भारतीय कुस्तीमा रमाइरहेका पाल्पाका देवा 

पाल्पाको निस्दी–७, ज्यामिरेका देवा थापा ज्यानमा आफूभन्दा दोब्बर आकारका पहलमानलाई चातुर्यपूर्ण ढंगले पछारिरहेको देख्दा जोकोही दंग पर्छन् 

चैत्र ३, २०८०

माधव अर्याल

Deva of Palpa enjoying Indian wrestling

पाल्पा — युट्युबमा देवा थापा भनेर सर्च गरियो भने भारतका अनेकन सहरमा भएका कुस्ती प्रतियोगितामा भीमकाय कुस्तीवाजसँग भिडिरहेका होचो कदका देवबहादुर कँवर मगर (देवा थापा) लाई देख्न सकिन्छ । निस्दी गाउँपालिका–७, ज्यामिरेको रोल्लाबास गाउँमा बस्ने देवाका बाबु चन्द्रबहादुर भने छोराको यो प्रसिद्धिबारे थोरै मात्र जानकार छन् । इन्टरनेटको पहुँचमा नभएका उनी अरूले युट्युब खोलेर देवाको कुुस्ती खेलेको देखाए भने दंग पर्छन् ।

‘पहलमानसँग लड्ने गर्छ रे भन्ने सुनेको छु,’ ५३ वर्षीय बाबु चन्द्रले भने, ‘अरू कुरा मलाई खासै केही थाहा छैन ।’

सदरमुकाम तानसेनदेखि ७५ किलोमिटर पूर्व र नवलपरासीको सिमानामा पर्ने रोल्लावास गाउँ पनि देवाको प्रसिद्धिबारे उतिधेरै जानकार छैन । २०–२५ घर रहेको यही दुर्गम बस्तीमा देवा जेठो छोराका रूपमा जन्मिएका थिए । चन्द्रले सुनाए, ‘हामी गरिब मान्छे, पढाउन सकिएन । सानोमै काम गर्न बाहिर हिँड्यो । अहिले भारतमा छ ।’ चन्द्रका अनुसार देवाले गाउँकै स्कुलमा ५ कक्षासम्म मात्रै पढेका हुन् । चन्द्रका अनुसार देव सानै उमेरमा कामको खोजीमा गाउँबाट बुटवल झरेका थिए । उनले छोरा दुई–तीन वर्ष काम गर्दागर्दै भागेर भारततिर पसेको सुनाए । भने, ‘भारतको पञ्जावमा होटल (ढाबा) मा काम गर्दै गर्दा कुस्ती खेल्न सिकेको हो ।’ चन्द्रका अनुसार १५ वर्षयता उनी तीन पटक मात्रै घर आएका छन् ।

Deva of Palpa enjoying Indian wrestling

चन्द्रका छिमेकी डेमबहादुर सिंजालीका अनुसार भारत गएपछि देवाको बुबासँग खासै सम्पर्क नै भएन । तर पनि साथीभाइसँग उनको कहिलेकाहीं सम्पर्क हुन्छ । गाउँ आएका बेला देवाले सबैसँग भेटघाट पनि गर्छन् । घरमा बुबा एक्लै भएको थाहा भए पनि देवा बाध्यताले गाउँमा बस्न नसकिरहेको पनि उनले बताए । बाबु चन्द्रका अनुसार देवबहादुरले दुई वर्षअघि भारतको आसामबाट भारतीय मूलकी नेपालीसँग बिहे गरे । छोराको कुस्तीवाज मन पराएकी केटीसँग देवाको बिहे भएको भन्नेसम्म चन्द्रलाई थाहा छ । 

Deva of Palpa enjoying Indian wrestling

युट्युब र सामाजिक सञ्जालमा देवाले कुस्ती भिडिरहेका सयौं भिडियो उपलब्ध छन् । जसको भ्युअर्स दसौं लाखभन्दा धेरै छ । भारतका चर्चित कुस्तीबाजसँग उनी भिडिरहेको र दर्शकले नेपाल... नेपाल... भन्दै हुटिङ गरिरहेका दृश्य पनि देख्न सकिन्छ । ज्यानमा आफूभन्दा दोब्बर आकारका पहलमानसँग पनि उनी कुस्तीमा भिडिरहेको र चातुर्यपूर्ण रूपले प्रतिस्पर्धीलाई पछारिरहेको देख्दा जोकोही दंग पर्छन् । परिवारका सदस्य र स्थानीयका अनुसार भारतको पञ्जावमा ढावामा काम गर्दागर्दै एक दिन टेलिभिजनमा कुस्ती खेलेको देखेर जोसिएका देवाले साहुसँग कुस्ती खेल्नेबारे सुनाए । ढावा नजिकैको कुस्ती अखडामा बेलाबेला पुगेर हेर्दाहेर्दै कुस्तीको टेक्निक सिकेका देवा बिस्तारै स–साना प्रतियोगिता खेल्दाखेल्दै चर्चित हुन पुगे ।

तीनै भाइ छोराहरू भारतमा भएपछि र श्रीमतीसमेत बितेपछि देवाका बाबु गाउँमा एक्लो जस्तै भएका छन् । हाफ पाइन्ट, चप्पल जिङरिङ्ग कपाल लिएर उनी वर्षौं पुरानो र थोत्रिएको घरमा एक्लै बस्छन् । एक्लो भएकाले हत्तपत्त चन्द्र घरमा खाना पकाउँदैनन् । छिमेकी भाउजूको घरमा खाना खाने चन्द्रले छोराहरू आएका बेला मात्रै घरमा खाना पकाउने गरेको बताए । भारतका स–साना सहरदेखि ग्रामीण भेगमा हुने सांस्कृतिक कार्यक्रम, मेला र पर्वमा हुने कुस्ती प्रतियोगितामा देवा पहलमानहरूसँग भिडिरहेका भेटिन्छन् ।

Deva of Palpa enjoying Indian wrestling

यस्ता प्रतिस्पर्धामा देवालाई नेपालका कुस्तीबाज भनेर चिनाइन्छ । अनि दर्शकले चर्को स्वरमा उनको पक्षमा हुटिङ गरिरहेको सुनिन्छ । सिंगो नेपालको नाम राख्ने देवाप्रति स्थानीय तह र सरकार बेखबर भएकामा देवाका गाउँलेहरूको चित्त दुखाइ छ । ‘त्यस्ता युवालाई यहीं बस्ने वातावरण बनाउने हो भने नेपालको नाम विश्वमा फैलाउने थिए,’ निस्दी गाउँपालिका–७, ज्यामिरेका मोहन राक्सेले भने, ‘सरकारले अझ पनि सोच बनाउने हो भने उनलाई नेपाल फिर्ता गर्न सकिन्छ ।’ 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully