कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

९ वर्षकी बालख छोरीको बिहे रोक्ने रेवन्तकुमारी

मीनाले बुबा टंकप्रसाद आचार्यलाई चिनेकी थिइनन् । जेलबाट भर्खर छुटेका बुबा हेर्न पुगेकी उनलाई कसैले अबिरले रातै भएको मान्छे चिनाइदिएको थियो । त्यो दिन आमाको खुसी अझै याद छ । सामाजिक बहिष्कार र राज्यले दिएको तनावबीच प्रजातान्त्रिक आन्दोलनमा अथक हिँडिरहिन्, रेवन्तकुमारी ।
दीपक सापकोटा

काठमाडौँ — केवल खल्बलीहरू छन्, मीनाका मनमा । स्मरणको परिधिभित्र छन्– पिता टंकप्रसाद आचार्य (वि.सं. १९६९–२०४९) र आमा रेवन्तकुमारी (१९७३–२०५९) का जीवन–भोगाइका केही अंशहरू । तिनका भोगाइ उनलाई विदीर्ण लाग्छ । राणाकालको इतिहास खिचिएको त्यो समयको विक्षिप्त तस्बिर उनको मानसमा खिलझैं गढेको छ ।

९ वर्षकी बालख छोरीको बिहे रोक्ने रेवन्तकुमारी

बुबाको जेल–जीवन र सर्वस्वहरणपछिको आमा रेवन्तकुमारीको जिन्दगी एक उदास सारंगीवादकले रेटेको वियोगी धुनजस्तो लाग्छ– अर्थशास्त्री मीना आचार्य (८७) लाई ।

खुइय्य गर्छिन् मीना, ‘ती अन्धकार दिनमा कति कहर खेप्नुभयो होला मेरी सोझी आमाले ?’ बुबाको चारपाटा मुडिएको, टुप्पी काटिएको रंगीन टाउको ! आमा रेवन्तकुमारीले सुनाएको बुबा टंकप्रसादको कथाले उनलाई त्यो दिनको स्मरण गराउँछ, जसको प्रतिबिम्ब मीनाको दिमागमा अझै घुमिरहेकै छ । ‘खै किन हो, बुबाको त्यो मानसचित्रले कहिल्यै छोडेन,’ मीना भन्छिन् ।

टंकप्रसाद आचार्य र पत्नी रेवन्तकुमारी ।

गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीसँगै मृत्युदण्ड सजाय सुनाइएको थियो– टंकप्रसाद आचार्य र रामहरि शर्मालाई । टंकप्रसादले १९९३ सालमा नेपाल प्रजा परिषद् पार्टी स्थापना गरेका थिए । १९९७ मा राणाविरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सय जनामा टंकप्रसाद पनि थिए । भोटोजात्राको रात छरिएको उक्त पर्चामा लेखिएको थियो– राणाशासनको अन्त्य, श्री ५ को संवैधानिक नेतृत्वमा प्रजातन्त्र स्थापना...!

राणाहरूले चार जनालाई फाँसी तथा गोली हानेर हत्या गरिसकेका थिए । तर, टंकप्रसाद र रामहरिलाई सुनाइएको ज्यान सजाय लागू गर्न सकिरहेका थिएनन् । ब्राह्मण–हत्या त्यस समय भयंकर पाप मानिन्थ्यो, त्यसैले तिनलाई जातच्युत गरेर देशबाट धपाइदिनु नै कठोरतम् सजाय हो भनी मुलुकी ऐनमा लेखिएको थियो । जातच्युतको पद्धति यस्तो थियो– सुरुमा तिनको टाउको चारपाटे मुडियो, टुप्पी खौरियो अनि चारैपाटामा चारवटा बेग्लाबेग्लै रङ पोतियो । त्यसपछि बाहुनहरूको ‘पवित्र’ डोरो जनै फुकालियो ।

जेम्स एफ. फिसरले लेखेको र अरविन्द रिमालले अनुवाद गरेको किताब ‘ज्युँदा सहिदहरू’ मा टंकप्रसाद आचार्यको बयान छ– ‘सुँगुर बोकाएर लैजान खोजिएको थियो क्यारे, तर किन हो कुन्नि तिनीहरूले त्यसो गर्न लगाएनन् । हामीलाई शरीरको नेल–हत्कडी छन्द्राङ्ग बजाउँदै हिँडाएर सिंहदरबारबाट जेल फर्काइयो । दुःखको कुरा राणाहरूले देशनिकालाको सजाय पनि दिएनन् । त्यसको साटो तिनीहरूले हामीलाई जेलमा कोचे । राणाहरूले निजी सम्पत्ति मात्रै होइन, अंशसमेत सर्वस्वहरण गरे । त्यसमा मेरो सिफलको घर र त्यसले चर्चेको जमिन पनि पर्‍यो । हामीले जेलमा १० वर्ष गोडामा फलामे नेल बाँधेरै काट्यौं ।’

टंकप्रसादहरू जेल परेको १० वर्षपछि राणा शासन अन्त्य भयो । र, २००७ माघ ७ मा बन्दीहरू जेलबाट छुटे । छुटेको ५ वर्षपछि तत्कालीन राजा महेन्द्रले टंकप्रसादलाई प्रधानमन्त्री बनाए (२०१२ माघ १३ देखि २०१४ असार ३१ सम्म) ।

***

टंकप्रसादका ती भयंकर संघर्षमय अँधेरी दिनका साक्षी हुन्– मीनाकी आमा रेवन्तकुमारी । टंकप्रसादसँग रेवन्तकुमारीको बिहे भयो ११ वर्षको छँदा, जतिबेला टंकप्रसाद १४ वर्षका थिए ।

मीना आचार्यकी आमा रेवन्तकुमारी ।

श्रीमान् जेल जाँदा रेवन्तकुमारीका काखमा थिए दूध खाइरहेका दुई छोरी– मीना र शान्ता । साना छोरीहरू बोकेर कहिले माइती, कहिले घर भौंतारिइरहिन् उनी । त्यसबेला उनले आफन्तहरूको साथ–सहयोग पाइनन् । बरु मान्छेहरूले दूर–दूर गरे, तर श्रीमान्को ‘प्रजातन्त्र सपना’ का लागि लडिरहिन् । ‘रेवन्तकुमारी : परिचय र अभिव्यक्ति’ किताबमा सहाना प्रधानले लेखेकी छन्, ‘पिठ्युँमा बच्चा बोकेर पार्टीको काम, माइत–मावल गर्नुहुन्थ्यो । समाजमा उहाँलाई कसैले सम्मान गर्दैनथे । राणा सरकारविरुद्ध काम गरेको हुनाले उहाँलाई खतरनाक मान्छे भनेर मान्छेहरू बोल्न पनि डराउँथे ।’

यसरी श्रीमान्को राजनीतिमा सदैव बेजोड साथ रह्यो– रेवन्तकुमारीको । टंकप्रसाद भन्थे रे, ‘रेवन्तकुमारीले मैलेभन्दा बढी दुःख काटेकी छे ।’

‘बुबा जेल परेपछि आमाको काँधमा जिम्मेवारी आइलाग्यो’, मीना स्मृतिका गल्लीतिर पस्छिन्, ‘हामी अहिले जहाँ छौं, आमाकै योगदान हो । बुबा पक्राउपछि आफन्त, छिमेकीले आमालाई घर छिर्न पनि दिएनन् ।’

***

श्रीमान् टंकप्रसादसँगको चिठी आदानप्रदान, नेताहरूसँगको सत्संगले उनलाई परिपक्व बनाउँदै थियो । उनी पनि आन्दोलनमा सहभागी हुन थालिन् । रेवन्तकुमारी ऊबेलै विश्वास गर्थिन्– बहुविवाह, बालविवाहबाट महिलाले मुक्ति पाउनैपर्छ । त्यो राणाकाल थियो, जतिबेला ‘छोरीको बिहे महिनावारी हुनुअघि नै गर्नुपर्छ, त्यसो गरे पुण्य मिल्छ’ भनिन्थ्यो । मीना नौ वर्षकी थिइन्, टंकप्रसाद छोरीको बिहेलाई लिएर चिन्तित थिए ।

अर्थशास्त्री मीना आचार्य । तस्बिर : दीपक केसी/कान्तिपुर

टंकप्रसादले जेलबाट रेवन्तकुमारीलाई चिठी पठाए– ‘अब छोरी ९ वर्षकी भइन् । ऊ रजस्वला नहुँदै बिहे गरिदिनुपर्छ । केटा खोज ।’ चिठी पढेर रिसाएकी रेवन्तकुमारीले कडा जवाफ पठाइन् टंकप्रसादलाई, ‘यत्ति छिट्टै पनि कहीं बिहे गर्छन् ? छोरी बालखै छे । पर्दैन, अब त जमाना परिर्वतन भइसक्यो । छोरीहरूलाई पढाउनुपर्छ । यत्ति छिट्टै बिहे गर्ने त कुरै छैन ।’ मीना भन्छिन्, ‘मेरी आमा एकदमै प्रगतिशील हुनुहुन्थ्यो ।’

ती अन्धकारमय दिनहरूमा पनि मीनाकै शब्दमा उनी ‘स्वतन्त्र’ बाँचिन् । भन्छिन्, ‘म सानैदेखि निडर थिएँ ।’ छोरीहरू चौकुनामै वा चुलोमै घुमिरहनुपर्ने सामाजिक बन्धनपूर्ण त्यस समयमा पनि मीनाको साथी–सर्कल थियो, घुमन्ते । ती साइकलमा काठमाडौंभरि चक्कर

लगाउँथे । ‘त्यो समय छोरीले साइकल चढ्नु ठूलो घटना मानिन्थ्यो । हामीलाई देखेर मान्छेहरू ‘अहो’ को भावमा लामो जिब्रो निकाल्थे,’ मीना भन्छिन्, ‘हामी साइकलमा डुल्थ्यौं– डिल्लीबजार–नारायणहिटी–उत्तर ढोकादेखि पकनाजोलसम्मै । टोले केटाहरू हामीतिर हेर्थे र आँ गर्दै मुखबाट फोहोर शब्द निकाल्थे ।’ मीनालाई त्यसरी घुम्न स्वतन्त्र छाडिदिएकी थिइन्– आमा रेवन्तकुमारीले ।

नेपालको अर्थतन्त्र, लैंगिक सम्बन्ध, श्रम बजार, गरिबी र योजनाजस्ता विषयमा अनुसन्धान गरेर अर्थशास्त्री मीनाले जीवनका उत्साहपूर्ण वर्षहरू बिताइन् । २५ वर्ष नेपाल राष्ट्र बैंकमा, त्यसपछि अमेरिकाको विश्व बैंक, यूएनडीपी, एसियाली विकास बैंकमा परामर्शदाता भइन् । एक दर्जनभन्दा बढी अनुसन्धानका पुस्तक प्रकाशित छन् उनका । भर्खरै मात्र आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ लेखिभ्याएकी मीना आमा रेवन्तकुमारीले साँझ–साँझ वाचन गरिरहने कवि शिरोमणि लेखनाथ पौड्यालको कविता ‘भाग्यको भरमा जो पर्दछ/त्यसले दुःख पाउँछ/डोकोमा गाईको दूध को खान पाउँछ’– लाई, मानौं, पुत्रीवत् जवाफ फर्काउँदै भन्छिन्, ‘आमा ! तपाईंले पढिरहने यिनै पंक्तिले त मलाई जीवनका उतारचढाव सजिलैसँग व्यहोर्न ठूलो मद्दत पुर्‍याए सधैंभरि ।’ आत्मकथामा मीनाले लेखेकी छन्, ‘मैले आफ्नै जीवनबाट राखेका आशा र आकांक्षा कतिसम्म पूरा गर्न सकें ? त्यसको लेखाजोखा गर्न चाहन्छु ।’

पुरानो बानेश्वर, काठमाडौं निवासमा माताको स्मृति–संसारको पदयात्रामा छिन्– मीना । पिताको प्रजातन्त्र संघर्ष, माताको विरक्तलाग्दो उल्झनले भरिएको जीवन, आफ्नो जीवनको उतारचढावपूर्ण यात्रा समेटेर सिंगै किताब लेखिसकेपछि पनि मीनाका स्मृतिहरू सकिएका छैनन्, आमासँगका पुराना सम्झना वसन्तका नयाँ–नयाँ पालुवा भएर जन्मिरहेका छन् । लाग्छ, अनुहारका चाउरी पन्छाउँदै, झमझम वर्षात्को असारे दिनमा झ्यालको धमिलो सिसातिर टोलाउँदै उनी आमा–सम्झनाका लहर–नृत्यमा तल्लीन छिन् । मीनालाई जिन्दगी एउटा पाठशाला लाग्छ । भन्छिन्, ‘खुला चेतनामा रहेर जिन्दगी सिक्नु रैछ । सिक्दै जिउनुको अंग नै जिन्दगी । त्यो मैले आमाबाट सिकेकी हुँ ।’

मीना काठमाडौं धोबिखोलामा जन्मिएकी हुन्– १९९४ वैशाखमा । बुबा टंकप्रसाद जेल पर्दा मीना जम्मा ३ वर्षकी थिइन्, बहिनी शान्ता ६ महिनाकी । राणाहरूले उनी जन्मिएको घर, ओढ्ने–ओछ्याउने, भाँडाकुँडा सबै जफत गरेका थिए । काठमाडौंको घरबार खोसिएपछि रेवन्तकुमारीले मीनालाई जनकपुर बस्ने हजुरबुबा टीकाप्रसाद आचार्यकहाँ पठाइन् । हजुरबुबा विरक्त थिए– ‘छोरा राजनीतिमा लागेको’ मा । पीरैपीरमा उनी जनकपुरछेउकै सिर्सियाको जग्गा बेचेर भारत, बनारसतिर लागे, नातिनी मीनालाई लिएर । मीना हजुरबासँग ३ वर्षजति बनारस बसिन् । हजुरबा भनिरहन्थे– छोरा जेल पर्‍यो, अब तिमी नै मेरो छोरा हौ । उनलाई केटामान्छेले लगाउने कपडा लगाइदिन्थे । फेरि मीना हजुरबासँगै बनारसबाट सिर्सिया फिरिन् । र, पढ्न थालिन्– गाउँकै धूले विद्यालयमा ।

२००४ सालमा आमाको पछि लागेर मीना फेरि आइन् काठमाडौं । र, पढ्न थालिन्– गौशालाको आधार स्कुलमा । बुबा जेल परेपछि खुट्टा बजारेर रोएकी थिइन् मीना– ‘बुबासँगै जाने’ भन्दै । एक पटक आमाले उनलाई गोलघर लिएर गइन्, टंकप्रसादलाई खाना पुर्‍याउन जाँदा । तर, जेलका कर्मचारीले बुबा भेट्न दिएनन् छोरीलाई । मीना एकोहोरो रोइरहिन्, तर अहँ उनले बुबा देख्न पाइनन् । ‘त्यसपछि आमाले मलाई काँधमा बोकेर गोलघर देखाउँदै भन्नुभएको थियो– ऊ हेर त त्यही घरमा बस्नुहुन्छ– तिम्रो बुबा ।’

सेन्ट्रल जेलबाट छुटेपछि रातो कार्पेट बिछ्याएर इटुम्बहालको भाषण स्थल पुर्‍याइएको थियो, टंकप्रसादलाई । मीनाले बुबा चिनेकी थिइनन् । आमाको हात समातेर बुबा हेर्न पुगेकी मीनालाई कसैले टाढैबाट अबिरले रातै भएको मान्छे चिनाइदिएको थियो, ‘ऊ तिम्रो बुबा ।’ त्यो दिनको आमाको खुसी अझै याद छ मीनासँग । मीनालाई लाग्छ– हाम्रो लालनपालनमा आमाकै महत्त्वपूर्ण योगदान छ, अनि बुबा राजनीतिमा अडिन पनि । सामाजिक बहिष्कार र राज्यले दिएको तनावबीच रेवन्तकुमारी नेपालको प्रजातान्त्रिक आन्दोलनमा अथक हिँडिरहिन् ।

ठमेलमा जन्मिइन्, रेवन्तकुमारी (हालको काठमान्डु ‘गेस्ट हाउस’अघि) । त्यो समय पनि उनले पढ्ने मौका पाइन् । रेवन्तकुमारीका हजुरबुबा एक राणाका घरमा पुरोहित थिए, भारतमा आईए पढिरहेका ठाइँला काकाको निधन भयो २८ वर्षको उमेरमा, क्षयरोगले । हजुरबा बरोबर भनिरहन्थे, ‘ऊ ‘टीबी’ लागेर मरेको होइन, अंग्रेजी पढेर मरेको ।’ त्यसपछि घरमा कसैले अंग्रेजी पढ्न पाएनन् । रेवन्तकुमारीकी हजुरआमा नातिनीहरूले पढेको रुचाउँदैन थिइन् । तर, हजुरबुबा भन्थे– नातिनीहरूले पढ्नुपर्छ, सामान्य हिसाब–किताब त जान्नैपर्छ– घर चलाउन पनि । हजुरबुबाले नै रेवन्तकुमारीलाई सिकाए– सामान्य गणित । उनैले चिनाए– क,ख,ग र ‘महाभारत’ । रेवन्तकुमारी मीनालाई भनिरहन्थिन्– पढ्नैपर्छ, जसरी पनि पढ्नुपर्छ । ‘बुबा जेल परेपछि माइती जाँदा पनि छिमेकका नानीहरूलाई नेपाली वर्णमाला पढाउनुहुन्थ्यो आमा,’ मीना सम्झनाका ती दिनतिर पस्छिन् ।

मीना ती कलिला साँझहरूको यादमा विचरण गर्छिन् । आमा साँझतिर आँगनमा बसेर गान्धी र नेहरूका आत्मकथा, गोर्की, सेक्सपियरका हिन्दी अनुवाद कथा, महाभारत, रामायण, भागवत् पुराण पढ्थिन् । मीना भन्छिन्, ‘सधैं अंग्रेजी पढ्न नजानेकोमा खिन्न मान्नुहुन्थ्यो आमा । म आमासँगै सुत्थें, कथा सुनेर निदाउँथे । भन्नुहुन्थ्यो– महिलाहरूले धेरै गर्न सक्छन्, तिमीहरू पनि पढेर ठूलो मान्छे बन्नुपर्छ । पढेर यो देशका लागि केही गर्छु भन्ने त्यहीबेलै सोचेकी हुँ ।’ पद्मकन्या क्याम्पसमा आईए पढेपछि मीनाले भारतबाट बीए, सोभियत संघबाट मास्टर्स र अमेरिकाबाट विद्यावारिधि गरिन् । विवाहको व्यापक दबाब आयो– घरबाट । तर, घरमा थाहै नदिई सोभियत संघ (मस्को) पढ्न गइन्– ३ सेप्टेम्बर १९६० मा । ‘छोरीको बिहे गरिदिनुपर्छ’ भन्ने श्रीमान्सँग त्यसबेला रेवन्तकुमारीले फेरि भनेकी थिइन्, ‘पढ्छु भन्नेलाई पढ्न दिनुपर्छ नि !’ आमाको त्यो स्नेह र साथ नै हो, जसले मीनालाई पखेटा फैलाएर उड्न सिकायो । रुस नयाँ संसार थियो, जहाँ उनले देखिन्– पूर्ण रूपमा स्वतन्त्र समाज ।

मीनाले मस्कोमै विवाह गरिन्– सँगै पढ्ने भिक्टर सिभियाकोभसँग । यो घटनाले मीना–परिवार र रसियाको नेपाली दूतावासमा भुइँचालो गयो । नेपालको नागरिकता ऐनले भन्थ्यो– नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे नेपाली महिलाको नागरिकता स्वतः खारेज हुनेछ (पछि ऐन फेरियो) । तर, न उनी नागरिकता त्याग्न तयार थिइन्, न श्रीमान् । अनेक झन्झटबीच मीनाले उपराष्ट्रपतिसमक्ष निवेदन लेखेपछि मात्रै रुसमा उनको विवाह दर्ता भयो ।

त्यहीं जन्मिइन्– छोरी बिना सिभियाकोभ आचार्य । श्रीमान् भिक्टर र छोरीसहित नेपाल आइन् मीना । भिक्टर सोभियत संघको सहायतामा महेन्द्र राजमार्गको प्रोजेक्टमा जोडिए, मीना राष्ट्र बैंकमा अधिकृत भइन् । प्रोजेक्ट सकिएपछि सम्बन्ध विच्छेद भयो । मीना भन्छिन्, ‘सायद भिक्टरलाई ‘आइडेन्टिटी’ समस्या भयो । छोरी आफूसँगै राखें ।’ भिक्टरसँगको विवाह र ‘डिभोर्स’मा पनि उनकी आमा रेवन्तकुमारीको अवरोध भएन, चाहन्थिन्– छोरीको जीवन उसकै चाहनाअनुरूप चल्नुपर्छ ।

रेवन्तकुमारीको विचार थियो– पारिवारिक सम्पत्तिमा छोरीहरूलाई पनि छोरासरह पूर्ण अधिकार दिलाउनैपर्छ । तर, ०४६ को संविधानका लागि पार्टीले पठाएको टिप्पणीमा त्यो लेखिएको थिएन । आमा–छोरीको अडान त्यसैमा थियो । टंकप्रसाद असाध्यै रिसाए । घरमा ठूलै झगडा पर्‍यो । रेवन्तकुमारीकै अडानले ‘सम्पत्तिमा छोरीहरूलाई पनि पूर्ण अधिकार’ प्रजापरिषद्ले टिप्पणीमा समावेश गर्‍यो । सम्भवतः इतिहासमा लेखिएन, तर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गति दिन रेवन्तकुमारीको पनि भयानक संघर्ष–कथा छ ।

मीनालाई सम्झना छ, रेवन्तकुमारी २००६ सालमा भारतको रक्सौल हिँडेकी थिइन्, टंकप्रसादको जेलबाट आएको चिठी लिएर । उनी टंकप्रसाद र जेलका अन्य कैदीका चिठीहरू पुर्‍याउँथिन् भारतका विभिन्न ठाउँमा– जवाहरलाल नेहरू, जयप्रकाश नारायण, महेन्द्र, बीपीहरूसमक्ष– कहिले दहीको ठेकीमा, कहिले टिनको बाकसमा लुकाएर । ‘रेवन्तकुमारी : परिचय र अभिव्यक्ति’ मा टंकप्रसादसँगै कारगारमा बसेका रामहरि शर्माले लेखेका छन्, ‘रेवन्तकुमारी भाउजूले त्यसबेलाको कठोर राजनीतिक पृष्ठभूमिमा बनारस, कलकत्तासम्म गएर साहसका साथ काम गर्नुभयो । रेवन्तकुमारीहरूकै साहस र हौसलाका कारण जेलमा बाँचेका थियौं ।’

***

नातिनीको आँखामा पनि हजुरआमा रेवन्तकुमारी असाध्यै मायालु थिइन् । बिना नेपालमै हुर्किइन्, हजुरआमासँग । उनको स्मरणमा रेवन्तकुमारीमा कहिल्यै नरिसाउने स्वभाव थियो । ‘दिनैभरि पढिरहनुहुन्थ्यो गोरखापत्र– माथिदेखि पुछारसम्मै,’ बिना भन्छिन् ।

रेवन्तकुमारी नातिनीलाई हाँस्दै सुनाइरहन्थिन्, ‘श्रीमान्लाई जेलमा चिठी पुर्‍याउन जाँदा डर त लाग्थ्यो नै, तर पुलिसले चिठी कहिल्यै भेटेन ।’ काठमाडौंको यो बर्खामा मीनाको स्मृति–लोकमा ओहोरदोहोर गरिरहन्छन्– हजुरबाले ऊबेलै पुर्‍याएको सिर्सियाको त्यो आँपको बगैंचा, जसको सियालमा उनी दिनैभर खेलिरहन्थिन् । छोरी बिनालाई सुनाइरहन्छिन्– बोटमै पाकेर झरेका आँपको पर्खाइमा कसरी उनी आँप फल्ने मौसम कुरिबस्थिन् !

सिर्सियाको मालती र कामिनी फूलको बास्नाको सम्झनाले उनी पुग्छिन्– तराईका टाढा–टाढासम्म फैलिएका खेततिर, जहाँ बालापनमा उनले खेसरी र चना पोलेर खाएकी थिइन्, खेत छेउकै पोखरीमा पौडी खेलेकी थिइन् । दिनैभर आँपका गाछीतिर डुलिहिँड्नु, पौडी खेल्नु, पोखरीको डिलैडिल दौडिरहनु उनको स्वर्णिम बालापन थियो । अब त ती दिनहरू उहिले–उहिलेका कथा भइगए । आजकलका मीनाका दिन सहरको एक घरको चौघेरोमै बित्छन् । कान कम सुन्छिन्, आँखाले छेउकै दृश्य ठम्याउन पनि बल पर्छ । तर, मधेशका ती ग्राम्य बाल्य सम्झनाहरूले त्यसै–त्यसै एक बालकझैं खुसी हुन्छिन्– मीना आचार्य । भन्छिन्,

‘फेरि लाग्छ– फर्किउँ त्यही बालादिनमा, तर अब त बूढी भइगएँ ।’ टंकप्रसाद बिनालाई सोधिरहन्थे– ‘नातिनी, भन त ! म राम्रो कि तिम्रो हजुरआमा राम्रो ?’ त्यसबेला बिना मौन रहन्थिन् । यस्ता अगणित स्मरण छन् उनीसँग । तर, अहिले लाग्छ– हजुरबा, हजुरआमा दुवै असाध्यै राम्रा मानिस थिए, जसलाई आजकल उनी असाध्यै ‘मिस’ गर्छिन् । भन्छिन्, ‘उनीहरू थिए– साँच्चै असल मान्छेहरू ।’

प्रकाशित : असार २५, २०८१ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×