२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४
मेड इन नेपाल

आयुर्वेदिक औषधि उत्पादनमा गोरखा ब्रान्ड

चियाबाट आफ्नो उत्पादन सुरु गरेको गोरखा आयुर्वेद कम्पनीले ४ दशकको यात्रामा गोरखा च्यवनप्रास, शिलाजित क्याप्सुल, शक्तिटोन क्याप्सुल, निम फ्रेसलगायत १ सय ८४ प्रकारका शक्तिवर्द्धक र आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ
फ्याक्ट्रीमा उत्पादन हुन नपाउँदै अर्डर आइसकेको हुन्छ, औषधि काठमाडौं नपुग्दै सकिन्छ ।-खेमराज भट्टराई, सञ्चालक

गोरखा — सीमान्तकृत स्थानीय समुदायलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ २०४० सालमा स्थापना भएको गोरखा आयुर्वेद कम्पनीले सुरुका वर्ष गुडुची (गुर्जो) चिया मात्र उत्पादन गर्थ्यो । २०४५ सालसम्म गुडुची चियामा कम्पनीले पहिचान बनायो । उत्पादन विस्तार गर्दै ४० वर्षको अवधिमा कम्पनीले शास्त्रीयसँगै प्याटन अर्थात् आफ्नै ब्रान्डका १ सय ८४ भन्दा बढी औषधि उत्पादन गर्दै आएको छ ।

आयुर्वेदिक औषधि उत्पादनमा गोरखा ब्रान्ड

४० वर्षे इतिहास बोकेको गुडुची चियाको माग अहिले पनि उस्तै छ । स्थापनाकालमा यहाँ उत्पादन भएका गुडुची चिया इटली र फ्रान्सका बजारसम्म पुग्थ्यो ।

परापूर्वकालमा वैद्य, कविराजले प्रयोग गर्ने जडीबुटीबाट बन्ने औषधि अहिले परिमार्जित गर्दै अध्ययनपश्चात् आफूहरूले उत्पादन गर्दै आएको कम्पनीका कविराज जीवन रेग्मी बताउँछन् । ‘कम्पनीमा शास्त्रीय र आफ्नै ब्रान्डका औषधि उत्पादन हुन्छन्,’ उनले भने, ‘आयुर्वेद ग्रन्थमा उल्लेख भएका औषधि जुन परम्परादेखि चलनचल्तीमा रहेका छन्, ती उत्पादन हुन्छ, यस्ता औषधि पहिले गाउँघरमा वैद्यहरू प्रयोग गर्थे ।’ शास्त्रीय विधिसँगै कम्पनीका कविराजहरूले डाक्टर विधि पनि प्रयोग गरेर औषधि उत्पादन हुने उनले बताए । शास्त्रमा उल्लेख भएका वाथ, पित्त, कफका लागि कस्तो सम्मिश्रण भएका औषधि चाहिन्छ भनिएको छ, त्यही आधारमा आफूहरूले फलो गरिरहेको उनले सुनाए ।

साइड इफेक्ट नगर्ने, शरीरका सेलहरूलाई असर नगर्ने भएर यसको लोकप्रियता बढ्दै गरेको कविराज रेग्मी बताउँछन् । अन्य उत्पादन भने कम्पनीका आफ्नै हुन् । गोरखा च्यवनप्रास, तुलसी चिया,गुड्ची चिया, स्लिम चिया, डायबिटी, आरम तेल, शिलाजित क्याप्सुल, शक्तिटोन क्याप्सुल, निम फ्रेस, वेदिक–जी साबुन, वेदिक जी आयुर्वेदिक फेसवास लगायतका उत्पादन कम्पनीका लोकप्रिय छन् । पावर टी, गुड्ची टी, तुलसी चिया, स्लिम चिया पनि कम्पनीले उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने अभिपत्तिकर चूर्ण ग्यास्टिकका लागि उपयोगी रहेको रेग्मीले बताए । पायल्सका लागि पिलगरिन, च्यवनप्रास, कासारिन, बालमृत गोरखा आयुर्वेद कम्पनीका उत्पादन हुन् ।

आयुर्वेद कम्पनीले उत्पादन गर्ने च्यवनप्रास देशभर लोकप्रिय छ । यार्सागुम्बु, केसर लगायतका जडीबुडीको सम्मिश्रण भएर बन्ने स्पेसल, साधारण र शक्तिवर्द्धक च्यवनप्रास कम्पनीले उत्पादन गर्दै आएको छ । तनाव कम गर्ने, अनिन्द्रा, मानसिक तथा शारीरिक दुर्बलता सुधार गर्ने औषधि पनि कम्पनीले उत्पादन गर्दै आएको छ । जेठीमधु, शंकपुष्पी लगायतका जडीबुटी मिसाएर त्यस्ता औषधि उत्पादन गरिँदै आएको छ । कब्जियत हुने, जोर्नी दुख्ने, मधुमेह, सुगर, प्रेसरका बिरामीका लागि उपयोगी औषधि कम्पनीबाट उत्पादन हुने गरेको छ । चुर्ण (धूलो), सिरफ (झोल) र ट्याब्लेट औषधि उत्पादन हुँदै आएको छ । जन्डिस, कब्जियत, मधुमेह, ब्लडप्रेसर, पायल्स, दमको रोगी, महिलाहरूको तल्लो पेट दुख्दा प्रयोग हुने लगायतका औषधि उक्त कम्पनीले उत्पादन गर्दै आएको जनाएको छ ।

२०५२ सालमा फ्रान्सबाट ३५ हजार बट्टा चियाको अर्डर आएपछि त्यो तयार गर्न आफूहरू त्यतिबेला मध्यरातसम्म खटिएको अजिरकोट गाउँपालिका–२ खरिबोटका खडानन्द धिताल अझै सम्झिन्छन् । अदक्ष कामदारका रूपमा त्यतिबेला भर्खर कम्पनीसँग जोडिएका उनी कम्पनीका उत्पादन स्वदेश मात्र नभएर विदेशमा समेत निर्यात हुन थालेपछि आफूहरू ज्यादै खुसी भएको सुनाउँछन् । ‘फ्रान्सबाट चियाको अर्डर आएपछि हामी १८/२० जना कामदार राति १२ बजेसम्म खटेर काम गर्थ्यौं,’ उनले भने, ‘अर्डरअनुसार चिया उत्पादन भएपछि तीनवटा ट्रकमा हालेर काठमाडौं पठाएका थियौं ।’

धितालका अनुसार आयुर्वेद कम्पनीमा औषधि उत्पादनका लागि जिल्लाका विभिन्न क्षेत्रमा तत्कालीन समयमा जडीबुटीका नर्सरी थिए । खरिबोटबाट मात्र कुट्की, जटामसी लगायतका हावापानी सुहाउँदा ५ वटा नर्सरीबाट उत्पादित कच्चा पदार्थ गोरखा आयुर्वेद कम्पनीमा आउँथ्यो । स्थानीय स्तरमा समूह बनाएर जडीबुटीका खेती हुन्थे । ‘गोरखा आयुर्वेद कम्पनीसँग जोडिन मलाई नर्सरी माध्यम बन्यो, जागिर पाएँ,’ उनले भने, ‘त्यसबेला अदालतको सुब्बाको भन्दा हाम्रो तलब धेरै हुन्थ्यो, सुब्बाको २२/२५ सय थियो, हाम्रो त्यतिखेर नै ३३ सय तलब थियो ।’ अदक्ष, अर्धदक्ष, दक्ष हुँदै वरिष्ठ उच्च दक्ष पदमा कार्यरत धिताल आगामी वर्ष अवकाश पाउँदै छन् ।

५५ वर्षमा अनिवार्य अवकाश दिने कम्पनीको प्रावधानअनुसार धिताल रिटायर्ड हुन लागेका हुन् । २७ वर्ष आयुर्वेद कम्पनीमा काम गरेका उनी जडीबुटीसम्बन्धी विशेष दख्खल राख्छन् । ‘जडीबुटी जति पनि पाइन्छ, खपत गर्न सकिएको छैन, स्रोत भए पनि उपयोग गर्न नसक्दा खेर गइरहेको छ,’ उनले भने, ‘मेरो अनुभवले पनि उत्पादन गरे बिकेन भन्न पर्दैन, लोकल जडीबुटी हाम्रै घर–आँगनमा जति पनि छन्, यसलाई चिन्न भने सक्नुपर्‍यो ।’

कोभिडमा थप उत्पादनको अवसर

कोडिभ–१९ महामारीका बेला अधिकांश उद्योग बन्दाबन्दीको अवस्थामा पुगे । गोरखा आयुर्वेद कम्पनीलाई भने त्यतिबेला झन् औषधि उत्पादनको चाप बढेको थियो । कोभिड महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका उत्पादन र बिक्रीमा कम्पनी लागिपरेको थियो । इमुनो केयर, अशोगन्धा, शिलाजित, कफसिरफ, हर्वल चिया लगायत उत्पादनको माग कोभिड महामारीका बेला झन् बढेको कम्पनीका कविराज रेग्मी बताउँछन् । तत्कालीन समयमा क्वारेन्टाइन र आइसोलेसनमा कम्पनीका शक्तिवर्द्धक औषधि पुर्‍याउने गरिएको थियो ।

कम्पनीमा गुर्जो सम्मिश्रण भएको उत्पादनको माग पनि कोभिडका बेला बढेको उनले बताए । आयुर्वेदिक औषधिको पद्धतिअनुसार गुर्जोको डाँठले पेटसम्बन्धी समस्यालाई निराकरण गर्छ । यसले पित्तलाई सक्रिय बनाउँछ भने दम, खोकी, ज्वरो, मधुमेह, अमलपित्त, जन्डिस, छालासम्बन्धी रोग, पिसाबसन्बन्धी रोग तथा कुष्ठरोगीलाई समेत यसको सेवनले फाइदा पुर्‍याउँछ । खानामा रुचि जगाउनुका साथै शक्तिवर्द्धक औषधिका रूपमा गुर्जोका लहरालाई लिइने कम्पनीका कविराज बताउँछन् । कोभिड–१९ लाई लक्षित गरी कम्पनीले ‘इमुनोकेयर’ को उत्पादन थालेको थियो । गुर्जो, किटु, भुइँअमला, तुलसीलगायतका जडीबुटीको सम्मिश्रण रहेको इमुनोकेयर गोरखामा मात्र नभई देशका विभिन्न भागमा पठाइएको थियो ।

कम्पनीमा गोरखासँगै, तनहुँ, चितवन, धादिङ लगायतका जिल्लाबाट समेत नियमित किसान जडीबुटी बिक्रीका लागि आउने गर्छन् । करिब १ सय ५० प्रजातिका जडीबुटी कम्पनीले खरिद गर्दै आएको छ । गाउँघरमै पाइने हर्रो, बर्रो, अमला, जटामसी, कुट्की, चिराइतो, असुरा, सिमली, अश्वगन्धा, कुरिलो, गुर्जो, सिमला, कोइराला, वन खिर्रो, रिठ्ठा लगायतका जडीबुटी पनि कम्पनीले खरिद गर्दै आएको छ । जिल्लाभित्रकै जंगल र निजी बारीमा भएका ७५ प्रतिशत कच्चा पदार्थले भरथेग गरेको छ ।

हिमाली जडीबुटी गोरखाकै उत्तरी क्षेत्रबाट ल्याउने गरिएको छ । धादिङबाट कुरिलो, तनहुँबाट गुर्जो, हुम्ला, जुम्लाबाट यार्सागुम्बु, दाङबाट अमलालगायतका कम्पनीलाई चाहिने जडीबुटी ल्याउने गरिएको छ । हर्रोबर्रोलगायत जडीबुटी कम्पनीले तराईका जिल्लाबाट पनि आयात गर्छ । ‘५/७ वटै जिल्लाबाट कच्चा पदार्थ कलेक्सन गर्छौं,’ उनले भने । स्थानीय स्तरबाटै संकलन भएर आएको कच्चा पदार्थ कम्पनीले खरिद गर्ने गरेको छ । स्थानीय स्तरमा पाइने जडीबुटी कम्पनीमा बिक्री गरेर आम्दानी लिनेको संख्या ६० भन्दा बढी छ ।

१२ करोड रुपैयाँ लगानी रहेको कम्पनीले अहिले वार्षिक १५ देखि २० करोडसम्म कारोबार गर्ने गरेको छ । ‘उत्पादन गर्ने फ्याक्ट्री यही एउटा हो, यहाँको उत्पादन नेपालभरि जान्छ,’ उनले भने । कम्पनीको मुख्य कार्यालय भने काठमाडौंको सोल्टीमोडमा रहेको छ । यसमार्फत कम्पनीका उत्पादन देशका विभिन्न सहरमा पुर्‍याइने गरेको उनले बताए । केन्द्रीय कार्यालय काठमाडौं र गोरखामा गरी ६५ जना कर्मचारी कम्पनीमा कार्यरत छन् । हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयुर्वेदिक औषधि उत्पादन गर्ने कार्यमा ३५ जना कामदार खटिन्छन् ।

कम्पनीका उत्पादनबारे फार्मेसी पढ्दै गरेका विद्यार्थीहरू पनि कार्यस्थलमा पुगेर अध्ययन गर्ने गर्छन् । वार्षिक ५० देखि ६० समूहमा त्यस्ता विद्यार्थीहरू कम्पनीका उत्पादनबारे चासो राख्न आइपुग्ने गरेको रेग्मी बताउँछन् ।गोरखा आयुर्वेद कम्पनीले आफ्ना उत्पादनलाई स्वदेशमै बिक्री वितरणका लागि विशेष जोड दिएको छ । कम्पनीका उत्पादन बिक्रीका लागि देशभर ८० वटा डिलर रहेको कम्पनीका सञ्चालक रामहरि सुवेदी बताउँछन् । ‘हाम्रा सबै उत्पादन डिलरमार्फत पठाउँछौं,’ उनले भने, ‘कम्पनीका लागि चाहिने कतिपय कच्चा पदार्थ बाहिरबाट पनि ल्याउनुपर्छ, प्याकिङ म्याट्रियल इन्डियाबाट आउँछ, भनेका बेला सामान पाइँदैन ।’ कम्पनीका उत्पादन अहिले स्वदेशमै बढी खपत भइरहेको पनि उनले सुनाए । ‘औषधि निर्यात गर्न कडाइ पनि छ,’ उनले भने, ‘त्यसैले हाम्रो फोकस अहिले स्वदेश केन्द्रित छ ।’

जडीबुटी खेती गर्न प्रोत्साहन

२०४० सालमा फ्रान्सको सीआईडीआर संस्था र नेपालीको संयुक्त लगानीमा खुलेको आयुर्वेद कम्पनी आजसम्म अनवरत सञ्चालनमा रहँदै आएको छ । तत्कालीन समयमा स्थानीयको जीवनस्तर उकास्न जडीबुटी नर्सरीमा सीआईडीआरले प्रोत्साहन गरेको थियो । तराई, पहाड र हिमालसँग जोडिएको विषमताको जिल्ला भएकाले पनि तत्कालीन समयमा जडीबुटी खेतीका लागि गोरखा रोजाइमा परेको हुन सक्ने कम्पनीका पुराना कर्मचारी बताउँछन् । ‘कम्युनिटी डेभलपमेन्ट भनेर फ्रेन्चहरू नेपाल आएका थिए,’ कम्पनीका सञ्चालकमध्येका खेमराज भट्टराईले भने, ‘स्थानीय स्तरमा जडीबुटी खेतीको प्रमोट गर्ने भनेर खेती सुरु भएपछि बजारको आवश्यकतालाई ध्यान दिएर कम्पनी स्थापना भएको हो ।’

तत्कालीन समयमा फ्रेन्च र नेपालीको आधा/आधा लगानीमा कम्पनी स्थापना भएको उनले बताए । सीआईडीआरले व्यवस्थापनको जिम्मा आयुर्वेद कम्पनीलाई लगाएको पनि उनले बताए । ‘अहिले पनि फ्रेन्चको केही सेयर छ,’ उनले भने । तत्कालीन समयमा सुरु भएको जडीबुटीको नर्सरी खेती भने राम्रो नभएको भट्टराई बताउँछन् । गोरखा आयुर्वेद कम्पनीमा २२ जना सेयर सदस्य रहेको कम्पनीका सञ्चालकसमेत रहेका भट्टराईले बताए । उनका अनुसार आयुर्वेद औषधिको माग धेरै छ । ‘फ्याक्ट्रीमा उत्पादन हुन नपाउँदै अर्डर आइसकेको हुन्छ, काठमाडौं नपुग्दै औषधि सकिन्छ,’ उनले भने, ‘उत्पादनको क्वालिटी राम्रो भएकाले पनि माग उच्च छ ।’

कम्पनीलाई चाहिने आवश्यक कच्चा पदार्थ उत्पादनका लागि गोरखा नगरपालिका–१४ देउरालीस्थित गोर्वुङमा जडीबुटी खेती थालिएको छ । साउथ एसियाकै नमुना जडीबुटी फार्म बनाउने उद्देश्यका साथ २ सय रोपनी क्षेत्रफलमा २०७६ सालबाट खेती थालिएको हो । गोर्वुङको गोरखा अर्गानिक हर्वल फार्ममा रूख र भुइँ प्रजातिका जडीबुटीको खेती गरिएको कम्पनीका सञ्चालक भट्टराई बताउँछन् । उनको अगुवाइमा जडीबुटी खेती थालिएको हो । ‘रूख प्रजातिका जडीबुटीबाट उत्पादन लिन अझै डेढ/दुई वर्ष लाग्ने भयो,’ उनले भने, ‘भुइँ प्रजातिका जडीबुटी आयुर्वेद कम्पनीलाई उपलब्ध गराउन थालिसकेका छौं ।’

फार्ममा घ्युकुमारी, निम, रिठ्ठा, तुलसी, अमला, शीतल चिनीलगायत ५० भन्दा बढी प्रजातिका जडीबुटीको खेती भइरहेको छ । यस वर्षबाट अमलाको उत्पादन सुरु भएको छ । आयुर्वेद कम्पनीका उत्पादनमा सबैभन्दा धेरै प्रयोग हुने अमला मात्र उक्त फार्मबाट डेढ सय टन उत्पादन गर्ने लक्ष्य राखिएको छ । फार्ममा लगाइएका १५ सय अमलाका बोट हुर्कंदो अवस्थामा छन् । ‘आयुर्वेद औषधि उत्पादन गर्ने कम्पनीको आफ्नै जडीबुटी फार्म भएको नेपालमै यो एउटा मात्र हो,’ भट्टराईले भने ।

फार्ममा रूख कटहर, लिची, ड्रागन फुड लगायतका फलफूलको पनि खेती गरिएको छ । उक्त फार्म स्थापनाका लागि ३ करोड लगानी गरिएको छ । फार्मको ५ रोपनी क्षेत्रफलमा लज्जावती झारको खेती गरिएको छ । आयुर्वेदमा लज्जावती झारको छुट्टै महत्त्व रहँदै आएको छ । सुगर, मुटुसम्बन्धी रोगको औषधि बनाउन यही झारको प्रयोग गरिन्छ । भारतबाट आयात हुने जडीबुटी प्रतिस्थापनका लागि पनि क्षेत्रफल बढाएर खेती विस्तारको योजना रहेको उनले बताए । ‘कम्पनीका लागि, आवश्यक ७५ प्रतिशत कच्चा पदार्थ यही फार्मबाट उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ भट्टराईले भने, ‘कम्पनीलाई आत्मनिर्भर बनाउनका लागि पनि जडीबुटी खेती सुरु गरिएको हो ।’

जडीबुटीलगायत आयुर्वेदिक औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थमा भारतको भर पर्नुपर्ने अवस्था दुःखद रहेको भट्टराई बताउँछन् । ‘खेती गरेको जडीबुटी बजारसम्म पुर्‍याउन पनि नीतिगत समस्या छ,’ उनले भने, ‘दुःखद कुरो त के भने सालको बोक्रा पनि भारतबाट ल्याउनुपर्छ, अशोकका बोक्राले सालको बोक्राको काम गर्छ, तर हामीकहाँ त्यही पनि भारतबाट नल्याई हुँदैन ।’ जडीबुटी संकलनमा पनि कतिपय नीतिगत अस्पष्टताका कारण झमेला पर्ने गरेको उनले सुनाए ।

प्रकाशित : वैशाख २, २०८१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?