पर्दा पछाडि

'फर्केर हेर्दा केही पनि छैन, पाइला मात्र बढाइएछ' [भिडियो]

'तँ मेकअप पो गर्छस्? भनेर जिस्क्याउँथे'
रीना मोक्तान

काठमाडौँ — श्याम बराल फिल्मको स्टिल फोटोग्राफर बन्न चाहन्थे । सपना देख्थे, स्टिल फोटोग्राफी हुँदै सिनेमेटोग्राफर बन्ने । वर्षौंदेखि चलाउँदै आएको बर्दिबासको फोटो स्टूडियो बन्द गरेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सहज थिएन फिल्म क्षेत्र ।

'फर्केर हेर्दा केही पनि छैन, पाइला मात्र बढाइएछ' [भिडियो]

एनालगको जमाना, नयाँलाई सजिलै मौका दिइँदैनथ्यो । उनलाई हत्तपत्त कसैले विश्वास गरिदिएन । त्यतिबेला एक जनाले श्यामलाई मेकअपतिर चाँडै काम पाउने भन्दै त्यतै जान सुझाव दिए । त्यसपछि क्यामेरा चलाउने श्यामको हातले मेकअपको ब्रस समायो । त्यही ब्रसले कलाकारलाई सिंगार्न थालेको पनि ३० वर्ष बितिसक्यो ।

श्यामले फिल्म 'ज्वाला'मा अशोक रोक्काको साहयक बनेर मेकअप सिके । त्यतिबेला अशोकको निर्देशन अनुसार कलाकारको अनुहारमा 'पफ' लगाइदिनुपर्थ्यो । गुरुले नभ्याएका जुनियर कलाकारलाई मात्र मेकअप गर्न पाउँथे । पहिलो पटक राजेश हमालको अनुहारमा मेकअप गर्दाको डर अझै बिर्सँदैनन् । आफूलाई श्यामश्वेतमा कस्तो मेकअप आवश्यक हुन्छ भन्ने कुरा थाहा हुनाले पनि अनुहारमा ब्रस चलाउन माहिर बन्दै गए, श्याम । फोटो खिच्ने अनुभवले त्यहाँ काम गर्‍यो । 'अञ्जुली', 'माया गर्छु म'लगायत फिल्ममा त मेकअपसँगै फोटो पनि खिचिदिन्थे ।

राजेश हमालदेखि सौगात मल्लसम्मको अनुहारलाई मेकअप गरिदिएका ‍श्यामलाई विगत फर्केर हेर्दा भने आर्थिक उन्नति हुन नसक्नुले खुबै पोल्दो रहेछ । 'अरु पेसामा लागेको भए कहाँ पुगिसक्थें होला । काठमाडौंमा घर हुन्थ्यो होला, जमिन हुन्थ्यो होला । गाडी हुन्थ्यो होला । यति दु:ख हुँदैन थियो होला,' श्याम सुनाउँछन्, 'म भारतकै मेकअप आर्टिस्ट भइदिएको भए अहिलेसम्म सम्पन्न भइसक्थें होला। यतिका लामो समय बितिसकेछ, पछाडि फर्केर हेर्दा थुइक्क ! केही पनि छैन भन्ने हुन्छ । पाइला मात्र अगाडि बढाइएछ, ब्याकअप केही पनि छैन भन्ने कुराले दु:ख लाग्छ।'

पारिश्रमिककै पीडा

आफूजस्ता प्राविधिकको उचित मूल्यांकन नहुँदा आफ्नो अवस्था ज्युँका त्युँ भएको श्याम सुनाउँछन् । 'हाम्रो कामको मूल्यांकन नै हुन सकेन । अहिले हामीले एउटा मेकअपको ५/६ लाख लिनुपर्ने हो । तर, मुस्किलले डेढदेखि २ लाख दिन्छन् । धेरैले त साथीभाइको मुख हेर्ने भन्यो, साँढे एक लाख दिइरहेका हुन्छन् । २ लाख पाउन मुस्किल नै पर्ला,' श्यामले आफ्नो दु:ख सुनाए,' थोरै पारिश्रमिकमै हामीले चित्त बुझाउनुपर्छ । कस्मेटिक सामान महंगो पर्छ भन्ने पनि फिल्मकर्मीले बुझ्दिँदैनन् । फलानोले यतिमा गरेको थियो भन्दिन्छन्, उसले कुन कस्मेटिक प्रयोग गरेको थियो भन्ने पनि उनीहरूलाई थाहा हुँदैन । नतिजातिर ध्यान नै दिँदैनन्।'

कति फिल्मबाट अझै श्यामले आफ्नो पारिश्रमिक उठाउन बाँकी छ । उनका अनुसार उठाउन बाँकी झन्डै २/४ लाख पैसा बाँकी छ । तर ती पैसा आउने/नआउने टुंगो छैन । हालै पाँच वर्ष अगाडिदेखि प्रदर्शन अलमलिएको फिल्म प्रदर्शनमा आयो । फिल्मबाट श्यामलगायत प्राविधिकहरूले आफ्नो पारिश्रमिक पाएका थिएनन् । उनीहरूले चलचित्र विकास बोर्डमा निवेदन दिएपछि फिल्मको सेन्सर रोकियो । त्यसपछि बाध्य भएर फिल्मकर्मीले पारिश्रमिक दिए ।

मेकअपको महत्त्व बुझिएन

फिल्मकर्मीहरूले मेकअपको महत्त्व नबुझ्दा आफूहरूको सही मूल्यांकन नभएको श्याम बताउँछन् । 'उनीहरू मेकअप केही होइन साधारण कुरा हो भनेर सोच्छन् । मेकअपलाई सामान्य लिइदिन्छन् । एउटा सानो बक्सा बोकेको छ, पाउडर दलेको छ भन्छन् । त्यसमा कति मिहेनत लाग्छ उनीहरूलाई थाहा हुँदैन । कलाकारको अनुहारमा पसिना आएको छ भने पसिना पुछिरहनु पर्‍यो । आँशु झार्ने वाला दृश्य छ भने क्षण-क्षणमा पुगेर ग्लिस्रिन लगाइरहनु पर्‍यो । टचअप गरिरहनु पर्‍यो,' श्याम भन्छन्, 'सबैभन्दा अगाडि उठ्नु पर्‍यो, मेकअप आर्टिस्ट । सबभन्दा ढिला सुत्नुपर्‍यो । सेटमा बढी खट्नु पर्‍यो ।'

चरित्र निर्माणका लागि मेकअप गर्नुपर्ने हुँदा फिल्ममा मेकअपको निकै महत्त्व देख्छन्, श्याम । पछिल्लो समय फिल्मको मेकअप नसिकी फिल्म क्षेत्रमा प्रवेश गरेकाहरूले चरित्र अनुसारको मेकअप गर्न नसकेको उनको बुझाइ छ । नयाँ कलाकारले पनि मेकअप नबुझ्ने गरेको श्यामको अनुभवले भन्छ ।

'अहिले फिल्मको मेकअप सिकेर आउने एकदम थोरै छन् । धेरै त पार्लरबाट आएका छन्,' ५४ वर्षीय श्याम सुनाउँछन्,'कलाकार पनि कोही युट्युब, भिडियोबाट आएकाहरू छन् । उनीहरूमा पनि मेकअपको ज्ञान छैन । राम्रो बनाइदियो, चिट्टिक्क, ब्राइडल(बेहुली) मेकअप गरिदियो भने त्यो राम्रो मान्छन् । हामीले गरेको मेकअप त मेकअप नै होइन भनिदिन्छन् । कलाकार पनि पार्लरका मेकअप आर्टिस्ट च्याप्छन् ।'

श्यामले गुरुले गरेको मेकअप हेर्दै सिके । त्यतिबेला मेकअप सम्बन्धि तालिम दिने संस्था, युट्युब थिएन । भारतिय म्यागाजिनका 'ब्लोअप' तस्बिरमा गरिएको मेकअप हेर्दै उनीहरू मेकअप गर्थे । बलिउड अभिनेत्री रेखाका मेकअप हेर्थे श्याम । नयाँ मेकअप सिक्न त फिल्म नै हेर्नुपर्‍यो । छायांकनस्थलमा फिल्म हेर्ने अवस्था हुन्थेन । म्यागाजिन/पत्रपत्रिका नै श्यामका लागि अर्को कक्षा हुन्थ्यो । अहिले त कलाकार पनि मेकअपबारे पोख्त भइसके । कति त युट्युबतिर आफैं मेकअप 'टुटोरियल' बनाउँदै भिडियो बनाइरहेका हुन्छन् । हिजोआज त कलाकारले आफूलाई सिकाउन खोज्ने गरेको उनी सुनाउँछन् ।

'अहिले त कोही कोही कलाकारले नै सिकाउँछन् हामीलाई । यस्तो प्रोडक्ट चलाउनु पर्‍यो नि भन्छन् । सबैले त्यस्तो प्रोडक्ट प्रयोग कहाँ गरेको हुन्छ त ? हिरोइनहरूको आ-आफ्नो प्रोडक्ट हुन्छ । म सबै बोकेर हिँड्छु त । पहिलाको तुलनामा अहिले हामीलाई अझ गाह्रो छ,' उनले भने, 'प्रविधि अनुसार हामी पनि अपडेट हुँदैछौं । अब फिल्ममा लाउड मेकअप गर्नु भएन नि ।'

कलाकारलाई चिट्टिक्क बनाइदिन रमाइलो हुन्छ होला नि ?

सयभन्दा बढी फिल्ममा मेकअप आर्टिस्टका रुपमा काम गरेका श्याम कलाकारको अनुहार रंगाउनु गर्विलो काम रहेको बताउँछन् । 'अब चलेका कलाकारहरूलाई पनि आफूले मेकअप गरिदिन पाउनु त गर्वको विषय हो नि । उनीहरूको अनुहारमा रंगाउन पाउनु त गर्व लाग्थ्यो,' जवाफ दिँदै भने, 'हामी त स्ट्याण्डबाइ बस्नु पर्‍यो, कलाकारदेखि निर्देशकले के भन्ला भनेर कान ठाडो पारेर बस्नु पर्थ्यो । त्यतिबेलाको माहोल नै रमाइलो हुन्थ्यो । सेटमा परिवार भेटेजस्तो लाग्थ्यो । एकले अर्कालाई सहयोग गर्ने, आदर गर्ने । मोबाइल थिएन। आफैंमा रमाउन जानेको थियौं ।'

अभिनेत्री निरुता सिंहको मेकअप गर्दा औधी रमाइलो लाग्ने सम्झछन् श्याम । निरुता, जल शाहसँग गफ गर्दै, हाँस्दै मेकअप गरिदिन्थे उनी । उनीहरूलाई चिट्टिक्क बनाएर पठाइदिएपछि छुट्टै आनन्द मिल्थ्यो । 'आहा राम्रो मेकअप गरेछु भन्ने लाग्थ्यो । त्यहीमाथि उनीहरूले पनि मेकअपको तारिफ गर्थे,' पुराना क्षण सम्झन्छन् श्याम ।

त्यसो त त्यतिबेला कलाकारहरूका लागि मेकअपमा महिलाहरू थिएनन् । पुरुषले नै मेकअप गरिदिनु पर्थ्यो । फिल्म क्षेत्रका लागि त त्यो साधरण नै थियो । तर, कतिले भने श्यामलाई 'तैंले मेकअप गर्छस् भनेर जिस्क्याउँथे।' सुरुमा फोटो खिच्ने भएकाले पनि उनलाई मेकअपमा देख्नेहरू अचमम्म मान्थे । एनालगदेखि डिजिटलसम्म आइपुग्दा मेकअपमा थुप्रै प्रोडक्ट परिवर्तन भएको श्यामले देखेका छन् । त्योसँगै कलाकारको पर्दाको आयुको पनि साक्षी बनेका छन् । हिजोदेखि आजसम्म पनि मेकअप आर्टिस्टको खुट्टा ढोग्न नछुटाउने कलाकारमा पर्छन्, राजेश हमाल । 'मेकअपलाई त चन्दनको रुपमा लिइन्छ नि त । त्यो नलगाइ कलाकार, कलाकार नै हुँदैन । त्यतिबेला मेकअप आर्टिस्टलाई गुरुजस्तो मानेर ढोग्ने चलन थियो । अहले खासैले ढोग्नुहुन्न,' श्याम विगत सम्झन्छन् ।

जनयुद्धताका फिल्महरू बन्न बन्द भयो । थुप्रै प्राविधिक त्यस समय विदेश भासिए । श्याम पनि बिरक्तिएर मलेसिया उडेका थिए । तर, त्यता पुगेको १ वर्षमै फिल्महरू बन्न थालेको समाचारले उनलाई नेपाल फर्कायो । उनी सम्झन्छन्, 'विदेशमा शिव रेग्मी, दयाराम दाहालले फिल्म बनाइरहेको समाचारहरू पढ्थें । त्यतिबेला । ए फिल्म त बन्न थालेछ यार ! अब त उहीँ जानुपर्छ भन्ने हुन्थ्यो । फिल्महरू थुप्रै बन्न थालेपछि परदेशमा मन लागेन म फर्किएँ । फर्कने बित्तिकै कामहरू पाउन थालें ।'

फिल्म क्षेत्रको यो लामो यात्रामा उनी 'परेली' फिल्मको एउटा घट्ना कहिल्यै बिर्सँदैनन् । फिल्ममा थुप्रै स्टारहरूको अभिनय थियो । सबैको मेकअप श्यामले नै गर्नुपर्ने । अब पुरुष कलाकारलाई आधा घण्टामै सके पनि महिला कलाकारलाई डेढदेखि २ घण्टा लाग्थ्यो । त्यतिबेला एक जना कलाकारलाई जवान र बुढ्यौली देखाउने मेकअप गर्नुपर्थ्यो । जवानवाला दृश्यको मेकअप सकिएपछि उक्त कलाकारलाई श्यामले आफ्नो अनुहारको बेस(सुरुमा लगाइने क्रिम) नधुन भनेका थिए । तर, उनले मुख धोइदिएछन् । त्यो पनि क्रिमले । मेकअप गर्न भ्याइनभ्याइ भइरहेको बेलामा उक्त कलाकारको मेकअप सुरुदेखि नै गर्नुपर्‍यो । क्रिम लगाएकाले मेकअप पनि बिग्रियो । त्यसपछि तनावमा आएर श्याम मेकअप बक्स बोकेर छायांकन स्थल छोडेर हिँडे । त्यतिबेला निर्माता/निर्देशकले आफूलाई फकाएको र उक्त कलाकारको केही दृश्य घटाइदिएको क्षण सम्झँदा आज पनि श्यामलाई हाँसो लाग्छ ।

प्रकाशित : श्रावण ७, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?