मेड इन नेपाल

बुद्ध एयर : २६ वर्षदेखि अथक उडान

नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये बुद्ध एयर सर्वाधिक जहाज भएको कम्पनी हो । नेपालमा मात्रै होइन, एसियामै सर्वाधिक एटीआर विमान उडाउनेमा बुद्ध एयरको नाम अग्रपंक्तिमा आउँछ
सुरज कुँवर

काठमाडौँ — भोजपुरको दिङ्लामा जन्मेहुर्केका सुरेन्द्रबहादुर बस्नेतले जीवनको उतरार्द्धमा स्थापना गरेको एउटा वायुसेवा कम्पनी आज नेपालको आन्तरिक उडानमा लाइफलाइन बनेको छ । यदि बुद्ध एयरले अहिले एक दिन पनि उडान बन्द गर्नुपर्ने भयो भने देशकै अर्थतन्त्रमा ठूलो धक्का लाग्न पुग्छ ।

बुद्ध एयर : २६ वर्षदेखि अथक उडान

सार्वजनिक जीवनबाट अवकाश लिइसकेपछि ७० वर्षको उमेरमा २०५४ सालमा छोराहरूसँग मिलेर स्थापना भएको बुद्ध एयर आज नेपालको आन्तरिक उडानमा पहिलो नम्बरमा छ । यात्रु, जहाज र उडानको गणितीय संख्याका आधारमा ऊ पहिलो नम्बरमा दरिएको हो । गत वर्ष आन्तरिक उडानमा ७१ लाख यात्रु उडेका थिए । जसमा बुद्ध एयरको बजार हिस्सा ६१ प्रतिशत थियो ।

नेपालको पहिलो निर्वाचन आयुक्त, विभिन्न संघसंस्था तथा आयोगमा अध्यक्ष, न्यायाधीश, मन्त्री हुँदै अवकाशपछिको जीवनमा सुरेन्द्रबहादुरले छोराहरू वीरेन्द्र र शिवेन्द्रलाई साथमा लिई २०५४ असोजदेखि सञ्चालनमा ल्याएको बुद्ध एयरले स्थापनाको २६ वर्षमा २ करोड यात्रुलाई सेवा दिइसकेको छ । यसका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको ९५ वर्षको उमेरमा २०८० पुस १० गते निधन भएपछि यस वायुसेवा कम्पनीको व्यवस्थापकीय नेतृत्व उनका जेठा छोरा वीरेन्द्रको काँधमा आइपुगेको हो । उनी पनि अबको केही वर्षपछि वायुसेवाको नेतृत्व छोरीहरूलाई सुम्पिने मनस्थितिमा पुगेको बताउँछन् । ‘म अबको केही वर्षपछि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सोचमा छु,’ उनले भने, ‘कार्यकारी पद हस्तान्तरण गर्छु । अनुभवका आधारमा अध्यक्षमा चाहिँ रहिरहन्छु ।’

बुद्ध एयर स्थापना हुनुअघि वीरेन्द्र विराटनगरमा थिए भने शिवेन्द्र हेलिकोप्टर पाइलटको तालिम लिएर भर्खरै स्वदेश फर्केका थिए । उनी एसियन एयरलायन्समा कोपाइलटका रूपमा हेलिकोप्टर उडाउँदै थिए । ’५० को दशकको सुरुवाती चरणमा बस्नेत परिवारको नियमित आम्दानीको स्रोत थिएन ।

कहिले कार्पेट व्यवसाय, कहिले माछाका भुरा उत्पादन त कहिले आयत निर्यातको काम भइरहेका बेला दुई साझेदारसँग मिलेर बस्नेत परिवारले हेलिकोप्टर कम्पनी स्थापना गर्ने योजना बनाएको थियो । ‘बुवाको अवकाशपछि नियमित आम्दानी हुने हामीसँग उद्यम थिएन । घरमा चुल्हो बाल्न कठिनाइ भइरहेको थियो,’ कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बुधबार जाउलाखेलमा कान्तिपुरसँग भने, ‘व्यापार बिजनेस गर्नुपर्छ भनेर एमआई–१७ हेलिकोप्टर सञ्चालन गर्न एक/एक करोड रुपैयाँ राखेर वैद्य र गोयल घरानाका दुई साझेदारसहित वायुसेवा सञ्चालन गर्ने योजना बनेको हो ।’ सुरुमा यसको नाम हनुमान एयर राख्ने कुरा चलेको र पछि परिवार र साथीभाइको सल्लाहमा गौतम बुद्धकै नामबाट ‘बुद्ध एयर’ नामको कम्पनी नै खडा गरेको उनले बताए । त्यसताका रसियन हेलिकोप्टर एमआई–१७ मा बीचमा यात्रु र छेउछाउमा कार्गो राखेर उडान गर्ने योजना अघि बढेको थियो ।

हेलिकोप्टर खोजीका लागि तीनै घरानियाले ८/८ लाख रुपैयाँ जम्मा गरे । अनि, हेलिकोप्टरको खोजीमा तीनै जनाका तीन प्रतिनिधि रसिया र युक्रेनसम्म पुगे । त्यहाँ उनीहरूले उचित मूल्यको हेलिकोप्टर पाउन सकेनन् । त्यसपछि खाली हात फर्किए । त्यसैबेला इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)ले त्यसै बेला यात्रु र कार्गो राखेर हेलि उडान गर्न नपाइने र कुनै एकमा मात्रै केन्द्रित गर्नुपर्ने नियम लागू गरेपछि बस्नेतसहित तीन साझेदारले हेलिकोप्टर स्थापना गर्ने योजनालाई विश्राम दिए ।

हेलिकोप्टर ल्याउन नसकेपछि वीरेन्द्रलाई पीर पर्‍यो । भर्खर ३१/३२ वर्षका थिए । दुइटी छोरी भइसकेका थिए । ‘जागिरका नाममा रोज क्लब कोरिया भन्ने आईएनजीओमा १० हजार रुपैयाँ तलबको प्रोजेक्ट म्यानेजरको नौकरी थियो,’ बस्नेतले सुरुवाती दिन सम्झँदै भने, ‘हेलिकोप्टर नआउने भएपछि मलाई बढो पीर पर्‍यो । बुवा र म वायुसेवा कम्पनी स्थापनाका लागि उपाय खोजिरहेका थियौं ।’ त्यसैबेला वीरेन्द्र नेपाल वायुसेवा निगमका क्याप्टेन फिजोनाथ नेपालीसँग सल्लाह लिन पुगे । वरिष्ठ क्याप्टेन नेपाली नाताले वीरेन्द्रका भिनाजु पर्थे । उनी संसारमा उत्पादन भइरहेका नयाँ नयाँ विमान र प्रविधिबारे चासो राख्थे । त्यसबेला नेपाली आकाशमा बेलायती जहाज एभ्रोको दबदबा थियो ।

क्याप्टेन नेपालीले बस्नेतलाई सुझाएछन्, ‘हेर भाइ ! अहिले अमेरिकन जहाज विचक्राफ्ट–९०–डी आएको छ । यो जहाजको मूल्य ५ मिलियन अमेरिकी डलर (त्यसताका सटही अनुसार ३२ करोड ५० लाख रुपैयाँ) पर्छ । एभ्रोसँगको तुलनामा तीव्र गति छ । १८ सिटमध्ये १६ वटा सिटमा झ्याल भएकाले यो पर्वतीय उडानमा राम्रो हुन्छ ।’ क्याप्टेन नेपालीको सल्लाहलाई स्विकार्दै बस्नेत परिवारले अमेरिकी जहाज विचक्राफ्ट–९०–डी ल्याउने मनस्थिति बनायो । ‘बुवा पनि आजित भइसक्नुभएको थियो । ल लागौं भनेपछि हामी विचक्राफ्ट जहाज खरिद गर्ने मनस्थितिमा पुग्यौं,’ बस्नेतले भने । हेलिकोप्टर कम्पनीका रूपमा दर्ता भइसकेको बुद्ध एयरले दुइटा विचक्राफ्ट जहाज ल्याउने पक्कापक्की गर्‍यो । दुइटा जहाजको मूल्य ६५ करोड रुपैयाँ पर्थ्यो । तर, १० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्दा जहाजका लागि अमेरिकी कम्पनीले ९० प्रतिशत ऋण लगानी गरिदिने भयो । ‘त्यसबेला जाउलाखेलको घरजग्गा, विराटनगर र डागीहाटको जग्गा सबै बुवाका नाममा थियो । भएको बुवाको सप्पै सम्पत्ति ल्याप्चे लगाएर कर्मचारी सञ्चय कोष र बैंक अफ सिलोनबाट कुल लागतको १० प्रतिशत (साढे ६ करोड) ऋण लिई जहाज ल्यायौं । त्यतिबेला अहिलेजस्तो प्रोजेक्ट फाइनान्स हुँदैन्थ्यो । धरौटी नै राख्नुपर्ने हुन्थ्यो ।’

त्यसबेला नेपाली आकाशमा तत्कालीन शाही नेपाल वायुसेवा निगम (हाल नेपाल वायुसेवा निगम), पहिलो नेपाली निजी वायुसेवा नेकोन एयर, नेपाल एयरवेज र एभरेस्ट एयर थिए ।अमेरिकी विच कम्पनीले बेलायती हर्कस कम्पनी किनेर बनाएको विचक्राफ्ट–९०–डी जहाज बुद्धले २०५४ असोजमा काठमाडौंमा उतार्‍यो । त्यसबेला बेलायती जहाज एभ्रोले काठमाडौंबाट विराटनगरसम्म पुग्न १ घण्टा समय लगाउँथ्यो । विचक्राफ्ट–९०–डीले २८ मिनेटमै उडान भर्न थाल्यो । ९९ जना कर्मचारीबाट बुद्धले २०५४ असोज २५ देखि व्यावसायिक उडान सुरु गर्‍यो । आज बुद्धसँग झन्डै १५ सय कर्मचारी छन् ।

बुद्धले उडान सुरु गर्नु पाँच महिनाअघि नेपाल एयरवेज र ३ दिनअघि एभरेस्ट एयर बन्द भएका थिए । बुद्ध एयरले पोखरा, पर्वतीय र विराटनगरमा उडान सुरु गर्‍यो । ‘सुरुवाती दिनमा २५ सम्म पर्वतीय उडान गर्‍यौं,’ कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘त्यसपछि पोखरा, विराटनगर, भैरहवाका लागि उडान हुन्थे ।’

पहिलो जहाज ल्याएको दुई महिनामा बुद्धले आफ्नो बेडामा दोस्रो जहाज ल्याएको थियो भने यो जहाज आएको तीन महिनापछि तेस्रो जहाज ल्याएको थियो । कम्पनी स्थापना भएको ११ औं वर्षपछि बुद्ध १९ सिटको जहाजबाट ४७ सिटको जहाजतर्फ अघि बढ्यो ।

जब यतीले ३० सिट क्षमताका बेलायती जेटस्ट्रिम उडानमा ल्यायो । १९ सिट क्षमताका विचक्राफ्ट उडाइरहेको बुद्धलाई आर्थिक नोक्सानी हुन थाल्यो । यतीको जेटस्ट्रिम ल्याउने निर्णयले त्यसताका बुद्धलाई एटीआरमा जान बाध्यता आइलागेको कार्यकारी अध्यक्ष बस्नेतले बताए ।

बुद्धले २०६५ साउनसम्म १९ सिट क्षमताका ७ वटासम्म अमेरिकी विचक्राफ्ट उडाइसकेकामा त्यसपछि ४७ फ्रेन्च–इटालियन जहाज एटीआर–४२ जहाज नेपालमा ल्यायो । ०६७ साउनपछि यसले ७० सिट क्षमताका एटीआर–७२ जहाज भित्र्याउन सुरु गर्‍यो । अहिले बुद्धसँग १७ वटा एटीआर जहाज छन् । उसले कम्पनी स्थापना भएको २५ औं वर्षमा आफ्नो वेडाबाट सानो अमेरिकन विच–९० हटाइसकेको छ । अहिले बुद्धसँग तीनवटा ४७ सिट क्षमताका एटीआर–४२ र १४ वटा ७० सिट क्षमताका एटीआर–७२ छन् । बुद्धले एटीआर विमानमा आर्थिक लाभ लिन थालेपछि यतिबेला यती एयरलाइन्सले आफ्नो बेडाबाट जेटस्ट्रिम हटाई बुद्धले झैं एटीआर विमान उडाइरहेको छ । यतीसँग यतिबेला ५ वटा एटीआर विमान रहेका छन् ।

नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये बुद्ध सर्वाधिक जहाज भएको कम्पनी हो । नेपालमा मात्रै होइन, एसियामा सर्वाधिक एटीआर विमान उडाउने कम्पनीमा बुद्ध पर्छ । पछिल्लो तथ्यांकअनुसार बुद्धले दैनिक ओहोरदोहोर गर्दा अधिकतम देशभर १ सय ४८ वटा उडान भर्छ । यसपछि दोस्रो नम्बरमा रहेको यतीले दैनिक अधिकतम ७० र श्रीले २६ वटासम्म उडान गर्छन् ।

कार्यकारी अध्यक्ष बस्नेतका अनुसार बुद्धले दैनिक ७ देखि ८ हजार यात्रुलाई सेवा दिँदै आइरहेको छ । भित्री उपत्यकामा पर्ने सुर्खेत र तुम्लिङटारदेखि तराईका समेत गरी १५ वटा गन्तव्यका ४३ वटा हवाई रुटमा बुद्धका जहाज बिहान ६ देखि राति १२ बजेसम्म उडान गर्दै आइरहेका छन् । संघीयतासँगै बुद्धले विराटनगर, भैरहवा, पोखरा, भरतपुरमा जहाज राखेर बिहानै त्यहाँबाट संघीय राजधानीमा उडान भर्दै आइरहेको छ । कोभिड चल्दा चल्दै दुइटा एटीआर जहाज थपेको बुद्धले अहिलेसम्म ६ वटा जहाज थपिसकेको छ । स्थापनाको २६ वर्ष पूरा गर्दै छ । यसले अब पोखराबाट भारतको नयाँ दिल्लीमा जेट विमानबाट उडानको सपना देखिरहेको छ ।

बुद्ध एयर स्थापना भएयता नेपालमा ४० वटा वायुसेवा कम्पनी बन्द भइसकेका छन् । वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको बुद्धले भने दैनिक ४ करोड रुपैयाँ हाराहारीमा टिकट र कार्गोबाट आम्दानी गर्छ । बुद्धले एक दिन उडान बन्द गर्नुपरेमा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्छ । ‘हामीले वार्षिक झन्डै १५ अर्ब हाराहारी कारोबार गरिरहेका छौं,’ बस्नेतले भने, ‘जसमा डेढ अर्ब नागरिक उड्डयन प्राधिकरणलाई र ३ अर्ब राज्यलाई विभिन्न दस्तुर तथा करबापत बुझाइरहेका छौं ।’

आजको दिनमा बुद्ध एयर राष्ट्रिय सम्पत्ति भइसकेको छ । यसले लोडरदेखि पाइलटसम्मलाई वार्षिक साढे २ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च गर्छ । जसमा न्यूनतम ५० हजारदेखि ३ लाख रुपैयाँसम्म र औसत तलब डेढ लाख हाराहारीमा छ । ‘बुद्ध एयरलाई आजको अवस्थामा ल्याइपुर्‍याउन हाम्रा कर्मचारीको ठूलो योगदान छ,’ कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘बुद्ध एयर दिमागले होइन, कर्मचारीको हृदयले चलाएको कम्पनी हो ।’

प्रकाशित : चैत्र ११, २०८० ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?