डेढ दशकदेखि देश-विदेशका परिकार पस्किरहेको फुडमान्डु

चालु आर्थिक वर्षमा मात्रै फुडमान्डुले ७५ करोड रुपैयाँको खानाको अर्डर लिएको थियो । प्रतिदिन औसत २ हजारवटा अर्डर यसले धानिरहेको छ भने हालसम्म साढे तीन लाख मानिसलाई घर–घरमै खाना पुर्‍याएको छ

असार ३०, २०८१

सजना बराल

Fudmandu has been cooking national and international dishes for a decade and a half

काठमाडौँ — धेरैलाई याद नहुन सक्छ, नेपालमा फुड डेलिभरी कम्पनीका रूपमा ‘फुडमान्डु’ सुरु हुँदा भारतमा अहिले चल्तीमा रहेका जोम्याटो, स्विगी, फुडपान्डाजस्ता कम्पनी पनि भर्खर सुरु हुँदै वा सुरु हुने तयारीमा थिए । अहिले स्विगी र जोम्याटो भारतका सबैभन्दा चलेका खाद्य–प्रविधि (फुड–टेक) कम्पनी हुन् भने भारतको फुड डेलिभरी बजारको आकार करिब ६६ हजार करोड भारु पुगेको छ । जोम्याटोको बजार हिस्सा ५६–५७ प्रतिशत र स्विगीको करिब ४५ प्रतिशत छ ।

नेपालमा फुडमान्डु, भोज डिल्स र पठाओ फुड चलेका फुड–टेक कम्पनी हुन् । तर, यहाँको फुड डेलिभरी बजार कत्रो छ, कुन कम्पनीको बजार हिस्सा कति हो, रोजगारी सिर्जना, उपभोक्ताको कुल संख्या, अर्थतन्त्रमा योगदान के–कति छ भन्नेबारे यकिन तथ्यांक छैन । भारतको फुड डेलिभरी बजारको आकार सन् २०३० सम्ममा २ लाख करोड भारु नाघ्ने प्रक्षेपण गरिएको छ । त्यहाँको जनघनत्व, सहरिया जीवनशैली, डिजिटल अर्थतन्त्रको व्यापक विस्तारको तुलनामा नेपाल धेरै पछाडि छ । तथापि, नेपालको फुड डेलिभरी बजार पनि प्रशस्त सम्भावना भएको र पछिल्ला वर्षमा निरन्तर वृद्धि भइरहेको क्षेत्रका रूपमा देखिएको छ ।

सन् २०१० ताका सुरु भएको ‘फुडमान्डु’ फुड डेलिभरी क्षेत्रमा औसत कारोबार र व्यवसायको आकारका हिसाबले स्थानीय बजारमा अग्रणी अवस्थामा रहेको कम्पनीको दाबी छ । चालु आर्थिक वर्षमा मात्रै फुडमान्डुले ७५ करोड रुपैयाँको खानाको अर्डर लिएको थियो । यो ४० प्रतिशतको वार्षिक वृद्धि हो । आउँदो वर्ष १ अर्ब रुपैयाँभन्दा बढीको अर्डर डेलिभरी गर्ने कम्पनीका संस्थापक तथा प्रबन्धनिर्देशक मनोहर अधिकारीले बताए । प्रतिदिन औसत २ हजारवटा अर्डर फुडमान्डुले धानिरहेको छ भने हालसम्म साढे तीन लाख मानिसलाई घर–घरमै खाना पुर्‍याएको छ । ‘हामीले गरेको बिजनेस फुड डेलिभरी क्षेत्रले गरेको बिजनेसको एउटा सानो हिस्सा हो,’ मनोहर भन्छन्, ‘भारतसँग तुलना गर्न सकिँदैन तर फुड डेलिभरीको समग्र बजार आकार नेपालमा पनि ठूलै छ ।’

Fudmandu has been cooking national and international dishes for a decade and a halfअहिलेको आर्थिक मन्दीमा समेत बजार वृद्धिले गर्दा कम नोक्सानी झेल्नुपरेको मनोहरले सुनाए । ‘आर्थिक मन्दीले अन्य क्षेत्रलाई जस्तो ई–कमर्स र फुड–टेक क्षेत्रलाई पनि असर त गरेको छ तर बजार वृद्धि निरन्तर भइरहेकाले हामी मन्दीबाट तुलनात्मक रूपमा कम प्रभावित छौं,’ उनले भने, ‘हामीले गरिरहेको व्यवसाय आधारभूत आवश्यकताभन्दा अलिकति माथिको हो । धेरै जनाका लागि यो अतिरिक्ति आम्दानी खर्च गर्ने खालको ठाउँ भएकाले मन्दीको सिधा र व्यापक असर हामीले भोग्नुपरेको छैन ।’

पछिल्लो एक/डेढ वर्षयता ग्राहकको खर्च गर्ने प्रवृत्ति (स्पेन्डिङ बिहाभियर) मा भने परिवर्तन आएको मनोहरको बुझाइ छ । अचेल मान्छेले रेस्टुरेन्टको खानामा पहिलेभन्दा कम खर्च गरिरहेको उनले बताए । अनलाइनबाट पटक–पटक खाना अर्डर गर्ने ‘ग्राहक फ्रिक्वेन्सी’ बढे पनि अर्डरको साइज ५/१० प्रतिशतले घटेको उनले महसुस गरेका छन् । यसका साथै, विदेश जाने प्रवृत्तिले गर्दा आफूहरूका युवा ग्राहक टाढिएकामा उनले चिन्ता प्रकट गरे ।

Fudmandu has been cooking national and international dishes for a decade and a half‘देश छोडेर जाने ग्राहकका कारण परेको प्रभाव पनि हामीले महसुस गरेका छौं,’ मनोहर भन्छन्, ‘हाम्रो ग्राहक आकार प्रभावित भएको छ, कर्मचारी व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ ।’ तथापि, कोभिड–१९ महामारीयता अनलाइन बिजनेस जुन हिसाबले वृद्धि भइरहेको छ, यसले काम गर्ने ऊर्जा र आशा थपिरहेको मनोहर बताउँछन् । ब्रोडब्यान्ड इन्टरनेटको विस्तार, स्मार्टफोन प्रयोगकर्ताको उल्लेख्य वृद्धि, डिजिटल भुक्तानी प्रणालीमा बढेको अभ्यस्तताजस्ता डिजिटाइजेसनको माहोलले अनलाइन बिजनेस र समग्र डिजिटल अर्थतन्त्र माथि उठिरहेको मनोहरको विश्लेषण छ ।  

बढ्दो अनलाइन प्रवृत्ति

मनोहरले फुडमान्डु सञ्चालन गरेको १४ वर्ष भयो । यो अवधिमा उपभोक्ताको रुचि, चेतनास्तर र आनीबानीमा ठूलो परिवर्तन आएको उनी पाउँछन् । उनले ‘अनलाइन बिजनेस’ भनेर सुरु गरेको भए पनि त्यस बेला विशुद्ध अनलाइन माध्यमबाट व्यवसाय सञ्चालन हुँदैन थियो । बढी मात्रामा ल्यान्डलाइन टेलिफोनबाट अर्डर आउँथे । अहिले डिजिटल साक्षरता र डिजिटल प्रविधिको स्विकार्यता बढेसँगै खाना अर्डर गर्ने शैलीमा रूपान्तरण भएको मनोहरको अनुभव छ । ‘पहिला मुस्किलले १० प्रतिशत अर्डर अनलाइन माध्यमबाट आउँथ्यो भने अहिले ५ प्रतिशतभन्दा कम मात्रै परम्परागत टेलिफोनलगायत माध्यमबाट आउँछन्,’ उनी भन्छन्, ‘९५ प्रतिशत अनलाइन र त्यसमा पनि मोबाइल एपबाट आउँछन् ।’

Fudmandu has been cooking national and international dishes for a decade and a halfतस्बिरहरू : दीपक केसी/कान्तिपुर

अधिकांशले डिजिटल माध्यमबाट बिल तिर्ने गरेको र कम्पनीको समग्र इकोसिस्टममै सकारात्मक परिवर्तन आएको उनले बताए । पहिला ग्राहक, रेस्टुरेन्ट र डेलिभरी कर्मचारीलाई अनलाइन फुड डेलिभरीबारे बुझाउन कसरत गर्नुपर्नेमा अहिले यी समस्या हटेर गएका छन् । ‘डेलिभरीका लागि स्टाफ पाउन मुस्किल हुन्थ्यो, यस्तो किसिमको रोजगारी पहिला थिएन,’ मनोहर भन्छन्, ‘यी कुरामा बुझाइ बढेसँगै हामीलाई काम गर्न धेरै सजिलो भएको छ ।’

खाना बनाउनुपर्ने वा खाना पाकुन्जेल पर्खिनुपर्ने बाध्यताबाट छुट्कारा दिलाएर फुडमान्डुले सहरिया जीवनशैलीलाई सहज बनाउन अग्रणी भूमिका खेलेकामा जस पाउने गरेको छ । फुड डेलिभरी कम्पनीको उदयसँगै नेपालमा खानपानको शैली, रेस्टुरेन्ट जाने चलन, खाद्यान्न उपभोगमा समेत व्यापक परिवर्तन आएको मनोहरको दाबी छ । उनका अनुसार नेपाल मात्रै होइन, अन्य देशमा पनि ‘रेस्टुरेन्ट कल्चर’ विकास गर्न फुड डेलिभरी प्लाटफर्मले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

के खाने, के मगाउने भन्ने ट्रेन्डचाहिँ समयअनुसार फेरिँदै जाने उनले बताए । अहिले काठमाडौं उपत्यकामा एसियन र त्यसमा पनि किम्बाब, बिबिम्बाब, रामेनजस्ता कोरियन खानामा मान्छेको रुचि बढेको र पहिलाको तुलनामा अहिले विभिन्न देशका थुप्रै थरी परिकार नेपालमा उपलब्ध भएको जानकारी दिए । फुडमान्डुको प्लाटफर्ममार्फत स्थानीय जातजातिका स्वदेशी परिकार प्रवर्द्धन गर्न विशेष योजना ल्याउने तयारी गरिरहेको उनले बताए ।

फुडमान्डुको सेवा हाल काठमाडौं उपत्यकासँगै पोखरा र चितवनमा पनि छ । कम्पनीले २ हजारभन्दा धेरै रेस्टुरेन्टसँग व्यावसायिक साझेदारी गरेको भए पनि १४ वर्षको अवधिमा तीमध्ये ४० प्रतिशत रेस्टुरेन्ट बन्द भइसकेको मनोहरले बताए । हाल सक्रिय रेस्टुरेन्ट एक हजारभन्दा माथि रहेको पनि उनले जानकारी दिए । कम्पनीमा कस्टमर सर्भिस, एडमिन, मार्केटिङ विभागका गरेर १२० कर्मचारी छन् ।

डेलिभरी कर्मचारी भने फुडमान्डुबाटै तलब बुझ्ने ३ सय जति छन् । कुनै बेला मनोहरले तीन जना स्टाफ राखेर सुरु गरेको कम्पनीले हाल साढे ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । बिहान ८ देखि राति १० बजेसम्म खाना मगाउन सकिन्छ । डेलिभरी शुल्क १ देखि २ किलोमिटरसम्म २५ रुपैयाँ र त्यसपछि किलोमिटरअनुसार थप हुँदै जाने भए पनि यसलाई अझै घटाउने तयारी रहेको मनोहरले बताए । 

Fudmandu has been cooking national and international dishes for a decade and a halfसेवा सञ्चालनको झन्डै डेढ दशक बितिसक्दा पनि फुडमान्डु नाफामा गएको छैन, घाटामै चलिरहेको छ । बजार परिपक्व नभएसम्म नाफा–केन्द्रित नहुने फुडमान्डु व्यवस्थापनको अठोट छ । देशका अन्य सहरमा सेवा विस्तारका लागि गृहकार्य गरिरहेको र खानासँगै किराना सामग्री डेलिभरीलाई थप व्यवस्थित बनाउने कम्पनीको तयारी छ । ‘नाफामा मात्रै ध्यान दिएको भए, हामी यहाँसम्म आइपुग्दैन थियौं,’ मनोहर भन्छन्, ‘कोभिडका बेला, एउटा यस्तो समय आयो, जतिबेला बिजनेस सञ्चालन गर्नुभन्दा नगर्नुमै फाइदा थियो । लागत जुटाउनेदेखि स्वास्थ्य सुरक्षा कायम गर्न गाह्रो थियो । तर, हामीले अडिग भएर काम गर्‍यौं । कस्टमर र रेस्टुरेन्ट दुवै कठिन परिस्थितिमा रहेका बेला सेवा दियौं ।’

कोभिडका बेला माग असाध्यै उच्च भए पनि ‘अपरेसनल च्यालेन्ज’ धेरै भएकाले माग धान्न नसकेको उनी सम्झन्छन् । त्यही बेला कम्पनीको सर्भरमा अनधिकृत पहुँच कायम गरी ह्याकरले करिब ५० हजार व्यक्तिसँग सम्बन्धित डेटा सार्वजनिक गरिदिए । ती डेटामा प्रयोगकर्ताको नाम, फोन नम्बर, इमेल ठेगानालगायत घरको अक्षांशीय–देशान्तरीय ठेगानासमेत थियो ।

मार्टिन चौतारीले प्रकाशन गरेको ‘नेपालमा डेटा संरक्षणको अवस्था’ प्रतिवेदनमा फुडमान्डुका संस्थापक अधिकारीले ह्याकिङ भएको जानकारी भएपछि साइबर सुरक्षाको काम गर्ने एउटा कम्पनीसँग सेवा लिइएको, मोबाइल एपमा रहेको छिद्र टाल्नुका साथै अरू समस्या पनि समाधान गरेको र निरन्तर साइबर सुरक्षा कम्पनीसँग सेवा लिइएको बताएका थिए । ‘सूचना प्रविधि क्षेत्रमा शतप्रतिशत सुरक्षा निर्धारण गर्न सम्भव हुँदैन तर हामीले त्यो घटनापछि ग्राहकको डेटा सुरक्षित राख्न, प्रणाली बलियो बनाउन धेरै सतर्कता अपनाएका छौं,’ मनोहरको दाबी छ । 

कानुनी स्पष्टताको खाँचो

संघीय संसद्को राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफलकमा क्रममा रहेको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का कतिपय प्रावधान चित्त बुझ्दो नभए पनि ई–कमर्स क्षेत्रलाई नियमन गर्ने कानुन अत्यावश्यक भएकाले यो विधेयकलाई यथाशीघ्र कानुनी मान्यता दिनुपर्ने मनोहरको राय छ । ‘अहिलेसम्म त हाम्रो बिजनेस के बिजनेस हो भनेर पहिचान नै भएको छैन, हामी केअन्तर्गत पर्छौं भन्ने प्रस्ट छैन, कमसेकम यो विधेयक पारित भएर कानुन बनेदेखि हामीलाई एउटा स्पष्टता हुन्थ्यो,’ उनले भने, ‘त्यसलाई सुधार गर्नुपर्ने ठाउँ धेरै छन् तर केही नहुनुभन्दा केही हुनु नै राम्रो हो ।’ 

Fudmandu has been cooking national and international dishes for a decade and a halfयससँगै ई–कमर्स क्षेत्रले सिर्जना गरेका रोजगारीलाई सम्बोधन गर्ने गरी श्रम कानुन संशोधन गर्नुपर्ने उनको सुझाव छ । ‘डेलिभरी, कुरियर सर्भिसमा यति धेरै रोजगारी सिर्जना भइरहेको छ तर त्यो सबै रोजगारी पहिचान गर्ने, तिनको कानुनी अवस्था के हो भन्ने कुराको स्पष्टता छैन,’ उनले भने, ‘यसले गर्दा इमानदारीपूर्वक काम गर्नेलाई गाह्रो भएको छ । सरकारले पनि राजस्व गुमाइरहेको छ । कर्मचारीले आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनन् ।’

पछिल्लो समय रोजगारी बजारमा छोटो अवधिका लागि काम गर्ने प्रवृत्ति बढिरहेकाले कानुन बनाउँदा यो विषय ध्यानमा राखेर व्यावहारिक किसिमका प्रावधान ल्याउनुपर्ने सुझाव दिए । छोटो अवधिका लागि काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षा कोषजस्ता सुविधामा संलग्न गराउँदा ती कर्मचारीले कोषको रकम आफ्नै हो भने महसुससमेत गर्न नपाएको मनोहर बताउँछन् ।

‘हाम्रा प्रायः कर्मचारी लामो अवधिका लागि काम गर्न आउँदैनन्, एक हप्ता वा एक/दुई महिना जागिर गरेर छोड्छन्, उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुको अर्थ छैन तर नगरी पनि भएन,’ उनले भने, ‘आबद्ध गरेपछि रकम जम्मा हुन्छ, जुन उनीहरूले ६० वर्षपछि मात्र झिक्न पाउँछन् । दुई महिना काम गर्नुपर्नेछ, कम्पनीले पैसा दिएको छ तर ६० वर्षपछि आउने भएकाले उनीहरूलाई त्यो पैसा पाएको महसुस भइरहेको छैन । यस्ता विषयको व्यावहारिक हल खोज्न आवश्यक छ ।’ 

अहिले सहरी जनसंख्यामा अनलाइन फुड डेलिभरीबारे जानकारी नभएका कमै भए पनि अनलाइन फुड अर्डर नगर्नेको संख्या उल्लेख्य भएको मनोहरको बुझाइ छ । यसले गर्दा आफूहरूका लागि बजार अझै पर्याप्त बाँकी रहेको उनले ठानेका छन् । यसका साथै फुड–डेलिभरी कम्पनीबीच प्रतिस्पर्धासमेत बढिरहेको छ । रेस्टुरेन्टहरू आफैंले निजी रूपमा डेलिभरी सेवा दिन थालेका छन्, क्लाउड किचेन सञ्चालन गर्नेहरूले पनि फुड डेलिभरी सेवा दिने प्रवृत्ति बढेको छ । यसले बजार विस्तारमा सहयोग पुगेको छ ।

यस्तो अवस्थामा ग्राहकको ‘अर्डर’ गर्ने ‘फ्रिक्वेन्सी’ अझै बढ्ने मनोहरको अनुमान छ । ‘हामी हाम्रा प्रतिस्पर्धीभन्दा अनुभवी छौं, सेवा सुविधामा कन्सिस्टेन्सी छ, प्रेडिक्टेबल र डिपेन्डेबल छौं, यो नै हाम्रो बलियो पक्ष हो,’ उनले भने, ‘नेपालमा रेस्टुरेन्टहरूको गुणस्तर मापन वा वर्गीकरण नभएकाले साझेदारी गर्दा धेरै होस पुर्‍याउनुपर्छ । कुनै निकायले रेस्टुरेन्टको ‘स्ट्यान्डर्ड’ तोकिदिने वा क्वालिटी कन्ट्रोलदेखि प्रमाणीकरण गर्ने प्रणाली विकास गरे रेस्टुरेन्ट छान्न सहज हुन्थ्यो ।’ 

नाफाको पर्खाइ

फुडमान्डु नाफाभन्दा बजार विस्तारमा एकोहोरिएको कम्पनीका संस्थापक तथा प्रबन्धनिर्देशक मनोहर अधिकारी बताउँछन् । ई–कमर्स क्षेत्र पराम्परागत बिजनेसजस्तो नहुने पनि उनको तर्क छ । पराम्परागत बिजनेसमा झैँ यहाँ तुरुन्तै नाफा आर्जन गर्न नसकिने आफूले बझेको उनले बताए । ई–कमर्स स्टार्टअपका लागि निरन्तर लगानी र लामो समयसम्म टिकिरहने रणनीतिसमेत आवश्यक पर्ने उनले बताए । फुडमान्डुले सन् २०१६, २०२० र २०२३ मा विभिन्न लगानीकर्ताबाट फन्ड प्राप्त गरेको थियो । डोल्मा इम्प्याक्ट फन्डले सन् २०२३ मा फुडमान्डुमा करिब ४६ करोड रुपैयाँ (४ मिलियन डलर) लगानी गरेको छ । 

Fudmandu has been cooking national and international dishes for a decade and a half‘तथ्यांक, पैसा र फ्लोमा राम्रो पकड भएन भने कुनै पनि बिजनेस टिक्दैन,’ मनोहर भन्छन्, ‘बजार बुझेर लगानी गर्नुपर्छ । नयाँ खालको वा कुनै पनि इनोभेटिभ बिजनेस गर्न धैर्य चाहिन्छ । फुडमान्डुकै सबालमा पनि सुरुका ४/५ वर्षसम्म केही पनि बिजनेस भएको थिएन, एकदमै सुस्त किसिमले वृद्धि भएको हो । मसँग धैर्य नभएको भए सन् २०१० मा खोलेको यो व्यवसाय २०१४/१५ सम्म आइपुग्दा बन्द भइसक्थ्यो ।’ अहिले पनि नाफा कमाउनेमा ध्यान नदिई बजार विस्तारमा लागिपरेको उनले सुनाए ।

भारतलगायत देशका फुड टेक कम्पनीले पनि बिस्तारै नाफा कमाउन थालेका छन् । स्विगीले आफ्नो फुड डेलिभरी बिजनेस नाफामा भए पनि आव. २०२३ मा समग्र कम्पनीले ४ हजार १ सय ७९ करोडको कुल घाटा बेहोरेको आफ्नो वित्तीय प्रतिवेदनमा उल्लेख गरेको छ । 

सन् २००८ मा स्थापना भएको जोम्याटोले आव २०२४ मा आएर पहिलो पटक ३५१ करोड खुद नाफा आर्जन गरेको बिजनेस स्यान्डर्डको समाचारमा भनिएको छ । मनोहरको विचारमा नेपाली फुड डेलिभरी कम्पनीहरू पनि अब बिस्तारै नाफामा जाँदै छन् ।

अन्य देशका फुड डेलिभरी बजारझैँ नेपाली बजार पनि परिपक्व हुँदै गएकाले अब मुनाफा आर्जन गर्न धेरै समय पर्खिनु नपर्ने उनको दाबी छ । ‘मार्केटको सम्भावना उच्च छ, सम्भावना हुँदाहुँदै अत्तालिएर नाफामुखी हुन खोज्नु उचित होइन,’ मनोहरको भनाइ छ, ‘तर, अब एक/दुई वर्षमा हामी प्रोफिटेबल हुन्छौं । नाफा आर्जन गरेको दिन पक्कै खुसियाली मनाइनेछ ।’

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully