बसाइँ आएका ३४ परिवारलाई नगद ५ लाखसहित स्वागत

सुविधाको खोजीमा बसाइँ सरेर सहरतिर गएका यहाँका नागरिकलाई आगामी केही वर्षभित्रमै सुविधा खोज्दै गाउँमै आउनेगरी विकासका काम अगाडि बढाइएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आएका ३४ परिवारलाई ५ लाख रुपैयाँ नगद दिएर गाउँपालिकामा स्वागत गरेको छ । बसाइँ सरेर आएका परिवारलाई व्यवसायिक प्रस्तावनाका आधारमा गाउँपालिकाले नगदसहित स्वागत गरेको हो ।

बसाइँसराइले गाउँ रित्तिन थालेपछि छथर गाउँपालिकाले अन्यत्रबाट आफ्नो गाउँपालिकामा बसाइँ सरी आउनेलाई व्यवसायिक प्रस्तावनाको आधारमा ५ लाख रुपैयाँ दिने नीति लिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

व्यवसाय गर्न अनुदान रकमसमेत पाउने भएपछि पूर्वका विभिन्न जिल्लाबाट ३४ परिवार छथर क्षेत्रका विभिन्न वडामा बसाइँ सरी आएको गाउँपालिकाले जनाएको छ । छथर गाउँपालिकामा बसाइँ सराई दर उच्च छ । बसाइँ सराई दर रोक्न र जनसंख्या सन्तुलन कायम गर्न पनि यस्तो नयाँ उपाय निकालिएको गाउँपालिका अध्यक्ष लिम्बुले बताए । गाउँपालिकाको जनसंख्या १६ हजार ७ सय १५ छ ।

आफ्नो पुर्ख्यौली जमिन बाँझै छोडेर गाउँले बसाइँ हिँड्न थालेपछि बस्तीमा वर्षेनि जनघनत्व घटिरहेको छ । जनसंख्या घट्दै जाँदा समग्र गाउँपालिकाको विकास निर्माणमै असर परेकाले जनसंख्या बढाउन पनि यस्तो उपाय निकालिएको अध्यक्ष लिम्बुको भनाइ छ ।

‘गाउँका बस्ती रित्तिँदै जान थालेपछि बाहिरबाटै भए पनि मान्छे ल्याएर राख्न यस्तो उपाए निकालेका हौं,’ अध्यक्ष लिम्बुले भने ‘अनुदान रकम चाहिँ यहीँ आएर व्यवसाय गर्नेहरुका लागि मात्र हो ।’ बसाइँ सरी आउनेले बसाइँ सरी आएको प्रमाणपत्रको साथमा व्यवसायिक योजना पनि साथैमा लिएर आउनु पर्ने अध्यक्ष लिम्बुले बताए । यसरी बसाइँ सरी आउनेले व्यवसायको प्रकृति र विस्तारको आधारमा किस्ताबन्दीका रुपमा अनुदान रकम पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

गाउँपालिकाले कृषि व्यवसाय गर्न चाहानेहरुलाई पहिलो प्राथमिकतामा राखेर अनुदान रकम दिने व्यवस्था मिलाएको छ । कृषि, निर्माण क्षेत्र र उद्यम व्यवसाय गर्ने जनशक्ति नै गाउँबाट बाहिरिएपछि गाउँपालिकाको उन्नतिमा नै असर परेको जनप्रतिनिधिको बुझाइ छ । जनसंख्या नभएको बस्तीमा विकास गर्न पनि असम्भव भएकाले जनसंख्या भित्र्याएउनु पर्ने बाध्यता रहेको प्रवक्ता नेपाली बताउँछन् ।

बसाइँ सरेर आउँदा नगद ५ लाख रुपैयाँ पाएपछि संखुवासभाका दाछिरी शेर्पा निकै खुसी देखिएका छन् । उनी संखुवासभाबाट बसाइँ सरेर छथर गाउँपालिका १ आङदीमको डङडङेमा आएर बसेका छन् । गाउँपालिकाले दिएको ५ लाख रुपैयाँले श्रीमति सरिता शेर्पाको साथमा उनले होटल र किराना पसल मज्जाले चलाएका छन् ।

बस्तीमा जनसंख्या पातलिएर भएका घरको दूरी टाढा भएको छ । छरिएर रहेको बस्तीमा सडक, विद्युत, खानेपानी, संचार, स्वास्थ्य, शिक्षा लगायत पूर्वाधार निर्माण गर्दा लागत बढी पर्ने गरेको र त्यसबाट फाइदा पाउने जनशक्ति भने थोरै हुने भएकाले छरिएर रहेका बस्तीलाई एकत्रित गर्नका लागि पनि यो योजना उपयोगी हुने अध्यक्ष लिम्बुले बताए ।

गाउँपालिकाको जुनसुकै वडामा बसाइँ आउने जो कोहीले सुविधा पाउनेछन् । तर त्यसका लागि आफूले के व्यवसाय गर्ने हो ? भन्ने व्यवसायिक योजना भने गाउँपालिकामा पहिले नै बुझाउनु पर्नेछ । यही प्रस्तावनाका आधारमा गाउँपालिकाले बजेट निर्धारण गर्छ । आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा नै यो व्यवस्था समेटिएको थियो । बसाइँ सरी आएकाले तरकारी खेती, पशु पालन, कृषि तथा अन्य उद्योग, तरकारी खेती, दुग्ध परिकार उद्योग, ढाका कपडा बुनाइ, होटल व्यवसाय लगायतका उद्यम गरिरहेका छन् ।

यसवाहेक सुविधाको खोजीमा बसाइँ सरेर सहरतिर गएका यहाँका नागरिकलाई आगामी केही वर्षभित्रमै यहीँ गाउँपालिकामा सुविधा खोज्दै आउनेगरी विकासका काम अगाडि बढाइएको पनि स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

यसअघि गाउँका मानिस के कारणले बसाइँ सरिरहेका छन् भनेर अध्ययन गरिएको र अध्ययनपछि यस्तो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । अध्ययनपछि सडक, यातायात, पानी, सुरक्षा, बिजुली, शिक्षा, स्वास्थ्य, रोजगार, आमदानी, सामाजिक सुरक्षा र सम्मान लगायतको खोजीमा गाउँलेहरु बसाइँ सरिरहेको जनप्रतिनिधिहरूको निष्कर्ष थियो ।

अध्ययनपछि गाउँपालिकाले प्राथमिकताका साथ सडक, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, विद्युत र रोजगार मुलक उद्योग स्थापनामा जोड दिएर काम गरिरहेको जनाएको छ । गाउँका मानिस बसाइँ सर्नुको कारण पहिचान भएकाले त्यसको रोकथाममा अहिलेदेखि नै स्थानीय सरकार लागेको प्रवक्ता नेपालीको भनाइ छ ।

आगामी ५ वर्षभित्रमा छथर गाउँपालिकामा विकासका पूर्वाधारहरु पर्याप्त मात्रामा निर्माण भइसक्ने भएकाले धैर्य गरेर बस्न पनि नागरिकलाई गाउँपालिकाले आह्वान गरेको छ । ग्रामीण युवाहरु रोजगारीका लागि वर्षेनि खाडी मुलुकतर्फ गैरहेका छन् । सन्तान उत्पादनका लागि योग्य जनसशक्ति लामो समय घर बाहिर हुँदा जन्मदर पातलिएको स्वास्थ्य शाखाले गरेको अध्ययनले तथ्य बाहिर ल्याएको छ । त्यसका लागि युवाहरुलाई विदेश नै जान नपर्ने गरी गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्ने कार्यक्रममा बजेट बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउन तरकारी, दुध, पशु पालन, बंगुरपालन, फलफूल र पर्यटन व्यवसायमा युवाहरुलाई आकर्षित गरिएको बताइएको छ । सुविधा खोज्दै पूर्वी तराई र सहर बजार तर्फ बसाइँ गएकाहरुलाई फर्काउने नीति नै बनाएर गाउँपालिकाभित्रका सबै वडामा विकासका पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

बसाइँसराइ दर रोक्न प्रदेश सरकारले समेत बजेट दिएर विकासका पूर्वाधार निर्माण गरिरहेको कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दुर्गा प्रसाद चापागाईँले बताए । प्रदेश सरकाले घर नभएका विपन्न दलित र सीमान्तकृत जातिलाई जनता आवास कार्यक्रम मार्फत बास बस्ने घर नै बनाइदिएर बसाइँ सर्नबाट रोकिएको मन्त्री चापागाईँको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली जीवन र संघर्षको दस्तावेज 'म मकरध्वज'

पुस्तकमा हिमाली क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूको जनजीविकाबारे केस्राकेस्रा छुट्याइएको छ । अपार प्राकृतिक सम्पदाको उपयोगले लेकाली जीवन चिसो र अविकसित अवस्थासँगको संघर्ष मात्र होइन, खुसी र सुखको अनुभूतिलाई समेत पुस्तकले सकारात्मक ढंगले चित्रण गरेको छ ।
राजेन्द्र मानन्धर

काठमाडौँ — ‘म मकरध्वज’ पुस्तक सार्वजनिक समारोहमा सरिक भएदेखि पुस्तकका अन्तिम पन्नासम्म आँखा दौडाइरहँदा मनमा अनेक कुरा खेले । सामान्य एउटा व्यक्तित्वको पुस्तकमा स्मरण र अनुभवका लहराहरू समग्र चलचित्र बनेर दिमागमा घुमिरह्यो । भेडा खेद्ने एउटा गाउँले व्यक्तिका सम्बन्धका लहराहरू कहाँ र को-कोसम्म गाँसिएका हुँदारहेछन्, पुस्तक पढ्दै जाँदा सुरुमा पत्याउनै मुस्किल भयो ।

जब पुस्तक पढिसकेँ, तबमात्र मैले चिनेको मकरध्वज गुरुङ र सार्वजनिक गरिएको पुस्तकलाई पूर्ण रुपमा विश्वास गर्नसकेँ । उमेरले नब्बेको दशकमा हिँडिरहेका मकरध्वजले उक्त कार्यक्रमलाई पुस्तक विमोचन नभनी नातीनातिनालाई ज्ञान हस्तान्तरण भन्नुभएको छ । त्यसैले यो पुस्तक बिक्रीलाई भन्दा पनि नयाँ पुस्तालाई वितरणमा जोड दिने मैले अनुमान लगाएको छु ।

उहाँका छोरा पूर्वमन्त्री पार्वत गुरुङलाई चिन्नेहरूले पुस्तक राजनीतिसँग जबरजस्ती डोर्‍याउन खोजिएको ठान्छन् होला । उनका जेठा छोरा हिमाल गुरुङलाई चिन्नेहरूले पुस्तक व्यावसायिक संस्मरणको ठेलीमात्र भएको बुझ्छन् होला । छोराहरूसँग जोेडेर हेर्नेले पुस्तक नपढ्न पनि सक्लान् । पुस्तकलाई त्यसरी मात्र हेरियो भने गल्ती हुनेछ । पुस्तकमा छोराछोरीसँग गाँसिएको प्रसंगभन्दा मकरध्वज स्वयंको बारेमा लेखिएको प्रसंग ओजनदार र महत्त्वपूर्ण सूचनामूलक छन् ।

पुस्तकमा दोलखाका हिमालमुनि भेडीगोठबाट उदाएको एउटा ठिटोले चीन र भारतसम्मको अन्तर्राष्ट्रिय व्यापारमा राखेको चासोको चर्चा गरिएको छ । नुनसँग विनिमय र जडिबुटीको व्यापारको चर्चाले प्रचीन नेपालमा दोलखा आर्थिक कारोबारमा अब्बल थियो भन्ने बुझाउँछ । तामाकोसीको किनारैकिनार चीन र भारतसम्म प्रचलित व्यापारिक मार्ग थियो भन्ने ऐतिहासिक पक्षलाई पुष्टि गर्छ । दोलखाका माथिल्ला भेगका चरिचरनमा सामन्तवादीहरूले गोठाला र पशुपालकमाथि गरेको दमनको चित्रण छ । हिमालमुनिका सोझासिधा पूर्खाले प्राचीनकालदेखि खेप्दै आएको दासताको प्रसंग छ । आफ्नो संलग्नतामा ठूलठूला चरिचरनका खर्कहरू साझा बनाउन गरिएका मुद्दा मामिलाका कथाहरूले मन चस्किन्छ । गुहारका नाममा भइरहेको हलिगोठाला प्रथाबाट भएको श्रम शोषण अन्त्य गर्न गरिएको मकरध्वजको प्रयास सह्रानीय छ । पुस्तकको सबैभन्दा गहकिलो पाठ हिमाली सोझा नेपालीलाई मुक्ति दिलाउन गरिएको प्रयास हो । त्यस्तै विभेदविरूद्धको मुद्दा बोक्दै राजनीतिमा प्रवेश गरिसकेपछिका अनुभवहरू पुस्तकको अर्को महत्त्वपूर्ण पाटो हुन् ।

हिमालमुनि उत्पादन साह्रै कम हुन्छ, जीविकाका लागि घरपालुवा जनावरको मासु, दुग्धजन्य वस्तु, भेडाको ऊन र जडिबुटी हुनसक्छ । हिमाली जनजीवनमा आयस्रोतमा टेवा पुग्नसक्ने उपायहरू पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा हिमाली क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूको जनजीविकाबारे केस्राकेस्रा छुट्याइएको छ । अपार प्राकृतिक सम्पदाको उपयोगले लेकाली जीवन चिसो र अविकसित अवस्थासँगको संघर्ष मात्र होइन, खुसी र सुखको अनुभूतिलाई समेत पुस्तकले सकारात्मक ढंगले चित्रण गरेको छ ।

हुन त पुस्तकबाट लेखक मकरध्वज गुरुङ सामान्य नागरिकको हैसियतमै रहेको देखिन्छ । दोलखाको अति दुर्गम हिमाली फेद दोलखा सुरीमा जन्मेका उहाँ राष्ट्रिय राजनीतिमा कहिल्यै आउनुभएन । मकरध्वजको प्रधानपञ्च र क्षेत्रीय सदस्यका लोकप्रियताको विवरण भरिएको पुस्तकको रूपमा पनि यसलाई लिन सकिन्छ । कान्छा छोरा पार्वत संघीय सांसददेखि दुईपटक मन्त्री हुनुमा मकरध्वजको राजनीति छाया अवश्य परेको छ नै । छोरा पार्वतले आफ्नो राजनीतिक विरासत सफलताको चुलीमा पुर्‍याउन सक्नु पारिवारिक पृष्ठभूमिभन्दा निकै ठूलो उपलब्धि भनिएको छ । छोरा हिमाललाई हिमालजस्तै अटलको संज्ञा दिएको पाठ रोचक छ ।

सिंहदरबार बमकाण्डमा मुछिएका इन्जिनियरिङ अध्ययनरत हिमाल १३ महिना जेल पर्दा पीडाले छटपटी भएको प्रसंग पुस्तकमा छ । छोरा छुटाउन समकालीन पञ्च राजनीतिको केन्द्रभागमा गरिएको दौडधुपलाई महत्त्वसाथ चर्चा गरिएको छ । वामपन्थी विचारबाट पञ्चायतको विरोध गर्दा जेल बसेका हिमाल राजनीतिमा नआउनुको कारण भने पुस्तकमा खुलाइएको छैन । बरू हिमाललाई अघि सारेर निर्माण व्यवसाय सुरू गर्दाको सफलतालाई पुस्तकमा व्याख्या गरिएको छ ।

पुस्तकमा आफ्नो पञ्चायत र राजासँगको आस्थाबारे उल्लेख छ । प्रधानपञ्च मकरध्वजको राजनीतिक कुटिलतालाई बुबाको काखमा लुटपटिँदै सिक्नुभएका पार्वत गुरूङले अन्ततः बुबाभन्दा फरक धारको राजनीतिक समातेका प्रसंगहरू पुस्तकमा छन् । बाबुछोराको राजनीतिक खटपटलाई आमाले मिलाइदिने उल्लेख गर्दै पार्वतले ‘आफूलाई पञ्च हुँदै कांग्रेसको राजनीतिबाट जमिरहेका बुबाविरूद्ध नेकपा एमालेले चुनाव लड्न पठायो ’ भनेका कुरा पुस्तकमा छन् । उमेर नपुगेका कारण पार्टीको निर्मम निर्णय पालना गर्नुनपरेको पुस्तकमा उल्लेख छ । अन्ततः राजनीतिको अन्तिम बिसौनी छोराहरू हिँडेका कम्युनिस्ट विचार नै सर्वोत्कृष्ट रहेको ठहर गर्दै मकरध्वजले लेखनमा बिट मार्नुभएको छ ।

पुस्तकका प्रत्येक प्रसंगले इतिहास पढाउँछ, भूगोल बताउँछ, खुसीका उपायहरू सिकाउँछ । बन्द व्यापारमा सफलता पढाउँछ । मेलमिलापका व्यावहारिकताका लागि अन्तरसंवादका सीप सिकाउँछन् । एक प्रसंगमा आफ्नो प्रयासमा गाउँका जघन्यबाहेक कुनै पनि झगडा मुद्दा बनेर अड्डा अदालत नगएको उल्लेख गरिएको छ ।

पुस्तक छोटा रोचक कथा पढेजस्तो लाग्ने र सबै पढ्न मन लाग्नेखालको बनेको छ । व्यक्तिका अनुभव र भोगाइहरूले दोलखाको इतिहासलाई थप उचाईमा पुर्‍याएको छ ।

त्यो बेला विकास भनेको पुल, खानेपानी, गोरेटो बाटो, स्कुल बनाउने कुरा प्राथमिकतामा पर्थे । जमिन, वन पैदावरको स्वामित्वको लडाइँ र अनेक मुद्दाका जालझेल वरपर राजनीति घुम्थ्यो । मकरध्वजको पुस्तकमा गाउँका विकास र समृद्धिका लागि सम्पूर्ण जवानी बितेको उल्लेख गरिएको छ ।

पुस्तकमा उल्लेख गर्न छुटेका थुप्रै महत्त्वपूर्ण पाटाहरू पनि छन् । पुस्तकमा उहाँले तीनवटी छोरीको अन्तरजातीय विवाह भएको प्रसंग उल्लेख छ । शुभेच्छा विन्दु तुलाधरले सम्पादन गरेको घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक दोलखाको इतिहास समेटिएको दस्तावेज हो ।

( लेखक नेकपा एमाले दोलखा जिल्ला उपाध्यक्ष हुन् )

प्रकाशित : चैत्र ६, २०७९ १९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×