खोर्लागाउँकी ‘कटुवाल बज्यै’

असार ६, २०८०

हरिराम उप्रेती

गोरखा — मेलापातमा व्यस्त रहेका गाउँलेका कानमा एकाएक भीरमौरीको मह काढ्ने सूचना आइपुग्यो । काम थाती राखेर जेठ दोस्रो साता गाउँलेहरू मौरीको गोला भएको निम्रुङ खोलामा भेला भए । उनीहरूलाई सूचना दिएकी थिइन्, ७० वर्षीया शिरमाया गुरुङले । यारपोट डाँडाबाट कराएको नसुन्ने र वृद्धवृद्धाका लागि उनले घरदैलो गर्दै सूचना छाडेकी थिइन् । 

सिमसिमे पानीमा पछ्यौरी घुर्लुम्म ओढेर लौरोको सहारामा शिरमाया जब यारपोट डाँडा उक्लिन्छिन्, खोर्लागाउँवासीका कान टाठा बन्छन् । जेठयता उनी कामको चापमा छिन् । गोठ सार्ने, सरसफाइ गर्ने, बाटो बनाउने, घाटु नाच्ने, मौरी काढ्ने, गाउँमा छिमेकीको मृत्यु भए सूचना दिनका लागि दिनैपिच्छे ३ पटकसम्म उनी यारपोट डाँडा उक्लनुपर्‍यो । 

गाउँमा हुने कार्जे होस् वा कुनै सरकारी तथा गैरसरकारी संस्थाले गर्ने कार्यक्रम, गाउँभर खबर गर्ने जिम्मा शिरमायाकै हुन्छ । २ सय १५ घर रहेको गोरखाको धार्चे गाउँपालिका–३ खोर्लागाउँका अधिकांश बासिन्दाको हातहातमा मोबाइल छ । फोरजी इन्टरनेटको सुविधा पनि छ । देश–विदेशको खबर स्थानीय एफएम रेडियोबाट सुन्छन् । तर गाउँमा हुने कार्जे र कार्यक्रमबारे शिरमायाले डाँडाबाट नचिच्याएसम्म गाउँलेले पत्याउँदैनन् ।

‘मोबाइल होस् कि रेडियो वा अरू मान्छेले भनेको कुरा झट्टै विश्वास गरिहाल्दैनन्,’ शिरमाया भन्छिन्, ‘यहाँ त कतिपयले नेपाली भाषा नै राम्रोसँग बुझ्दैनन्, त्यसैले म कटुवाल कराउँदा हाम्रो भाषामा कराउँछु ।’ कटुवाल कराउँदा आफूखुसी कराउन मिल्दैन । ‘जे आदेश आएको छ, त्यही भन्ने हो,’ उनले भनिन् । गोठ समिति, आमा समूह, महिला समूह, जनप्रतिनिधिले भनेबमोजिमका खबर मात्रै प्रवाह गर्न पाइन्छ ।

उत्तरी गोरखाका चुमनुव्री र धार्चे गाउँपालिकाका अधिकांश बस्तीमा अझै कटुवाल प्रथा कायम छ । सबैजसो गाउँमा कटुवालको भूमिकामा पुरुषहरू छन्, शिरमाया भने गोरखाको उत्तरी भेगकै एक मात्र महिला कटुवाल हुन् । उनले कटुवालको काम गर्ने जिम्मेवारी आफैंले रोजेर पाएकी भने होइनन् । पञ्चायतकालदेखि नै उनका ससुरा रमन गुरुङ कटुवाल थिए । २०६० पछि कटुवालको जिम्मेवारी शिरमायाका श्रीमान् प्रेमबहादुरले पाए । प्रेमबहादुर बिरामी पर्दा वा घरायसी कामले बाहिर जाँदा शिरमायाले जिम्मेवारी सम्हाल्थिन् । ‘बूढोलाई पालो दिँदादिँदै म आफैं कटुवाल बन्न पुगें,’ उनले भनिन् । 

उनले कटुवालको सूचना बाँड्ने काम थालेको दुई दशक बितेको छ । गाउँलेलाई सूचना छर्दाछर्दै उनको पहिचान नै फरक बनेको छ । उनलाई वृद्धवृद्धादेखि बालबच्चासम्मले कटुवाल्नी बज्यै भनेर चिन्छन् । कामप्रति उनको लगाव देखेर गाउँले पनि प्रसन्न छन् । भैपरी आउँदा उनले रातको समयमा पनि कटुवाल कराएकी छन् । भन्छिन्, ‘कहिलेकाहीँ बिरामी परेर नसकेका बेला झ्याउ लागेजस्तो हुन्छ, फेरि मनले आफ्नै काम हो भन्ने सम्झन्छु, सकिनसकी कराउँछु ।’ 

गाउँबस्तीमा सूचना पुर्‍याउने भरपर्दो माध्यमका रूपमा रहेका कटुवाललाई विगतका वर्षमा गोठ समितिले मासिक एक हजार रुपैयाँ दिने गरेको थियो । केही वर्षयता गाउँपालिकाले मासिक १५ सय रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । उक्त आम्दानी घर खर्च हुने शिरमाया बताउँछिन् । महँगीको हिसाब लगाउँदा आफूले पाउने मासिक ज्याला भने उनलाई चित्त बुझेको रकम छैन । जिम्मेवारी पन्छाउन नमिलेकाले कटुवालको काम बाध्यताका रूपमा छ । शिरमाया खेतीपातीमा प्रेमबहादुरलाई सघाउँछिन् । ‘खेती भनेको धान, कोदो हो, त्यही पनि बाँदरले खाएर हैरान छौं । आम्दानीको अरू बाटो पनि छैन,’ प्रेमबहादुर भन्छन् । 

गाउँमा कटुवाल कराउने चलन वर्षौंदेखि चल्दै आएको स्थानीय सूर्यबहादुर गुरुङले बताए । ‘परापूर्वकालदेखि नै हुँदै आएको काम हो,’ उनले भने, ‘मुखियाकै पालादेखि यसरी नै कटुवाल कराउने परम्परा छ ।’ धार्चे गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्यमा पालिकाभरिका कटुवाललाई पारिश्रमिकस्वरूप एकमुष्ट रकम उपलब्ध गराउने तयारी पनि गरिरहेको छ । अहिले कटुवालको तथ्यांक संकलनको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । उनका अनुसार कटुवालको काम गर्नेलाई दिइने पारिश्रमिक थोरै भए पनि वितरणमा नियमितता दिने निर्णय भएको उनको भनाइ छ । ‘पहिले दिने ज्यालामा एकरूपता थिएन ।

गत फागुन ७ को कार्यपालिका बैठकले हाम्रा ७ वटै वडाका कटुवाललाई मासिक १५ सयका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो,’ उनले भने, ‘कटुवालको रेकर्ड फेरि लिँदै छौं, बाँकी भएकालाई एकमुष्ट रूपमा भुक्तानी गर्ने तयारीमा छ ।’ गाउँ–गाउँमा कटुवाल प्रथा कायमै रहेको र यो प्रभावकारी पनि देखिएको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully