४२ वर्षअघि सुरु भएको हुलास स्टिल रंगीन जस्तापाता उत्पादनमा दक्षिण एसियाकै पहिलो उद्योग हो, १० करोडबाट यात्रा सुरु गर्दै हाल १० अर्बको लगानीमा विस्तारित भइसकेको छ, हुलासका स्टिल जस्तापाताले नेपाली बजारको कुल मागको ४० प्रतिशत हिस्सा ओगटेको छ
काठमाडौँ — चालीसको दशकदेखिको एउटा चर्चित विज्ञापन छ– ‘हुलास भए... अरू किन खोज्ने ?’ यो विज्ञापन नसुन्ने सायदै कोही छन् । अहिले पनि यो विज्ञापन बजिरहेकै हुन्छ । सबैतिर चर्चा कमाएकाले होला, कम्पनीले यसलाई आफ्नो ‘स्लोगन’ नै बनाएको छ । हुलास स्टिलले अहिले पनि यही ‘स्लोगन’अनुसार आफ्ना उत्पादनको बजारीकरण गरिरहेको छ ।
चार दशकअघि तराई–पहाडका धेरैजसो घरका छाना खरका हुन्थे । गर्मीयाममा आगलागी हुने सम्भावना उत्तिकै हुन्थ्यो । १९७० तिर गोल्छा समूहको विराटनगरमा जुट मिल थियो । उसले जुट प्रेस पनि सञ्चालन गरेको थियो । १९८० मा जुट मिलमा ठूलो आगलागी भयो । जुटमिलसँगै वरिपरिका घर पनि जले । यसको कारण पनि उही थियो— ‘खरको छानो’ ।
भीषण आगलागीपछि कोलकाता अनि सिलिगुडीदेखि दमकल ल्याएर आगो नियन्त्रणमा लिनुपरेको कुरा बुबाले सुनाएको हिमांशु गोल्छा सम्झिरहन्छन् । सर्वसाधारण मात्र होइन, उद्यमीलाई पनि आगलागीको यही जोखिम देखेर उद्यमी दिवाकर गोल्छाले एउटा उपाय निकालेका थिए— नेपालमा स्टिल उद्योग खोल्ने । ‘गाउँ नै ध्वस्त भएपछि पिताजीले हुलास स्टिल उद्योग खोल्ने सोच बनाउनु भएको रहेछ,’ हुलास स्टिलका निर्देशक हिमांशु भन्छन्, ‘खरको छानोलाई विस्थापित गर्न के गर्न सकिन्छ भनेर उहाँले देशविदेशमा समेत पुगेर अध्ययन गर्नुभएछ । र, स्टिल उद्योग सञ्चालनबारे निर्णय लिनुभएछ । पर्साको सिमरामा उद्योग लगाउनुभएछ ।’ यो सन् १९८२ को कुरा हो ।
त्यस बेला गोल्छा परिवारले अस्ट्रेलियाबाट ‘कलर कोटेड’ पाता ल्याएर बिक्री वितरण गर्थ्यो । त्यही हेरेर नेपालमा पनि उद्योग स्थापना भएको हिमांशु सुनाउँछन् । ‘आयात मात्रै नभई स्वदेशमै केही गर्नुपर्छ भन्ने बुबा (दिवाकर गोल्छा) को सोच बन्यो । तर त्यस बेला गतिलो प्रविधि थिएन, दर्तापछि उद्योग सञ्चालन गर्न व्यापक लगानी चाहिन्थ्यो । तर जे जसरी भए पनि यसलाई बुबाले पार लगाएको उनको भनाइ छ ।
नेपालमा स्टिल उद्योग स्थापनाका लागि गोल्छा अर्गनाइजेसनले पहिलो पटक प्रत्यक्ष विदेशी लगानी (एफडीआई) ल्याएको हिमांशुले जनाए । उद्योग स्थापनाताका नेपालमा बैंकिङ प्रणाली राम्रो थिएन । नेपालबाट ऋण लिन पनि गाह्रो थियो । त्यसबेला जापानकै बैंकबाट ऋण लिएर हुलास स्टिल उद्योग स्थापना गरिएको उनले बताए । ‘त्यसेबला प्रविधि थिएन, इन्टरनेट पनि थिएनन् । सूचना प्रवाहमा समस्या थियो । भ्रमणका क्रममा बुबासँग एक जापानिजसँग भेट भयो । भेटमा जापानको कम्पनीबाट जस्तापाता उत्पादन गर्न सकिने भन्ने जानकारी पाउनुभयो,’ हिमांशु गोल्छा भन्छन्, ‘त्यसपछि बुबा जापान पुग्नुभयो । जापानकै कम्पनीमार्फत कमक्राफ्ट ग्रुपसँग सम्पर्क बढ्यो । र, जापानकै बैंकबाट ऋण लिन सफल हुनुभयो ।’
कमक्राफ्ट नामक कम्पनीले अफ्रिकासहित विभिन्न मुलुकमा जस्तापाता उत्पादन, बिक्री गर्दै आएको छ । १९८२ तिर पनि कमक्राफ्टले अफ्रिका, भारत, युरोप, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा मुलुकमा बिक्री गरेको थियो । ‘यही कम्पनीको सहयोगमा हुलासको रंगीन जस्तापाता उत्पादन सुरु गर्यौं,’ गोल्छा भन्छन्, ‘र, नेपालमा दक्षिण एसियाकै पहिलो रंगीन जस्तापाता उत्पादन गर्ने उद्योग बन्यौं ।’
हुलास स्टिलले रंगीन जस्तापाता उत्पादन गर्दा भारतमा समेत उत्पादन थिएन । त्यसपछि हुलासले नेपाली बजारसँगै भारतको गोवा, कश्मीर, सिलिगुडी, दार्जिलिङलगायत ठाउँमा निर्यात गर्न थाल्यो । नेपालमा उत्पादन गरी भारत निर्यात गर्न पाउँदा गर्वको विषय बनेको निर्देशक हिमांशु बताउँछन् । ‘सन् १९९० तिर भारतमा रंगीन जस्तापाता उत्पादन भएको थिएन । स्वदेशको मागलाई पूर्ति गर्दै भारतको गोवा, कश्मीर, सिलिगुडी, दार्जिलिङलगायत ठाउँमा पनि निर्यात गर्न सफल भएका थियौं । नेपालको उत्पादन भारतमा पठाउन पाउँदा गर्वको कुरा थियो,’ उनी भन्छन्, ‘अहिले पनि भारतीय सेनाको कलर कोड हुलास ग्रिन भनेर निर्दिष्ट गरिएको छ, यो सम्पूर्ण नेपालीले गौरव गर्ने कुरा पनि हो ।’
सुरुमा उत्साहजनक रूपमा भारत निर्यात भए पनि बीचमा निर्यात हुन सकेन । भारतमा पनि उत्पादन र प्रतिस्पर्धा बढ्दै गयो । त्यहीबेला नेपालमा लोडसेडिङको समस्या हुन थाल्यो । तर जस्तापाताको माग स्वदेशमा बढ्न थालेको थियो । यी कारण हुलासको रंगीन जस्तापाता स्वदेशमै केन्द्रित गरेको हिमांशु बताउँछन् । ‘भारतमा उत्पादन नहुँदा त्यता पनि निर्यात गर्यौं । पछि भारतमा उत्पादन बढ्दै गयो, प्रतिस्पर्धा सुरु भयो । नेपालमा पनि माग बढ्दै थियो, तर विद्युत्को समस्याले भने जस्तो उत्पादन गर्न सकेनौं,’ उनी थप्छन्, ‘त्यही कारण भारतमा प्रतिस्पर्धा गर्न सकेनौं । पहिलो प्राथमिकता नेपाललाई नै दिएर उत्पादन तथा बिक्री गर्यौं ।’
पछिल्लो समय भारतमा फेरि बजार बिस्तार भएको छ । सन् २०२१ मा भारतको गुवाहाटी, सिलिगुडी लगायत ठाउँमा धेरै जस्तापाता निर्यात गरेको हिमांशुले बताए । त्योबाहेक भारतको बिहार, दिल्लीमा हुलास जस्तापाताको बजार माग बढेको छ । भारतसँगै युरोप र अमेरिकामा पनि बजारको खोजी सुरु भएको उनले बताए । ‘युरोप र अमेरिकामा पनि निर्यातको योजना भइराखेको छ, त्यसका लागि गृहकार्य जारी छ,’ हिमांशुले भने ।
गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास स्टिलको उत्पादन सन् १९८२ मा सुरु भएको थियो । २०७२ सालबाट भने दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गत हुलास स्टिल उत्पादन हुँदै आएको छ । ‘हजुरबुबाको पालामा गोल्छा अर्गनाइजेसन सुरु भयो । १९८२ मा बुबाले हुलास स्टिल उद्योग सञ्चालनमा ल्याउनुभयो,’ हुलास स्टिल उद्योगका निर्देशक हिमांशु भन्छन्, ‘परिवार ठूलो थियो । २०७२ सालतिर व्यापार, उद्योग बाँडफाँट भयो । त्यसपछि दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गत हुलास स्टिल सञ्चालनमा छ ।’
***
मुलुकभित्र ५ उद्योगले जस्तापाता उत्पादन गर्दै आएका छन् । पहिलो उद्योग भने हुलास स्टिल नै हो । पहिलो उद्योग भएकै कारण स्थापनाकालमा धेरै उतारचढाव भोगेको हिमांशु बताउँछन् । ‘हुलास स्टिलको यात्रा ४२ वर्ष पूरा भएर ४३ वर्षमा लागेको छ । यसबीचमा धेरै समस्यासँग जुध्न पर्यो,’ हिमांशु भन्छन्, ‘उद्योग स्थापना हुँदा सिमरा क्षेत्र जंगलजस्तै थियो । उद्योग सञ्चालनलाई चाहिने कच्चा पदार्थ थिएन । सबै आयातमै निर्भर हुनुपर्ने बाध्यता रह्यो ।’
स्थापनाकालमा उद्योगका लागि चाहिने सामान किन्न परे धेरै टाढा जानुपर्थ्यो । सानो स्पेयरपार्टस् होस या कच्चा पदार्थ सबै आयात गर्नुपर्थ्यो । कच्चा पदार्थसँग प्राविधिक कर्मचारी पनि विदेशबाटै ल्याउनुपरेको हिमांशु बताउँछन् । उद्योगमा जापानको प्रविधि जडान भएकाले त्यहींको कर्मचारी ल्याएर हुलास स्टिल उद्योग सञ्चालन भएको उनले बताए । ‘बिस्तारै नेपाली कर्मचारीले पनि सिके । अहिले धेरैजसो प्राविधिक कर्मचारीमा नेपाली नै छन्,’ उनले भने । विगतमा जापान, चीन, कोरिया लगायतबाट कच्चा पदार्थ आयात हुन्थ्यो । अहिले पनि भारतबाटै आयात हुन्छ । कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्न सके लागत धेरै कम हुने जनाएको छ ।
तर, कच्चा पदार्थको प्लान्ट लगाउँदा अचाक्ली महँगो हुने हिमांशुको बुझाइ छ । ‘नेपालमा एचआर कोइलाको वार्षिक खपत ४/५ लाख टन हो । प्लान्ट लगाउँदा खर्च ५ गुणा बढ्छ । लगानी पनि त्यही अनुसार गर्नुपर्छ । विद्युत् धेरै चाहिन्छ,’ उनले भने, ‘यी कारण तत्काल सम्भावना नभए पनि भविष्यमा भन्न सकिँदैन, तर सम्भावना कम छ ।’
२०७२ को भूकम्पले पनि धेरै पाठ सिकाएको उनले बताए । भूकम्पका बेला नेपालका धेरै घरहरूमा क्षति पुग्यो । जस्तापाताको माग बढ्यो । सबैतिर जस्तापाता पुर्याउन चुनौती थियो । ‘सबै कर्मचारीले धेरै मिहिनेत गरेर एक महिनामा १० हजार टन जस्तापाता उत्पादन गर्न सफल भयौं, त्यो एक किसिमको रेकर्ड नै थियो,’ निर्देशक हिमांशु भन्छन्, ‘सही मूल्यमा गुणस्तरीय जस्तापाता सबैतिर पुर्याउनुपर्ने चुनौती थियो । सबैको सहयोगले सफल भयौं ।’ त्यस्तै, २०४५ सालको भूकम्पमा पनि धेरै योगदान गरेको जनाएको छ ।
माओवादी द्वन्द्वकालमा पनि उद्योग सञ्चालन गर्न धेरै गाह्रो भएको उनी बताउँछन् । ‘त्यसबेला बन्द हडताल हुन्थ्यो । कर्मचारीहरू उद्योगसम्म आइपुग्न पनि धेरै कठिन हुने,’ उनले भने, ‘त्यस्तै, नाकाबन्दी र १६ घण्टाको लोडसेडिङ पनि अर्को ठूलो समस्या थियो ।’ लोडसेडिङकै कारण करिब ७ मेगावाट फ्याक्ट्रीमा राख्नुपरेको उनले बताए ।
‘अहिले पनि ट्रान्समिसन लाइनको नेटवर्क बलियो नहुँदा समय समयमा लोडसेडिङ खेप्नुपरेको छ,’ गोल्छाले भने । पछिल्लो समय कोभिडले पनि उद्योगलाई समस्यामा पारेको छ । करिब ३ सय कर्मचारीलाई उद्योगभित्रै बस्ने व्यवस्था मिलाएर काम गरेको हिमांशुले बताए । उनका अनुसार पुरानो उद्योग भएकाले स्थानीयबाट पनि समस्या छैन । स्थानीय सरकारले सहयोग गर्दै आएको छ । ‘छेउछाउकालाई उद्योगको आवाजले समस्या थियो । ३/४ वर्षयता डिजेल, कोइलाको खपत घटाएर विद्युतीय खपत बढाएका छौं,’ उनले भने, ‘यसले वातावरणमैत्री पनि बनेको छ ।’
***
१० बिघा क्षेत्रफलमा सञ्चालित यस उद्योग स्थापना करिब १० करोडमा भएको थियो । त्यसबेला करिब ४० जनाले रोजगारी पाएका थिए । उद्योगको वार्षिक उत्पादन क्षमता ५ देखि ६ टन मात्रै थियो । अहिले प्रविधि र लगानी विस्तार गरिएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता पनि बढेर वार्षिक १ लाख टन पुगेको छ । लगानी करिब १० अर्ब पुगेको छ । अहिले उद्योगमा १२ सय कर्मचारीले रोजगारी पाएका छन । तीमध्ये ८ सय कर्मचारी त स्थायी नै छन् ।
‘४३ वर्षको दैरानमा करिब १० करोडको लगानी बढाएर १० अर्ब पुर्याएका छौं । लगानी विस्तारसँगै उत्पादन क्षमता पनि १ लाख टन पुगेको छ,’ निर्देशक भन्छन्, ‘गत आर्थिक वर्षमा ५५ हजार टन उत्पादन गर्यौं, जसमध्ये २५ हजार टन निर्यात गर्न सफल भएका छौं ।’ गत वर्ष २ अर्बको निर्यात भएको थियो । चालु आर्थिक वर्षमा निर्यात थप बढ्ने गोल्छाको दाबी छ । बजारमा जस्तापाताको मागमध्ये हुलासले मात्रै ४० प्रतिशत ओगटेको छ । सबैभन्दा अगाडि हुनुका एकमात्रै कारक गुणस्तरीय उत्पादन रहेको उनको दाबी छ । हुलासले जापानको प्रविधि अपनाएको छ । जस्तापाता कोटिङको क्रममा गुणस्तरमा कहिलै सम्झौता नगरेको हिमांशुको दाबी छ । यही कारण सर्वसाधारणले धेरै रुचाएको उनको भनाइ छ ।
‘मुख्य कारण उपभोक्तामा विश्वास छ । हुलासले जे भन्छ, त्यही दिन्छ भन्ने छ । कम्पनी गुणस्तरमा सधैं सचेत पनि छ, त्यही भएर हाम्रो साख जोगिएको छ,’ उनी भन्छन्, ‘हुलास जस्तापातामा अहिले पनि ३५ माइक्रोन पीपीको कोटिङ हुन्छ । यो सबैभन्दा धेरै कोटिङ हो । त्यही कारण एक पटक प्रयोग गरेका उपभोक्ताले सधैंभरि हुलास रोज्ने गरेका छन् ।’ तर बजारको पछिल्लो अवस्थादेखि निर्देशक हिमांशु सन्तुष्ट छैनन् । भन्छन्, ‘जस्तापाताको माग खुम्चिएको छ । २०२१/२२ सम्म बजारको वार्षिक माग २ लाख टन थियो । अहिले घटेर १ लाखमा झरेको छ ।’ माग घट्नुको एउटा मात्रै कारण निर्माण सुस्त रहेको उनको भनाइ छ । ‘नेपालमा पुनर्निर्माणको काम सुस्त छ । घरहरू त्यति बनेको छैन । निर्माणको काम सुस्त हुँदा डन्डी, सिमेन्टको समेत माग घटेको छ,’ उनी भन्छिन्, ‘यी वस्तुको माग घट्दा स्वाभाविक रूपमा जस्तापाताको पनि घट्ने भयो ।’
***
भूकम्पपछि बजारमा जस्तापाताको माग ह्वात्तै बढ्यो । आयात सजिलो बनाउन सरकारले जस्तापाताको एनएस चिह्न पनि खारेज गरेको थियो । तर हालसम्म एनएस लागू भएको छैन । एनएस नहुँदा कतिपयले गलत मार्केटिङ गरेको निर्देशक हिमांशुले बताए । ‘एनएस लागू नहुँदा कतिपयले गलत मार्किङ गरेर सामान बेचेका हुन्छन् । सर्वसाधारणले यस्तो कुरा बुझ्दैन । स्वच्छ प्रतिस्पर्धा गर्न पनि समस्या हुन्छ,’ उनले भने, ‘गुणस्तर चिह्नका लागि पहल जारी छ, तर अहिलेसम्म कार्यान्वयन भएको छैन । स्वच्छ बजारका लागि गुणस्तर आवश्यक पनि छ ।’
बजारमा पाइने जस्तापाताको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । किनभने जस्तापातामा चाहिने कच्चा पदार्थ सबै आयात हुन्छ । तर बजारमा प्रतिस्पर्धा हुँदा त्यसले पनि मूल्य निर्धारणमा केही मद्दत गर्छ । जस्तापाता प्रयोग गरेपछि त्यसको पनि आयु हुन्छ । ‘जस्तापाताको लाइफसाइकल हेर्दा अन्यका तुलनामा हुलासको मूल्य सस्तो पर्छ । हुलासको जस्तापाता १० देखि १५ वर्षलाई टिक्छ,’ उनले भने, ‘तर एनएस अनिवार्य नहुँदा गलत मार्केटिङ भएको छ ।’
हिमांशुका अनुसार हुलास स्टिलले ग्याल्भनाइज जस्तापातासँगै विभिन्न रंगमा रंगीन जस्तापाता पनि उत्पादन गर्छ । स्टिलको भवनका लागि पनि जस्तापाता बनाएको जनाएको छ । उत्पादित जस्तापाता काठमाडौंको २२ वटा बिक्री डिपोबाट बिक्री हुन्छ । धनगढीदेखि बिर्तामोडसम्म ११ वटा ब्रान्च अफिस पनि छ । त्यहाँबाट सानो डिलर र सर्वसाधारणलाई वितरण हुन्छ । त्यस्तै करिब २ सय आधिकारिक डिलरमार्फत पनि बिक्री भएको जनाएको छ ।
गोल्छाका अनुसार कम्पनी स्थापना गर्दाको उद्देश्य जस्तापाता भए पनि नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याएको जनाएको छ । ‘विगतमा नेपाल विद्युत् प्राधिकरणले अस्ट्रेलियाबाट पोल आयात गर्दै आएको थियो । हुलासले नेपालमै बनाएर उपलब्ध गरायो । नेपाल टेलिकमको टावर पनि बनाइदियो, यीबाहेक धेरै झुलुङ्गे पुल निर्माण गरेका छौं,’ उनले भने । त्यस्तै, सरकारलाई वार्षिक २ अर्ब बढी राजस्व बुझाएको छ । ०७८/७९ मा सरकारलाई २ अर्ब ९५ करोड राजस्व तिरेको थियो । ०७९/८० मा २ अर्ब २३ करोड तिरेको जनाएको छ ।
