कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘साम्बा, ओ साम्बा’

सावित्रा भण्डारी (साम्बा) ले इन्डियन्स वुमेन्स लिगमा चार ह्याट्रिकसहित २९ गोल गरेर इतिहास रचिन् । गोकुलम केरललाई उपाधि दिलाउन सफल उनी भारतीय महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको आकर्षणको केन्द्र बनिन् ।
नेपालको महिला फुटबल इतिहासमा सफल खेलाडी ‘साम्बा’ को नाममा सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम छ 
हिमेश

काठमाडौँ — लिग जितेपछि खुसियाली त मनाउनु नै पर्‍यो । त्यसैले सावित्रा भण्डारी मंगलबार केरल पुगिन् पूरा टिमसँगै । आइतबार मात्र हो गोकुलम केरलले इन्डियन्स वुमेन्स लिग (आईडब्लूएल) जितेको ।

‘साम्बा, ओ साम्बा’

अहमदाबादमा भएको फाइनलमा गोकुलमले किक स्टार्सलाई ५–० ले हराएको थियो । त्यसमा एक गोल सावित्राको नाममा रह्यो ।

खासमा टिमले अग्रता लिएकै उनको गोलबाट थियो । गोल पनि आफैंमा उत्कृष्ट थियो । पेनाल्टी एरियाबाट गरिएको प्रहार गोलमा परिणत भएको थियो । अझ त्यो पनि काउन्टर अट्याकमा । ‘हामी त सेलिब्रेसनका लागि केरल आइपुग्यौं,’ सावित्रा अर्थात् सबैकी ‘साम्बा’ ले भारतबाटै भनिन्, ‘लिग जितेपछि त खुसी हुने भयो नै । म आफूले पनि धेरै राहत महसुस गरिरहेको छु ।’ राहत किन होला ?

आखिरमा उनी प्रतियोगिताको इतिहासमै सबैभन्दा सफल खेलाडी हुन् । आईडब्लूएलमा सर्वाधिक गोलको कीर्तिमान उनकै नाममा छ । भारतीय महिला फुटबलकै सबैभन्दा ठूलो नाम बालादेवीलाई उछिनेर सावित्रा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता भएकी थिइन् । अझ सावित्राले आईडब्लूएल जितेको पनि व्यक्तिगत रूपमा तेस्रोपल्ट हो । यसअघि गोकुलमकै लागि सन् २०१९/०२० मा उपाधि जितेकी थिइन् । त्यस अगाडि सेथुलाई पनि सन् २०१८/०१९ सिजन उपाधि दिलाएकी थिइन् ।

यसपल्टको प्रतियोगितामा उनले एक्लै २९ गोल गरिन् । त्यसमा चार ह्याट्रिक सामेल छन् । त्यसैले भारतीय महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको ठूलो नाम भन्नु नै सावित्रा हो । नेपाली महिला फुटबलका लागि यो जत्तिको खुसी अरू के हुन सक्छ र ? राहतको कारण खुलाउँदै सावित्राले भनिन्, ‘यसपल्टको प्रतियोगिता विशेष रह्यो । अझभन्दा धेरै प्रतिस्पर्धात्मक रह्यो । त्यसैले कुनै पनि बेला ढुक्क हुन सक्ने स्थिति रहेन ।’

अझ फाइनलअगाडि दुई रात त सावित्रा राम्रोसँग सुत्न पनि सकिनन् । परिवारसँग कुरा पनि गर्न भ्याइनन् । उपाधिसम्मको यात्रामा गोकुलमले सबै खेल जितेको भए पनि टिमले महसुस गरेको एउटा तथ्य के भने यसपल्टका अधिकांश प्रतिद्वन्द्वी बलिया थिए, त्यसैले सजिलो जित बिरलै मात्र निस्केको थियो ।

यसपालिको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । त्यसलाई दुई समूहमा विभाजन गरेर लिग चरणको खेल भएको थियो । त्यसमा गोकुलमले इस्ट बंगाललाई ८–२, स्पोर्ट्स ओडिसालाई ८–१, होप्सलाई ३–०, कहानीलाई १४–१, माता रुक्मणिलाई ९–० र मुम्बई नाइट्सलाई ११–१ ले हराएको थियो । गोकुलमले मिसाका युनाइटेडसँग भने गोलरहित बराबरी खेलेको थियो । यी सबै खेलमा सावित्रा पूर्ण त छाइन् । एकपछि अर्को गोल गरिरहिन् ।

यसैपल्टदेखि प्रतियोगितामा क्वाटरफाइनल राखिएको थियो । यसै खेलमा हो गोकुलमले धेरै दबाब बेहोरेको । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि गोकुलम बल्लतल्ल टाइब्रेकरमा विजयी रह्यो । स्थिति कस्तोसम्म पुगेको थियो भने एक समय गोकुलम प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिएको थियो । सावित्राले भनिन्, ‘यो खेल जित्न हामीलाई धेरै गाह्रो भयो ।’ सायद सेमिफाइनल केही सजिलो रह्यो, गोकुलमले इस्टर्न स्पोर्टिङलाई ५–१ ले हराएको थियो ।

गोकुलमको चुस्त व्यवस्थापन

सावित्राले भने जस्तै यिनै कारणले यसपल्ट गोकुलम प्रतियोगिताको वास्तविक विजेता रह्यो । खेलकुदको भाषामा भन्दा ‘ट्र्यु विनर’ रह्यो । सावित्राले यसको पनि कारण खुलाइन् । उनले भनिन्, ‘गोकुलम भारतीय महिला फुटबलको सबैभन्दा राम्रो व्यवस्थापन भएको क्लब हो । अरू क्लबका खेलाडीको केही न केही गुनासा थिए । तर म आफैं गोकुलमको प्रशंसा गर्दा थाक्दिनँ । खेलाडीलाई उत्साहित र प्रेरित राख्न क्लबले के मात्र गरेन ? प्रत्येक जितपछि बोनस घोषणा हुन्थ्यो ।’

गोकुलमको सावित्रासँगको सम्झौता पनि त्यस्तै थियो । लिगलाई गरेको सम्झौताबाहेक गोकुलमले सावित्रालाई प्रत्येक म्याच खेलेको, प्रत्येक गोल गरेको, प्रत्येक गोलमा पास उपलब्ध गराएको, व्यक्तिगत उत्कृष्ट पुरस्कार र उपाधि जित्दा पनि बोनस पाउने सम्झौता गरेको थियो । प्रतियोगितामा उनी सर्वाधिक गोलकर्तासमेत बन्दा सावित्राले गोकुलमबाट सम्झौताअनुरूप अर्को रकम पनि पाउनेछिन् ।

उनले थपिन्, ‘गोकुलमको प्रशिक्षण समूह पनि उत्तिकै राम्रो । अझ टिमका मालिक धेरै राम्रा छन् । उनीहरूले प्रत्येकपल्ट खेलाडीसँग के कस्ता समस्या छन् भनेर सोधिरहे र ती समस्या समाधान गर्न लगातार प्रयास पनि गरिरहे ।’ सावित्राका सबै कुरा सुन्दा एउटा तथ्य के निश्चित भएको छ भने फुटबलमा उपाधि जित्ने ठ्याक्कै यही सूत्र भन्ने हुन्न । तर, उपाधिसम्म पुग्ने बाटो भने हुन्छ । र, यो बाटो हो क्लबको चुस्त व्यवस्थापन, सटीक प्रशिक्षण समूह अनि सावित्रा जस्ता अब्बल दर्जाका खेलाडीको समूह । होइन र ?

त्यो ‘आइकोनिक मोमेन्ट’

फाइनल सकेलगत्तै सावित्राको एउटा तस्बिर खुबै भाइरल भयो । त्यो थियो, उनले आफ्नै आमासँग गरेको भिडियो च्याट । भएको के थियो भन्दा सावित्राले साँच्चै प्रतियोगिताको तनावकै कारण परिवारसँग कुराकानी गर्न पाएकै थिइनन् । फाइनल सकेलगत्तै सावित्राले आफूलाई रोक्नै सकिनन् । तर मोबाइल भने सँगै थिएन । खेलअगाडि सबै खेलाडीले आफ्ना मोबाइल प्रतियोगिताका आयोजकलाई बुझाउनुपर्थ्यो । यस्तोमा सावित्राले आफ्ना व्यवस्थापकको मोबाइलबाटै घरमा फोन गरिन् ।

अनि मैदानबाटै आफ्नी आमासँग कुरा गरिन् । आमा खुसी नहुने कुरै भएन । सावित्राको पनि खुसीको सीमा थिएन । उनकी आमा पछिल्लो समय बिरामी थिइन् । पत्थरीको समस्या भइरहेको थियो । तिनै बिरामी आमासँग धेरै दिनपछिको कुराकानीले सावित्रालाई खुबै भावनात्मक बनाइदियो । यस्तो अवसर जुर्ने भनेकै फुटबलमा मात्र हो । यो त पूरै ‘आइकोनिक मोमेन्ट’ रह्यो । यी सबै घटनाको पृष्ठभूमिमा गोकुलमका समर्थकहरू पनि खुसीले सावित्रातर्फ हेर्दै कराइरहेका थिए, ‘साम्बा ओ साम्बा’ ।

प्रकाशित : जेष्ठ १०, २०८० १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?