण उनी सहभागी हुन पाइनन् । २००६ को दोहा एसियाड हुँदासम्म त उनी अमेरिका पुगिसकेकी थिइन् । उनले एसियन ट्र्याक एन्ड फिल्ड, वर्ल्ड च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाइन् ।

नेपालकै छिटो दौड्ने महिला भनेर चिनिनुभएकी तपाईं कसरी अमेरिका पुग्नुभयो ? देवीमायाले सुनाइन्, ‘कमाइ सामान्य नै थियो, छोरी जन्मिइसकेकी थिइन् । देशमा माओवादी द्वन्द्व चर्किरहेको थियो । श्रीमान्लाई कतिखेर कहाँ, लड्न जानुपर्ने हो थाहा हुन्थेन । अवसरको खोजीमा भएकै बेला मलाई डीभी पर्‍यो । यता, त्यही बेला देवेन्द्रजीको इन्स्पेक्टरमा नाम निस्किएको थियो तर त्यसलाई माया मार्दै अमेरिका गयौं ।’ 

१४ महिनाको बच्चा च्यापेर अमेरिका पुगेका उनीहरूले सुरुवाती दिनमा निकै संघर्ष गर्नुपर्‍यो । ‘जे सोचेर गएका थियौं, त्यो त कहाँ पाइयो र ? धेरै नै गाह्रो भयो । तर हार मानिएन । २०१३ बाट सानोतिनो व्यवसाय सुरु गरेपछि अमेरिका बसाइ सहज हुन थाल्यो,’ देवेन्द्रले भने । ग्यास स्टेसन र आइसक्रिम पार्लर चलाइरहेका उनीहरूले अहिले झन्डै १५ जनाभन्दा धेरैलाई रोजगारी दिएको बताए । त्यसमा पनि धेरै नेपाली नै छन् । अहिले आफू सात समुद्रपार रहे पनि नेपाली खेलकुद र एथलेटिक्सबाट टाढा हुन नसक्ने बताउँछिन् देवीमाया । भन्छिन्, ‘दौड त मेरो रगतमै छ । यहाँ भइराखेको भए प्रशिक्षक बन्थें होला, अब त्यो नसके पनि कुनै न कुनै माध्यमबाट एथलेटिक्ससँग जोडी नै रहनेछु । पहिला पनि ‘गेम’ हरू हुँदा सौजन्यस्वरूप पुरस्कार पठाइरहेको हुन्थें ।’ 

उनी एथलेटिक्सलाई कठिन खेलका रूपमा बुझ्छिन् । धेरै मिहिनेत गर्नुपर्ने खेलका रूपमा लिन्छिन् । खेलाडीलाई विद्यालयस्तरदेखि नै ट्रेनिङमा राखेर राष्ट्रियस्तरमा ल्याउन सुझाउँछिन् उनी । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully