४० देशका  नागरिकको आँखामा तिलगंगाको लेन्स

आँखाभित्र राख्ने लेन्स नेपालमै बनाउन सकिन्छ भन्दा कुनै बेला महत्त्वाकांक्षी सोच भन्दै आलोचना गरिन्थ्यो । तर, डा. सन्दुक रुइतको टिमले तिलगंगा आँखा अस्पतालमा उत्पादन गरिरहेको लेन्स अहिलेसम्म विश्वभर ६५ लाखभन्दा बढी आँखामा लगाइएको छ

फाल्गुन २७, २०८०

स्वरूप आचार्य

The lens of Tilganga in the eyes of citizens of 40 countries

काठमाडौँ — गत बिहीबार डा. सन्दुक रुइतलाई भेट्दा उनमा एक प्रकारको छटपटी देखिन्थ्यो । सधैं हँसिलो देखिने उनको मुहारमा गम्भीर चिन्तनको थकान थियो । डा. रुइतमा अहिले वार्षिक साढे चार लाख लेन्स उत्पादन गर्ने ल्याब्रोटरीलाई मुनाफा वितरण नगर्ने तर आर्थिक रूपमा दिगो उद्योग बनाउने हुटहुटी जागेको छ । नवीन जीवनलाई संसारमा ल्याउँदा एउटा आमामा हुने ‘प्रसव वेदना’ ले उनलाई पनि गाँजेको छ ।

‘अहिलेसम्म हामीले मान्छेको आँखा नै लाग्छ भनेर पनि लेन्स उत्पादन गर्ने ल्याबलाई तिलगंगाको भुइँतलामा लुकाएर राखेका थियौं । तर, अब यो बाहिर निस्कनुपर्छ । ठूलो हुनुपर्छ । अझ बढी उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘यसको अप्रेसन कमर्सियल हुन्छ तर यसले गर्ने सबै मुनाफा समुदायलाई जान्छ । यो अहिले दिगो त छ तर अगाडि बढिरहेको छैन । मलाई यो सुनखानी हो जस्तो लाग्छ । त्यसैले यसलाई सदुपयोग गरेर समाजले नै लाभ लिनुपर्छ भन्ने मेरो मान्यता हो ।’

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको उत्पादन विभाग ‘द फ्रेड हलोज इन्ट्राओकुलर लेन्स ल्याब्रोटरी’ अब औपचारिक रूपमा उद्योगमा रूपान्तरित हुने तयारीमा छ । ‘हामीले नेपाल सरकारको उद्योग मन्त्रालयमा मुनाफा वितरण नगर्ने उद्योगका रूपमा यसलाई दर्ता गरिसक्यौं,’ डा. रुइतले भने, ‘हामी यो उद्योग हेटौंडामा स्थापना गर्दै छौं । त्यसपछि हाम्रो उत्पादन क्षमता संख्यामा त बढ्छ नै, विभिन्न प्रकारका प्रिमियम लेन्स पनि उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं ।’

The lens of Tilganga in the eyes of citizens of 40 countriesडा. रुइतलाई हेटौंडामा इन्ट्राओकुलर लेन्स उत्पादन गर्नका लागि करिब ३० करोड रुपैयाँ तत्काल आवश्यकता छ । त्यो रकम कहाँबाट जोहो गर्ने भनेरै उनको मथिंगल अहिले खलबलिएको हो । ‘हामीले उद्योग मन्त्रालयमा दर्ता प्रक्रिया सकायौं । हेटौंडामा जग्गा पनि मिलाएका छौं,’ उनले भने, ‘तर, पूर्वाधार निर्माण गरेर उत्पादन प्रक्रिया सुरु गर्दासम्म धेरै रकम आवश्यक हुन्छ । हामी समुदायको हितमा काम गर्ने संस्थाले एकै पटक त्यति ठूलो रकमको जोहो गर्न कठिन छ । तसर्थ, सरकारले पनि सहयोग गरिदियोस् भन्ने चाहना हो ।’ उनका अनुसार इन्ट्राओकुलर लेन्स नेपालको गौरव हो । ‘राष्ट्र र यहाँका नेताहरूले जसरी फास्ट ट्र्याकलाई गौरवको योजना भन्छन्, हेटौंडामा बनाउने योजना रहेको लेन्स उद्योग पनि त्यसभन्दा कम छैन,’ उनले भने, ‘त्यो उद्योगले नेपाललाई विश्वमा थप चिनाउन मद्दत गर्नेछ । यस्तो योजना पनि त गौरवको योजना हो नि !’

The lens of Tilganga in the eyes of citizens of 40 countriesतस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

डा. रुइत ९० को दशकमा आफूले भोगेका चुनौतीको तुलनामा अहिलेको बाटो सरल भए पनि यो योजनालाई पार लगाउन सबैको साथ खोजिरहेको बताउँछन् । ‘९० को दशकमा आँखाभित्र हाल्ने लेन्स नेपालमा बनाउन सकिन्छ भन्ने सोच नै आफैंमा कठिन थियो । तर, हामीले गरेर देखायौं । हामीले यहाँ उत्पादन गरेको लेन्स विश्वभरका ४० भन्दा बढी देशका नागरिकले सुलभ मूल्यमा उपभोग गर्ने वातावरण बनेको छ,’ उनले भने, ‘यसले हामीलाई आत्मविश्वास दिएको छ । यो चुनौतीलाई सामना गर्ने हौसला दिएको छ । तर, यसलाई सार्थक बनाउन सबैको साथ चाहिएको छ ।’ हेटौंडामा लेन्स उत्पादनका लागि उद्योग सञ्चालनमा आउन सके त्यसले अन्य थुप्रै प्रकारका चिकित्सकीय उपकरण उत्पादनका लागि पनि बाटो खुल्ने उनको सोच छ । ‘लेन्स उत्पादन गर्नु भनेको कुनै पनि विद्युतीय सामग्रीमा प्रयोग हुने चिप्स उत्पादन गरेसरहको प्रविधि हो,’ उनले भने, ‘हामीले लेन्स उत्पादनलाई मानक मानेर अन्य सामग्री पनि उत्पादन गर्न सक्छौं ।’

The lens of Tilganga in the eyes of citizens of 40 countriesफ्रेड हलोजले त्यतिबेला ‘लेन्स हामी यहीं बनाउँछौं’ भनेको क्षण र आजको दिनसम्म आइपुग्दा यो यात्रा यसरी तय गर्न सकिन्छ भन्ने आफूलाई पनि नलागेको डा. सन्दुकले सुनाए । ‘इन्ट्राओकुलर लेन्स नेपालमा पनि कुनै दिन बनाउन सकिन्छ भनेर मनको एउटा कुनामा भए पनि यसरी यात्रा तय हुन्छ भन्ने लागेको थिएन,’ उनले भने, ‘त्यसका बाबजुद हामीले जुन सफलता हासिल गर्‍यौं, त्यसमा गुनासो गर्ने ठाउँ नै छैन ।’ उनले इन्ट्राओकुलर लेन्स उत्पादनका लागि समर्पित भएर लागेका हरेक तहका सम्पूर्ण कर्मचारी यस सफलताका लागि धन्यवादका पात्र भएको पनि बताए । ‘हाम्रो यात्राको हरेक चुनौतीलाई सामना गर्न नेपाल आँखा प्रतिष्ठानमा काम गर्ने मेरा सहकर्मीको निःस्वार्थ योगदान कदरयोग्य छ,’ उनले भने, ‘कुनै पनि संस्था सफल हुनुमा त्यसका बोर्ड अफ डाइरेक्टर्सदेखि तल्लो तहका कर्मचारीसम्मको योगदान हुन्छ । म एक्लैले प्राप्त गरेको सफलता होइन, यो त सामूहिक प्रयासको परिणाम हो ।’

लेन्स उत्पादनको इतिहास

सन् १९९० को सुरुतिरको कुरा हो । डा. रुइत नवलपरासीको एउटा गाउँमा मोतियाविन्दु शल्यक्रिया गर्ने शिविरमा पुगेका थिए । ‘त्यहीं मेरो मित्र, शुभचिन्तक र उसकै शब्दमा भन्दा ‘सोल–मेट’ फ्रेड हलोज पनि आइपुगेको थियो । मिर्गौलाको शल्यक्रिया गरेर तंग्रिँदै गर्दा त्यहाँ पुगेको उसलाई हर्निया भएको थियो,’ डा. रुइतले भने, ‘मैले त्यहाँ करिब २ सय ५० जनाको आँखाको शल्यक्रिया गरेर लेन्स राखें । उसले शल्यक्रिया नगरे पनि त्यहाँ भइरहेको सबै काम सूक्ष्म रूपमा नियालिरहेको थियो ।’ डा. रुइतका अनुसार उनले त्यसबेला शल्यक्रियाका लागि आवश्यक पर्ने यन्त्रहरू जोडजाम गरेर आफैं तयार पारेका थिए । शल्यक्रियालाई सस्तो बनाउनुका साथै गुणस्तरीय बनाउन उनले आफूले जानेको सबै सीप त्यहाँ प्रयोग गरेका थिए ।

The lens of Tilganga in the eyes of citizens of 40 countriesत्यसबेला आँखामा हुने मोतियाविन्दुको शल्यक्रिया गरेपछि मोटो चस्मा लगाउन दिइन्थ्यो । तर, उनी भने चस्माको साटो विदेशमा रहेका साथीहरूले हारगुहार गरेर पठाएको लेन्स हाल्न तल्लीन थिए । ‘चस्माको साटो महँगो लेन्स हाल्यो भनेर त्यतिबेला धेरैले मेरो आलोचना गरे । नेपालमा शल्यक्रिया गरेर लेन्स राख्नु हुन्न भन्ने ठूलो जमात थियो । त्यसमा पनि ग्रामीण स्थानमा त गर्नै हुन्न भन्ने थियो,’ उनले भने, ‘म हतोत्साहित भइनँ । आफ्नो काम गरी नै रहें ।’ ग्रामीण परिवेशमा शल्यक्रिया गरेपछि बाक्लो सिसा भएको चस्मा लगाएर दैनिकी चलाउनु सहज थिएन भन्ने हेक्का भएरै आफूले लेन्स राख्न बढी जोड दिएको उनले बताए । ‘त्यसबेला एउटा लेन्सको मूल्य झन्डै २ सय अमेरिकी डलर पर्थ्यो । मैले त्यति महँगो लेन्स नेपालका दूरदराजका गाउँमा बस्नेको आँखामा राखिदिएकाले पनि होला धेरैको खप्की खाएँ,’ उनले भने, ‘हामीले नवलपरासीमा गरेको त्यो शिविरको परिणाम देखेर मिर्गौलाको क्यान्सरले ग्रस्त फ्रेडलाई पनि ऊर्जा मिलिरहेको थियो । पछि निकोल ग्य्राचेट, म र फ्रेड बसेर त्यसको समीक्षा गर्‍यौं । सबैमा उत्साह थियो ।’

The lens of Tilganga in the eyes of citizens of 40 countriesडा. रुइतले आफ्नो जीवनको सुरुवाती संघर्षको कथा बताउँदै गर्दा उनको मुहारको गम्भीरभावमा सन्तुष्टिका धर्साहरू देखिन थाले । थकित अनुहारमा ऊर्जा सञ्चार हुन थाल्यो । उनका अनुसार शल्यक्रियापछिको समीक्षामा फ्रेड अत्यन्तै उत्साहित थिए । उनले निकोललाई व्यंग्य गरिरहेका थिए– ‘तिमीले एउटा शल्यक्रिया गर्ने मूल्यको एक चौथाइभन्दा पनि कम मूल्यमा रुइतले यहाँ ग्रामीण स्थानमा आएर शल्यक्रिया गरिरहेको छ र नतिजा पनि उत्कृष्ट छ ।’ फ्रेडको कुरा सुनेपछि निकोलको प्रश्न थियो– ‘यति महँगो इन्ट्राओकुलर लेन्सका बारेमा के सोचेका छौ ? सधैं सहयोग मागेर कसरी अगाडि बढ्न सकिन्छ त ?’ 

‘फ्रेडले एक्कासि भने ‘वि विल मेक इट हेयर’ (हामी यहीं बनाउँछौं) । फ्रेडले यो के भने भनेर म अक्क न बक्क भएँ । महोल एकाएक गम्भीर बन्यो । तर फ्रेड आफ्नो भनाइमा अडिग थियो,’ उनले भने, ‘त्यो भनेको १५ वर्षअघिसम्म पनि ड्राइभर नभएको गाडी बाटोमा गुडाउन सम्भव छ र भनेजस्तै थियो । म नै आत्तिएको थिएँ ।’ त्यही दिन हो, नेपालमा मोतियाविन्दुको शल्यक्रियापछि आँखामा हाल्ने इन्ट्राओकुलर लेन्स बनाउने कारखाना स्थापनाको बीजारोपण भएको । ‘फ्रेडले ९० को दशकको सुरुवातमा भनेको यो कुरा १९९५ सालमा आएर पूरा भयो । तर, त्यो कारखाना स्थापना भएको हेर्न उनी भने जीवित रहेनन् । त्यसैले लेन्स उत्पादन गर्ने यो युनिट नै उनको नाममा समर्पित छ– ‘द फ्रेड हलोज इन्ट्राओकुलर लेन्स ल्याब्रोटरी,’ डा. रुइतले अर्थ्याए, ‘यो ल्याब्रोटरीबाट उत्पादन भएका लेन्स ६५ लाखभन्दा बढी आँखामा लगाइसकिएको छ । यो आफैंमा अद्भुत हो ।’

The lens of Tilganga in the eyes of citizens of 40 countriesपहिलो पटक स्थापना गरेको मेसिनले भने सोचेअनुसारको नतिजा दिन नसकेको डा. रुइतले सुनाए । ‘कुनै पनि अड्चन नआई नयाँ कुरा अगाडि बढ्दैन । त्यो सत्य हो,’ उनले भने, ‘हामीले त्यसबाट सिक्यौं । त्यसपछि अमेरिकाको फ्लोरिडाको लेन्स टेक भन्ने कम्पनीबाट मेसिन ल्यायौं । १९९४–९५ मा हामीले धेरै दुःख पाएका थियौं । साँच्चै उत्पादन भएको त १९९६ देखि मात्रै हो भने पनि हुन्छ ।’ त्यसबेला सीपयुक्त मान्छेको पनि अभाव रहेको उनले बताए । ‘हामीले सुरुमा ३० हजार लेन्स उत्पादन गर्न थालेका थियौं । त्यो भएपछि २ सय डलर पर्ने लेन्सको मूल्यलाई २५ डलरमा झार्न सफल भयौं,’ उनले भने, ‘त्यसको ३ वर्षपछि एक लाख लेन्स उत्पादन गर्न थाल्यौं । त्यसपछि लेन्सको मूल्य ६ डलरभन्दा कममा आयो । यसरी उत्पादनको संख्या बढाएर लेन्सको मूल्य कम गर्दै लग्यौं ।’

नेपालमा उत्पादन भएको लेन्स ६ डलरभन्दा कममा बिक्री हुन थालेपछि विश्वका स्थापित मल्टिनेसनल कम्पनीले नै दुःख दिएको उनको तीतो अनुभव छ । ‘जब मल्टिमिलियन डलर कम्पनीको बजारलाई हामीले धक्का दिन थाल्यौं, त्यसपछि उनीहरू हाम्रो पछि लाग्न थाले,’ उनले भने, ‘हामीले हाम्रो मात्रै नभएर विश्व समाजकै राम्रोका लागि काम गरेको भए पनि उनीहरूले हाम्राबारेमा नकारात्मक प्रचार गरे, लेखे । तर हामी हतोत्साहित भएनौं ।’

The lens of Tilganga in the eyes of citizens of 40 countriesडा. रुइतका अनुसार विश्वका स्थापित लेन्स कम्पनीहरूको आलोचनाले उनलाई आफूले उत्पादन गर्ने लेन्सलाई थप गुणस्तरीय बनाउनका लागि प्रेरणा मिल्यो । ‘उनीहरूको आलोचनालाई निस्तेज बनाउन हामीले हरेक एउटा लेन्सको उत्पादनमा सकेको ध्यान दियौं,’ उनले भने, ‘हाम्रो त्यतिबेलाको यात्रा तरबारको धारमा हिँड्नुसरह थियो । त्यसैले हरेक एउटा लेन्सको गुणस्तर उच्चकोटीको हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्यौं । कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्मको हरेक तहको उच्च गुणस्तर हाम्रा लागि परीक्षासरह भयो ।’ उनका अनुसार उच्च गुणस्तरीय लेन्स उत्पादनका लागि मेसिन र म्यानपावरका साथै पूर्वाधार पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । ‘तपाईंले त्यो उत्पादन युनिटमा देख्नुभएको क्लिन रुम वान एन्ड वन्ली हो भन्दा पनि हुन्छ,’ उनले भने, ‘त्यो क्लिन रुमभित्र हुने हरेक प्रक्रिया हाम्रा लागि निकै महत्त्वपूर्ण छ । त्यसलाई क्लिन राख्न सक्नु नै हाम्रो उत्पादनलाई क्लिन राख्नु हो ।’

The lens of Tilganga in the eyes of citizens of 40 countriesडा. रुइतलाई नेपालमा उत्पादन गरेको लेन्स विश्व बजारमा पठाउँदासम्मको हरेक यात्रा फिल्मको कथाजस्तै लाग्छ । हरेक पाइलामा भोगेका कठिनाइले लेन्सको उत्पादनलाई थप गुणस्तरीय बनाउन मद्दत पुगेको उनी बताउँछन् । ‘लेन्स त गुणस्तरीय भयो । त्यसपछि कुरा उठ्यो यसको प्रमाणीकरणको,’ उनले भने, ‘नेपालको आफ्नो प्रमाणीकरण गर्ने संयन्त्र थिएन । त्यसैले सुरुमा हामीले आईएसओको प्रमाणीकरण गरायौं । त्यसपछि युरोपको सीई प्रमाणीकरण पनि गरायौं । अहिले त हाम्रो लेन्स चीनको सीएफडीए प्रमाणित पनि हो ।’ 

विश्वमा अहिले पनि करिब १ करोड ३० लाख मान्छेले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएका छन् । ६ करोड ५० लाख मानिस मोतियाविन्दुका कारण आंशिक रूपमा आँखा देख्दैनन् । यसमध्ये ९० प्रतिशत मानिस कम आय भएको देशमा बस्छन् । ‘यिनीहरूको शल्यक्रिया गर्न सके अन्धोपन हट्छ,’ डा. रुइतले भने, ‘हाम्रो लक्ष्य उनीहरूसम्म ज्योति पुर्‍याउने पनि हो ।’

व्यावसायिक सफलता

नेपालमा उत्पादन भइरहेको लेन्स विश्वका ४० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको फ्रेड हलोज इन्ट्राओकुलर लेन्स ल्याब्रोटरीका प्रमुख सुजन रञ्जितकारले बताए । उनका अनुसार यहाँ विभिन्न प्रकारका ९ थरी इन्ट्राओकुलर लेन्स उत्पादन भइरहेका छन् । यस्तै, तिलगंगास्थित आँखा प्रतिष्ठानको प्राङ्गणमा रहेको प्रयोगशालाबाट मोतियाविन्दुको शल्यक्रियामा आवश्यक तीन प्रकारका सामग्रीको उत्पादन भइरहेको छ । 

The lens of Tilganga in the eyes of citizens of 40 countries‘हामीले ९ थरी लेन्स उत्पादन गर्छौं । जसको विशेषता फरक–फरक किसिमका छन् । एउटै लेन्सको करिब २२ वटा जति भेरिएन्ट हुन्छ,’ उनले भने, ‘यस्तै हामी शल्यक्रियामा आवश्यक क्याप्सुलर टेन्सन रिङ (सीटीआर) का साथै इन्जेक्टर र कार्टिज पनि बनाउँछौं ।’

तिलगंगामा उत्पादन भइरहेका नेपाली लेन्सको बजार मूल्य २ सय ४० देखि ४ हजार रुपैयाँसम्म छ । ‘पाकिस्तान, दक्षिण अफ्रिका र चीन हाम्रा उत्पादन निर्यात हुने प्रमुख मुलुक हुन्,’ रञ्जितकारले भने, ‘कोभिडको समयमा चीनमा निर्यात कम भयो । त्यसैले हामीले अन्यत्र पनि बजार विस्तार गर्‍यौं । अब हामी टर्कीमा निर्यातका लागि अन्तिम चरणमा छौं ।’ यहाँ उत्पादन हुने लेन्सहरूमध्ये ४० प्रतिशत नेपाली बजारमै खपत हुने र ६० प्रतिशत भने अन्यत्र निर्यात हुने उनले बताए ।

The lens of Tilganga in the eyes of citizens of 40 countries‘द फ्रेड हलोज इन्ट्राओकुलर लेन्स ल्याब्रोटरीले हाल वार्षिक रूपमा करिब २२ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको उनको भनाइ छ । ‘हामीले उद्योग मन्त्रालयमा दर्ता गरेर यसलाई अझ ठूलो र बृहत् बनाएर लैजाने तयारी गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो योजनाअनुरूप काम भयो भने निकट भविष्यमा हाम्रो वार्षिक उत्पादन करिब १० लाखको हाराहारी पुग्छ । जसले हामीलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित हुन सहयोग गर्नेछ ।’

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully