नेपालमा बनेका मोबाइल एपमध्ये १० करोडभन्दा धेरै प्रयोगकर्ता भएका एप हालसम्म दुइटा मात्रै छन्– लुडो र कलब्रेक । दुवै गेमिङ एप हुन् । लुडो बनाउने कम्पनी पोखराको यार्सा ल्याब्स हो भने ललितपुरको टेस्ला टेकले कलब्रेक बनाएको हो
काठमाडौँ — सूचना प्रविधि क्षेत्रमा ‘अंक’ को ठूलो महत्त्व हुन्छ । अंकहरूले कम्प्युटरको गणितीय क्षमता र तार्किक प्रक्रियाका लागि आधार प्रदान गर्छन् र त्यसले नै प्रविधि अघि बढाउँछ । कम्प्युटरले ‘बाइनरी कोड’मा आधारित भएर कार्य गर्छन् । बाइनरी संख्या भनेको ० र १ को प्रणाली हो । यिनै दुई अंकले समग्र कम्प्युटर प्रणाली चलेको छ । खासमा कम्प्युटरले यी दुईभन्दा बाहेकका अंक बुझ्दैन ।
सूचना प्रविधिमा नेपाललाई विश्व बजारमा पुर्याएको एक गेमिङ एपबारे लेखिरहँदा यहाँ ‘अंक’ वा आँकडाबाटै विषय प्रवेश गर्न खोजिएको छ, अंकको विशेष अर्थ हुने भएकाले । नेपालमा बनेका मोबाइल एपमध्ये १० करोडभन्दा धेरै प्रयोगकर्ता भएका एप हालसम्म दुइटा मात्रै छन्– लुडो र कलब्रेक । नामैले बुझिन्छ, दुवै गेमिङ एप हुन् । लुडो बनाउने कम्पनी पोखराको यार्सा ल्याब्स हो भने ललितपुरको टेस्ला टेकले कलब्रेक बनाएको हो । टेस्ला टेकको दाबीअनुसार १० करोड डाउनलोड हुने नेपालमा बनेको पहिलो एप कलब्रेक हो ।
सन् २०२२ अगस्ट ११ मा टेस्ला टेकको कलब्रेक १० करोड डाउनलोड पुग्दा त्यस बेला विश्वमा यत्तिको संख्यामा डाउनलोड हुने एपहरू ७ सयभन्दा कम रहेको टेस्ला टेकले जनाएको छ । यो गुगल प्ले स्टोर वा एन्ड्रोइड डिभाइसको मात्रै डाउनलोड संख्या हो । टेस्ला टेकले शब्द पहेली, लुडो लाइफजस्ता अन्य गेम पनि बनाएको छ । यता, यार्साले बनाएको लुडो एप हालसम्म एन्ड्रोइड डिभाइसमा मात्रै २० करोड डाउनलोड भइसकेको छ । आईओएसमा यसको डाउनलोड संख्या १० लाख प्लस छ । यो संख्या साढे तीन वर्षको छोटो अवधिमै हासिल भएको सफलताको एउटा ‘आँकडा’ हो ।
यार्सा गेम्सले एपस्टोर र प्लेस्टोरमा ‘पब्लिस’ गरेका अन्य १४ वटा मोबाइल गेमको कुल डाउनलोड संख्या चाहिँ १२ करोड हाराहारी छ । कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एनजे सुवेदीका अनुसार अहिले लुडोका मात्रै प्रतिदिन ६० लाख सक्रिय प्रयोगकर्ता छन् । वि.सं. २०७७ को कात्तिक/मंसिरतिर डाउनलोडका लागि उपलब्ध गराइएको लुडो कुनै बेला दिनको ५ लाख पटकसम्म डाउनलोड हुने गरेको एनजेको अनुभव छ । कुनै एप कति पटक डाउनलोड भयो भनेर गन्ने तरिका भनेको प्रतियुनिक एकाउन्टबाट इन्स्टल भएको संख्या हो । एउटै गुगल/एप्पलको एकाउन्ट प्रयोग गरी विभिन्न डिभाइसमा एप इन्स्टल गर्दा त्यो एकपटक मात्र डाउनलोड भएको गणना हुन्छ । एउटा एकाउन्ट बराबर एक डाउनलोड हुन्छ ।
‘नेपालमा भन्दा भारत, श्रीलंका, इन्डोनेसियाजस्ता इन्डियन ओसियन र अर्जेन्टिना, कोलम्बिया, ब्राजिलजस्ता दक्षिण अमेरिकी देशमा लुडो खेल्ने धेरै छन्,’ एनजे भन्छन्, ‘अहिले दिनको औसतमा ३० हजार डाउनलोड हुने गरेको छ ।’ विश्वका अलग–अलग देशमा लुडोका अलग–अलग नियम हुने भएकाले यार्साको लुडोमा एउटै रंगका गोटी एकै ठाउँमा खप्टिँदा अर्को रङको गोटीको बाटो अवरुद्ध नहुने, सधैं कम्प्युटरले मात्रै जित्नेजस्ता गुनासा संसारभरबाट आउने गरेका छन् । नेपालमा बनेको लुडोलाई गुगल र एप्पलका एप मार्केटप्लेसले विश्वभर पुर्याइदिएका छन् । कुनै पनि देशबाट लुडो सर्च गर्दा यार्सा गेम्सको लुडो शीर्ष स्थानमा देखा पर्छ ।
सन् २०१६ मा चार युवाले सुरु गरेको यार्सा ल्याब्समा हाल एक सय पाँच जनाले रोजगारी पाएका छन् । यार्सा ल्याब्सअन्तर्गतको यार्सा गेमिङमा मात्रै ७० जना कर्मचारी छन्, जो नयाँ–नयाँ मोबाइल गेम बनाउन, स्थानीय गेमलाई डिजिटाइज गर्न, पब्लिस भइसकेका गेमको त्रुटि समाधान गर्ने लगायत काममा सक्रिय छन् । यार्सा ल्याब्सको मोबाइल गेम स्टुडियो, यार्सा टेक (इलेक्ट्रोनिक्स कम्पनी) र यार्सा बजार (ई–कमर्स) गरी विभिन्न ‘भर्टिकल’मा रहेर युवाहरूले ‘मेड इन नेपाल’ थिमलाई नयाँ ढंगले परिभाषित गर्ने गरी सूचना प्रविधिका नवीनतम ‘प्रोडक्ट’ निर्माण गर्ने प्रयत्न गरिरहेका छन् । पोखराबाट सुरु भएको कम्पनीको ललितपुरमा शाखा कार्यालय छ ।
लुडोको लत
सन् २०१७ देखि मोबाइल गेम बनाउन थालेको यार्सा गेमिङले सन् २०१८ मा पहिलो पटक गुगल प्लेमा गेम सार्वजनिक गरेको थियो । त्यस बेला सार्वजनिक भएको नेपाली ‘कलब्रेक’ राम्रै चल्यो । मोबाइलमा ताससम्बन्धी खेल चल्ने देखेर यार्सा टोलीले सोलिटेयर, रमी, म्यारिज लगायत अन्य खेललाई पनि डिजिटाइज गर्न थाल्यो । तर कलब्रेकजत्तिको सफल अरू भएनन् । ‘हामीले फ्याल्पी बर्डजस्ता हाइपर क्याजुअल गेमहरू पनि १९/२० वटाजति बनायौं तर सबै फ्लप भए,’ यार्सा ल्याब्सका चिफ टेक्लिकल अफिसर सरोज सुवेदी भन्छन्, ‘हिउँमा चिप्लिने, बबल पड्काउने, पोस्टमा बास्केटबल छिराउनेजस्ता १०–१५ सेकेन्डका गेम टन्नै बनाइयो तर कुनै पनि चलेनन् ।’
यार्साले बनाएको तासवाला मोबाइल गेम केही रुचाइए पनि ती सिंगल प्लेयर वा एक्लैले खेल्न मिल्ने मात्रै थिए । मल्टिप्लेयर गेम वा दुईभन्दा बढीले खेल्न मिल्ने मोबाइल गेम बनाउने क्रममा सबैभन्दा सजिलो खेलका रूपमा यार्सा गेमिङको एक टोलीले लुडो बनाउने प्रस्ताव अघि सार्यो । एनजले तत्काल ‘डाइस’ डिजाइन गरे । सन्दीप र संगमले उनलाई आइकन, डिजिटल ग्राफिकदेखि स्टोरीबोर्ड बनाउन मद्दत गरे । ‘एक हप्तामा प्रोटोटाइप तयार पारिहाल्यौं,’ उनी सम्झन्छन्, ‘धेरै फिचर नराखी जतिसक्दो सिम्पल बनाएर एक महिनाभित्र पब्लिस गरेका थियौं ।’ लुडो गुगल प्लेमा आएको ५/६ महिनासम्म खासै डाउनलोड नभएपछि टोली त्यसलाई भुलेर अर्को गेम निर्माणमा जुटिसकेको थियो ।
हुने हार दैव नटार भनेझैँ त्यही बेला अचानक विश्वमा कोरोना महामारी फैलियो, सरकारहरूले लगातार लकडाउन घोषणा गरे, घर–घरमा थुनिएका मान्छे मोबाइलमा लुडो खेल्न थाले, हलिउडका सेलिब्रिटीहरूले लुडो खेल्दै गरेको फोटो सामाजिक सञ्जालमा राखे, यार्साको लुडो एकाएक दिन दुई गुना रात चौगुना डाउनलोड हुन थाल्यो । सन् २०२० मा १ करोड डाउनलोड भएको एप २०२१ मा ५ करोड, २०२२ मा १० करोड र हाल २०२४ मा २० करोड युनिक प्रयोगकर्तामाझ पुगिसकेको छ । २०२५ सम्ममा ५० करोड प्रयोगकर्तासम्म पुर्याउने कम्पनीको लक्ष्य छ ।
‘पहिलाजस्तो धेरै डाउनलोड अहिले छैन, लकडाउनका बेला डाउनलोड र रेभिन्यु दुवै उच्च थियो,’ एनजे भन्छन्, ‘त्यही बेलाको आयले अहिलेसम्म कम्पनी चलिरहेको छ । अझै पनि कम्पनीको कुल आम्दानीको २५ प्रतिशत हिस्सा लुडो एपबाट आउँछ ।’ उनका अनुसार खेल्न सरल हुने गरी बनाइएकाले एप धेरै चलेको हो । यससँगै गुगल प्लेमा यार्साको लुडोको एज रेटिङ ‘थ्री प्लस’ राख्नु पनि आफूहरूलाई बरदान नै भएको एनजे बताउँछन् ।
‘सानो बच्चाले पनि खेल्न मिल्छ भनेर हामीले थ्री प्लस एज रेटिङ राखेका थियौं, यसो गर्दा गुगलले हाम्रो एपलाई लुडो सर्च गर्नेबित्तिकै माथि देखिने बनाइदियो,’ उनी भन्छन्, ‘प्ले फर फ्यामिलिज र मेड फर किड्स विधामा गुगलले हाम्रो लुडोलाई एसेप्ट गर्यो । यसमा एसेप्ट भएपछि गेमको र्याकिङमा लुडो आफैं माथि आउन थाल्यो । डाउनलोड बढ्यो ।’
एपहरूमा १२ प्लस वा १८ प्लस रेटिङ राख्दा त्यसमा विज्ञापनबापत बढी आम्दानी हुने भएकाले कतिपयले थ्री प्लस रेटिङ नराख्ने गरेका छन् । विदेशी एपसरह नेपाली एपलाई आम्दानीका विभिन्न विकल्प उपलब्ध छैनन्, निर्माताले विज्ञापनबाट आय आर्जन गर्छन् । इन–एप एड्भर्टाइजिङ र रिवार्ड बेस्ड एड्भर्टाइजिङबाट नेपालका एप निर्माताहरूले आम्दानी गर्ने हुन् । यस्ता विज्ञापनमा गुगलको रियल–टाइम बिडिङ (आरटीबी) विधिमार्फत एक मिलिसेकेन्डभित्र कुन विज्ञापन कुन प्लाटफर्ममा कति अवधिका लागि देखाउने भन्ने स्वचालित रूपमा तय हुन्छ । ‘प्रतिएक हजार इम्प्रेसन (प्रयोगकर्ता) बाट २० सेन्ट हाराहारी कमाइ हुन्छ,’ एनजे भन्छन्, ‘अमेरिका, युरोपजस्ता विकसित देशमा गुगलले एक हजार इम्प्रेसन बराबर २० डलर हाराहारीमा रेभिन्यु दिन्छ ।’
फ्लप एपको शृंखला
सन् २०१० मा काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङमा स्नातक तहको पढाइ बीचमै छोडेर एनजे केही समय साइकल चढेर काठमाडौंमा यत्तिकै भौंतारिए । फस नेपालमा आबद्ध भई गुगल म्यापिङ सिस्टमसम्बन्धी काम गरे । त्यसपछि तत्कालीन संविधासभाले बनाएको नेपालको संविधानको मस्यौदा सार्वजनिक छलफलका लागि अनलाइनमार्फत सर्वसाधारणमाझ पुर्याउन सक्रिय भए । त्यसलाई पीडीएफमा कन्टर्भ गरी छेउमा कमेन्टसमेत लेख्न मिल्ने प्रणाली बनाउने काममा उनी जोडिएका हुन् ।
ती प्रोजेक्टको सिलसिलामा कतिपय कुरामा ठगिएपछि सन् २०१३ मा पोखरा फर्किएका एनजेले आफ्नै कम्पनीको सपना कोरेर यार्सा ल्याब्सको लोगो र नाम डिजाइन गरे । किराना पसल र आमाको होटलमा कहिलेकाहीं साथी बसिदिए तर धेरैजसो समय ‘हरिलट्ठक’ शैलीमा पोखरामा बरालिए । तर, सँगसँगै एप डेभलप्मेन्ट लगायत प्रविधिबारे स्वअध्ययन छोडेनन् । केही समयपछि पोखराको लेकसाइडछेउ एउटा सानो कार्यालय खोलेर कुखुराको मासुका परिकार डेलिभरी गर्ने काम थाले । त्यसपछि होटल बुकिङ गर्ने सिस्टम बनाए । त्यससँगै डाउन ज्याकेट बेच्ने इकमर्स प्लाटफर्म स्थापना गरे । पोखरामा ग्राहक ओरालेर खाली फर्किने ट्याक्सी, भ्यान तथा सवारी साधनहरू बुकिङ गर्न मिल्ने सिस्टम पनि बनाउन भ्याए । त्यतिले नपुगेर म्याट्रिमोनियल वा डेटिङ साइट सार्वजनिक गरे । ‘जे जे बनायो, सबै फ्लप भए,’ एनजे भन्छन्, ‘तर जे पनि सिकौं, बनाइराखौं भन्ने लागिरह्यो ।’
एकपछि अर्को प्लाटफर्म र मोबाइल एपहरू बनाइरहेका एनजेलाई एकदिन ‘दराज’का सामान डेलिभरी गरिदिने भाइले आफ्नो कलेजको प्रोजेक्ट बनाइदिन सहयोग मागेछन् । ‘दराजबाट सामान मगाउँदा जहिले पनि त्यही एउटै भाइले ल्याइदिन्थे, त्यसरी चिनजान भएपछि एक दिन गफगाफ भयो, उनी बिहान–बेलुका डेलिभरीको काम गरेर दिउँसो कम्प्युटर इन्जिनियरिङ पढ्दा रहेछन्,’ एनजे भन्छन्, ‘उनको कलेज प्रोजेक्टमा मोबाइल एप बनाउनुपर्ने रहेछ, मसँग हेल्प मागे । त्यस बेला हाम्रो कम्पनीमा मसहित अन्य तीन जना साथी थियौं । हामीले एकै रातमा रेस्टुरेन्टमा अर्डर व्यवस्थापन गर्ने सिस्टम बनाइदियौं ।’ ती भाइले कलेजमा एप बुझाएपछि एनजेसँग एप डेभलप्मेन्ट सिकिमाग्न १०/११ जना विद्यार्थी आएछन् ।
तिनै विद्यार्थीलाई मोबाइल एपबारे सिकाउने क्रममा उनले कम्प्युटर प्रोग्रामिङको कन्सेप्ट बुझाउन गेमिङ एप रोजेका थिए । गेमिङ एप सजिलो र रुचिकर हुने भएकाले विद्यार्थीको चासो बढ्ने एनजेको अनुभव छ । अहिले पनि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामा यार्सा ल्याब्सकै विज्ञहरूले ५२ जना युवालाई गेमिङ एपबाट मोबाइ एप विकास गर्ने तरिका सिकाइरहेको एनजेले जानकारी दिए ।
‘त्यसरी गेमिङ एप बनाउने क्रममा थुप्रै वटा सिम्पल गेमहरू बनाएर पब्लिस गरियो तर तीमध्यै कुनै पनि गेम चलेनन्,’ एनजे भन्छन्, ‘तर, हामीले हार नमानी काम गर्दै गयौं । सन् २०१६ मा यार्सा ल्याब्स दर्ता गर्यौं । सन् २०१८ मा पहिलो पटक हाम्रो कम्पनीले कार्ड गेम, कलब्रेक बनाएर पब्लिस गरेको थियो, त्यो चल्यो । त्यसपछि हामीले आठ/नौवटा कार्ड गेम बनायौं तर ती फेरि चलेनन् ।’ एकैचोटि २०२० मा लुडो बनाएपछि यार्सा ल्याबका दिन फेरिए । यसपश्चात् कम्पनीले गेमिङ एपसँगै सेन्सर–अटोम्याटिक स्विच, स्मार्ट वाटर लेभर मनिटर, राउटरको पावर ब्यांकजस्ता इलेक्ट्रोनिक डिभाइस निर्माण गरेको छ । केही समयअघि ई–सेवाले सार्वजनिक गरेको ‘ई–स्पिकर’ पनि यार्साले नै बनाएको हो । सो अडियो पेमेन्ट नोटिफायर डिजिटल कारोबारलाई सहज बनाउन आवाजबाटै कारोबार विवरण बताउँछ ।
अन्तिम आँकडा
सूचना प्रविधि सेवा निर्यातभन्दा सूचना प्रविधिमा आधारित कुनै पनि ‘प्रोडक्ट’ बनाउनु कम्पनी र देश दुवैका लागि फाइदा हुने एनजेको धारणा छ । उनी ‘प्यासिभ इनकम’ सिर्जना हुने गरी यार्सा ल्याब्सबाट लुडोजस्तै अर्को कुनै युनिभर्सल गेम बनाउन खोजिरहेका छन् । यसका लागि दुई–तीन वर्ष लगाएर कतिपय गेम निर्माण गरी पब्लिससमेत गरिसके तर ती चलेनन् । ‘कत्रा–कत्रा हिरोहरूका फिल्म पनि चल्दैनन् नि, एउटा फिल्म चलेन वा सुपर हिट भयो भन्दैमा अर्को फिल्म नखेल्ने भन्ने हुँदैन,’ एनजेको धारणा छ, ‘हामी पनि एउटा एप सुपरहिट वा फ्लप भयो भन्दैमा अर्को नबनाउने हुँदैन । काम नै एप बनाउने छ, बनाइरहन्छौं ।’
यार्सा ल्याब्सले लुडो र कलब्रेकसँगै बाघचाल, म्यारिज, रमी, ड्राइभिङ टेस्ट लगायत मोबाइल गेम बनाएको छ । यी एपबाट प्रशस्त रकम कमाएको मात्रै छैन, धेरैलाई रोजगारी पनि दिएको छ । एक युवाको पहलमा सुरु भएको कम्पनीले हाल आएर राज्यलाई उल्लेख्य करसमेत बुझाउँदै आएको छ । गत वर्ष ११ औं राष्ट्रिय कर दिवसको अवसरमा पोखराको आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी कर बुझाउन सफल कम्पनीका रूपमा यार्सा ल्याब्सलाई सम्मान गरेको थियो । आईटी सेवा निर्यात गर्ने कम्पनीले १० प्रतिशत आयकर बुझाउनुपर्छ । यार्सा ल्याब्सका यी आँकडाले अनलाइन गेम मनोरञ्जनको माध्यम मात्रै नभएर राज्यलाई कर बुझाउने गतिलो व्यवसायसमेत बन्दै गएको प्रस्ट पारेको छ ।
