सांगीतिक दुनियाँमा करिअर बनाउन रोल्पाबाट काठमाडौं आएकी गायिका हुन् शान्तिश्री परियार । एक दशकभन्दा लामो समय गायनमा सक्रिय शान्तिले पछिल्लो समय आफूलाई निकै चल्तीकी गायिकाका रूपमा उभ्याउन सफल भएकी छन् ।
काठमाडौँ — गाउँमा धान रोप्ने चटारो चल्दै थियो, २०६४ सालको असारमा । तर रोल्पा ह्वामा (अहिले परिवार लिवाङमा बस्छन्) की शान्तिश्री परियारको मनमा भने कहिले काठमाडौं पुगिएला भन्ने हुटहुटी थियो । आमा दिलसरालाई गायिका बन्न काठमाडौं जान्छु भनेकी थिइन् शान्तिले । तर आमाले ‘छोरी मान्छे । उमेर सानै छ । विरानो सहरमा किन जाने ?’ भन्दै अनुमति दिइनन् । अघिपछि घरपरिवारले भनेको मान्ने शान्तिले यो कुरामा भने अटेर गरिन् ।
घाँसदाउरा गर्न वनपाखा जाँदा होस् वा विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गीत गाउन सुरिन्थिन् उनी । सँगै घाँसदाउरा गएकाहरूले भारी बिसाएरै गीत गाउन लगाउँथे उनलाई । शान्तिको सुरिलो स्वरमा एकैछिन भए पनि थकान मेटिएको अनुभूति गर्थे उनीहरू । तर, गाउँघरमा गीत गाएर बस्ने कुरामा मात्र उनी अडिरहिनन् । गायक बन्ने सपना साँची झोलामा एकजोर कुर्था–सुरुवाल बोकी रात्रिबस चढेर काठमाडौंतिर लागिन् । चौबीस घण्टा लगाएर उनी बिरानो सहर काठमाडौं ओर्लिइन् । १६ वर्षको उमेरमा काठमाडौं टेकेकी शान्तिका त्यसपछि संघर्षका दिन सुरु भए ।
केही समयपछि बागबजारको रमाइलो चौतारी दोहोरी साँझमा गीत गाउन थालिन् । दोहोरी साँझमा गाएर कमाएको पैसाले कोठा भाडा तिर्ने र त्यसैले जीविका चलाउँथिन् । ०६८ सालसम्म उनले दोहोरी साँझमा गीत गाइन् । त्यही वर्ष पहिलो पटक आफ्नै लगानीमा दिवान किनारको लय शब्दमा ‘घर छ तीन तले.....’ गीत रेकर्ड गराइन् । यो गीत निकाल्न उनले करिब एक लाख खर्चिन् । गीतले सोचे जस्तो बजार भने लिएन । ०७० कात्तिकमा मिलन लामासँग ‘माछीलाई फुर्लुङ...’ गीत गाइन् ।
कलाकार शान्तिश्री परियार । तस्बिरहरू : दीपक केसी/कान्तिपुर
०७० कात्तिकमै ‘एकतर्फी माया....’ रेकर्ड गराइन् । यसमा उनको आफ्नै लगानी थियो । गीतले सांगीतिक क्षेत्रका लयशब्द संकलक गर्ने स्रष्टाहरूमाझ चिनायो । सांगीतिक क्षेत्रमा यसले उनको परिचय बनाए पनि दर्शक श्रोताले पहिलो गीतभन्दा केही बढी रुचाए । तर मिलनसँग गाएको गीत ‘माछीलाई फुर्लुङ...’ राम्रै चल्यो । ‘यो गीतले मलाई विदेश टेकाउने काम गर्यो, विदेशमा रहनुभएका दर्शक श्रोतामाझ प्रत्यक्ष रूपमा पुग्न पाएँ,’ उनले भनिन्, ‘मिलन दाइले शान्ति राम्री गायिका हुन्, सबैले सपोर्ट गरिदिनुहोला भन्दिनुहुन्थ्यो । त्यो बेला पहिलो पटक ओमन र दोस्रो पटक हङकङ पुगेकी थिएँ ।’
त्यसपछि उनले स्वदेश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रम पाउन थालिन् । त्यसपछि भने उनलाई गायक पशुपति शर्माले तीजका बेला सम्झन थाले । शर्मासँग उनले लगातार तीन वर्ष तीज गीत गाइन् । ०७२ वैशाखको भूकम्पपछि त्यही वर्षको तीजताका पशुपतिसँग ‘सातो फुक झाँक्री बा...’ गीत गाइन् । भूकम्पपछि मानसिक तनावमा परेका दर्शकश्रोताको मनोभावलाई गीतमा उतार्ने प्रयास गायक शर्माले गरेका थिए । उनले पशुपतिसँग ‘बुहारी सुत्केरी भइछ...’ र ‘मेरो छोरा दुई नम्बरी गर...’ गीत गाइन् । सबै गीतमा पशुपतिसँगै शान्तिले पनि अभिनय गरेकी थिइन् । जुन गीत दर्शकश्रोताले राम्रैसँग रुचाए ।
त्यसपछि भने शान्ति दर्शकश्रोतामाझ अलिक चिनिइन् । सांगीतिक क्षेत्रमा उनको संघर्ष चलिरहेको थियो । ०७५ जेठमा जब गायक प्रकाश सपुतसँग ‘बोलमाया...’ गीत गाइन्, त्यसपछि उनको व्यस्तता निकै बढ्न थाल्यो । एक वर्षपछि फेरि प्रकाशले अर्को गीत सार्वजनिक गरे, ‘गलबन्दी च्यातियो...’ । गीतमा प्रकाशसँगै शान्तिले स्वर दिएकी छन् । गाउँको यथार्थतालाई गीत र भिडियोमार्फत देखाउन खोजिएको छ । सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका प्रकाश र शान्तिको लोकप्रियता ‘बोलमाया...’ र ‘गलबन्दी च्यातियो...’ गीतले ह्वात्तै बढाइदियो । ‘गलबन्दी च्यातियो...’ गीत हालसम्म युट्युबमा ६ करोडभन्दा धेरै पटक हेरिसकिएको छ । जुन गीत बालबालिकादेखि पाका उमेरकाहरूले निकै रुचाए । यी दुई गीतपछि शान्तिलाई पनि सांगीतिक क्षेत्रमा पछि फर्किनुपरेको छैन ।
‘यी दुई गीतले मेरो सांगीतिक यात्राको रफ्तार निकै नै बढाइदियो,’ उनी भन्छिन्, ‘त्यसपछि प्रकाशसँग ‘कुरा बुझ्न पर्छ...’ पनि गाएँ ।’ पछिल्लो समय प्रकाशकै ‘दमाई महाराज’ मा ‘राधा प्यारी..’ बोलमा कोरस गीत मात्र गाइन् । त्यसले निकै चर्चा पायो । सबैले रुचाए । त्यसपछि उनका एकपछि अर्का हिट गीत आइरहे । उनले गाएका गीतहरू प्रायः युट्युब च्यानलमा करोड तल छैनन् । उनले गाएका गीत मात्र हिट भएनन् । उनको व्यस्तता पनि बढ्यो । गीत हिट हुँदै गएपछि रेकर्डका लागि अफर आउने क्रम पनि बढी नै रह्यो ।
‘बोल माया...’ गीत हिट भएका बेला एकैदिन ६ वटासम्म गीत रेकर्ड गराएकी छु,’ उनी भन्छिन्, ‘त्यो बेला बिहान १० बजेबाट राति १२ बजेसम्म रेकर्डिङ स्टुडियोमा बसेकी थिएँ ।’ सक्छु भन्ने हुँदा मात्र यति धेरै गीत गाउने, तर बिग्रने डर भए नगाउने उनी सुनाउँछिन् । पछिल्लो समय उनको स्वर रहेका र चर्चा कमाएका गीतहरूमा प्रकाश दूतराजसँगका ‘घर कता हो बैनीको...,’ ‘जाम भो माइली...,’ ‘करिम....’ गीत हुन् । तर दूतराजसँग उनले अरू गीत पनि गाएकी छन् । त्यसो त उनले ०७७ फागुनमा बाबुकृष्ण परियारसँग गाएको ‘रुकुमको, हान माया चौका दाउ हुकुमको...’ गीत सबैले रुचाए । स्वर र भिडियो दुवैले दर्शकको ध्यान खिच्यो । गीतले
युट्युबमा ४ करोड ५४ लाख भ्युज बटुलिसकेको छ । गीतको रचनाकार विजय चन्द दर्पण हुन् । ‘हिजो आज पहिलाभन्दा निकै व्यस्त भएको छु, आज पनि खुमन अधिकारीसँग गीत रेकर्ड गराएँ,’ शान्ति भन्छिन्, ‘हिजोआज पूर्वतिर आयोजना भइरहेका सांस्कृतिक कार्यक्रममा व्यस्त छु ।’
गएको तीजमा उनले गाएको ‘अरेली काँडैले..’ गीतले निकै नै चर्चा पायो । ०८० भदौ १ मा शान्तिकै नाममा रहेको युट्युब च्यानलमा अपलोड भएको गीत अहिलेसम्म ७ करोड ५७ लाखले हेरिसकेका छन् । यो गीत नेत्र अर्यालको शब्दमा शान्तिले गाएकी हुन् । म्युजिक भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारी देखिन्छन् । ‘दर्शकश्रोताले भिडियो, गीत एकदमै मनपराइदिनुभएको छ,’ उनी भन्छिन्, ‘सांगीतिक क्षेत्रमा युट्युबमा अपलोड गरेको वर्ष दिन नपुग्दै सबैभन्दा धेरै हेरिएको गीतमा यो पर्छ ।’ गीत उनकै लगानीमा बनेको हो ।
‘म हरेक कुरामा इन्जोय गर्छु, मेरो स्टेज कार्यक्रम हेरिसकेपछि यो गीत गाउने गायिका तपाईं हो ? भनेर दर्शकश्रोताले सोध्दा मज्जा लाग्छ,’ उनी भन्छिन्, ‘गीत सुन्दा उमेर भएको, पाको जस्तो लाग्थ्यो, तर प्रत्यक्ष देख्दा कति धेरैले सानी हुनुहुँदोरैछ भन्नुहुन्छ, त्यो बेला दंग पर्छु ।’ पछिल्लो समय उनले निश्चल दवाडीसँग गाएको ‘गोर्खे खुकुरी...’ चर्चामा छ । गत फागुनमा लोमस शर्माको युट्युब च्यानलमा अपलोड भएको यो गीत २ करोड ५४ लाख पटक हेरिसकिएको छ । निश्चलसँगै गाएको ‘साल्टी बजारमा..’ दर्शकले राम्रो रुचाएको गीतभित्र पर्छ । ‘उहाँले राम्रो गीत गाउने र लेख्ने गर्नुहुन्छ, उहाँको स्वर टिपिकल छ,’ उनी भन्छिन्, ‘उहाँसँगको सहकार्य पनि मलाई फापेको छ ।’ यो गीत पनि युट्युबमा २ करोड ८८ लाख दर्शकले हेरिसकेका छन् ।
‘दोहोरी साँझमा गीत गाइरहँदा एक चोटि नेपाली दर्शकश्रोतालाई मिठो गीत गाएर सुनाउने सपना साँचेकी थिएँ,’ उनी भन्छिन्, ‘यसरी सबै दर्शकश्रोताको मनमस्तिकमा बस्न सकौंला भन्ने लागेको थिएन, आज सबैको साथ सहयोग र मायाले यो ठाउँमा पुगेकी छु ।’ उनले लोकदोहोरी गीत मात्र गाएकी छैनन् । फिल्ममा गाएका गीत पनि हिट छन् । ‘झिंगे दाउ’ फिल्मको मुक्त उदासको रचना रहेको ‘आगो बिना बिँडी जल्दैन...’ गीतले पनि राम्रै चर्चा कमायो । अहिले प्रदर्शन भइरहेको फिल्म ‘पुजार सार्की’ को ‘दर्शन गरे..’ गीत उनी र प्रकाश सपुतले गाएका छन् । जुन गीतले दर्शकको ध्यान तानिरहेको छ । नेत्र अर्यालकै शब्द रहेको ‘माझी दाइ...’ प्रेमराजा महतसँग गाएको ‘ढुंगे धारैको...’ छविराज सुनारसँग गाएको ‘लाम पिरती..,’ र अर्जुन सापकोटासँग पछिल्लो समयमा गाएको गीत ‘बस्यौ अलक्कै...’ दर्शकश्रोताले रुचाएका छन् । पछिल्लो समय नै तल्लो बाटोबाट अमेरिका जाने नेपालीहरूको कथाव्यथा समेटिएको ‘तल्लो बाटो...’ बोलको गीत चर्चामा छ । जुन गीत खेम सेन्चुरी र उनले गाएका हुन् ।
‘गीत हिट हुन गाउनेले राम्रो गायो, लेख्नेले राम्रो लेख्यो र कम्पोज पनि राम्रो बन्यो, तर म्युजिक भिडियोमा गएर बिग्रियो भने गीत राम्रो हुँदैन, त्यसैले एउटा गीत हिट हुन धेरै पक्षको संयोजन मिल्नुपर्ने हुन्छ, त्यसैले गीत जरैदेखि राम्रो हुनुपर्छ,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘त्यो जरादेखि राम्रो बनेका गीत मेरो भागमा परिरहे जस्तो लाग्छ ।’ त्यसो त उनले हालसम्म एक हजारभन्दा बढी गीत गाइसकेकी छन् । सांस्कृतिक कार्यक्रम, पार्टी, भोजभतेरमा उनले गाएको गीत नबजेको क्षण हुँदैन । ‘म धेरै विन्दास मान्छे पनि हो,’ उनी भन्छिन्, ‘कहिलेकाहीं हिँडिरहेका बेला आफूले गाएको गीत बज्दा नाच्दिम् नाच्दिम् झैं पनि लाग्छ ।’ उनी सांगीतिक कार्यक्रमको सिलसिलामा १६ देश पुगिसकेकी छन् । नेपालका ५० भन्दा बढी जिल्लाका कार्यक्रममा गीत गाइसकेकी छन् ।
कार्यक्रममा व्यस्त हुने भएकाले काठमाडौं आएका बेला गीत रेकर्डमा सक्रिय हुन्छिन् । रोल्पामा जन्मिए पनि धादिङको नीलकण्ठ नगरपालिकास्थित साँखुका नारायण भुजेलसँग उनले प्रेम विवाह गरिन् । अहिले काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने उनको साढे ३ वर्षकी छोरी छन् । उनले जीवनमा सुख र दुःख दुवैको बराबरी जस्तै अनुभव लिएकी छन् । त्यसो त आफ्नै गृहजिल्लामा गत वर्ष आयोजित ‘रोल्पा महोत्सव’ मा बुवा कर्म–आमा दिलसराको अघिल्तिर बसेर प्रस्तुति दिँदा उनी भावुक बनिन् । ‘रोल्पामा सांगीतिक कार्यक्रममा बुवा–आमाको अघिल्तिर बसेर गीत गाउने अवसर पाएँ । स्टेजमा मैले गायक बन्न संघर्ष गरेको कुरा गरिरहँदा बुवा–आमा रुनु भयो । दर्शक भावुक बने,’ उनले भनिन्, ‘त्यो बेला बोल्दाबेल्दै खुसीले मेरा पनि आँसु झरेको पत्तो पाइनँ ।’
हुर्काउन, बढाउन र पालनपोषण गर्न शान्तिका बुवाले भारतमा गएर मजदुरी गरे । ‘बुवाले संघर्ष गरेर मलाई यो ठाउँसम्म आउने वातावरण बनाइदिनुभएको हो,’ उनी भन्छिन्, ‘बुवाकै पथले मलाई पनि संघर्षशील बनायो ।’ उनी छिटै काठमाडौंमा घर बनाउने तयारीमा छिन् । तपाईं जस्तै राम्रो गायक बन्न के गर्नुपर्छ ? ‘सुरुमा गायक बन्न आवश्यक पर्ने कुरा मसँग छ/छैन भनेर पहिचान गर्नुपर्छ, यो हरेक क्षेत्रमा प्रवेश गर्नुअघि सोच्ने कुरा हो,’ उनी भन्छिन्, ‘त्यसपछि त्यो मान्छे सफल भएको देखेको छु, मैले त्यो चिज पहिचान गरेरै यो क्षेत्र रोजेको हो, आफूलाई जुन क्षेत्रमा लाग्दा सफल हुन्छु भन्ने लाग्छ, त्यही क्षेत्रमा लागेर भविष्य बनाउने हो ।’
तर सफल हुन मिहिनेत गर्नैपर्छ । धैर्यता, अनुशासन हुनैपर्छ । ‘एउटा गीत हिट भयो भन्दै सबै कुरा पुग्यो भन्ने हुँदैन,’ उनी थप्छिन्, ‘थप राम्रा र हिट गीत गाउन मिहिनेत गर्दै अघि बढ्नुपर्छ, अहिले पनि म जहाँ जान्छु, नियमित साधना गरिरहेकै हुन्छु ।’ उनले रेकर्ड गराएका केही गीत बजारमा आउने तयारीमा छन् । ‘मेरा हरेक गीत हरेक उमेर समूहका श्रोताहरूले गाउनुहुन्छ, मन पराउनुहुन्छ, अनि ती गीतमा नाच्नुहुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले त आफूलाई भाग्यमानी ठान्छु ।’
युट्युबमा आफूले गाएका ३० भन्दा बढी गीत करोडमाथि पुगेका छन् । गायन क्षेत्रमा लागेपछि शान्तिश्रीमा के परिवर्तन भयो त ? उनी भन्छिन्, ‘शान्तिश्री परिवर्तन भएकी छैन, शान्तिश्रीको गीत गाउने शैली परिवर्तन भएको छ । व्यस्तता बढेको छ, तर गाउँबाट आउँदाको जस्तो सोझो थिएँ, त्यस्तै छु, अहिलेसम्म कसैको चित्त दुखाए जस्तो लाग्दैन र दुखाउने पनि छैन ।’
